तर येशू सधै एक समान हुनुहुन्छ

सबैलाई मेरो प्यारो जयमसिह !
मेरो नाम कालीमाया तामाङ ( मिलाप चर्च, बर्दघाट न.पा.१६ सिद्दनगर )

परमेश्वरलाई धन्यबाद होस् कि आजको यो दिन सम्म परमेश्वरको राज्यको सु-समचारको निम्ती यसरि गवाही दिन पाएको छु | सम्पूर्ण जीवन गवाही लेखिन सम्भब नभएतापनि केहि अंशको रुपमा तपाईहरुको निम्ती आशिष र प्रभुको निम्ती कार्या गर्ने प्रोत्साहन बनोस भनि बाढ्दैछु | लेखिन लायक धेरै कुराहरु भएतापनि म बिशेष आज मैले मान्दै आएको देबिदेवाता र कुरीतिको छोटो चर्चालाई पनि जोड्ने प्रयास गरेको छु | केहि समय मिलाएर अवश्य पढ्नुस् है त….

म अहिले ८३ वर्षको भए | मेरो जन्म बि.स.१९९१ साल बैशाख २७ गते मकवानपुर जिल्लाको नगमजल भन्ने ठाउँमा एउटा बोम्जन परिवारमा भएको थियो | मेरो बाबाको नाम सानु बोम्जन र आमाको नाम सुक माया बोम्जन हो | मलाई अलि अलि याद आउछ मेरो बाबाको जुँगाको रेसा अलि अलि बस्दै थियो जब म ४ वर्षको थिए मेरो बाबा बित्नुभयो | बाबाको अरु कोहि थिएँन र आमाको पनि कोहि थिएन त्यसमाथि मेरो आमा अलि लाटी पाराको हुनुहुन्थ्यो | त्यसैले होला मेरो बाबाको मृत्यु पछी समाजले हेलाको दृष्टिकोणले हेर्न थाले | गाउँको जमिन्दार भनौदाहरुले हाम्रो लाचारीपनको भरपुर फाईदा उठाए | हामीलाई सधै धम्कईन्थ्यो | राति राति ढोका फोरौला झैँ गरि ढोकामा हतियारले हिर्काउने गर्थे | उनीहरुले कसरि हामीलाई याँहाबाट भगाउ र हाम्रो जमिन कब्जा गरौ भन्ने दाउमा थिए | यसरि संघर्ष गर्दै हामी त्यसै ठाउँमा २ वर्ष सम्म बस्येउ | त्यसपछि हामी बस्न नसकी जग्गा जमिन त्यास्सै माया मारेर आमाको माईति मेरो मामा घरमा गएउ | हामी दुख सुख गरेर मामा घर बस्न थाल्येउ | त्यसको केहि बर्षमा नै आमाको बिवाह भयो | आमाको बिबाह हुदा मलाई एउटा कोठामा चुकुल लगाई बन्द गरेर राखेका थिए , सायद मैले त्यस बिबाहमा बाधा पुर्र्यौछु भनेर होला | आमाको बिबाह भएपछी म पूर्ण रुपमा टुहुरो भएको महसुस गर्न थाले | यसरि म बाल्या अवास्थामा हुदा मैले पाउनु पर्ने माया र ममता बाट पुर्ण रुपमा बन्चित भए | त्यसपछि मेरो दुखको दिनहरुको सुरुवात भयो | जसलाई स्मरण गर्दा समेत अहिले शरीरका रौहरु खडा हुन्छन |

बि.स. २००८ सालमा जब म १५ वर्षको थिए खड्का बहादुर तामाङ नाम गरेको २५ वर्षीय व्यक्ति मलाई माग्न आएपछी मेरो विबाह त्यसै बखत भयो | बिबाह भएर म धादिङको अमर्खु डाडामा आईपुगे | बिबाह भएपछी हाम्रो दाम्पत्ति यात्रा १० वर्ष सम्म चल्यो अर्थात मेरो विबाह भएको १० वर्ष पछी मेरो श्रीमान बित्नुभयो | म २५ वर्षको उमेरमा बिधुवा भए | यसरि २ वर्ष सम्म एक्लै बसिरहेको थिए, त्यस्तैमा एक दिन देवर पर्ने, म भन्दा २ वर्ष कान्छो डमर बहादुर मोक्तानले विवाहको प्रस्ताब अघि बढाए पछी मैले सुईकारा गरे ( यस बीच धेरै लामो कहानी छ ) अनि हाम्रो विबाह भयो |

त्यसपछिको मेरो जीवन कहानी बताउनु अघि त्यस बखत मैले वा मेरो परिवारले मान्ने देबी देवता, मुल्या मान्यता र चलन चल्तीको छोटो परिचय दिन चाहन्छु | तामाङ जाती भित्र थुप्रो थरहरु हुन्छन र थर अनुरुप नै कुटुम्ब र दाजुभाई पर्ने थरहरु निर्धारण गरिन्छ |
मैले भन्न चाहेको मुख्या कुरो चै तामाङ जाति भित्र देबिदेवता मान्ने कुरामा भिन्नता पाईन्छ | यस्तै चालचलन, मुल्या मान्याता र रितिथिती केहि हद सम्म बेग्ला बेग्लै पाउन सकिन्छ | हाम्रो मोक्तान जातिमा चै लेखनमा स्पष्टता नआउने भएतापनि “ल” भनि देवातालाई उच्चारण गरिन्थ्यो | अब सुन्नुहोस ”ल” को अर्थ देवता भन्ने हुन्छ | हामीलाई यस देवताको नाम हुन्छ हुदैन त्यो थाह छैन तर यसलाई “ल” भनि सम्बोधन गरिन्थ्यो | यो देवताले जब जब परिवारमा कसैलाई सताउदथ्यो, वा कोहि रोगि बिमार भएको खण्डमा वा ठुलै बिपत्ति आएको बेला | ( भोर्ला भन्ने एक प्रकारको लरा हुन्छ जस्को पात फराकिलो र चौडा हुन्छ ) भोर्लाको पातमा एक माना चामल राखेर, त्यसैमा एक मोहोर पैसा पनि राखेर थैलोलाई बन्द गरि बाधेर घरको धुरिमा झुण्डाएर राखिन्थ्यो | अनि एउटा बाख्रा कुनै डाडामा लगेर कुल पुजा गर्ने व्यक्तिले बिधि अनुसार फालाकेर त्यसलाई मारेरे खाईन्थ्यो | यसो गर्दा सताउने देवाताले सताउँन छोड्छ भन्ने बिश्वास थियो | यो सब प्रक्रिया त्यस सताउने देवतालाई मनाउन गरिएको चलन थियो | यसरि यो प्रक्रिया पुरा गरेपछि २ वा तिन वर्ष सम्म वा जब सम्म त्यस देवताले फेरी सताउदैन थियो तब सम्म त्यो प्रक्रिया दोहोराउनु पर्दैन थियो | फेरी दोहोराउनु परेको खण्डमा पहिले झुण्डाएरा राखेको पोकालाई फुकालेर त्यस पोकोलाई फेरी, पुन डाडामा एउटा बाख्रालाई लगेर त्यहि बिधि दोहोराउनु पर्थ्यो | यो प्रक्रिया बौ बाजे देखि चली आएको चलान थियो औ भन्ने हो भने यो जीवन भरि चली रहने हाम्रो जीवन संग जोडिएको एउटा अंश वा जीवनको एक पाटो नै थियो | अब रीतिको कुरा गर्नु पर्दा चै एउटाअ मात्र कुरा बाड्न चाहन्छु । जब कुनै एउटा मान्छे मर्यो भने मृतकको श्रीमान् वा श्रीमती अनि उसका छोराछोरिले किर्या गर्नुपर्थ्यो | किर्या ३ दिनमा सकिन्थ्यो तर धनीमनिहरुले ४ वा ५ दिन सम्म गर्न सक्थ्यो | किनकी किर्या धेरै खर्चालु हुने भएकोले साधराण बर्गका मानिसहरुले चाहेर पनि धेरै समय सम्म गर्न सक्दैन थ्यो | मृतकको परिवारले तत्कालै किर्या प्रक्रिया सुरु गरेर मान्छे मरेको तेस्रो दिनमा नै किर्या देखि उम्कन सकिन्थ्यो तर तत्कालै किर्या गर्न नसक्ने वा नचाहनेहरुले चै जब सम्म किर्य सकिदैन तब सम्म स्त्रीहरुले केश कोर्न,सिंगारपटार गर्ना, चम्किलो बस्त्र पहिरिन पाईदैन थियो | पुरुषहरुको सन्दर्भमा किर्या नसकेसम्म केश राख्न पाईदैन थियो | ल सुन्नुहोस अब एउटा मान्छे मरेपछि त्यस सोकित परिवारले उठाउनु पर्ने झन्झटिलो कु – रितिको उल्लेख आज म याँहा गर्दै छु | जब कुनै मान्छे मर्छ, तब लासलाई कतै नाभागोस भन्ने हेतुले झैँ गरि बासको घारोमा डोरीले टन टन कसेर बाधि, चिहानमा लागि जलाईन्थ्यो | जलेर सकिएपछी त्यस लासबाट केहि हड्डीका टुक्राहरू थैलोमा पोको पारि मृतको घरमा ल्याईन्थ्यो | गजबको कुरो के छ भने, त्यस हड्डीको टुक्राहरुको साथै त्यस मृतको लुगाहरु अनि गरगहनाहरु एउटा थैलोमा राखी घरको कुनै एउटा खाबामा जब सम्म किर्या हुदैन तब सम्म झुण्डाएर राखिन्थ्यो | जब किर्या हुने समय आउछ तब बासको एउटा मान्छे आकरको करङ बुन्ने गरिन्थ्यो र त्यो मृतकको घरमा झुण्डाएर राखेको पोको फुकालेर त्यसै मृतकको लुगालाई अघि बुनेको करङमा लगाईन्थ्यो | यसरि मारी सकेको व्यक्तिको पुत्ला बनाईन्थ्यो | त्यस पूत्लाको भित्रि भागहरुमा त्यसै मृतको हड्डीको टुक्राहरू अड्काएर राखिन्थ्यो | जब लामाले ढ्यांग्रो ठोक्थ्यो तब मृतको जोई चेलाले त्यो पुत्लाल्लाई उठाएर नचाउदै,नचाउदै, हिडाउथ्यो | यसरि लाने क्रममा त्यस पुत्लामा अड्काएर राखिएको त्यसै मृतकको हड्डी जहा पुगेर खस्दथ्यो त्यहा नै त्यस हड्डी र त्यस मृतको सबै लत्ताकपडा र स्मृतिहरू जलाएर नाश गरिन्थ्यो , यसरि किर्या प्रक्रिया सम्पने हुने चलन थियो |

यस्ता थुप्रै चलनहरु हाम्रो जातिमा छन् जसलाई आजको दिन सम्म अनुकरण गरिरहेका छन् | धन्य हुन् परमेश्वर जसले मलाई यस दलदल बाट बाहिर निकाल्नु भयो | अब म फेरी अघि थाती राखेको कुरालाई क्रमश अगाडी बढाउन चाहन्छु | मेरो दोस्रो बिबाह देवर पर्ने म भन्दा २ वर्ष कान्छो डमर बहादुर मोक्तान संग भएको थियो | हामी मध्या कसैले पनि त्यस बेला सम्म येशूको नाउ सुन्न पाएका थिएनौ | हामी धादिङ बाट बि.स. २०२८ सालमा नवलपरासीको गैडाकोट भन्ने ठाउँमा बसाईसरि आएउ | त्यस बखत १ बिगा जमिन लिएर हामी गैडाकोटमा बसेका थिएउ | लामो समय सम्म बर्ष नहुदा खेति उबजनी नभएको कारणले बाध्यता बस हामी त्याहा बाट बसाई सरि बि.स. २०३० सालमा नवलपरासीको अरुमखोलाको तमस्पुर भन्ने ठाउँमा गएर बस्न थालेउ | त्याहा बस्दा एक दिन मेरो सासु बित्नुभयो | त्यस लासलाई दुई दाजुभाईले मात्र फाल्नु परेको त्यस क्षणले समाजको महत्वा स्पष्ट संग बुझाईदियो | हामी तमस्पुरमा ३ वर्ष जति बसिसकेपछि आफ्नै जाति खोज्दै नवलपरासीको नै बरटाडी भन्ने गाउँमा बि.स. २०३३ सालमा बसाई सरि आएउ |
अब सुन्नुहोस हाम्रो परिवारको यात्रा बिवरण एकदम झमेलो र उल्झनले भरिएको भएतापनि हामी जुन गाउँमा जादै थिएउ त्यो गाउँ सु-समाचारको केन्द्र थियो | नवलपरासीमा रहेको, जंगलले घेरिएको यो ” बरटाडी ” भन्ने सानो गाउँ नवलपरासी जिल्लाको ख्रीष्टियन इतिहासमा लेखिन योग्या गाउँ हो | आज नवलपरासीमा झन्डै १५० भन्दा बेसी मंडलीहरु स्थापना भै सकेका छन | यसको सुरुवात यसै ” बरटाडी ” गाउँ बाट भएको थियो | जब हामी बसाई सरि ३३ सालमा बरटाडी गाउँमा गएउ त्याँहा पहिला देखिने ईसाईहरु थिए | अर्थात यो गाउँमा ईसाईहरु पहिले देखिनै बसोबास गरिरहेका थिए | त्यस बखत अहिले जस्तो खुल्लमखुल्ला सु-समाचार त के संगति पनि गर्न पाईदैन थियो | त्यसैले यस गाउँमा ईसाईहरु आध रातमा भेट भएर संगति गर्ने गर्दथ्यो |

हाम्रो ३६ सालमा छैटो सन्तानको रुपमा कान्छो छोरो भयो | यसै सालमा बि..स. २०३६ सालमा मेरो साईलो छोरो बीर बहादूर मोक्तान रगत दिसा गर्ने र पेट फुलिने रोगले ग्रस्त भयो | लामा,धामीझाक्रीलाई देखाएउ केहि बिसेक भएन | कुनै पनि बिकल्प वा उपाय हामी संग थिएन | एक दिन मेरो श्रीमान काम गर्न जानुहुदा काम गर्ने क्रममा आफ्नो मनको यस पीडालाई पोख्नुहुदा आफ्नो साला पर्ने सिंग बहादुरले येशूको विषयमा सुनाउनुभएछ | त्यसपछि घरामा आएर मलाई सुनाउनुभयो | लौ त अब छोराको यो अवस्था छ बिशेक भयो भने त भैगोनि भनेर श्रीमानले दुई तिन पटक सम्म राति उनीहरुको संगति हुने बेलामा लगेर प्रार्थना गराएपछी मेरो छोरो पुरै निको भयो | त्यसपछि हामीले जान्येउ कि वास्तबमा हामीले पुज्नु पर्ने परमेश्वर त येशू पो रहेछ | मेरो छोरो निको पार्नको निम्ती येशूले न बोका माग्नु भयो न बाख्रा न भाले , तर लामा धामिझाक्रिले निको पार्छु भनेर मागेका सबै कुराहरु दिदा पनि निको पार्न सकेनन | म पापमै जन्मेको छु यसमा म दोषी हुदिन तर यदि म पापमै मर्छु भने यसको लेखा अनन्तको नरक हो भन्ने मैले जाने | त्यस दिन देखि निको भएको मेरो साईलो छोरोलाई परमेश्वरमा समर्पण गरे अनि हामी श्रीमान श्रीमती दुबैले त्यसै वर्ष त्रीएक परमेश्वरको नाउँमा पानीको बप्तिस्मा लिएउ | यो हाम्रो जीवनको सबै भन्दा महत्वपुर्ण छनोटको दिन थियो | त्यसपछि हामीले मान्दै आएको ” ल ” देवतालाई पुज्न छाडीदिएउ, अर्को कुरो चै त्यसलाई मनाउनुको साटो येशूको नाउँमा त्यसलाई हकारेर सधैको निम्ती भगाएउ | बि.स २०३६ सालको हाम्रो छनोटलाई आज ३८ वर्ष पछी बि.स. २०७४ सालमा आएर स्मरण गर्दा त्यस दिनको छनोट प्रति गर्ब गर्छु र परमेश्वारमा धन्यबादी हुन्छु | जुन छोराले रगत दिसा गर्ने समस्या बाट चंगाई पाई हामीले पनि बिश्वास गर्ने मौका पाएउ आज त्यो छोरा ४०० जना बिश्वासिहरुको माझमा सेवा गर्ने सेवक वा पाष्टर भएर कार्या गर्दैछ | यो मेरो जीवानको सबै भन्दा ठुलो आशिष र बाड्नु पर्ने गवाही हो | हरेक व्यक्ति बाच्न सकोस भनी परमेश्वरको अनुग्रह सबैको निम्ती समान रुपमा उपलब्ध छ | सु-समाचार भन्दा महत्वको विषय अहिलेको युगमा आएर छनोटको भएको देख्दैछु | हो सु- समाचार महत्वपुर्ण अवश्य छ तर सुईकार नगरिएका सु-समाचारहरु सुंगुरको अघि फालिएको हिरा र मोति सरह हो | सु – समाचार सुईकार नहुनुको मुख्य समस्या पुर्खाले मान्दै आएको, पुर्खाले गर्दै आएको कुराहरु त्याग्नु हुदैन भन्ने मुख्या आख्यानको वा मुल्या मान्याताको कारण हो | बिकासको कुराहरुमा पुर्खालाई हेरिदैन तर यहि धार्मिक र परम्परागत बिचार र धारणाहरुमा मात्र सिमित राखिन्छ | चाहे त्यो असल होस् या खराब | आफ्फै अनुभब गरेर होइन कि पहिलाकोले अनुभब गरेको रे भन्ने अनुमानमा आफ्नो एक पाटो आस्थामा कुदिनै रहेको छ | हो आज सम्म हाम्रो जातिमा आफुलाई दु:ख दिने देवतालाई मनाउदै, त्यस देवता संग सम्झौता गर्दै जीउने चलन यथावात छ | परमेश्वरलाई धन्यबाद फेरी पनि कि आज मैले त्यस सम्झौता र बन्धनको जीवनबाट छुटकारा पाएको छु | हिजो मनाउनु पर्ने देवतालाई आज येशूको नाउँमा हकारेर भगाउन सक्छु | मेरो बृद्द शरीर कम्जोर होलान तर आत्मिक रुपमा अझै जवान झैँ बलियो छु | ८३ वर्षको उमेर सम्मा आउदा मेरो जीवनमा सुख दु:ख ,हासो खुशी ,अनेकौ उत्तरचढाबहरु अनि असल र खराब सबै थरिको कुराहरुको महसुस गर्न सके , त्यो जमनाको मान्छे म आहिले यस्तो आधुनिक र विकासित युगमा आएर पनि जीउदै छु परमेश्वरको कृपाले | मैले मेरै आँखाले संसार परिवर्तन भै रहेको देखे, चालचलन, भेषभुषा रहनसहन ,बोलीचाली, हरेक कुरामा परिवर्तन देखे | तर त्यो युगदेखि अहिलेको युगसम्म एउटा कुरा चै परिवर्तन भएको देखिन त्यो हो ” मेरो येशूको प्रेम ” येशूले तपाई र म हरेकलाई प्रेम गर्नुहुन्छ यो प्रेम बदलिदैन , सधै उस्तै र उत्तिकै झन बढ्दै बढ्दै जाने प्रेम | समय परिवर्तन हुन्छ , जमना बदलिन्छ, तपाई र म पनि बदलिन्छौ तर येशू सधै एक समान हुनुहुन्छ | आमेन | परमेश्वरले तपाईलाई प्रशस्त मात्रमा आशिष दिउन ।
जयमसिह !!!

साभार – अार्टिकल पाेष्ट बाट
written by : Prashanna Gomja

Related Articles

Back to top button