विनिप्रप्र सेवकाईमा महिलाले निलो साडी किन लगाइन्छ ?

तपार्इं मण्डली जानुहुन्न रे ?
कसले भन्यो, म मण्डली जान्न भनेर ? म नेपाल गोस्पल मण्डली जान्छु । कहिले काहिँ अरू मण्डलीमा सेवकाई गर्न जानुपर्छ । त्यस बेलामा म मण्डलीमा जान पाउँदिन नत्र भने प्रायः सधैं मण्डली गइरहेको छु । बरू अरू भन्दा बढी मण्डली गएको छु । कसरी भने १०७ वटा मण्डलीहरूमा सेवकाईको सिलसिलामा गएको छु । अब भन्नुहोस् कसरी म मण्डली गएको छैन र ? अनिवार्य रूपमा शनिबार कुनै न कुनै मण्डली गएको छु । शंका लागे जाँच गर्न आउनुहोस् ।

मण्डलीहरूको दशांश र अरु भेटी यहाँ आउछ रे, होइन ?

येशूलाई पनि सेवकाईको सिलसिलामा विभिन्न आरोपप्रत्यारोप आएको थियो । वास्तवमा विनिप्रप्र सेवकाई यो मिसन हो र हाम्रो उद्देश्य नेपालभरी सुसमाचार र सुसमाचारिय चंगाई गर्नु हो । यस मिसनको अरू कुनै उद्देश्य छैन । सेवकाईको क्रममा हामीलाई रकमको आवश्यकता पर्दछ जस्तै कि सेवकसेविकाहरूलाई मासिक तलब, हल भाडा, मिसन चलाउन र विभिन्न जिल्लाहरूमा कार्यक्रम गर्नुपर्ने भएकाले भेटी आवश्यक हुन्छ । तर मण्डलीको दशांश होइन कि मिसन भेटी भनेर हामी लिने गरेका छौं तर दशांश आफ्नै मण्डलीमा लानुहोस्, भन्दछौं ।

महिनामा मिसन भेटी कति संकलन हुन्छ ?

यति नै हुन्छ भन्ने हँदैन । कोहीले एक महिनाको लागि प्रतिज्ञा गर्नुहुन्छ र दिनुहुन्छ भने अर्को महिनामा यो नआउन पनि सक्छ । नियमित मिसन भेटी दिने कम छन् । त्यसकारण त्यति नै हुन्छ भन्ने हुँदैन । तर मासिक खर्च १ लाख जति हुन्छ । यो खर्च जुटाउन पनि गाह्रो हुन्छ ।

विनिप्रप्र सेवकाईले चंगाई मात्र गर्दछ तर सुसमाचार गर्दैन भन्ने आरोप लागेको छ नि ?

चंगाई मात्र गरेको हो भने धनुषामा ३५० जनाले ग्रहण गरे । त्यसको लागि को गयो ? र कसले गरायो ? त्यस्तै सिराहामा २५०, पालुङ्कमा ५० जना, संखुवासभामा १५० जना र यस्तै यहाँ प्रत्येक शुक्रबार र आइतबार ५ देखि १० जनाले ग्रहण गरेका छन् । के यो चंगाई मात्र हो कि सुसमाचार पनि हो । सुसमाचार भएर त येशूलाई ग्रहण गरे । विनिप्रप्र सेवकाईले पहिला येशूको बारेमा बताउँछ ? येशू को हुनुहुन्छ ?, येशूले के गर्नुभयो ? भन्ने बारेमा प्रभावकारी रूपमा बताइन्छ । मानव विचार भन्दा बाहिरको स्वास्थ्य उपचारको बारेमा समेत बताउछौँ । विश्वास गर्नुहोस्, येशूले रोगबिमारबाट चंगाई दिनुहुन्छ भनेर प्रचार गर्दछौं ।

विनिप्रप्रमा आएपछि मात्र निको हुन्छ रे ?

निको हुने कुरा येशूबाट शुरु भई मण्डलीमा आएको हो । त्यही निको हुने कुरा विनिप्रप्रमा पनि मण्डलीबाट आएको हो । हाम्रो वरदान अनुसार, विश्वासीहरू, अगुवाहरू, पास्टरहरूले चलाउनु पर्दछ । सबैजनाले हाते मालो गर्दै गयौं भने विनिप्रप्रमा मात्रै होइन तर नेपालको हरेक मण्डलीमा यो काम हुनेछ ।

विनिप्रप्र र मण्डलीमा के फरक छ ?

मण्डली भनेको परिवार हो ? उदाहरणको लागी पाटन चर्च परिवार हो र यसको अगुवा पा. मंगलमान महर्जनले गर्नुभएको छ । त्यस्तै वरिष्ठ पा. रोर्बट कार्थकले ज्ञानेश्वर मण्डली वा परिवारको अगुवाई गर्नुभएको छ । त्यस्तै अरू एजी, ब्याष्टिस आदिले पनि आफ्नै प्रकारले अगुवाई गरेका छन् । मण्डलीले मगनी, विवाह गराइदिन्छ, प्रभुमा सुतेकालाई दफन गरिदिने कार्य गर्दछ अरू विभिन्न मण्डलीले विधिविधानको काम गर्ने गर्दछ । तर विनिप्रप्रले त्यो गर्दैन । विनिप्रप्रले एउटै कार्य गर्दछ सुसमाचार कसरी सुनाउने र संसारमा अहिलेसम्म उपचार नपाएका, छुटकारा नपाएको रोगीबिरामीलाई कसरी निको पार्ने ? र आफूले पाएको प्रभु र चंगाईको बारेमा प्रचारप्रसार कसरी गर्ने बारेमा सिक्छ र सिकाउँछ । मण्डलीहरुले त्यहाँ नयाँ विश्वास गरेका विश्वासी हुर्काएका छन् त? यदि यहाँबाट नयाँ विश्वास गरेका नयाँ आत्माहरूलाई यहाँका मण्डलीले हुकाउदैंनन् भने वा वास्ता गर्दैन भने अर्को विकल्प खोज्नुपर्ने बाध्यात्मक अवस्था हुनेछ । यो विकल्पका लागी प्रार्थना गर्दछौं । किनभने यो प्रभुको काम हो नि । तर विनिप्रप्रचाहिँ कदापी मण्डली हुनेछैन ।

महिलाले निलो साडी किन लगाइन्छ ?

यो प्रश्न धेरै जनाले गरेका छन् । मैले ३६ घण्टा उपवास प्रार्थना गरिसकेपछि एउटा दर्शन पाँए । त्यही अनुसार निलो डे«स ल्याएको हो । विनिप्रप्र सेवकाईको प्रार्थना टिमकोे चिनारी मात्र हो । संसारमा पनि चिनारीको लागि आर्मी, पुलिस र विद्यार्थीहरूले डे«स लगाउँछन् यस्तै विनिप्रप्रको पनि चिनारीको डे«स मात्र हो । अन्यथा अर्कै नबुझिदिनु होस् । यो ड्रेस विनिप्रप्रको कार्यक्रम भएको दिनमा लगाउनुपर्ने हुन्छ तर अरू कहीँ पनि लगाउन पाइदैन भनेर नियम बनाएका छौं । निलो साडी डे«स लगाउनुको अरू कुनै पनि कारण छैन ।

दिदीबहिनी धेरै मात्रमा विनिप्रप्रमा हुनुको कारण के हो ?

यो विनिप्रप्र लगायत सबै मण्डलीहरूमा पनि धेरै संख्यामा महिला हुन्छन् । स्वभाविक रूपमा यहाँ पनि त्यही भएको हो । अर्को कुरा धेरै मात्रामा महिला दिदीबहिनी येशू प्रभुमा आएको कारणले पनि हुन सक्छ । आइतबार र शुक्रबार किन सेवा राख्नु भएको हो ? प्रभुको शक्ति प्राप्त गर्नको लागी कुनै न कुनै माध्यम चाहिन्छ । नेपालमा विभिन्न मिसन छ तर हाम्रो मिसन अलौकिक शक्ति प्राप्त गर्न र साँचो समर्पणता कसरी हुने, साँचो पश्चाताप गरेर पवित्र आत्माले कसरी भरिपूर्ण हुने, वरदानलाई कसरी चलाउने भन्ने कारणले गर्दा शुक्रबारमा साँचो पश्चाताप र पवित्र आत्माको जागृति गर्नको लागि शुरू गरेका हौं भने आइतबार प्रेरितीय उपवास चंगाईको सेवा गरिन्छ । यस दिनमा रोगी बिमारी आउनुहुन्छ । येशूको प्रचार गरिन्छ र येशूको नाउँमा रोगीबिमारी निको पार्ने काम प्रभु येशूले गरिरहनु भएको छ । यसकारण आइतबार र शुक्रबार सेवा राखिएको हो ।

तपाईंले थियोलोजिकल अध्ययन गर्नुभएको छ ?

थियोलोजिकल भनेको ईश्वरको अध्ययन भन्ने बुझिन्छ । त्यसकारण थियोलोजिकल अध्ययन नगरी कसरी यत्रो सेवकाई गर्न सकिन्छ र ? थियोलोजिकल नपढेको मानिसले अरूलाई कसरी सिकाउन सक्छ र ? तर मैले थियोलोजिकल गरेको प्रमाणपत्र भित्तामा टाँसेको चाहिँ छैन । ईश्वरशास्त्रको अध्ययन दिनदिनै सिक्ने र सिकाउने गरिरहेका छौं ।

डाँडाको प्रार्थना, उपवासको प्रार्थना र पूरा रातको प्रार्थनाले विनिप्रप्र सेवकाइलाई कस्तो साहयता गरिरहेको छ ?

येशू प्रभुले पनि डाँडामा गएर प्रार्थना गर्नुभयो । ४० दिन र ४० रात उपवासको प्रार्थना गर्नुभयो यस्तै रातभरि नै पनि प्रार्थना गर्नुभयो किनभने यसको एउटै कारण थियो । सेवकाईको निम्ति शक्ति प्राप्त गर्नु थियो । यही शक्तिले प्रभुले बोल्न नसक्नेलाई बोल्न सक्ने पार्नुभयो । हिड्न नसक्ने, हिड्न सक्ने भए । सुन्न नसक्ने, सुन्न सक्ने भए । मरेका लाजरसलाई जिवित पार्नुभयो । अर्को अचम्मको कुरा येशू प्रभु तेस्रो दिनमा जिवित हुनुभयो यही शक्तिले प्रभुको राज्यको सुसमाचार प्रचार गर्नुभयो । आज विनिप्रप्रले पनि यही काम गर्नको लागि विभिन्न प्रार्थनाबाट शक्ति प्राप्त गरि काम गरिरहेका छन् । यूहन्ना १४ः१२ अनुसार येशू प्रभुले भन्नुभयो “मैले गरेको भन्दा तिमीहरूले ठूलो काम गर्नेछौं । यही पदलाई अभ्यास गरिरहेका छौं ।

अन्त्यमा केही भन्न चाहन्नु हुन्छ ?

जे जति कुराकानी भयो त्रिएक परमेश्वरलाई धन्यवाद । मौका दिनु भएकोमा वचन पत्रिकालाई पनि धन्यवाद छ । यो प्रभुको काम हो । तेरो र मेरो नभनीसँगै मिलेको काम गरौं । विनिप्रप्रलाई सल्लाह, सुझाव, प्रार्थनाको साथै आर्थिक सहयोग अपेक्षा गर्दछौं ।

(वचन पत्रिकामा २०१३ मा छापिएको अन्तर्वार्ता  हो )

Related Articles

Back to top button