‘ख्रीष्टिय जीवनको दौड’

बाइबलमा ख्रीष्टिय जीवनको तुलना एउटा यात्रासँग गरिएको छ । हामी ख्रीष्टका अनुयायीहरू सबै स्वर्गतिर जाँदैछौं । हामी स्वर्गका यात्रीहरू हौं । स्वर्ग हाम्रो गन्तव्य, हाम्रो पुग्नुपर्ने ठाउँ, हाम्रो घर हो । पावलले ख्रीष्टिय जीवनको तुलना एउटा दौडसँग पनि गरेका छन् । यात्रामा हामी भ्याएसम्म आफ्नो सुविधाअनुसार जति पनि समय बिताउन सक्छौं तर दौडमा हामीहरूले छोटोभन्दा छोटो समयसम्ममा निशानासम्म पुग्ने कोशिष गर्नुपर्छ । दौडमा जहिले पनि हतार हुन्छ । सुस्तसँग दौड दौड्न सकिन्न । फिलिप्पी ३ः१२–१४ मा पावल तिनको जीवनको दौडबारे लेख्छन् । ८ पदमा तिनी लेख्छन्, ‘ख्रीष्टलाई प्राप्त गर्न सकुँ भनेर मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर–मैलातुल्य म गन्दछु ।’ यो लेख्नभन्दा प्राय तीस वर्ष अघि नै तिनले दमिशकको बाटोमा ख्रीष्ट प्रभुको दर्शन पाएर उहाँलाई चिनिसकेका थिए । उहाँलाई चिनेको भए तापनि अझ राम्ररी चिन्ने र उहाँजस्तै बन्ने तिनको उत्कट इच्छाको बारेमा तिनी १० पदमा लेख्छन् । ख्रीष्टिय जीवनको यात्राको लक्ष्य स्वर्ग हो भने ख्रीष्टिय दौडको निशानाचाहिँ ख्रीष्ट हुनुहुन्छ । हिब्रूको पत्र लेख्नेले पनि हिब्रू १२ः१–२ मा यसरी नै लेखेका छन् । तिनी भन्छन्, ‘हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेर्दै हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं ।’ फिलिप्पी ३ः१३ मा पावल लेख्छन्, ‘भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै … निशानातिर म जोडसँग अघि बढ्दछु ।’ दौडमा सबैलाई उछिनेर पहिलो बन्न चाहने धावकले पछि छोडिराखेका कुराहरूलाई बिर्सेर जोडसँग अघिल्तिर लम्कनु पर्दछ । हामी पनि पावलझै हाम्रो सामुन्ने राखिएको दौड दौडिरहेका छौं । कति त निकै अगि पुगिसकेका छन्, कति अझै पनि पछाडि नै छन् । ख्रीष्टसम्म पुग्ने र उहाँजस्तै बन्ने हामी सबैको चाहना हो । यसैले यो दौड जित्नलाई हामी आफ्नो भएभरको ताकत बटुलेर जोडसँग लम्कँदै अगाडि बढ्नुपर्छ ।

१० पदमा पावल लेख्छन्, ‘… पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै … निशानातिर म जोडसँग अगि बढ्दछु ।’ दौडमा दौडने धावकहरूले पछाडितिर फर्केर हेर्दैनन् । दौड नसिध्याएसम्म उनीहरू अघिल्तिर रहेको निशानातिर मात्र हेरेर दौडन्छन् । चारैतिर रहेका दर्शकहरूलाई पनि तिनीहरू हेर्दैनन् । तिनीहरूका उत्साहका शब्दहरू तथा तिनीहरूले बकेका कठोर गालीहरूतर्फ पनि तिनीहरूले ध्यान दिँदैनन् ।

प्रतिस्पर्धाका लागि उत्रेका अरू सबैलाई उछिनेर म कसरी सबभन्दा पहिले निशानामा पुग्न सकुँ ? यही हरेकको एउटै विचार हुन्छ । पछाडिका साथै वरिपरिका कुराहरूले तिनीहरूलाई अल्मल्याउँदछन्, तिनीहरूको ध्यान अरू कुराहरूतिर खिच्छन् । यसैले एकाग्रचित्त भएर तिनी अरू कुराहरूतिर ध्यानै नदिई द्रूत–गतिले अगाडि दौडन्छन् । हामीले तिनीहरूबाट सिक्नुपर्ने यो एउटा मुख्य कुरा हो । अहिलेसम्मको हाम्रो दौडमा हामीले पाएको सफलता वा भोगेको असफलताले पनि हामीलाई अल्मल्याउन सक्छ । सफलताको कुराले हामीलाई अभिमानी, घमण्डी बनाउन सक्छ भने असफलताको कुराले हामीलाई निराश, हतोत्साह गराउन सक्छ । यस्ता कुराहरू सोच्न थाल्यौं भने हाम्रो दौडमा हामी विजयी बन्न सक्तैनौं । यसर्थ पछाडिका र वरिपरिका कुराहरूलाई बिर्सेर खाली अगाडिका कुरातिर मात्र आफ्नो ध्यान केन्द्रित गरेर हामी अगाडि लम्कनुपर्छ ।

१ कोरिन्थी ९ः२४ मा पावल लेख्तछन्, ‘के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दौडन्छन् तर इनामचाहिँ एउटैले मात्र पाउँछ । तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड ।’ दौडमा भाग लिने सबैलाई इनाम दिईंदैन । इनाम पाउनको निम्ति दौड्ने खेलाडीले अरू सबैलाई जित्नुपर्छ । यसैकारण दौडमा भाग लिने खेलाडीहरूले धेरै समय अघिदेखि नै कठोर परिश्रम गर्छन् । तिनीहरूले आफ्ना शरीरलाई राम्ररी सधाउँछन् । तिनीहरू सबै कुरामा अत्यन्तै आत्मसंयमी हुन्छन् । खाने–पिउने कुराहरूमा तिनीहरू एकदमै होशियारी गर्छन् । जाँड–रक्सी, चुरोट–तम्बाकु जस्ता स्वास्थ्यलाई हानी पुर्‍याउने कुराहरूबाट तिनीहरू टाढै रहन्छन् । जे जस्तो पायो जहिले पनि जथाभावी खाँदैनन् । शरीरलाई स्वस्थ राख्नलाई ठीक ठीक चाहिए जति मात्र ठीक समयमा ठीक प्रकारले खान्छन् । सुत्ने–उठ्ने कुराहरूमा पनि तिनीहरू लापरवाही गर्दैनन् । तिनीहरू आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछन् र वशमा राख्छन् । यो तिनीहरूको दिन दिनको अभ्यास हुनुपर्छ । १ कोरिन्थी ९ः२४–२७ मा पावलले यो कुरो राम्ररी बताएका छन् । तिनले यो पत्र लेखेको समयमा खेलमा विजयी हुने विजेताहरूलाई इनामस्वरूप एउटा लहराले गुँथेको मुकुट दिने चलन थियो । २५ पदमा तिनी लेख्तछन्, ‘… तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं ।’ तिनको जीवनकालका आखिरी दिनहरूमा तिनले २ तिमोथी ४ः७–८ मा यसो भन्छन्, ‘… मैले दौड सिध्याएको छु । अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ जो धार्मिकताका न्यायाधीश प्रभुले मलाई दिनुहुनेछ ।’

प्रभुले दिनुहुने यो मुकुट ओइलाएर नाश हुने मुकुट होइन । योचाहिँ सधैँसम्म रहिरहने मुकुट हो । पावलले भन्न चाहेको कुरोचाहिँ यदि चाँडै नै ओइलाएर जाने लहराको मुकुट पाउनलाई ती खेलाडीहरूले त्यस्तो कठोर परिश्रम गर्थे, त्यस्तो ठूलो त्याग अपनाउँथे भने प्रभुबाट प्राप्त गरिने त्यो अविनाशी धार्मिकताको मुकुटको निम्ति हामी अझ कति बढी तयार हुनुपर्ने हो । यसैले हामीले शरीरका कुरामा भन्दा आत्माका कुरामा बढी ध्यान दिनुपर्छ । बाइबल पढ्ने, प्रार्थना गर्ने, प्रभुसँग समय बिताउने, विश्वासीहरूको संगतिमा जाने इत्यादि कुराहरूको अभ्यासमा हामीले विशेष समय बिताउनुपर्छ । खाने–पिउने, रमाइलो गर्ने, ख्याल ठट्टा गर्ने जस्ता मनोरञ्जनका कुराहरूमा धेरै समय फाल्नु हुँदैन । यस्तो बानी बसाल्यौ भने पावलले
झैँ हामी पनि सफलतापूर्वक आफ्नो दौड सिध्याउन सक्नेछौं र धार्मिकताको मुकुटको इनाम प्राप्त गर्न सक्नेछौं ।

फिलिप्पी ३ मा पावल लेख्छन्, ‘ख्रीष्टलाई प्राप्त गर्न सकुँ भनेर’ ‘ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अगि बढ्दछु । हिब्रूको पत्र लेख्नेले पनि
हिब्रू १२ मा लेखेका छन्, ‘… हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेर्दै हाम्रा सामुन्ने राखिदिएको दौड धैयसँग दौडौं ।

१ कोरिन्थी ९ः२६ मा पावल भन्छन्, “लक्ष्य नराखी म दगुर्दिन । ख्रीष्टिय दौडको लक्ष्य नै ख्रीष्ट हुनुहुन्छ । कसरत गर्नेहरूले आफ्नो शरीरलाई सधाउनलाई दौडने मेशिन (Tread mill) मा दौडे जस्तो होइन । त्यसमा गतिचाहिँ हुन्छ तर प्रगति हुँदैन । जत्तिकै तेजसँग दौडे पनि कहीँ नपुग्ने, सधैँ एउटै ठाउँमा रहिरहने, त्यस्तो दौड हामी ख्रीष्टियानहरूका निम्ति होइन । सोच्नुहोस्, ख्रीष्टमा तपाईं कहाँसम्म पुग्नुभएको छ ?

यशैया ४०ः३१ मा लेखिएको छ, “परमेश्वरको बाटो हेर्नेहरूले नवीन सामथ्र्य पाउनेछन् … दगुरेर पनि तिनीहरू थाक्ने छैनन् ।” परमेश्वरमा भरोसा राखेर दौडनेहरूलाई उहाँले पवित्र आत्माको सासको ताजा भरपूरी दिइराख्नुहुन्छ र तिनीहरू लामो समयसम्म पनि नथाकेर दौडिरहन सक्छन् ।

२० ता.अक्टोबर १९६८ को कुरो हो । मेक्सिको सिटी ओलम्पिक रंगशालामा त्यही दिन म्याराथोन दौड राखिएको थियो । कति देशका धावकहरूले २६ माइल ३८५ गज लामो दौड दौडेका थिए । त्यो दौडमा एथियोपियाका म्यामो वोल्डेले प्रथम स्थान प्राप्त गरेर स्वर्ण पदक हात पारेका थिए । त्यस दिनका सबै खेलहरू सिद्धिएपछि दर्शकहरू घर फर्कने तर्खरमा थिए । कति त अघि नै गइसकेका थिए । बेलुकी ७ बजेतिर अकस्मात् मूल ढोकाबाट साईरन र सिटीको आवाज आयो । सबैको दृष्टि त्यतैतिर गयो । घुँडामा र कुर्कुच्चामा पट्टी बाँधेको एकजना खेलाडी आफ्नो खुट्टा घिस्याउँदै बिस्तार–बिस्तार दौड्ँदै भित्र आयो । टुङ्गोसम्म पुग्नलाई उसलाई मूल ढोकाबाट प्राय ४०० मिटर दौडनुपर्ने थियो । अफ्रिकाको तान्जिनिया देशको ३६ नम्बर भेस्ट लगाएको म्याराथोन दौडको एउटा धावक रहेछ । तिनको नाउँ जाँन स्टिभन आख्वारी । मुश्किलसँग निशानामा पुगेपछि तिनी टक्क अडिए । सबै मानिसहरू छक्क परे । सबैले तारीफ गरे । कति कराए, चिच्याए, ताली बजाए । दौड त अघि नै सिद्धिसकेको थियो । पुरस्कार वितरण पनि भइसकेको थियो । त्यस्तो चोट लागेको त्यो धावकले दौड छोडिदिएको भएपनि कसैले केही भन्ने थिएन । ‘तिनी किन दौडिरहे होलान् ?’ सबैको मनमा त्यही एउटै प्रश्न थियो । एकजना प्रेस रिपोर्टरले तिनलाई सोधे, ‘तपाईंले किन त्यत्रो दुःख गर्नुभयो ? यस्तो अशक्त अवस्थामा तपाईं दौड छोडेर बाहिर निस्कनुभएको भएपनि तपाईंलाई कसैले केही भन्ने थिएन त ?’ आख्वारीले भने, “मेरो राष्ट्र तान्जिनियाले मलाई ७००० माइल टाढो मेक्सिको सिटी ओलम्पिक स्टेडियममा दौड शुरू गर्नलाई मात्र पठाएको होइन तर दौड सिध्याउनलाई पठाएको हो ।”

परमप्रभु परमेश्वरले तपाईंलाई ख्रीष्टिय दौड शुरू गर्नलाई मात्र होइन दौड सिध्याउनलाई पठाउनुभएको हो । तपाईं लोट्नुभएको छ ? आफ्नो भाग्यलाई कोस्दै धुलोमा बसिरहनुभएको छ ? अब दुखेको ठाउँ सुम्सुम्याउँदै नबस्नुहोस् । उठ्नुहोस् । धुलो टकटकाउनुहोस् र फेरि दौड्नुहोस् । तपाईंले आफ्नो दौड धैर्यसाथ दौडनु नै पर्छ ।
पावलले भनेथे, “मैले दौड सिध्याएको छु ।”
तपाईं पनि भन्नुहोस् “प्रभुको अनुग्रहले म पनि आफ्नो दौड सिध्याउने नै छु ।”
तपाईंको नयाँ वर्षको दौड आशिषमयी होस् ।

– पाष्टर रोबर्ट कार्थक

Related Articles

Back to top button