यौन–अभ्यासका समस्या र चुनौतीहरू

डा. बालकृष्ण शर्मा

विश्वले विभिन्न किसिमका समस्याहरू र चुनौतिहरूलाई सामना गरिरहनुपर्छ र यी चुनौतिहरू घटेर गएका छैनन् । विश्वमा भौतिकवादको चरम विकास भए पनि आत्मिक, सामाजिक, नैतिक तहमा भने दिन प्रतिदिन ह्रास भइरहेको छ । जताततै हिंसा, हत्या, चोरी, लडाइँ, बलात्कार, भ्रष्टाचार, व्यभिचार, गर्भपतन, समलिङ्गी यौनाभ्यास, महिला विरुद्धको हिंसाजस्ता क्रियाकलापहरू दिनानुदिन बढिरहेका  छन् । भौतिकवादको विकासले सबैलाई समेट्न सकेको छैन, संसारमा भौतिक रूपमा धनी र गरिबको बीचमा भएको गहिरो खाडल बढ्ने क्रम जारी छ । विकास के हो भन्ने बारेमा स्पष्ट व्याख्या प्राप्त नभएको सन्दर्भमा समाजका चुनौतिहरूलाई सम्बोधन गर्ने सम्बन्धमा पनि फरक–फरक अवधारणाहरू भएका हुनाले धेरै मुद्दा वा विषयहरूमा मानिसहरू अन्योलमा छन् । कसका कुरा सुन्ने र विश्वास गर्ने भन्ने सम्बन्धमा पनि अन्यौल छ । यी सबै कुराहरूले विशेषगरी युवा पुस्तामा तुलनात्मक रूपमा बढी अन्योल छाएको पाइन्छ ।   समलिङ्गीको सम्बन्धमा गरिएको अध्ययनले विशेषगरी यौन अभ्यासका सम्बन्धमा पुरुष र स्त्रीहरूलाई उनीहरूका अभ्यासका   स्वभावअनुसार विभिन्न समूहहरूमा   विभाजित गरेको छ । सबैभन्दा पहिले यी शब्दहरूलाई म अङ्ग्रेजी भाषाको माध्यमबाट अभिव्यक्त गर्न चाहन्छु ।

 १. हेटेरोसेक्सुवल

 २. होमोसेक्सुवल

 ३. बाइसेक्सुवल

 ४. ट्रान्सेक्सुवल

 

१. हेटेरोसेक्सुवलः

पुरुष र स्त्रीको बीचमा गरिने यौन सम्बन्धलाई हेटेरोसेक्सुवल भनिन्छ । यस सम्बन्धबाट यौन सन्तुष्टिका साथसाथै छोराछोरीहरूको जन्म हुन्छ । विश्वमा अधिकाङ्श व्यक्तिहरूले सम्भवतः यस अभ्यासलाई स्वीकार र मान्यता दिएको पाइन्छ ।

२. होमोसेक्सुवलः

पुरुष–पुरुषको बीचमा र महिला–महिलाको बीचमा हुने यौन सम्बन्धलाई होमोसेक्सुवल वा समलिङ्ग यौन भनिन्छ । यसको उद्देश्य सम्भवतः यौन चाहना पूरा गर्नु र सन्तान जन्माउने झन्झटबाट पन्छनु हो । पुरुष–पुरुषको बीचमा यौन सम्बन्ध राख्नेहरूलाई अङ्ग्रेजी भाषमा गे र नेपाली भाषामा पुरुषगामीहरू भनिन्छ भने महिला–महिलाका बीचमा यौन सम्बन्ध राख्नेहरूलाई अङ्ग्रेजी भाषामा लेस्बियन वा नेपालीमा स्त्रीगामीहरू भनिन्छ ।

  ३. बाइसेक्सुवलः

पुरुषले महिलासँग र पुरुषसँग र महिलाले पुरुषसँग र महिलासँग यौन सम्बन्ध राख्नेहरूलाई अङ्ग्रेजी भाषामा बाइसेक्सुवल भनिन्छ । उनीहरूले अवस्थाअनुसार यौन सम्पर्क राख्छन् ।

४. ट्रान्सेक्सुवलः

शारीरिक रूपमा पुरुष–जस्तो देखिए पनि विचारमा महिलाको व्यवहारजस्तो गर्ने र शरीरमा महिलाजस्तो देखिए पनि विचारमा पुरुषको जस्तो व्यवहार देखाउने व्यक्ति ।  आज हाम्रो समाज, देश र अन्तरराष्ट्रिय जगतमा यी माथि उल्लिखित र अन्य तरिकामा यौनाभ्यास गरिने चलनचलेको छ । स्वतन्त्रता भन्दै यौन छाडापन जताततै बढिरहेको छ । विश्वका कतिपय मुलुकहरूमा समलिङ्गी अभ्यास र विवाहलाई कानुनी मान्यता दिइएको अवस्था छ । यस विषयमा वकालत गर्ने संघसंस्थाहरू पनि जन्मेका छन् । यस अभ्यासका विरुद्धमा बोल्नेहरूलाई मानवअधिकार विरोधीको संज्ञा पनि दिइन्छ ।  विश्वमा स्थापना भएका विभिन्न धर्महरूहरूका दृष्टिकोणलाई हेर्ने हो भने पुरुष र स्त्रीको बीचमा मात्र यौन सम्बन्ध हुनुपर्छ भन्ने मान्यता छ । यौन सम्बन्धको प्रभाव केवल शारीरिक सन्तुष्टि प्राप्त गर्ने मात्र होइन तर मानसिक, सामाजिक, नैतिक, आत्मिक रूपमा पनि यसको नकारात्मक असर परेको छ । नेपालले किन गलत जीवनशैलीको लागि प्रोत्साहन दिइरहेको छ, सो बुझ्न हामीलाई कठिन भइरहेको छ । गलत बाटोमा हिँडिरहेकाहरूलाई सही बाटोको सन्देश दिने र फर्काउने हाम्रो जिम्मेवारी छ । पश्चिमी मुलुकको गलत हावामा लागेर हाम्रो मूल्य र मान्यतालाई हामीले बलिदान गर्नुहुँदैन । हामीहरू हाम्रो लागि मात्र बाँच्दैनौँ, हामीहरू अरूहरूका लागि र आउने पुस्ताका लागि पनि जिउँछौँ, त्यसैले हामीले गलत निर्णयहरू बनायौँ भने यसको श्राप हामीले र हाम्रो पुस्ताले भोग्नुपर्नेछ । हामी सबै सचेत होऔँ । यौन क्रियाकलापहरूका सम्बन्धमा बाइबलले के भन्छ भन्ने बारेमा ख्रीष्टियन दृष्टिकोण निर्माण हुनु आवश्यक छ । परमेश्वरको वचन ख्रीष्टियनहरूका निम्ति विश्वासको आधार र अभ्यास भएको हुनाले यस अनुसार जीवन जिउनु आवश्यक छ । परमेश्वरको वचन बाइबलले मानव सृष्टिको उद्देश्यलाई स्पष्टसँग बताएको   छ । “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “फल्दै, फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” (उत्पत्ति १ः२७, २८) ।   मानव सृष्टिको सम्बन्धमा भएको यो बाइबलको महत्वपूर्ण खण्ड हो । वैवाहिक र यौन जीवन पुरुष र महिलाका बीचमा मात्र हुनुपर्छ । विवाहको उद्देश्य यौन सन्तुष्टि मात्र होइन तर सन्तानको उत्पादन पनि हो । यसरी यो पृथ्वी भरिँदै जानुपर्नेछ । पुरुष र महिलाको बीचको वैवाहिक र यौन जीवनबाहेक अर्को खालको यौन जीवनलाई बाइबलले स्वीकार गरेको छैन । बाइबलले स्वीकार नगरेको किसिमका जीवनमा जिइरहेका व्यक्तिसँग ख्रीष्टियनहरूको कस्तो सम्बन्ध हुनुपर्छ त भन्ने विषय पनि ख्रीष्टियनहरूका लागि गहन छ । बाइबलले विभिन्न कुराहरूलाई पापको रूपमा परिभाषित गरेको छ । पाप गर्नु भनेको गर्नुपर्ने कुरा नगर्नु र नगर्नुपर्ने कुरा गर्नु, हुनुपर्ने व्यक्ति नहुनु र नहनुपर्ने व्यक्ति हुनु हो । झुट बोल्नु, घमण्ड गर्नु पाप हो भने आफ्नो शरीरलाई परमेश्वरको वचन र प्राकृतिक नियमको विपरीत चलाउनु पनि पाप हो । पुरुष–पुरुषको बीचमा गरिने र महिला–महिलाको बीचमा गरिने यौन सम्पर्क मात्र पाप होइन, गलत किसिमले गरिएको पुरुष र महिलाको बीचको यौन सम्पर्क पनि पाप हो भन्ने  मान्यता हामीले राख्छौँ भने यस किसिमका कुनै पनि गलत क्रियाकलाप पाप हो । वास्तवमा संसारको हरेक मानिस परमेश्वरको दृष्टिमा पापी छ र पनि परमेश्वरले उसलाई प्रेम गर्नुहुन्छ । उहाँले यसो गर्नुको कारण प्रत्येक मानवले आफ्नो भूललाई स्वीकार गरी पश्चात्ताप गरेर उहाँमा फर्कोस् भनेर हो । त्यसरी नै गलत यौन–अभ्यास गर्ने व्यक्तिहरूका       क्रियाकलापहरूलाई बाइबलीय आधारमा अस्वीकार गर्नुपर्छ र यो पापमय कार्य हो भन्ने कुरामा सम्झौता गर्नुहुँदैन तर यसमा संलग्न व्यक्तिहरूलाई हामीले उनीहरू परिवर्तन हुन सकून् भन्ने लक्ष्यका साथ प्रेम गर्नुपर्छ । उनीहरूलाई विशेष परामर्श दिएर सहयोग गर्नुपर्छ । गलत यौनाभ्यास सिकेको क्रियाकलाप हो, यो जन्मसिद्ध बानी होइन र कुनै पनि यौनाभ्यास मानवका लागि खानेकुराजस्तै नभइनहुने थोकचाहिँ होइन । यौनाभ्यासविना पनि व्यक्ति उद्देश्यपूर्ण प्रकारले जिउन सक्छ । यौनाभ्यासलाई गलत किसिमले प्रयोग गरियो भने यो नसा बन्न सक्छ र यसबाट छुटकारा पाउनका लागि कठिन हुन्छ । वर्तमान संचारको माध्यम र अश्लील खालका तस्विरहरू र फिल्महरूले पनि अप्राकृतिक यौनाभ्यासलाई प्रोत्साहन दिएको अवस्था छ । रोमी १ को १८ पद देखिका तलका केही पदहरूले मानिसको अप्राकृति यौनाभ्यासका बारेमा चेतावनी दिएको छ । यसैले जति नै चुनौती सहनुपरे पनि हामीले बाइबलीय मूल्य र मान्यतालाई अनुसरण गर्नुपर्दछ र परमेश्वरको वचनको आज्ञाकारीता अनुसार जिउनुपर्दछ ।

Related Articles

Back to top button