रेभ डा बाल कृष्ण शर्मा
आज विश्व कोरोना भाइरस महामारीको चपेटामा परेको छ । जताततै मानिसहरूमा त्रास छ र आजसम्म विश्वका करीब आधा जनसंख्या लकडाउनका कारण आफ्नै घरभित्र बस्नुपर्ने बाध्यता रहेको छ । कतिपय देशहरूले २१ दिनको लकडाउन वा बन्दको घोषणा गरेका छन् भने कतिपय देशहरूमा अनिश्चितकालिन लकडाउन छ । कतिपय मानिसहरूले यस सम्बन्धमा केही बुझेका छन् र अरू कतिपयले यसलाई त्यति बुझेका पनि छैनन् । नेपालले पनि एक हप्ताका लागि लगाएको लकडाउन बढाएर २५ चैत २०७६ सम्मका लागि कायम गरेको छ । सबै यातायात ठप्प छ र मानिसहरू सबै घरभित्र नै बस्नुपर्ने बाध्यता छ । नेपालको इतिहासमा र भनौँ विश्वको इतिहासमा यस किसिमको लकडाउन पहिलो हुनसक्छ ।
चीनको युवान शहरबाट गत डिसेम्बरमा शुरू भएको यो महामारी अहिलेसम्म विश्वका सबै देशहरूमा पुगिसकेको छ र कतिपय देशहरूमा संक्रमणको अवस्था जटिल छ र मृतकहरूको संख्या पनि बढिरहेको छ भने कतिपय देशहरूमा केही व्यक्तिहरू संक्रमित भइरहेका छन् र केही व्यक्तिहरूको मृत्यु भएको छ । अन्य केही देशहरूमा संक्रमितको संख्या थोरै छ र मृत्यु भएको छैन । यस किसिमका देशहरूले पनि सावधानी अपनाउनका लागि लकडाउनको घोषणा गरेका छन् । केही देशहरूमा संक्रमितहरूलाई गरिनुपर्ने उपचारमा जनशक्ति र स्वास्थसामाग्रीहरूका कारण अस्तव्यस्तताको अवस्था सृजना भएको छ । आजसम्मको अवस्था हेर्दा युरोप र अमेरिकामा यो महामारी अत्याधिक किसिमले फैलिरहेको छ । एशियाका धेरै देशहरू पनि यस महामारीको जोखिममा छन् भनी विश्व स्वास्थ संगठनले अनुमान गरेको छ । दक्षिण एशियाका नेपालसहित अन्य राष्ट्रहरूले पनि लकडाउन गरेका छन् । यसले सामान्य जनजीवनमा असर पारिरहेको छ । कतिपय ठाउँहरूमा मानिसहरूका आधारभूत आवश्यकताहरू पनि पूरा हुनसकेका छैनन् र दैनिक काम गरेर खानाको जोहो गर्नेहरूले थप संकट मोल्नुपरेको छ । यस लकडाउनका कारण विश्वको अर्थतन्त्र पनि एक हदसम्म तहसनहस भएको छ । पश्चिमी मुलुकमा पनि मानिसहरूले आफ्ना काम गुमाएका कारण रोजीरोटी गुमेको छ र सरकारले केही राहतको घोषणा गरेको छ । अन्य मुलुकहरूले पनि अवस्थाअनुसार आफ्ना नागरिकहरूलाई केही राहतका योजनाहरू घोषणा गरेका छन् । यस महामारीले विश्वलाई आक्रान्त पारेको छ ।
नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एक जनाको जनवरीमा नै उपचार भई निको भएको र अरूहरू पनि निको हुने क्रममा छन् । नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोकथामको लागि सकेसम्म आफ्नो प्रयास जारी राखेको छ ।
यस लेखमा म बाइबलमा उल्लेख भएका विपत्तिहरू, विश्वव्यापी रूपमा भएका महामारीहरू, यसले मानवजातिमाथि ल्याएको विनाश, अर्थ तहस नहस, यसबाट मानवजातिले सिक्नुपर्ने पाठ र बाइबलीय दृष्टिकोणलाई पनि विश्लेषण गर्ने कोशिश गर्नेछु ।
बाइबलमा विपत्ति शब्द करीब १२० पल्ट विभिन्न पुस्तकहरूमा उल्लेख भएको छ । प्रस्थानको पुस्तकमा उल्लेख गरिएका १० वटा विपत्तिहरू मिश्रदेशमा भएका थिए । फारो राजाको ह्रदयको कठोरताको कारण ती विपत्तिहरू आएका थिए भनी बाइबलले उल्लेख गरेको छ । इस्राएलीहरूमाथि पनि विभिन्न समयमा विपत्तिहरू आएका छन् र परमेश्वरका जनहरूका मध्यस्थताका प्रार्थनाद्वारा कतिपल्ट ती रोकिएका थिए भने कतिपल्ट ती विपत्तिहरू पूरा भए । परमेश्वरको सार्वभौम इच्छालाई हामी बुझ्न सक्दैनौँ र हामीले यसलाई स्वीकार गर्नुपर्छ ।
परमेश्वरले मानव जातिलाई मात्र आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । उसमा ज्ञान र बुद्धिको क्षमता राखिदिनुभयो । उसमा स्वतन्त्र इच्छा राखिदिनुभयो । मानवको सृष्टि भएको बेलामा उसमा कुनै पाप, रोग, अन्याय, अत्याचार जस्ता खराब र दुष्ट कुराहरू थिएनन् । तर मानवको सृष्टि हुनुभन्दा पनि पहिले परमेश्वरले स्वर्गदूतहरूलाई सृष्टि गर्नुभएको थियो । स्वर्गदूतहरूको संख्या यति नै छ भनी हामीलाई थाहा नभए पनि तिनीहरूको संख्या लाखौँमा छ भनी बाइबलले हामीलाई बताएको छ । ती स्वर्गदूतहरू स्वर्गदूतहरूका सन्तानहरू नभएर तिनीहरू एकैपल्ट सृष्टि गरिएका प्राणीहरू थिए । माइबल, गब्रिएल र लुसिफर मुख्य दूतहरू थिए । तिनीहरूको मुख्य काम परमेश्वरको सेवा गर्नु र स्तुति प्रशंसा गर्नुथियो । तर लुसिफरले परमेश्वरको सेवा गर्न नचाहेको र परमश्वरप्रति अनाज्ञाकारी भएको हुनाले ऊ परमेश्वरको सिँहासनबाट फालियो र उसले आफूसँग एक तीहाइ दूतहरू लिएर तल पृथ्वीमा झर्यो । यसरी यस संसारमा दुष्ट र दुष्टताको शुरू भयो । परमेश्वरले स्वर्गदूतलाई असल बनाउनुभएको थियो तर उसको अनाज्ञाकारिताको कारण ऊ अब परमेश्वरको विरोधी बन्नपुग्यो । त्यसबेलादेखि आजसम्म असल स्वर्गदूतहरूको काम परमेश्वर र मानिसहरूको सेवा गर्नु हो भने दुष्ट दूतहरूको काम परमेश्वर र मानवको विरोध गर्नु हो । त्यसले परमेश्वरलाई सीधै आक्रमण गर्न नसक्ने भएको हुनाले परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानवलाई विभिन्न किसिमले आक्रमण गर्न सक्ने भयो ।
परमेश्वरले मानवलाई सृष्टि गर्नुहुँदा उसलाई दिइएको स्वतन्त्र इच्छालाई मानिसले गलत किसिमले प्रयोग गर्यो र उसले दुष्टको आज्ञा पालन गरेको हुनाले यस पृथ्वीमा एक दम्पत्तिबाट पाप शुरू भयो । त्यो पाप विभिन्न व्यक्तिहरू र पुस्ताहरूमा फैलँदै गयो । मानवले गरेका पापको असर व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय हुन्छ । कसैको गल्तीको असर गल्ती गर्नेसँग मात्र सीमित हुँदैन तर त्यसको कारण अरूहरूले दुःख पाउँछन् । अन्धकारको शक्तिको उद्देश्य सम्पूर्ण मानवजातिलाई दुःख दिनु हो र त्यसले विश्वमा त्यो कार्य गरिरहेको छ । बाइबलले बताएको छ कि दुष्टको अन्तिम दिन आउनै लागेको हुनाले त्यसले मानवलाई आफ्नो कब्जामा पार्नका लागि हर किसिमको तरिका अपनाइरहेको छ ।
सारा विश्वका सृष्टिकर्ता पूर्ण पवित्र हुनुहुन्छ र दुष्टचाहिँ पूर्ण पापी छ र मानवचाहिँ कहिले असल काम गर्छ र कहिले खराब काम गर्छ । त्यसैले ऊ परमेश्वर वा दुष्टको भाँडो बन्नसक्छ । मानव परिवर्तनशील छ । परमेश्वर परिवर्तन हुनसक्नुहुन्न र शैतान वा दुष्ट पनि कहिल्यै परिवर्तन हुँदैन । मानवले आफ्नो स्वतन्त्र इच्छा कित परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सक्छ कित दुष्टको इच्छा पूरा गर्नका लागि प्रयोग गर्नसक्छ । त्यो छान्ने अधिकार मानवमा निहित रहेको छ । परमेश्वरलाई पछ्याउनका लागि आफ्नो स्वतन्त्र इच्छा प्रयोग गर्यो भने ऊ परमेश्वरसँगको अनन्ततामा प्रवेश गर्छ र दुष्टको इच्छा पूरा गर्यो भने दुष्टसँगको अनन्ततामा त्यो प्रवेश गर्छ । अनन्तसम्म कहाँ रहने भन्ने निर्णय मानव आफैले गर्नुपर्छ । मानवजातिलाई अगुवाइ गर्नका लागि परमेश्वरले आफ्नो वचन बाइबल हामीलाई दिनुभएको छ र यसका शिक्षाहरू र नैतिकताहरू पालन गर्नका लागि उसलाई आह्वान् गरिएको छ ।
जब हामी विश्वमा बेला बेलामा आउने महामारीहरू र हरेक दिन हुने दुःखकष्टका बारेमा विचार गर्छौँ, संम्पूर्ण मानवमा यस बारेमा प्रश्न उठ्नेगर्छ । असल परमेश्वरले कसरी यी दुःखकष्टहरू पठाउनुभई मानवलाई पीडा दिनुहुन्छ ? उहाँले यस्ता खराब कुराहरूलाई रोक्नुपर्ने थिएन र ? भन्ने जस्ता प्रश्नहरू मानवजातिले गर्नेगर्छ । यसका कारण धेरै मानिसहरू परमेश्वरसँग क्रोधित हुन्छन् र उहाँको अश्तित्वमा नै प्रश्न गरी उहाँबाट टाढा हुन्छन् । तर बाइबलले हामीलाई यी पीडाहरूका बारेमा के बताउँछ सो कुरा म यहाँ विश्लेषण गर्न चाहन्छु ।
हामीलाई थाहा छ परमेश्वर असल हुनुहुन्छ र उहाँले कहिल्यै कसैको कुभलो चाहनुहुन्न । सबै मानवजाति आनन्दित भएको र उहाँसँग संगति गरेको चाहनुहुन्छ । कसैका दुःखमा परमेश्वर प्रसन्न हुनुहुन्न । परमेश्वरले मानवलाई स्वतन्त्र इच्छासाथ सृष्टि गर्नुभएको हुनाले उससँग छान्ने स्वतन्त्रता छ र उसले पाप गरेपछि पनि उहाँले त्यो स्वतन्त्र इच्छ उसबाट खोसेर लानुभएन र अहिले सम्पूर्ण मानवजातिले यसको अभ्यास गरिरहेका छन् । मानवसँगको सम्बन्धमा परमेश्वरका दुईवटा इच्छाहरू छन्, स्वीकृत इच्छा र अनुमति इच्छा । परमेश्वरको स्वीकृत इच्छा भन्नाले हाम्रो जीवनसँग उहाँ प्रसन्न हुनुहुन्छ र हामीले उहाँका इच्छाअनुसार काम गर्दा यसले परमेश्वरको महिमा हुन्छ । उहाँको अनुमति इच्छाचाहिँ हामीले गरेका खराब कामहरूमा उहाँ खुशी हुनुहुन्न तर हाम्रो कठोरताको कारण उहाँले हामीलाई हाम्रो खुशीअनुसार जिउनका लागि छोडिदिनुहुन्छ । यसरी मानवले परमेश्वरको विरूद्धमा जिएको हुन्छ तर उहाँ त्यसमा प्रसन्न हुनुहुन्न । उहाँले मानवहरूमाथि दुःखकष्ट र विपत्ति आउने अनुमति दिनुहुन्छ तर त्यो पठाउनुहुँदा उहाँ प्रसन्न हुनुहुन्न । उसलाई चेतावनी दिन र उहाँमा फर्कनका लागि उहाँले आह्वान् गर्नुभएको यो एक तरीका हो । मानवजाति एक अर्कासँग अति नै निर्भर भएको हुनाले आफ्नो पाप वा अरूहरूका पापका कारण पनि मानवले कष्ट भोग्छ । हाम्रो जीवन यस पृथ्वीमा छोटो छ र यस जीवनमा परमेश्वरको स्वीकृत इच्छा हामीले खोज्नैपर्छ । कसैको मृत्युमा पनि परमेश्वर खुशी हुनुहुन्न तर आज भइरहेको कोरोना भाइरसको महामारीले विश्वलाई परमेश्वरमा फर्काउनेछ भन्ने हाम्रो आशा छ ।
विश्वमा यस किसिमका विपत्तिहरू विभिन्न समयमा भएका छन् र यो पहिलो विपत्ति होइन । यस पृथ्वी रहुञ्जेल र परमेश्वरको अनन्त राज्य वा शान्तिको राज्य स्थापना नहोउञ्जेल संसारले यी विपत्तिहरूको सामना गर्नैपर्ने हुन्छ ।
बाइबलमा उल्लेख भएका विभिन्न विपत्तिहरूका साथसाथै विश्वमा विभिन्न युगमा भएका विपत्ति वा महामारीका बारेमा अब हामी संक्षिप्तमा हेरौः
१. बाइबलमा उल्लेख भएका विभिन्न विपत्तिहरू ।
२. अथेन्सको महामारी, इसा पूर्व ४३० देखि ४२६ मा । युद्धको समयमा आएको टाइफाइड जरोको महामारीले अथेन्सका एक चौथाइ सिपाहीहरू र एक चौथाइ जनसंख्याको विनाश भएको थियो ।
३. एन्टोनिन महामारी, इस्वी सम्बत १६५ देखि १८० मा । इटालीको फैलिएको बीफरले संक्रमण भएका एक चौथाइ सिपाहीहरू मरे सबै जनसंख्या गरी करीब पचास लाख मानिसहरूको मृत्यु भएको थियो । रोममा हरेक दिन पाँच हजार मानिसहरूको मृत्यु हुने गरेको थियो ।
४. जस्टिनियन महामारी, इस्वी सम्बत २४१ देखि २६६ मा । यो एक किसिमको फ्लुजस्तो रोग हो र यो व्याक्टेरिबाट फैलिएको थियो र शुरूमा जरो, टाउको दुख्ने, बान्ता हुने र पछि यसले शरीरका अङ्गहरूलाई आक्रमण गरी मृत्यु गराउँथ्यो । कुनै जङ्गली पशुबाट सरेको रोग थियो । यो मिश्रदेशबाट शुरू भई कन्सटनओपलमा पुगेको थियो र हरेक दिन करीब दश हजार मानिसहरूको मृत्यु हुनेगर्थ्यो । यसका कारण करीब ४० प्रतिशत जनताहरूको मृत्यु भयो र युरोपसम्म फैलिएको हुनाले युरोपका करीब ५० प्रतिशत मानिसहरूको मृत्यु भयो ।
५. ब्लाक डेथ वा कालो मृत्यु महामारी, इस्वी सम्बत १३३१ देखि १३५३ मा । यस महामारीबाट विश्वभरि करीब ८ कोरोड देखि २० करोड जति मानिसहरूको मृत्यु भएको थियो । यो महामारी एशियाबाट शुरू भई युरोपसम्म पुग्यो र छ वर्षको अवधिमा २ देखि ३ करोड मानिसहरूको मृत्यु भयो । एक तीहाइ मानिसहरूको मृत्यु भएको थियो । शहरी क्षेत्रमा भने करीब आधा जनसंख्याको मृत्यु भएको थियो । यसपछि पनि युरोपमा विभिन्न समयमा १०० वटा जति महामारीमा मानिसहरूको मृत्यु भएको थियो । इस्वी सम्बत १६६५ देखि ६६ सम्म लन्डनमा भएको महामारीमा करीब एक लाख मानिसहरूको मृत्यु भएको थियो र यो लन्डनको जनसंख्याको २० प्रतिशत थियो ।
६. तेस्रो महामारी, इस्वी सम्बत १८५५ मा चीनमा शुरू भयो र यो भारतमा पनि फैलियो र त्यहाँ १ करोड मानिसहरूको मृत्यु भयो । अमेरिकामा यो महामारी १९०० र १९०४ का बीचमा फैलियो ।
७. स्पानिस फ्लु महामारी, इस्वी सम्बत १९१८ देखि १९२० मा । यसले विश्वभरका ५० करोड मानिसहरूलाई संक्रमित गरेको थियो भने करीब ५ करोड देखि १० करोडको बीचमा मानिसहरूको मृत्यु भएको थियो । यस फ्लुले अति जवान र अति बुढाबुढीहरूमाथि आक्रमण गरी मृत्यु गराएको थियो । यस महामारीमा पहिलो विश्वयुद्धमा भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । सिपाहीहरूका बीचमा पनि यो अति नै तीब्र रूपमा फैलियो र उनीहरूबाट विश्वका विभिन्न देशहरूमा पुग्यो । यो महामारीमा भारतमा करीब १ कोरोड ७० लाख मानिसहरूको मृत्यु भयो भने अमेरिकामा करीब ७ लाख मानिसहरूको मृत्यु भयो । बेलायतमा करीब २ लाख मानिसहरू मरे ।
८. एशियन फ्लु १९५७ देखि ५८ मा देखा परेको थियो । यो चीनबाट शुरू भयो र यसमा करीब २० लाख मानिसहरूको मृत्यु भयो । अमेरिकामा करीब ७० हजार मानिसहरूको मृत्यु भएको थियो ।
९. हङ्गकङ्ग फ्लु १९६८ देखि ६९ मा देखा परेको थियो । यसबाट करीब १० लाख मानिसहरूको मृत्यु भएको थियो ।
१०. स्वाइन फ्लु २००९ देखि २०१० मा शुरू भएको थियो । यो सबैभन्दा पहिले मेक्सिकोमा देखिएको थियो र पछि अमेरिका लगायत अन्य देशहरूमा पुग्यो । यसबाट करीब ५ लाख मानिसहरूको मृत्यु भएको थियो ।
११. त्यसैगरी सार्स र इबोला पनि महामारीका रूपमा फैलनबाट रोकिएका थिए र यसका कारण पनि धेरै व्यक्तिहरूको मृत्यु भएको थियो ।
१२. कोरोना भाइरस वा कोभिड १९ डिसेम्बर २०१९ देखि आजसम्म यो महामारी विश्वका सबै देशमा देखिएको छ र यसबाट अहिलेसम्म झण्डै ७ लाख मानिसहरू संक्रमित भएका छन् भन् ३५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यसलाई महामारीको रूपमा घोषणा गरिएको छ । चीनमा शुरू भएको यो रोग अहिले मुख्य गरी युरोप र अमेरिकामा तीब्र रूपमा बढिरहेको छ । अरू देशहरूमा पनि बढिरहेको छ ।
विभिन्न युगमा यस किसिमका महामारी मानिसहरूमा आउने कुरा नौलो होइन भन्ने कुरा हामीले माथिको विवरणबाट केही हदसम्म भए पनि बुझेका छौँ । अब यसबाट हामी मानवजातिले सिक्नुपर्ने कुराचाहिँ के हो भन्ने बारेमा हामी विचार गरौँ र मलाई लाग्छ यसले हामीलाई मानवको सीमितपन बुझ्न र हाम्रो शरणस्थान कुनै देश, धनसम्पत्ति, शक्ति, मानइज्जत, शिक्षा, विकास होइन तर परमेश्वर हुनुहुन्छ भन्ने पाठ सिकाउँछ ।
परमेश्वरको वचन बाइबलले हामीलाई यस पृथ्वीमा हुने मानवको क्षणिक अस्तित्वको बारेमा स्पष्ट पारेको छ । हामी सधैँ यस पृथ्वीमा बाँचिरहँदैनौँ र शारीरिक रूपमा कुनै दिन हाम्रो मृत्यु अपरिहार्य छ । तर यस पृथ्वीमा परमेश्वरले हामीलाई दिनुभएको जीवन उहाँको वरदान हो र यसलाई हामी परमेश्वरको महिमा र एक अर्काको सेवाको निम्ति प्रयोग गर्नुपर्छ । परमप्रभु परमेश्वर नै हाम्रा शरणस्थान हुनुहुन्छ र उहाँबाहेक हाम्रो अस्तित्व छैन भनी हामीले बुझ्नुपर्छ । पृथ्वीमा बेलाबेलामा आउने यी विपत्तिहरू परमेश्वरको स्वीकृत इच्छाबाट नभएर उहाँको अनुमति इच्छा अन्तरगतका हुन् र यस्ता विपत्तिमा उहाँ खुशी हुनुहुन्न तर यसले मानिस को हो र ऊ कति धेरै सीमित छ भन्ने कुरा बुझोस् भनी उहाँ चाहनुहुन्छ ।
आज विश्व पापले भरिएको छ । यहाँ यति धेरै अनैतिकता बढेको छ सो भनेर साध्य छैन । मानवले आफैलाई परमेश्वर बनाएर हिडेको अवस्था छ । मानवले आफ्नो आविष्कारमा र उपलब्धिमा घमण्ड गरेको छ र उसले त्यसो गर्नु मुर्खता हो भनी परमेश्वरले उसलाई बताउनुहुन्छ । मानप चन्दमामा पुग्नसक्छ तर एउटा भाइसरको ‍औषधि बनाउन सक्दैन । यो उसको सीमितपनको उदाहरण हो । परमेश्वरले विश्वलाई पश्चाताप गर्नका लागि आह्वान गरिरहनुभएको छ र त्यो आवाज मानवजातिले सुन्नुपर्छ । यस्तो क्षणमा प्रभु येशूमा विश्वास गर्नेहरूले अझ धेरै उहाँमा भरोसा राखी विश्वको चंगाइ र पुनर्स्थापनाको लागि प्रार्थना गर्नुपर्छ । कसैका दुखमा परमेश्वर कहिल्यै रमाउनुहुन्न त्यसैगरी हामी विश्वले भोगिरहेको दुखमा रमाउनुहुँदैन तर उनीहरूसँग पीडाको अनुभूति गर्दै उनीहरूका चंगाइ र परिवर्तनका लागि प्रार्थना गर्नुपर्छ । विभिन्न राष्ट्रका शासकहरूका लागि पनि प्रार्थना गर्नुपर्छ र उनीहरूले आफ्ना प्रयासमा गरिरहका कुराहरू सम्भव छैनन् र जीवित परमेश्वरको सहायता उनीहरूलाई चाहिन्छ भन्ने चेतना उनीहरूमा आओस भनी हामीले प्रार्थना गर्नु आवश्यक छ । हामीले आत्मिक युद्ध गर्नैपर्छ र यस दुखको अवस्थाले आगामी दिनमा मानिसहरू परमेश्वरमा फर्कनेछन् र ठूला जागृति आउनेछन् भन्ने विश्वासका साथ हामीले प्रार्थना गर्नैपर्छ । मानवजाति जताततै पीडामा छ र त्यो पीडाबाट परमेश्वरले छुटकारा दिऊन् भन्ने हाम्रो प्रार्थना छ । हाम्रो शरणस्थान कुनै देश वा जाति वा धन वा शक्ति होइन तर परमेश्वर नै हुनुहुन्छ भन्ने पाठ हामी सिकौँ र उहाँको नजीक जाऔँ । हाम्रा सबै घमण्ड, रीस, वैमनस्यता, तीतोपना, घृणालाई त्यागौँ र सबैका लागि प्रेम र सेवाको ह्रदय निर्माण गरौँ । सबैका लागि मेरो प्रार्थना यही छ । धन्यवाद ।