उसको प्रोमोसन कसरी भयो ?

“हेल्लो… नमस्कार … जयमसिह !”
“हजूर, तपाईंको परिचय ?”
“नचिनेको ? म … म रेभेरेण्ड … पाष्टर … प्रा. … डा. …†”
“ए, प्रोमोसन भएछ ! … बधाई छ है ।”
“आफ्नो नि ? के छ ? गाडी चल्दैछ ?”
“ अँ, ठेल्दैछु ।”
“मेरो त हाइसुख्ख छ !”
“पेशा के हो नि अहिले ?”
“पाष्टर भएँ नि ! था’छैन ? पाँच महिना भैसक्यो ।”
“कसरी ?”
“के गर्नू त ? कति गुम्सिनु, आधाभन्दा धेरैलाई कन्भिन्स गरेँ, छुट्टै मण्डली शुरु भैहाल्यो ।”
“… … … … … …?!”
“खत्तम थियो यार । जति गरे पनि खुशी नहुने … … चाख्यो होला नि ऐले’ के के न तछार्छु भन्थ्यो, अब पाँचओटा परिवार लिएर हल्लेलुयाह जपिरहोस् !”
“… … … … … …?!”
“कम्ता हो र ? विश्वास गरेको पाँचवर्ष भैसक्यो — उसैबेलादेखि धाक जमाउँथ्यो, हाम्लाई त मान्छे नै गन्दैनथ्यो नि यार ! विश्वासै नगर्ने । त्यसैले झ्वाँक चल्यो …. !”
फुटपाथे ग्यास लाइटरले कन्चटमा झोसेजस्तो लाग्यो मलाई । हो, होइन नबोली टेलिफोन राखिदिएँ । सुन्नु पनि के ? पानीमाथिको ओभानो हुन खोज्या’ मैले नबुझ्या होइन – मलाई त्यस्तो कुरा सुनेर आफैमाथि श्राप थोपर्न मन लागेन, थपक्कै लाइन काटेर तीन गिलास पानी पिएँ ।
मैले त बाइबल पढेर प्रभुलाई विश्वास गरेको – मुक्तिदाता मानेर उहाँलाई पछ्याएको । सायदै मान्छेको मुखको प्रचारले म गल्ने थिइनँ होला । तर जुन आदर्शको नापोमा म जिउन चाहन्छु, त्यसैमाथि घरिघरि यस्तो आघात किन आइलाग्छ ?
मेरा छिमेकीहरूलाई कतिपल्ट मैले जवाफ दिन सकेको छैनँ । ‘एक बिराउने, सारा पिराउने’ भन्ने बुढापाकाको उक्ति सत्यसाबित भएकोछ मण्डलीभित्रै । उनीहरू पहिले ता मेरो परिचयसँग ‘ख्रीष्टियन’ शब्द सुन्न पाउँदा जिज्ञासु हुन्थे, एकछिन अल्मल्याएर सोध्थे, धेरथोर बुझ्न चाहन्थे — ख्रीष्ट येशूको बलिदानको विषयमा । तर अहिले स्थिति ठीक उल्टो भएकोछ । उनीहरू मलाई ‘ख्रीष्टियन’ को रूपमा चिन्नुपर्ला भनेर टक्टकिन्छन् । ‘तँ पनि ख्रीष्टियन होस् !’ नाक खुम्च्याउँदै उपेक्षाभावले हेर्छन् मलाई । म आपत्ति जनाउँछु — उनीहरू अहिले किन ‘पनि’ शब्द जोडेर बोल्छन् मसँग बोल्दा ?
एउटा भनाइ म सानै छँदा खूब सुन्थेँ, “गाउँमा भूइँफुट्टा झाँक्री आ’को छ रे !” भूइँफुट्टा भनेको के हो नबुझेर म अबाक् हुन्थेँ । पछिमात्र थाहा भयो — त्यो भनेको त गुरूबिनाको, निश्चित औचिारिकताको पाटोबाट नआएको वा विधिसम्मत् नभएर आफैँ खडा भएको हो रहेछ । अहिले ख्रीष्टियन समुदायमाझ, मण्डलीहरूमा तपाईले त्यस्तै भूइँफुट्टा अगुवा साहेबहरू देख्नुभएको छैन कि ? को हुन् ती ? मेरो ठम्याइमा तिनीहरू अध्ययनको आधिकारिकता नखुलेका बाइबल कलेजका दीक्षितहरू हुन्, आफूमाथि कोही शिक्षक वा गुरू राख्न नचाहने उपबुज्रुकहरू हुन्, प्रेम र मिलापको मर्म नबुझेका मण्डलीमा फूट ल्याउने विभाजनकारी हुन्, क्षमा, दया र सेवाको शिक्षा दिने तर आफैचाहिँ कहिल्यै सो नगर्ने धर्मभिरू कपटीहरू हुन्, अनुशासन नरुचाउने अभिमानी छाडाहरू हुन्, अनि थोरैमात्र पनि सहनशीलता नभएका ‘अर्कै’ स्वर्ग जान कस्सिएका दिग्भ्रमित यात्रीहरू हुन् ।
हो, यिनै भूइँफुट्टाहरूले अब जवाफ दिनुपर्छ । मलाई कसैमाथि दोषारोपण गर्ने रहर छैन — मिथ्यारोपकै पुल हालेर म पटक्कै उम्किन चाहन्नँ । मेरो छिमेकी मसँग चिढिएर जानुमा मेरो गुणदोषको जाँच गरिनुपर्छ । मेरो मण्डलीको गरीमा, त्यो उच्च छविलाई कसैले मेरै नाकमुनि कुल्चिमिल्ची गर्ने दुस्साहस गर्छ भने म प्रतिवाद नगरिकन बस्न सक्दिनँ । तर मेरै कारणले मेरो इज्जत–हुर्मत् माटोमा मिलाइन्छ भने त्यसको जिम्मेवारी मैले किन नलिने ? त्यसर्थ, नेपाली मण्डलीले अब तत्कालै आफूलाई सही साबित गरेर ‘ठीक’ देखाउने आँट गर्नुपर्छ, कलङ्क मेटाउनुपर्छ, दाग र खाटाहरू उप्काउएर सफा गर्नुपर्छ, दोष पखालेर शुद्ध हुनुपर्छ ।
यहाँ उठाउन खोजिएको सवाल सच्चरित्रताको हो, सत्यवादिता र बाइबलीय आदर्शमा बाँच्ने जीवनशैलीको हो । त्यसर्थ एउटा मापदण्ड खुट्याइनु जरुरी भैसकेको महशुस मैले गरेकोछु — पाष्टर को हो, मण्डली के हो, हामीसँग यसको प्रामाणिकता आवश्यक परेको छ । पाष्टर हुनलाई के कति योग्यता पूरा गर्नुपर्छ ? मण्डली हुने आधारहरू के के हुन् ? कति विश्वासी–सदस्य, चल–अचल सम्पति, आबद्ध संघ–संस्थाहरूको आधिकारिकता आदि के के हुन् ? जसले आफ्नो नाउँ अगाडि ‘पाष्टर’ लेखाउने रहर गरेको छ, उसलाई ‘त्यही सम्मान’ दिने कि नदिने र त्यो कसले प्रदान गर्ने ? ‘परमेश्वरको बोलावट’ भन्ने वाक्यांशभित्र लुकेको लम्पटपनाले हामीलाई कस्तो गवाही दिने मान्छेहरूको जमात् बनाउँदैछ ? अर्थात् कसले किन पाष्टरको सेवकाइ गर्नु पर्ने वा नपर्ने ? अनि एउटा मण्डलीको दाँजोमा अर्को मण्डली ‘मण्डली’ हुने कि नहुने ? त्यसका आधारहरू के के हुन्, त्यो किन मण्डली हो वा होइन ? अब हामीले बोल्ने आँट गर्नुपर्छ । हैन भने सेवकाइको नाममा स्वार्थसाध्ने कामचोर भ्रष्टाचारीहरूको प्रवेशलाई हामीले स्वागत गरेको ठहरिनेछ ।
हो, अब हरेक नयाँ मण्डलीको पहिचान तथा मान्यताप्रति केही जोड–घटाउ गर्नुपर्ने बेला आएकोछ । साथै हरेक पुराना मण्डलीले सिङ्गो नेपाली समाजअघि प्रश्तुत गरेको साक्षीको समीक्षा गर्नु पनि उत्तिकै जरुरी भएकोछ । हामीले बारम्बार अघिसारेकोे मान्यता यही हो — मण्डलीले राज्यको मान्यता प्राप्त गर्न अब संगठित हुनुपर्छ, जसको निम्ति मण्डली आफूलाई छाँटकाँट गर्न तथा सही प्रमाणित गरेर देखाउन तयार हुनुपर्छ ।
तर एउटा ‘मण्डली’ यस विषयमा कति अब्बल ठहरिन सक्छ, त्यो सम्बन्धित मण्डलीको अगुवामा भरपर्ने कुरा हो । अनि छिमेकीको दृष्टिमा मण्डलीले ‘अपराधी जमात्’ को रूपमा चिनिनु परेको यदि छ भने त्यसमा सम्बन्धित अगुवाको पर्याप्त हात छ । यसकारण मण्डलीका पाष्टर, एल्डर, डिकन तथा सबै अगुवाले आफ्नो जिम्मेवारी बुझिदिएर नैतिकताको आधारमा निर्णय सार्वजनिक गर्नुपर्छ ।
अझै भनौँ, अभिप्राय शुद्ध हुनुपर्छ सबै अगुवाको । ऊ किन, कुन उद्देश्यबाट प्रेरित भएर मण्डलीको ‘अगुवा’ हुन चाहन्छ, त्यो सार्वजनिक हुनुपर्छ र उसको चरित्रको मूल्यांकन सम्भव भएसम्म वर्षेपिच्छे गरिनुपर्छ । अन्यथा मलाई बोल्न दिनुहोस्, भोलिका दिनमा फेरि टेलिफोन गरेर हतार–हतार आफू ‘पाष्टर’ भएको घोषणा गर्ने व्यक्तिको नियतमाथि मैले प्रश्न उठाउनुपर्ने छ, र मण्डलीले चौतर्फि अनाहक तीरस्कार भोग्नुपरेको दृश्य आम नेपाली विश्वासीहरूले चूपचाप हेर्नुपर्ने दिन फेरि पनि आउनेछ ।

Related Articles

Check Also
Close
Back to top button