हामी किन ज्योतीमा हिड्नु पर्छ त ?

अन्धकार र ज्योती एक अर्काका विपरित शब्दहरु हुन् । येशु ख्रीष्टलाई पाउनुभन्दा पहिला हामी प्राय: मूर्तिपूजक र शैतानका सेवकहरु थियौं । शैतानले हामीलाई विताशतिर डोर्‍याउँदछ र अन्तमा त्यसले उसँगै नरकमा लाँदछ तर अहिले हामीले अनन्त जीवन पाएका छौं, उद्धार र मुक्ति पाएका छौं । परमेश्वर पिताका सन्तान भएका छौं । पवित्र धर्मशास्त्र बाइबल परमेश्वरको वचन हो, यसले हामीलाई जीवनको स्रोत सारा सृष्टिका मालिक प्रभु येशू ख्रीष्ट र अनन्त राज्य हाम्रो गन्तब्य हो भन्ने कुरा प्रष्ट पार्दछ । यसकारण हामी कसरी त्यो ज्योतीमा हिड्न सक्छौं अर्थात परमेश्वरमा कसरी जिउन सक्छौं ? यसबारेमा यहाँ बाइबलको १ यूहन्ना १:५–१० बाट संक्षिप्त रुपमा हेर्ने छौं ।
जब्दियाका छोरा, येशूका १२ चेलामध्ये एक प्रेरित, जो सबै चेलाहरुमध्ये बढी उमेरसम्म बाँचेका थिए, उनै यूहन्नाले यो पत्र सबै ख्रीष्टियानहरुका लागि लेखेका हुन् । यूहन्नाले यूहन्नाको सुसमाचार, ३ वटा पत्र र प्रकाश गरी बाइबलका ६६ वटा पुस्तकमध्ये ५ वटा पुस्तक लेखेका छन् । यो पत्रचाहिँ (१ यूहन्ना) सन् ९० (आजभन्दा लगभग १९२३ वर्ष अघि) एफिसबाट लेखेका हुन् । जीवनको अन्तिम कालखण्डमा पनि येशूको साँचो दासका रुपमा उनले सेवाकाई गरे । इतिहासकारहरुकाअनुसार यूहन्नालाई येशूको बारेमा प्रचार नगर्न तत्कालिन रोमी साम्राज्यले तातो तेलको वानमा डुवाएर यातना दिइएको थियो तरै पनि उनले आफ्नो सेवाकाईलाई छाडेनन् । मण्डलीमा झूठा शिक्षाहरु भित्रिईसकेका थिए उनीहरुले येशू मानिसको रुपमा संसारमा आउनु भएकै होइन र उहाँ भूत वा प्रकाशमात्र हुनुहन्थ्यो भनी झूटा शिक्षा मण्डलीमा सिकाउँदै आएका थिए । त्यसबाट कोही पनि विश्वासी भ्रममा नपरुन् भनेर यूहन्ना आफैले येशूलाई देखेका र छोएको अनुभवसहित पूराअधिकारमा झुटा शिक्षाको विरोध गर्न र सत्यतामा हिड्नका लागि यो पत्र लेखेका हुन् ।
प्रभू येशू पापरहित हुनुहुन्छ र हामी उहाँमा विश्वास गर्ने विश्वासीहरुले पाप गरिरहन हुँदैन । हामीसबै पापी छौं तर हाम्रो पाप स्विकार गर्‍यौं र पश्चाताप गर्‍यौं भने सबै पाप शुद्ध र क्षमा हुन्छ ।
किन येशूमा विश्वास गर्नेहरुले ज्योतीमा हिड्नु पर्छ त ?
१. हामी जान्दछौ कि परमेश्वर ज्योती हुनुहुन्छ । उहाँमा अलिकति पनि अध्यारो छैन (५पद) । ज्योती भनेको चाहिँ –पवित्रता, शुद्धता र धार्मिकता हो । अन्धकार भनेको –पाप हो । यसैले त्यो ज्योती अन्धकारमा चम्कन्छ र अन्धकार ज्योतीमाथि विजय भएको छैन (यूहन्ना १:५) ।
२. परमेश्वरमा साँचो संगति कायम राख्न र सत्यतामा चल्न (६पद) ।
संगति भनेको–येशूलाई चिन्नु, प्रेम गर्नु र परमेश्वरको छोराछोरी हुनु हो ।
हाम्रो पापले येशूसँगको (परमेश्वरसँगको) सम्बन्ध नै त तोडिदैन तर संगति चाहिँ हुन सक्दैन । सत्य चाहिँ– जीवनको बाटो हो । येशूले भन्नुभयो–“बाटो सत्य र जीवन म नै हुँ ।” (यूहन्ना १४:६)
३. एक अर्कामा संगति गर्न (७ पद) ।
एक अर्कामा संगति गर्न हामी ज्योतीमा हुनु पर्छ । पापको अन्धकारमा छौं भने एउटाले अर्कोलाई देख्न, प्रेम गर्नै सक्दैनौं
(१ यूहन्ना ४:७,११) ।
४. पाप स्विकार गरी क्षमादान दावी गर्न (८ र ९ पद) ।
पाप स्विकार गर्ने– रोमी ३:२३ ले भन्छ “हामी सबै पापी छौं ।”
पाप गरिरहनु हुँदैन– रोमी ६:११ अनुसार “आफूले आफूलाई पाप गर्नमा मरेको ठान्नु पर्छ ।
क्षमादान बारे– “हामी पापी छँदै हाम्रै निम्ति (सम्पूर्ण मानव समुदायका लागि) येशू क्रुसमा मर्नुभयो ।” रोमी ५:८)
५. परमेश्वरको वचनमा जिउन र आज्ञापालन गर्न (१० पद) ।
येशूले भन्नुभयो–“म ससंसारको ज्योती हुँ । मलाई पच्छ्याउने अन्धकारमा हिडडूल गर्ने छैन, तर त्यसले जीवनको ज्योती पाउनेछ (यूहन्ना ८:१२) ।
हामी संसारका ज्योती हौं हामीद्वारा संसारका मानिसहरुले उज्यालो पाउनु पर्दछ । येशूमा पाउने आनन्द, शान्ति हाम्रो जीवनमा बग्नु पर्दछ । त्यसैबाट हाम्रो परमेश्वरको महिमा हुनेछ
(मत्ती ५:१४–१६) ।
यसकारण हामी अन्धकार वा पापमा फसिरहँनु हुँदैन, हाम्रा पापहरुलाई एक–एक गरी स्विकारेर त्यसबाट फर्कनु पर्दछ र ज्योतिमा हिड्नु पर्दछ अथवा पवित्र जिवन जिउनु पर्दछ ।
यो जीवन सबै मानिसका लागि अति आनन्दको कुरा हो । यसो हो भने तपाईले निम्न कुरामा ध्यान दिन आवश्यक छ ।
१) के तपाईले आजसम्म पनि अन्धकार कै जीवन जिईरहनु भएको रहेछ ?
२) के तपाईको परमेश्वरसँग अरु मानिसहरु (विश्वासी) बीच साँचो संगति भइरहेको छ ?
३) तपाई कुन–कुन कारणले ज्योतीमा हिड्न सक्नु भएको थिएन ?
यदि तपाई यस खण्डमा दिइएको परमेश्वरको वचनलाई वे–वास्ता गरि अन्धकारमा नै हिड्नु हुन्छ भने तपाई कहाँपुग्नुहुन्छ तपाईलाई नै थाह हुँदैन किनभने अन्धकारले तपाइलाई अन्धो पारेको हुन्छ (१ यूहन्ना २:११) तर तपाई अन्धकारलाई त्यागेर ज्योतीमा हिड्नु हुन्छभने तपाईको जीवन आशिषित् हुनेछ । परमेश्वरले यो वचन पढ्ने सबैलाई आशिष दिनुहुन्छ । के यो मौका तपाई र मेरो लागि खुशी र आनन्दको कुरा होइन र ?

Related Articles

Back to top button