Category: Reason to Believe

येशू को हुनुहुन्छ ?

हामीले येशूको बारेमा बताउने प्राचीन स्रोतहरूलाई केलाइरहेका छौँ । हिजो हामीले ख्रीष्टियान स्रोतहरू (नयाँ करार र नयाँ करारेतर) लाई हेर्यौँे भने आजबाट हामी गैरख्रीष्टियान स्रोतहरूलाई हेर्न सुरु गर्नेछौँ ।

२. गैरख्रीष्टियान स्रोतहरू
ख्रिस्टाब्द १९७९ मा चार्ल्स टेम्प्लेटोनद्वारा लिखित परमेश्वरको काम नामक उपन्यासमा काल्पनिक पुरातत्त्वविद्ले प्रस्तुत गरेको अभिव्यक्ति धेरै मानिसहरूको विश्वाससित मेल खान्छ होला, “आफूलाई मसीह ठान्ने एउटा दुर्बोध जवान यहूदीका शिक्षाहरूमा ख्रीष्टियान मण्डलीका धेरै दाबीहरू आश्रित छन् । आफ्नो जीवनकालमा तिनले खासै ठुलो प्रभाव पारेनन् । सेकुलर इतिहासमा तिनको बारेमा एउटै शब्द लेखिएको छैन । एउटै पनि शब्द छैन । रोमीहरूद्वारा तिनको बारेमा कुनै उल्लेख छैन । योसिफसले पनि खासै उल्लेख गरेका छैनन् ।”

तर टेम्प्लेटोनको काल्पनिक पात्र कति गलत छ भनेर इतिहासलाई वास्तवमा अध्ययन गर्ने व्यक्तिले तुरुन्त बुझिहाल्छ । किनकि योसिफस र टासिटसका कृतिहरूमा हामीसँग उहाँको बारेमा ज्यादै महत्त्वपूर्ण जानकारीहरू उपलब्ध छन् । योसिफस यहूदी इतिहासकार थिए भने टासिटस रोमी इतिहासकार । गैरख्रीष्टियानहरूले येशूको बारेमा केही लेखेका छैनन् भनी कतिपय मानिसहरू भ्रममा परेका छन् । तर यो साँचो होइन । गैरख्रीष्टियान स्रोतहरूमध्ये पहिले यहूदी स्रोतलाई जाँच गरिनेछ ।

ख. यहूदी स्रोतहरू
(१) योसिफस
ख्रिस्टाब्द ६६ मा प्यालेसटाइनका यहूदीहरूले रोमी शासनको विरुद्धमा विद्रोह गरे । त्यस बेला प्यालेसटाइन रोमको उपनिवेश थियो । विद्रोहीहरूलाई दबाउन रोमी सम्राट् नेरोले सेनापति भेस्पासियनको नेतृत्वमा सेनाको एउटा टोली त्यहाँ पठाए । ख्रिस्टाब्द ६७ मा भेस्पासियनले विद्रोह भइरहेको क्षेत्र गालीलको योतापातालाई घेरे । यस्तो अवस्थामा रोमी अधिकारीहरूसामु आत्मसमर्पण गर्नुभन्दा बरु प्यालेसटाइनका बासिन्दाहरूले साधारणत: आत्महत्या गर्थे । कैयौँ विद्रोहीहरूले त्यसै गरे । तर घेराबन्दीको सतचालिसौँ दिनमा एक जना यहूदी विद्रोहीले रोमी सेनाको सामु आत्मसर्पण गरे । तिनले भेस्पासियनको अनुग्रह पाए र भेस्पासियनका छोरा सेनापति तितसद्वारा पछि तिनलाई रोममा लगियो । आत्मसमर्पण गर्ने ती जवान व्यक्ति अरू कोही नभएर फ्लाभिअस योसिफस (करिब ३७-१००) थिए जो अन्त्यमा तत्कालीन समयको महान्‌तम यहूदी इतिहासकार बने ।

भोली हामी येशूको बारेमा यिनै योसिफद्वारा व्यक्त भनाइलाई उद्धृत गरी विश्लेषण गर्नेछौँ ।

क्रमशः

येशू को हुनुहुन्छ ?

हाम्रो अध्ययनको शीर्षक रहेको छः येशू को हुनुहुन्छ? यसको जवाफ कपोलकल्पित, सतही र पूर्वाग्रही नभई गहन अध्ययनमा आधारित तर्कसङ्गत निष्कर्ष हुनुपर्छ । त्यसको लागि तपाईं र मैले स्रोतहरूलाई केलाएर अगाडि बढ्नुपर्छ ।

१. ख्रीष्टियान स्रोतहरू
ख्रीष्टियान स्रोतहरूलाई दुई भागमा बाँड्न सकिन्छ: नयाँ करार र नयाँ करारेतर (नयाँ करार बाहेकका) दस्ताबेजहरू ।

क. नयाँ करार
नयाँ करारका सत्ताइसवटा पुस्तक येशूको बारेमा बताउने सर्वाधिक भरपर्दा प्राथमिक स्रोतहरू हुन् । ५,००० भन्दा बढीको सङ्ख्यामा भएका नयाँ करारका विद्यमान ग्रिक पाण्डुलिपिले नयाँ करारको ऐतिहासिक सच्चाइको पुष्टि गर्छन् । येशूको मृत्युको करिब ६५ वर्षभित्रमा नयाँ करारका सबै पुस्तक लेखिएका थिए । सत्ताइसवटामध्ये कम्तीमा पनि दसवटा पुस्तक उहाँसँगै हिँड्नेहरूले लेखे । पुनरुत्थान हुनुभएका मुक्तिदाताका प्रत्यक्षदर्शी पावलले १३ ओटा पत्र कोरे । येशूको ऐतिहासिक अस्तित्वको लागि नयाँ करारमा अखण्डनीय साक्षीहरू समावेश छन् । इतिहासकारसाथै कानुनविद् जोन मोन्टगोमरीले स्पष्ट रूपमा बताएका छन् कि येशूको वास्तविक वर्णनको लागि एउटा इतिहासकार नयाँ करारका दस्ताबेजहरूमाथि भर पर्न सक्छ । स्वेच्छाचारी सोचाइ, दार्शनिक पूर्वाग्रह र साहित्यिक चालबाजीले यस वर्णनलाई अतर्कसङ्गत बनाउन सक्दैन भनी उसलाई थाहा छ ।

ख. नयाँ करारेतर दस्ताबेजहरू
हामीसँग प्रेरितिय पिताहरूद्वारा लिखित पउल रचनाहरू छन् । नयाँ करारपश्चात् तिनीहरू नै सबैभन्दा प्रारम्भिक ख्रीष्टियान लेखकहरू थिए । प्रेरितीय पिताहरूका रचनाहरूमध्ये इग्नेसियसद्वारा लिखित सातवटा पत्र सबैभन्दा महत्त्वपूर्ण मानिन्छन् । इग्नेसियस सिरियाको एन्टिओखियाका बिशप थिए जो रोमी सम्राट् ट्राजनको शासनकालमा ११७ अगि सहिद भएका थिए । तिनले येशूको मानवतासाथै ईश्वरत्वलाई जोड दिएका छन् । तिनले आफ्नो एउटा पत्रमा लेखेका छन् कि पिलातसको समयमा येशूलाई दण्ड दिइयो; उहाँलाई क्रुसमा चढाइयो र उहाँ वास्तवमै मृतकहरूबाट पुनरुत्थान हुनुभयो ।

इग्नेसियसका अतिरिक्त अन्य प्रारम्भिक लेखकहरूले पनि येशूको बारेमा प्रचुर मात्रामा बताएका छन् । तीमध्ये पोलिकार्प (ख्रिस्टाब्द करिब ६९-१५५), ओरिगेन (ख्रिस्टाब्द १८५-२५३), जस्टिन मार्टर (ख्रिस्टाब्द १००-१६५), तर्तुलियन (ख्रिस्टाब्द १६०-२१५), अलेक्जेन्ड्रियाका क्लेमेन्ट (ख्रिस्टाब्द १५०-२१५) उल्लेखनीय छन् । यीसाथै अन्य प्रारम्भिक ख्रीष्टियानहरूले ख्रीष्ट, उहाँले स्थापना गर्नुभएको मण्डली र उहाँका अनुयायीहरूको बारेमा बृहत् मात्रामा लेखेका छन् ।

प्रेरितहरूले येशूको बारेमा भएका अपरिहार्य सत्यताहरू तिनीहरूका अनुयायीहरूलाई होसियारीपूर्वक सिकाए । ती शिक्षाहरू एक पुस्तादेखि अर्को पुस्तासम्म र एक ठाउँदेखि अर्को ठाउँसम्म सठिक ढङ्गमा प्रेषण हुँदै आएका छन् । तब निर्णय यही हो कि “प्रारम्भिक मण्डलीका लेखकहरूले तिनीहरूका जीवनी र वचनहरू दुवैद्वारा प्रमाणित गरे कि सुसमाचारका विवरणहरूमा उपलब्ध येशूको जीवनको सम्बन्धमा भएका ऐतिहासिक वणर्नहरू सही र भरोसायोग्य छन् ।”

क्रमशः

इतिहासमा आज (डिसेम्बर २८ )

२९ डिसेम्बर १८०९ मा इङ्गल्यान्डमा जन्मेका विलियम ग्ल्याडस्टोन चार पटक इङ्गल्यान्डका प्रधानमन्त्री बने । १२ वर्षसम्म यस गरिमामय पदमा रही तिनले देश र जनताको सेवा गरे । १८६८ मा पहिलो पटक प्रधानमन्त्री बनेका तिनको चौथो कार्यकाल १८९२-१८९४ सम्म लम्बिएको थियो । तिनी उन्नाइसौँ शताब्दीका एक सफलसाथै प्रसिद्ध ब्रिटिस राजनीतिज्ञ थिए ।

संसारमा महान् मानिसहरू उत्पादन गर्नमा बाइबलले खेलेको भूमिकालाई तिनले यसरी व्यक्त गरेका छन्, “मेरो समयमा मैले संसारका पन्चानब्बे जना महान् मानिसलाई चिनेको छु, र तीमध्ये सतासी जना बाइबलका अनुयायीहरू थिए ।”

ख्रीष्टियानको हैसियतमा पनि तिनले निकै चर्चा बटुले । येशूको सन्देश सुनाउनलाई तिनले कति धेरै महत्त्व दिन्थे भन्ने कुरा तल उल्लिखित तिनको जीवनको यस हिस्साबाट छर्लङ्ग हुन्छ ।

हरेक दिन सिँढीहरू चढ्दै संसद भवनमा प्रवेश गर्दा तिनले अखबार बेच्ने एउटा ठिटोलाई येशूको प्रेमको विषयमा बताउने गर्थे ।

एक दिन आफ्नो सचिवसँगै ग्ल्याडस्टोन सिँढी चढ्दै गर्दा समाचारपत्रहरू बेच्ने अर्को सानो ठिटोले प्रधानमन्त्रीलाई रोक्दै यसो भन्यो, “मिस्टर ग्ल्याडस्टोन, प्राय: सधैँ तपाईंलाई अखबार बेच्ने केटोलाई सायद तपाईं चिन्नुहुन्छ । हिजो उसलाई रथले कुल्चेको छ र उसलाई बेसरी चोट लागेको छ । ऊ मरणासन्न अवस्थामा छ । उसले उहाँलाई पाउन चाहन्छ ।”

प्रधानमन्त्रीले सोधे, “‘उहाँलाई पाउन चाहन्छ’ भन्नुको मतलब के हो?”

“त्यसको अर्थ ऊ स्वर्ग जान चाहन्छ”, केटोले उत्तर दियो ।

तर तिनको सचिवले यसो भन्दै रोक्न खोज्यो, “त्यो मर्न लागिरहेको केटोलाई हेर्न जाने समय छैन तपाईंसँग । आज तपाईंले गर्ने भाषण कति महत्त्वपूर्ण छ भनेर तपाईंलाई थाहा छ । यसले अङ्ग्रेज इतिहासको धारलाई परिवर्तन गर्न सक्छ ।”

एकै छिन सोचेपछि ग्ल्याडस्टोनले भने, “संसदमा मेरो भाषणभन्दा एउटा अमरणशील आत्माको महत्त्व बढी छ ।” त्यसैले तिनी हतारसँग केटोलाई राखिएको ठाउँमा गए; उसको निम्ति प्रार्थना गरे अनि केटोले येशूलाई स्वीकार गर्योक अनि ऊ प्रभुको घरमा गयो ।

एक/दुई घण्टापछि ग्ल्याडस्टोन संसद भवनमा आइपुग्दा विवाद चरमोत्कर्षमा पुगेको थियो । तिनी ढिलो भएकाले तिनले आफ्नो भाषण भन्ने समयलाई झन्डै गुमाएका थिए । तर तिनले भाषण गरे । अनि विवादमाथि विजय हासिल गरे । त्यसपछि तिनको सचिवले सोध्यो, “सर, कसरी तपाईं त्यस केटोलाई भेट्न जान सक्नुभयो? तपाईंले झन्डै यस्तो महत्त्वपूर्ण भाषण गुमाउनु परेको थियो?”

प्रधानमन्त्रीले जवाफ दिए, “आजको यो भाषण निकै महत्त्वपूर्ण थियो र यो राम्रो कुरो पनि हो, तर त्यस केटोले मुक्ति पाई ऊ स्वर्ग जानुपर्ने कुरो झनै महत्त्वपूर्ण थियो ।”

रुपियाँ-पैसाको मोहबाट टाढा थिए र हराएकाहरूका निम्ति जोसिला थिए

१८५५ मा एक जना बाइबल शिक्षक जुत्ता गोदामभित्र प्रवेश गरे जहाँ एक जना जवान केटोले जुत्ताहरू पोको पार्ने काम गर्दै थिए । शिक्षकले भने, “ख्रीष्टले तपाईंलाई कति धेरै माया गर्नुहुन्छ भनी म तपाईंलाई बताउन चाहन्छु ।”

परमेश्वरले आफूलाई प्रेम गर्नुभएको सत्यतालाई बुझेपछि तिनले घुँडा टेके र येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गरे । वर्षौंपछि तिनले यस अनुभवलाई व्यक्त गरे, “म नयाँ संसारमा थिएँ । चराचुरुङ्गीहरूले अझै मिठो गाए; सूर्यको तेज अझै चम्किलो भयो । मैले यस्तो शान्तिको बोध कहिल्यै गरेको थिइनँ ।” ती ठिटा अरू कोही नभएर डी. एल. मुडी थिए ।

डी. एल. मुडीको पुरा नाउँ हो, ड्विट लेम्यान मुडी । तिनी उन्नाइसौँ शताब्दीका एक महान् वक्ता हुन् । ह्वाइटफिल्डपश्चात् परमेश्वरको निम्ति दुई ओटा महादेश हल्लाउने पहिलो सुसमाचार प्रचारक थिए मुडी । तिनी सुसमाचार प्रचारकसाथै प्रकाशक थिए । तिनले मण्डली, बाइबल स्कुल र प्रकाशनको स्थापना गरे ।

ख्रिस्टाब्द १८३७ मा डी. एल. मुडीको जन्म अमेरिकामा भएको थियो । मुडी केवल ४ वर्षको हुँदा तिनका पिताको मृत्यु भएको थियो । सानै उमेरदेखि बाँच्नको लागि कमाउनुपरेको थियो मुडीले । तिनले केवल सात कक्षा बराबरको शिक्षा हासिल गरे ।

डी. एल. मुडी १७ वर्ष पुगेपछि तिनी बोस्टनमा भएका आफ्ना नातेदारको जुत्ता पसलमा गए, काम गर्नको लागि । परमेश्वरले तिनलाई कति धेरै माया गर्नुहुन्छ भन्ने वचन सुनेपछि १८ वर्षको उमेरमा मुडीले आफ्नो जीवन प्रभु येशूमा सुम्पे । त्यसको केही समय बितेपछि तिनी सिकागो प्रस्थान गरे जहाँ तिनले पैसा कमाउने उद्देश्यले जुत्ता बेच्ने काम गरे । व्यापारमा तिनी निकै मिहिनेती भए तापनि तिनी धार्मिक कामको लागि आकर्षित थिए ।

१८७२ मा मुडी इङ्गल्यान्ड जाँदा तिनले मण्डलीका कैयौँ सभाहरूमा बोले । तिनी प्रसिद्ध वक्ता बनिसकेका थिए । मुडी बाइबल इन्स्टिच्युटद्वारा प्रकाशित पत्र-पत्रिकाहरूले मुडीलाई उन्नाइसौँ शताब्दीकै महानतम प्रचारकको रूपमा उल्लेख गर्थे । तिनका प्रवचनहरू सुन्न हजारौँ मानिसको भिड लाग्थे । तिनका प्रवचनहरू किताबहरूमा छापिन्थे; पत्र-पत्रिकाहरूमा छापिन्थे र पर्चाहरूमा छापिन्थे ।

मुडी आफैले कुनै कृति नलेखेको भए तापनि तिनका प्रवचनहरूसाथै तिनका अध्ययनहरूलाई पछि सङ्कलन गरिएको थियो । तिनका प्रवचनहरू सुनेर दस लाख मानिसले प्रभु येशूलाई स्वीकार गरे भनी अनुमान गरिएको छ ।

प्रभुमा सुतेपछि २६ डिसेम्बर १८९९ मा मुडीको अन्त्येष्टि गरिएको थियो ।

डी. एल. मुडी परमेश्वरमा पूर्णत: समर्पित सेवक थिए; तिनी प्रार्थनाको योद्धा थिए; परमेश्वरको वचनका विद्यार्थी थिए; विनम्र व्यक्ति थिए; रुपियाँ-पैसाको मोहबाट टाढा थिए र हराएकाहरूका निम्ति जोसिला थिए ।

बाँच्ने कुनै उपाय नदेखेपछि तिनले उही येशूलाई सम्झन पुगे

१७४८ को कुरो हो । पानी जहाज आफ्नै गतिले समुद्रमा अगाडि बढ्दै गर्दा प्रचण्ड आँधी आयो । “जहाज डुब्न लाग्यो !” भन्ने हताशपूर्ण चिच्च्याहट आयो । बिहानसम्ममा तुफान केही हदसम्म मत्थर भए तापनि नाविकहरूले बाँच्ने आशा गुमाइसकेका थिए । अझै केही दिनसम्म खराब मौसम जारी रह्यो यद्यपि जहाज भने समुद्रमा तैरिरहेको थियो । तिनीहरू कहाँ थिए भन्ने तिनीहरूलाई अत्तोपत्तो थिएन र खाना आगामी सात दिनको लागि मात्र पर्याप्त थियो ।

उक्त जहाजमा आफ्नो जीवन पापको सागरमा डुबाएका भयानक ईश्वर-निन्दक पनि थिए जसको नाउँ हो— जोन न्युटन । तिनले जीवनमा यति धेरै पाप गरेका थिए कि तिनको बुझाइमा त्यसको क्षमा हुनै सक्दैनथ्यो । जहाजको पतवारमा घण्टौँ बिताउँदै तिनले आफ्नो विगतलाई सम्झे । आफ्नो बाल्यकालमा तिनले ख्रीष्टियान शिक्षाको बारेमा केही सिकेको भए तापनि तिनले जीवन दिने ती शिक्षाहरूलाई लत्याएका थिए ।

बाँच्ने कुनै उपाय नदेखेपछि तिनले उही येशूलाई सम्झन पुगे जसको तिनले खिल्ली उडाएका थिए, “हे प्रभु, ममाथि दया गर्नुहोस् ।” परमेश्वरले न्युटनको क्रन्दनलाई सुन्नुभयो अनि मृत्युको मुखबाट तिनलाई बचाउनुभयो । तिनी शारीरिक रूपमा मात्र बाँचेनन्, तर आत्मिक रूपमा पनि । परमेश्वर अनुग्रहको अपार खानी हुनुहुन्छ भन्ने तथ्य जोन न्युटनको परिवर्तनबाट छर्लङ्ग हुन्छ ।

पछिल्ला दिनहरूमा न्युटनको जीवनमा नाटकीय परिवर्तन देखियो । ख्रिस्टाब्द १७२५ मा ग्रेट ब्रिटेनमा जन्मेका तिनी प्रखर ख्रीष्टियान वक्ता, कवि र विश्वविख्यात भजन लेखक बने ।

न्युटनद्वारा रचित अम्याजिङ्ग ग्रेस (उदेकको अनुग्रह) नामक बहुचर्चित भजनलाई नेपाली (ख्रीष्टीय भजन, ५९९) मा पनि अनुवाद गरिएको छ । यो भजन न्युटनको पद्यात्मक आत्मिक जीवनी हो । पापको सागरमा डुबेका न्युटनजस्तो “ईश्वर-निन्दक” लाई पनि परमेश्वरको अनुग्रह यति अपार छ कि जसलाई तिनले “उदेकको” भनेका छन् ।

१८०७ मा ब्रिटिस सरकारले दास प्रथालाई कानुनबाट निर्मूलन गर्दा दास प्रथाको विरुद्धमा तिनले निकालेको पर्चाले उल्लेखनीय भूमिका खेलेको थियो । ८२ वर्षको दीर्घायुमा २१ डिसेम्बर १८०७ मा तिनी प्रभुमा सुते ।

यसरी एक पटकको विधर्मी, ईश्वर-निन्दक, दासदासीहरू ओसार्ने जहाजका कप्तान ख्रीष्टियान भइसकेपछि महान् प्रचारक, भजन लेखकसाथै दासप्रथा उन्मूलनको पक्षपोषक बने ।

अन्तरिक्षमा यात्रा गरेपछि तिनको विश्वास झनै वृद्धि भएको थियो

ख्रिस्टाब्द १९२१ मा अमेरिकामा जन्मेका जोन ग्लेन वायुयान चालक, इन्जिनिएर, राजनीतिज्ञसाथै अन्तरिक्षयात्री थिए । पृथ्वीलाई फन्को मार्ने प्रथम अमेरिकी बनी तिनले इतिहास रचे । १९६२ मा तिनले यस ग्रहलाई तिन चोटि घुमेका थिए । यति मात्र नभई तिनी अन्तरिक्षमा जाने पाँचौँ व्यक्ति र तेस्रा अमेरिकी हुन् ।

१९९८ मा ७७ वर्षको बुढेस्कालमा अन्तरिक्षमा यात्रा गरी सबैभन्दा वृद्धावस्थामा अन्तरिक्षको यात्रा गर्ने व्यक्ति बनी तिनले अर्को इतिहास रचे । डिसकभरी नामक अन्तरिक्ष यानबाट गरिएको यस यात्रामा सृष्टिलाई नियाली तिनले यस्तो शानदार अभिव्यक्ति दिएका थिए, “यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ ।”

नासाका अन्तरिक्षयात्री ग्लेन प्रेसबिटेरियन मण्डलीका अभिषिक्त एल्डर थिए । तिनी अन्तरिक्षयात्री बन्नुभन्दा अगावै तिनको धार्मिक जीवनको थालनी भएको थियो र अन्तरिक्षमा यात्रा गरेपछि तिनको विश्वास झनै वृद्धि भएको थियो ।

मनग्गे इनाम र आभुषणहरू हात पारेका ग्लेनले जीवनको अधिकांश समय स्वस्थ भएर नै बिताए । गत साल डिसेम्बरको सुरुमा तिनी अस्पतालमा भर्ना भए र ९५ वर्षको दीर्घायुमा ८ डिसेम्बर २०१६ मा तिनको निधन भएको थियो ।

तपाईं जुनसुकै परिस्थितिमा पनि खुसी हुन सक्नुहुन्छ । तपाईंले केवल परमेश्वरमाथि विश्वास गर्न आवश्यक छ ।”

४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए जसलाई मेडिकल भाषामा टेट्रामेलिया सिन्ड्रोम भनिन्छ । जन्मपश्चात् नर्सले तिनलाई आमाको सामु ल्याउँदा आमाले तिनलाई हेर्नसमेत इन्कार गरेकी थिइन् । अन्ततः निककी आमा र बुबाले आफ्नो छोरोको अवस्थालाई स्वीकार गरे र त्यसलाई “तिनीहरूको जीवनमा परमेश्वरको योजना” को रूपमा ग्रहण गरे ।

निकका दुईवटा ससाना कुरुप पैताला भने थिए । जन्मँदा तिनका पैतलाका औँलाहरू गाँसिएका भए तापनि कुनै कुरो समात्न, पाना पल्टाउन र अन्य क्रियाकलापहरू गर्न ती औँलाहरूलाई प्रयोग गर्न सकून् भनेर शल्यक्रिया गरेर ती अलग गरिएका थिए । विद्युतीय व्हिलचिएर, कम्प्युटर र मोबाइल फोन चलाउनलाई तिनी आफ्ना पैतलाहरू प्रयोग गर्न सक्छन् । तिनले आत्महत्याको प्रयास नगरेका होइनन्, तर तिनी सफल हुन सकेनन् । तिनको यस्तो असाधारण शारीरिक अवस्थाका बाबजुद पनि तिनको वाल्यावस्था भने साधारण किसिमले बितेको थियो ।

एक दिन आमाले निकलाई अखबारमा प्रकाशित कुनै एक जना अपाङ्गता भएको मानिस देखाइन् जसले तिनलाई हौसला मिलेको थियो । त्यसपछि तिनले आफ्नो प्रार्थना गर्ने समूहमा आफ्नो मुख खोल्न थाले । २१ वर्षको उमेरमा तिनले स्नातक पुरा गरे ।

ख्रिस्टा‍ब्द २००५ मा निकले लाइफ विदआवट लिम्ब्स नामक अन्तर्राष्ट्रिय नाफारहित संस्था र सेवा-कार्य स्थापित गरे । त्यसको दुई वर्षपछि तिनले अर्को कम्पनीको थालनी गरे ।

एउटा लघु फिल्ममा नायकको भूमिकामा देखा परेका निकलाई त्यसको सर्वोत्कृष्ट अभिनेताको पुरस्कार दिइएको थियो ।

ख्रिस्टाब्द २००६ मा निक अमेरिका प्रस्थान गरे र २०१२ मा केनी मियाहरासित वैवाहिक बन्धनमा बाँधिए । यी दम्पत्तिलाई परमेश्वरले दुई छोरा दिनुभएको छ र तिनीहरू जुम्ल्याहा छोरीहरूको अपेक्षामा छन् ।

२०१० मा प्रकाशित निकको पहिलो पुस्तककाई ३० ओटाभन्दा बेसी भाषामा अनुवाद गरिएको छ । तिनका डीभीडीसाथै लघु फिल्म बजारमा पाइन्छन् । तिनका अन्य कृतिहरू पनि प्रकाशित छन् ।

आज दुनियाँमा निक ख्रीष्टियान प्रचारक र प्रेरणादायी वक्ताको रूपमा परिचित छन् । आज ३६ वर्षमा प्रवेश गरेका निक यसो भन्छन्, “तपाईं जुनसुकै परिस्थितिमा पनि खुसी हुन सक्नुहुन्छ । तपाईंले केवल परमेश्वरमाथि विश्वास गर्न आवश्यक छ ।” तपाईं पनि तिनलाई ह्याप्पी बर्थडे विस गर्न चाहनुहुन्छ कि?

* Reasons to Believe

तिनको सेवाद्वारा हजारौँ मानिसले प्रभु येशू ख्रीष्टलाई चिन्ने मौका पाए

राजधानीको माइतीघरस्थित एउटा कलेजको नाउँ रहेको छः सेन्ट जेभियर्स कलेज, माइतीघर (चित्रमा हेर्नुहोस्) । ख्रिस्टाब्द १९८८ मा स्थापित यो कलेज २९ वर्ष पुरानो हो । यस कलेजको नाउँमा एक जना व्यक्तिको नाउँ जोडिएको छ जसको नाउँ होः जेभियर । यिनको नाउँमा नेपालमा कम्तीमा पनि चारवटा शैक्षिक संस्था स्थापना गरिएका छन् भने संसारभरि कम्तीमा पनि १८० ओटा शैक्षिक संस्था खोलिएका छन् । को हुन् जेभियर?

ख्रिस्टाब्द १५०६ मा वर्तमान स्पेनको भूमिमा जन्मिएका फ्रान्सिस जेभियरले आफ्नो जीवन मोजमज्जामा बिताएका थिए । तिनको परिवारमा जन्मेका पाँच जना सन्तानमध्ये तिनी कान्छा थिए । तिनका बुबा आमाले तिनी मण्डलीको सेवामा उत्रेको चाहना राखे तापनि तिनी बागी बने । संसारको सुखचैनमा रमाउन चाहने जेभियर समय बित्दै गएपछि संसारका ती कुराहरूबाट पनि वाक्क बने ।

यसै क्रममा जेभियरको भेट इग्नेसियस लोयोला नाउँ गरेको समर्पित ख्रीष्टियान व्यक्तिसित भयो । एक रात ती दुई जना बातचित गर्दै थिए । लोयोलाले मत्तीको सुसमाचारमा उल्लिखित येशूको भनाइलाई उद्धृत गरे, “सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ ?” (मत्ती १६:२६) । येशूका यी वचनहरूले तिनको ह्दयलाई डामे । तत्काल तिनले आफ्नो जीवन येशूमा समर्पित गरे ।

परमेश्वरले जेभियरलाई यति अद्भूत रूपमा चलाउनुभयो कि तिनी मण्डली इतिहासकै महान्‌तम मिसनरीहरूमध्ये एक बने । तिनी येशूको समाज नामक संस्थाका सह-संस्थापक हुन् । ख्रीष्टियान मिसनरीहरू नपुगेका विभिन्न मुलुकहरूमा तिनी पहिलो पटक येशूको सन्देश लिएर गए । तिनले संसारका विभिन्न मुलुकहरूमा येशूलाई चिनाए । तिनको सेवाद्वारा हजारौँ मानिसले प्रभु येशू ख्रीष्टलाई चिन्ने मौका पाए ।

३ डिसेम्बर १५५२ मा ४६ वर्षकै उमेरमा तिनी यस धरतीबाट बिदा भएर गएका थिए ।

त्यस बाइबलले तिनको जीवनमा यस्तो असाधारण प्रभाव पार्थ्यो भनी कसैले अनुमान पनि गरेको थिएन ।

त्यस बेला तिनी विद्यार्थी थिए । कसैले तिनको हातमा बाइबल थमाइदियो । त्यस बाइबलले तिनको जीवनमा यस्तो असाधारण प्रभाव पार्थ्यो भनी कसैले अनुमान पनि गरेको थिएन ।

त्यही सानो बाइबल पढेर ती विद्यार्थीले येशू ख्रीष्टको बारेमा चिन्ने मौका पाए र तिनले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ह्दयमा स्वीकार गरे । खास गरी एफिसी २ अध्यायले तिनको ह्दयलाई छोएको थियो । उद्धारलाई कमाउन सकिँदैन र यो केवल अनुग्रहद्वारा पाइन्छ भनी तिनले बुझे जस्तो प्रेरित पावलले प्रस्ट पारेका छन्, “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी २:८-९) ।

को थिए ती विद्यार्थी ? क्रेग ग्रोस्चेल । २ डिसेम्बर १९६७ मा अमेरिकामा जन्मेका तिनी अमेरिकाको लाइफ चर्चका वरिष्ठ पास्टर हुन् । यो मण्डली अमेरिकाकै सर्वाधिक ठुलो मण्डली हो । अमेरिकाको सातवटा राज्यको पच्चिस ओटा स्थानमा यसले आफ्नो सेवाको पाल तन्काएको छ । यस मण्डलीमा हरेक हप्ता झण्डै एक लाख मानिस जम्मा हुन्छन् । यस मण्डलीको बाइबल एप्सलाई २० करोड पटक डाउनलोड गरिएको छ ।

आज ५१ वर्ष लागेका क्रेगलाई तपाईं जन्मदिनको शुभकामना दिन सक्नुहुन्छ ।

रोजा एक भक्त ख्रीष्टियान थिइन् जो ख्रीष्टियान परिवारमा हुर्केकी थिइन्

१ डिसेम्बर १९५५ का दिन रोजा पार्कले विनाउद्देश्य यस्तो केही गरिन् जसले समर्पित नागरिकहरूको एउटा समूहलाई प्रेरित गर्‍यो र संसारमा परिवर्तनको थालनी भयो । अमेरिकाको अलाबामा राज्यमा पर्ने मोन्टगोमरीमा काम सकेर घर जानलाई उनले एउटा सार्वजनिक बस समातिन् र उनी पछाडिपट्टिको सिटमा बसिन् । बस चाँडै नै भरियो । श्वेत (सेतो छाला भएको ) मानिस बसमा चढ्दा तिनले कुनै सिट पाएनन् । बस ड्राइभरले अफ्रिकी-अमेरिकीहरूलाई सिट छाड्न अनुरोध गर्दा रोजाले इन्कार गरिन् । फलतः उनलाई गिरफ्तार गरियो ।

अमेरिकामा यस प्रकरणलाई नागरिक हक अभियानको आरम्भको रूपमा हेरिन्छ । केही दिनभित्रमा नै अफ्रिकी-अमेरिकीहरूले विरोधस्वरूप बस छाड्न छाडे र तिनीहरूले झण्डै एक वर्षसम्म नै यसलाई निरन्तरता दिए । यात्राको लागि तिनीहरू पैदलै हिँड्थे वा तिनीहरूले अन्य साधनहरूको प्रयोग गर्थे । श्वेत र अश्वेतबिच बसमा गरिने यो किसिमको विभेदलाई लिएर अफ्रिकी-अमेरिकीहरू अदालतसम्म पुगे । रोजाले श्वेत मानिसलाई सिट दिन इन्कार गरेको एक वर्ष पनि बित्न नपाउँदै अमेरिकाको सर्वोच्च अदालतले त्यो विभेदकारी नियमलाई अवैधानिक ठहर्‍यायो । रोजाको सानो कदमले ठुलै हलचल ल्याइदियो ।

ख्रिस्टाब्द १९१३ मा अमेरिकामा जन्मेकी रोजालाई “नागरिक हककी प्रथम केटी” र “स्वतन्त्रता अभियानकी आमा” को रूपमा आदर गरिन्छ । उनी नागरिक हक अभियानकी एक अभियन्ता थिइन् । उनको त्यो सानो कदमले अमेरिकामा मात्र नभएर संसारमा नै रङ्गभेद विरुद्धको आन्दोलनमा आगो सल्काएको थियो ।

रोजा एक भक्त ख्रीष्टियान थिइन् जो ख्रीष्टियान परिवारमा हुर्केकी थिइन् । “प्रार्थना र बाइबल मेरो दैनिक जीवनको सोचाइ र विश्वासका भाग थिए”, पछि उनले लेखिन्, “परमेश्वरमाथि मेरो भरोसा राख्न र उहाँलाई मेरो शक्तिको रूपमा खोजी गर्न मैले सिकेकी छु ।” यस्तो कदमको लागि उनलाई निश्चय नै परमेश्वरको शक्तिको खाँचो थियो ।

त्यस दिन कुनै अभियानको सुरुवात गर्ने रोजाको मनसाय थिएन । उनी केवल अन्याय देखेर थकित भएकी थिइन् । अगमवक्ता यशैया भन्छन्, “भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ” (१:१७) ।