इतिहासमा आज

क्यानडाको ओन्टारिओ प्रान्तको दक्षिणपट्टि पर्ने पोर्ट होप नामक नगरपालिकामा एउटा स्मारक खडा छ । यो स्मारक कुनै राजनीतिज्ञको सम्मानस्वरूप स्थापित गरिएको होइन, न त यो कुनै युद्धको नायकको निम्ति हो । यो एक जना गरिब मानिसको निम्ति निर्माण गरिएको स्मारक हो जसले आफ्नो जीवन अरूको निम्ति जिए । तिनको नाउँ हो, जोसेफ स्क्रिभन ।

१० सेप्टेम्बर १८१९ मा जोसेफको जन्म आएरल्यान्डमा भएको थियो । उच्च विचार भएका जोसेफमा महान् नागरिक बन्ने खुबी थियो । तिनी जवान छँदा एक जना सुन्दरी स्त्रीसित तिनको मगनी भयो । तर बिहे हुनुभन्दा अगिल्लो साँझ पानीको तलाउबाट तिनकी मङ्गेतरको मृत शरीर निकालियो । संयोगवश तलाउमा खसेर उनको निधन हुन पुगेको रहेछ ।

जोसेफले त्यस अनपेक्षित आघातमाथि कहिल्यै विजय हासिल गर्न सकेनन् । तिनले कलेजको पढाइ सिध्याइसकेका थिए र तिनले उत्कृष्ट पेसा अङ्गाल्न सक्ने भए तापनि आफ्नो पीडाको जालोबाट उम्कन तिनी भौतारिन थाले । अन्तत: २५ वर्षको उमेरमा तिनी क्यानडा पुगे जहाँ तिनले ४१ वर्ष बिताए । यही समयमा तिनी एक भक्त ख्रीष्टियान बनेका थिए ।

जोसेफले येशू ख्रीष्टमा नयाँ जीवन पाएपछि तिनले गरिब विधवा र बिरामीहरूको हेरचाह गर्न लागे । वास्तवमा तिनले धेरैजसो समय सित्तैँमा सेवा गर्थे । तर तिनमा एउटा गोप्य खुबी पनि थियो अर्थात् तिनी कवि थिए । तिनको यो क्षमताबारे अरू कसैलाई थाहा थिएन किनकि तिनले यसलाई सार्वजनिक गरेका थिएनन् ।

तर अगस्त १८८६ मा जोसेफको निधन हुनुभन्दाअगि तिनका एक जना मित्र तिनीसितै बसेका थिए जुन बेला जोसेफ बिरामी परेका थिए । जोसेफका मित्रले जोसेफद्वारा लिखित एउटा कविता फेला पारे जुन तिनले शोकको घडीमा आफ्नी आमालाई लेखेका थिए । पछि उक्त कवितामा सङ्गीत भरियो र त्यो मनपर्ने भजनमा गनियो । नेपाली भाषा (ख्रीष्टीय भजन, ३९७) मा पनि अनूदित यस भजनको पहिलो श्लोकमा लेखिएको छ:

येशू कस्तो प्यारो मित्र पापको भार उठाउनुभो’
दु:ख-सुख ईश्वरकहाँ ल्याउनु हामीलाई वरदान कत्रो ?
कति शान्ति-सुख गुमाउँछौँ, कति दु:ख छ व्यर्थैमा ?
कारण ईश्वरकहाँ हामी सब ल्याउँदैनौँ प्रार्थनामा ।

 – Kamal Adhikari
with Reasons to Believe

Related Articles

Back to top button