कथा गुरुआमा

एकादेशमा एउटा महान् राजा थिए । प्रत्येक नयाँ बर्षमा विशेष काम गर्नु उनको प्रमुख विशेषता थियो । किनकी त्यो दिन उनको जन्मदिन पनि पर्दथियो । उनी सबै जनताको लागी अति मनपर्ने राजा थिए । उनले यो बर्ष आफ्नो राज्यको सबभन्दा योग्य व्यक्तिलाई सम्मान गर्ने विचार गरे । त्यसकारण मन्त्रीहरूलाई देशको सबभन्दा योग्य व्यक्ति खोजेर ल्याउन उर्दी जारी गरे । अनि उनीहरू मध्ये सबभन्दा योग्यलाई असल सम्मान गर्नको लागी राजाले दिन पनि तोके । अन्त्यमा त्यो सम्मान गरिने दिन आयो । सभाघर विशिष्ट मानिसहरु,विभिन्न देशका राजदूतहरु र मन्त्रीहरुले खचाखच भरीएको थियो । धेरै अतिथीहरु दायाँबायाँ थिए । राजा चाहि अगाडीको गद्दीमा विराजमान थिए । अगाडी टेवलमा सम्मान गर्ने बहुमूल्य उपहार तथा मुकुट राखिएको थियो । पालै—पालो मन्त्रीहरुले आफूसँगै देशका लागी सक्षम र योग्य व्यक्ति खोजेर ल्याएका थिए । सबै जना असल प्रकारले सजिएर आएका थिए । सबै मन्त्रीहरुले योग्य व्यक्ति विभिन्न तारिफ, प्रशंसा र परिचय गरी प्रस्तुत गरेका थिए । देशको सबभन्दा असल र सक्षम डाक्टर,पाष्टर, इन्जिनिएर, प्राध्यापक, अर्थविद , कलाकार र साहित्यकारहरु प्रस्तुत गरे । सबै मन्त्रीहरुले आ—आफूले ल्याएका योग्य व्यक्तिहरुलाई फरक—फरक ढंगले प्रस्तुत गर्दा ताली बजाएर स्वागत गरे । राजा पनि साह्रै खुशी भएर सबैलाई बक्सीस पनि दिए । राजाको निम्ति यो क्षण जीवनकै अति नै आनन्दमय बन्यो ।
योग्य व्यक्तिहरुको प्रस्तुती कै क्रममा अन्तिम मन्त्री, एक जना गरिब,बुढी र झुत्रो कपडा लगाएकी महिलालाई लिई अगाडी मञ्चमा बढे । पुरानो पावरवाला चस्मा लगाएकी,घामले रङ्ग खुईलेका ठाउँ—ठाउँमा प्वाल परेका बुढौली छाता टेक्दै, थर—थर काम्दै र मन्दिरमा भिख माग्दै बस्ने बुढीआमा ल्याएको देखेर सबैजना हास्न पो थाले । यत्रो अतिथीहरू विच यस्ती मर्न लागेकी बुद्धलाई किन ल्याएको अरुले जस्तै राजाले पनि जान्ने इच्छा गरे । त्यहाँ ताली बजाउन छोडेर सबै जना तीन छक परेका थिए । धमिला आखाँ, चाउरीएका गाला, दाँत झरेकी थोती र कपाल फुलेकी बुढीआमालाई हातमा डो¥याउदै अन्तिम मन्त्रीले भने । “महाराजा जब यी सातै जना योग्य व्यक्तिहरु साना केटाकेटी थिए तब यी बुढी आमा सबैको शिक्षिका थिइन् । उनी, यिनीहरुको आमा जस्तै थिइन् । यिनीहरु एउटै अनाथालयमा हुर्केका हुन् । यी महिलाले आफ्नो स्कूलको तलवले अनाथालय चलाएकी थिइन् । आज हजुरको सामु यी सबै सक्षम र योग्य छन् भने यस्तो योग्य व्यक्तिहरुको गुरुआमा के ! योग्य हुन सक्दिनन् र ?”
राजा सिहासनबाट विस्तारै उठे । उनको आँखामा आँशु थियो । नजिकै टेवलमा राखिएको मुकुट उठाएर राजाले ति वृद्धको शिरमा पहिराइदिए । उनको राज्यमा उनी नै योग्य नागरिक थिइन् । जस्ले सब भन्दा उच्च प्रकारको सम्मान पाउन सकिन । असल शिक्षक तथा शिक्षिका नै राज्यको उच्च सम्मान पाउने व्यक्ति हुनसक्छन् । अगाडी प्रस्तुत भएका ति सक्षम र योग्य भनिएका सात व्यक्तिहरु एउटै स्वरमा आमा भनि सम्वोधन गर्न लागे । ति सातै दाजुभाई मिलेर आफ्नो गुरुआमालाई सम्मानका साथ माया गरे ।
समयकुमार रम्तेल

Related Articles

Back to top button