सङ्गीतको सुरूवात, परिभाषा र मण्डलीमा यसको महत्व

 Jyoti kumar sunuwar

सङ्गीत परमेश्वरबाटै स्वर्गमा सुरू भएको कुरा हो, जहाँ लगातार रूपमा स्वर्गदूतहरूले यसको प्रयोग गरी परमेश्वरको महिमा गरीरहेका छन् (अ्युव ३८:७) । यो मानव जातिलाई यसको सही प्रयोगबाट उहाँकै स्तुतिप्रशंसा र आराधना गर्न दिइएको विशेष वरदान हो । यो उहाँलाई अत्ति मनपर्ने कुरा हो । यो विशेष वरदान भएकोले सबैलाई दिइदैन । त्यसैले यो पाएकाहरूले यसको सही सदुपयोग गरी मानिसहरूलाई परमेश्वरको महिमाको निम्ति समर्पित र इमान्दारी भई अगुवाइ गर्ने जिम्मेवारी पूर्णरूपमा पूरा गर्नुपर्ने हुन्छ ।
सङ्गीत यस्तो एउटा अचम्म र आनन्दमय ईश्वरीय उपज र वरदान हो कि यसको गहिराइमा जति डुब्यो त्यति नै यो गहिरो पाइएको अनुभव र भनाई यस विधामै चुर्लुम्म डुबेर जीवन बिताउनेहरूको छ । त्यसैले सङ्गीतको विशालतालाई नियालेर हेर्दा सङ्गीत यही नै हो भनेर पूर्ण परिभाषा कसैले दिन सकिने अवस्था नभएपनि सङ्गीतलाई साधरणतया यसरी परिभाषित गरीएको छ : “शब्द, लय, ताल, गायन र नृत्यहरूको बेजोड प्रस्तुतीको मेलबाट निस्किएको सुमधुर आवाजलाई नै सही अर्थमा साधारणतया सङ्गीत” भनिन्छ ।
बाइबलको पुरानो र नयाँ करार दुवैलाई हेर्ने हो भने सङ्गीत एउटा परमेश्वर को स्तुतिप्रशंसा र आराधना गर्ने महत्वपूर्ण भाग हो । सङ्गीत जताततै पाइन्छ । सङ्गीतचाहिँँ मानव जातिको अन्तस्करण अनुभूतिको प्रकटिकरण हो । यो परमेश्वरको स्तुतिप्रशंसा र आराधना व्यक्त गर्ने स्वभाविक बाटो हो ।
वास्तवमा, सङ्गीतको मूल रूपमा दुईवटा उद्देश्यहरू छन् : कि त सिधै परमेश्वरसँग बोल्नु , कि त उहाँका भलाईको वारेमा भन्नु । यसरी गरीने यी दुवै कार्यबाट परमेश्वरको महिमा हुन्छ । परमेश्वरको सदा स्तुतिप्रशंसा र आराधना गर्दै केवल उहाँकै महिमा गर्नु सङ्गीतको उद्देश्य हुनुपर्दछ ।
त्यसरीनै सङ्गीत मानव जीवनको एउटा सहयात्री हो । सङ्गीतमा शक्ति हुन्छ जसले मानिसको जीवनलाई परिवर्तन गर्न सक्दछ, टुटेको हृदय निको पार्न एउटा औषधीको रूपमा काम गर्ने गर्दछ, यसले जीवनमा उत्साह, खुशी, आनन्द र रमाहाट ल्याउने गर्दछ । यो मानव जीवनका तिता मिठा अनुभूतिहरू व्यक्त गर्ने माध्यमहरू मध्येमा एक माध्यम हो । मानव चाहे जङ्गलमा बसोबास गर्ने होस् वा घरमा, चाहे सडकमा बसोबास गर्ने होस् या दरवारमा, चाहे नानीहरू होस् या बृद्धबृद्धा यो जसलाई पनि मनपर्ने कुरा हो । सङ्गीतले मानव जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले सङ्गीतको सही प्रयोग मण्डलीको निम्ति परमेश्वरको इच्छा हो र मण्डलीमा यो नभइ नहुने महत्वपूर्ण सेवा हो । सङ्गीतले परमेश्वरको नजीकमा लैजाने काम गर्दछ र शान्ति र मिलाप ल्याउदछ ।

२. गीत सङ्गीतको किसिम, यसको प्रयोग र बाइबलमा चलाइएका बाजागाजाहरू ।
परमेश्वरले मानव जातिलाई दुई किसिमको स्वर दिनुभएको छ । पुरूषलाई एक किसिमको धोत्रो यानि कि ठूलो स्वर छ भने अर्को चाहिँँ स्त्रीलाई तिखो अर्थात सुरिलो स्वर । तर दुबै किसिमका स्वरहरू परमेश्वरबाट दिइएका र केवल परमेश्वरको महिमाको निम्ति हुन् । यी दुवै खाले स्वरहरूको प्रयोग गर्दै परमेश्वरको महिमाका निम्ति फरक—फरक आवाज निकालेर (वेस, टेनर, सुप्रानो र अल्टो) सङ्गीत झुण्डको अगुवाइमा विभिन्न किसिमका पुराना तथा नयाँ गीत सङ्गीतहरू मण्डलीले गाउनु र बजाउनु हाम्रो गहन जिम्मेवारी हो र अवसरको कुरा पनि ।
गीत सङ्गीतलाई विभिन्न रसमा प्रयोगमा ल्याउने गरीएको छ । जस्तैः ति मध्ये एउटाचाहिँ भक्ति रस हो । मण्डलीले गाउने गीत, भजन र कोरसहरू भक्तिसम्बन्धी हुनाले यिनीहरू भक्ति रसमा पर्दछन् । यसै भक्ति रसका गीतहरूलाई लोक, आधुनिक, पप, रक, ¥याप सङ्गीतमा ढालेर गाउने पनि विभिन्न देशमा आफ्नो मौलिकता र भेष अनुसार गर्ने गरिन्छ । तर सन्तमा यसको उद्देश्यचाहिँँ फरक सङ्गीत शैली भएपनि परमेश्वरको महिमा र उहाँका सन्त गणहरूलाई परमेश्वरमा डोहोरिन मद्दत पुग्ने खालको हुनुपर्दछ ।
सङ्गीत एउटा यस्तो कुरा हो जसको सही प्रयोग मण्डलीमा हुँदा परमेश्वरको महिमा हुन्छ र उहाँको आराधकहरू अशिषित हुन्छन् । जुनचाहिँँ परमेश्वरको इच्छा र परमेश्वरको आज्ञा हो । त्यसरी नै यसको दुरूपयोग गर्दा शैतान र मानिसको महिमा हुन जान्छ, जुनचाहिँँ परमेश्वरको इच्छा र आज्ञा होइन । त्यसो हुँदा मानिस परमेश्वरको सम्बन्ध र सङ्गतिबाट टाढा रहन्छ, जसको फलस्वरूप उसले अशान्तिमा, दोषिपनामा, निराशामा र बदलामा जीवन विताउनु पर्नेहुन्छ र अन्तिममा, आत्महत्या । यहि कुरा नै शैतानको मूल मिशन हो । किनकि शैतानको अगुवाइबाट जीवन दिने गीतहरू गाउनै सक्दैनन् किनभने त्यो दियावलस आफै दुष्ट र हत्यारा हो । यस्तै नकरात्मक अनि निराशाका शैतानिक गीत सङ्गीतहरूको कारण विश्वमा धेरै मानिसहरूले आत्माहत्या गर्न पुगेका छन् । तर प्रभुको गीतमा त उहाँको स्तुतिप्रशंसा, आराधना, सबैलाई उत्साह, आशा, आनन्द, प्रेम, खुशी र जीवन छ किनकि उहाँ मात्र जीवनदाता हुनुहुन्छ । त्यसैले मण्डलीले कस्तो किसिमको गीत सङ्गीतहरूको प्रयोग गर्ने र कसरी गर्ने भन्ने कुरा राम्रोसँग बुझेको हुनुपर्दछ ।
बाइबलमा विभिन्न किसिमका बाजागाजाहरू प्रयोग गरेर परमेश्वरको स्तुतिप्रशंसा र आराधना गर्ने गरीएको पाइन्छ जुन यस प्रकार छन् । जस्तै : तुरही, वीणा, सारङ्गी, खैजडी, तार–वाद्य, बाँसुरी र झ्याली (भजनसंग्रह १५०:३—५), आदि ।

३. बाइबलमा भएका सङ्गीतकारहरू
क) यूबाल : यूबाल वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए । (उत्पत्ति ४:२१)
ख) मिरियम : मिरियम अगमवादिनीले हातमा खैंजडी लिइन्, र सबै स्त्रीहरू पनि खंैजडी लिएर नाच्दै तिनका पछिपछि निस्के । मिरियम यसो भन्दै गाउन लागिन् :
“परमप्रभुको स्तुति गाओ,
किनभने उहाँ धेरै उचालिनुभएको छ ।
घोडा र त्यसको सवारलाई उहाँले समुन्द्रमा फालिदिनुभएको छ ।” (प्रस्थान १५:२०,२१)
ग) दाऊद : दाऊदले आफ्नो वीणा लिएर बजाइदिन्थे र हानिकारक आत्माले शावललाई छाडेर जान्थ्यो र तिनले शान्ति पाउँथे र निको हुन्थँे । (१ शमूयल १६:२३)
घ) स्त्रीहरू : स्त्रीहरू सितार र खैजडी बजाउँदै, गाउदै र नाच्दै शाउल राजालाई भेट्न आए । (१शमुएल १८:६)
ङ) सोलोमन : सोलोमन राजाले एक हजार पाँचओटा गीतहरू लेखे । (१ राजा ४:३२)
च) एलीशा : एलीशाले एउटा वीणा बजाउनेलाई बोलाए, जब वीणा बजाउनेले बजाइरहेको थियो तब एलीशाले अगमवाणी गर्न लागे, “परमप्रभु यसो भन्नुहुन्छ : यो बेँसीमा खाल्डै—खाल्डा बनाओ । (२ राजा ३:१५,१६)
छ) लेवीहरू : लेवीहरू बीचका अन्य थप सङ्गीतकारहरूले यरूशलेममा सन्दुक ल्याउने काममा सहयोग गर्ने गरेका थिए । जस मध्येमा जो अघिबाट गणनामा आएका थिएनन्, तिनीहरू यसप्रकार छन् : एतान, जकरिया, अजीएल, शमीरामोत, यहियल, उन्नी, एलीआब, मासेयाह, एलीपलेहु, मिक्नेयाह, ओबेद एदोम, अजज्याह, शबन्याह, योशापात, नतनेल, अमासै, एलीएजर । (१इतिहास १५:१६—२४)
ज) यीएल : यीएलले सारङ्गी र वीणा बजाए । (१इतिहास १६:५)
झ) आसाप : आसापले झ्याली बजाउँथे । (१इतिहास १६:५)
ञ) बनायाह र यहासेल : बनायाह र यहासेलले तुरही बजाउथे ।
(१इतिहास १६:६)
ट) हेमान र यदुतुन : हेमान र यदुतुनले तुरही र झ्याली बजाउथे ।
(१इतिहास १६:४२)
ठ) यदुतुन : यदुतुन दाऊद राजाका मुख्य सङ्गीतकार थिए ।
(१इतिहास १६:४२, भजन ३९)
ड) दाऊद : दाऊद राजाका ४००० सङ्गीतकारहरू थिए जसले दाऊद राजाले बनाएका बाजाहरूद्वारा परमेश्वरको प्रशंसा गर्थे । (१इतिहास २३:५)
ढ) दाऊद : परमप्रभुको भवनमा सेवा गर्न दाऊदद्वारा छुट्याइएका सङ्गीतकारहरूको संख्या जम्मा २८८ जना थिए । २८८ को सङ्ख्याभित्र समावेस तर पहिला नेमावलीमा नाम नलेखिएकाहरू : जक्कूर, योसेफ, नतन्याह, असरेला, गदल्याह, सेरी, शिमी, यशयाह, हशब्याह, मत्तित्याह, बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती—एजेर, योश्बाकाशा, मल्लोती, होतीर, महजीओत, र अज्रेल । (१इतिहास २५)

ण) सोलोमन : जब सोलोमनले मन्दिरको अर्पण गरे, त्यहाँ लेवी गायकहरू, झ्याली, वीणा र सारङ्गी बजाउनेहरू र १२० जना पूजाहारीहरू थिए जसले चाहिँँ तुरही बजाए । (२ इतिहास ५:११—१४)
त) पूजाहारीहरू र लेवीहरू : जब मन्दिरको पुनः जग बसालियो, त्यसबेला पूजाहारीहरूले तुरहीहरू बजाएर, आसापका छोराहरू लेवीहरूले झ्यालीहरू बजाएर परमेश्वरको प्रशंसा गरे । जसमा केही सङ्गीतकारहरूलाई नाम सहित नै नहेम्याहमा उल्लेख गरीएको छ : जकरिया, शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहुदा र हनानी । (एज्रा ३:१०,नहेम्याह १२:३५,३६)
थ) यूहन्ना : यूहन्नाले एउटा स्वर वीणा बजाउनेहरूले बजाइरहेको वीणाको स्वर जस्तो सुने । अनि तिनीहरूले स्वर्गको सिंहासनअघि एउटा नयाँ गीत गाँए । (प्रकाश १४:२, ३)

४.चार अवधिमा विभाजित बाइबलीय स्तुतिप्रशंसा र आराधना
जब हामी बाइबलमा हेर्दछौ, सुरूदेखि नै सामूहिक स्तुतिप्रशंसा र आराधनाको प्रयोग सधै गरिएको पाउदछौ । हाम्रा पितापुर्खाहरूको समयमा विशेष गरेर व्यक्तिगत प्रार्थना (उत्पत्ति १८) र सामूहिक स्तुतिप्रशंसा र आराधनाका लागि वेदी बनाएको पाउदछांै (उत्पत्ति १२:७) । यसरी स्तुतिप्रशंसा र आराधनाको अभ्यास पितापुर्खाहरूको पालादेखि नै भएर आएको हुनाले यसलाई बाइबलमा चार अवधिमा विभाजित गरिएको पाइन्छ ।

पहिलो अवधि
जब मोशाले इस्राएलीहरूको आधारभूत सामूहिक आराधनाको स्थापना गरे र यसको मुख्य केन्द्रविन्दु सन्दुकमा बनाए, हामीलाई यसबाट वास्तविक केही स्तुतिप्रशंसा र आराधनाको ज्ञान मिल्दछ । १शमुएल १:१ मा उदाहरण स्वरूप हेर्न सकिन्छ कि, वलिदान र व्यक्तिगत स्तुतिप्रशंसा र आराधनाका लागि टेवरनेकल अर्थात सन्दुकमा मुख्य रूपमा केन्द्रित गरेको पाइन्छ ।
दोस्रो अवधि
अब स्तुतिप्रशंसा र आराधना सन्दुकबाट सुरू भइ, अझ व्यवस्थित र प्रणालीगत रूपमा मन्दिरको विधिमा केन्द्रित भयो र यसलाई उजाड स्थानमा सुरू गरी स्थापना गरियो । यस विधिलाई अगुवाइ गर्न मुख्य रूपमा पुजाहारीहरू र उनीहरूलाई सहयोग पु¥याउन लेवीहरूलाई जिम्मा दिइयो । उनीहरूले यसमा व्यवस्थित विधि र वलिदान समावेस गरे ।
तेस्रो अवधि
स्तुतिप्रशंसा र आराधना यसरी एक चरणपछि अर्कोचरण पारगर्दै, अर्कोस्तरमा विकसित भएर सभाघरमा केन्द्रित हुनपुग्यो । जुन निर्वासनको अवस्थामा रहेको बेला तिनीहरूको माँझमा विकसित भयो । यो चाहिँँ मन्दिरमा गरिने स्तुतिप्रशंसा र आराधना भन्दा फरक थियो । पहिलोचाहिँ यहुदीहरू जाहाँ जाहाँ गए र बसे त्यही नै यो विधि पाइयो भने पछिल्लोचाहिँ यरूशलेममा केन्द्र विन्दु बनाइयो । अब सभाघरमा भने आराधनाभन्दा पनि बढि जोड शिक्षालाई दिन थालियो तरै पनि स्तुतिप्रशंसा र आराधनालाई भने वेवास्ता गरिएन ।
चौथो अवधि
यो चौथो अवस्थाचाहिँ सुरूका ख्रीष्टियन मण्डलीहरूको अवधि थियो । येशू ख्रीष्टको मृत्यु र पुनरूत्थानले यहुदीहरूको सबै विधिविधान र वलिदान प्रणालीलाई अन्त गरे पनि यहुदी ख्रीष्टियनहरूले मन्दिरमा र सभाघरमा स्तुतिप्रशंसा र आराधना गर्ने अनुमति पाएसम्म निरन्तर गरिरहे । सामूहिक स्तुतिप्रशंसा र आराधना सभाघरसँगसँगै विकसित हुँदै अघि बढ्यो ।
सुरूदेखि यस्तो देखियो कि, ख्रीष्टियनहरू व्यक्तिगत भातृत्व भेटघाटको नाउँमा उनीहरूको आपसी संगति घरघरमा सुरू गरे । यो समयचाहिँ उनीहरूले प्रभुको दिनमा मिलाएका थिए । (यूहन्ना २०:१९, २६, प्रेरित २०:७, १कोरिन्थी १६:२) । उनीहरूको यस सामूहिक स्तुतिप्रशंसा र आराधना समयमा निम्न कुराहरू समावेस हुने गर्दथ्यो :
– प्रचार (प्रेरित २०:७, १कोरिन्थी १४:९)
– वचन पाठ (कलस्सी ४:१६, याकुव १:२२)
– प्रार्थना (१कोरिन्थी १४:१४–१६)
– गायन (एफिसि ५:१९, कलस्सी ३:१६)
– वप्तिस्मा र प्रभुभोज (प्रेरित २:४१, १कोरिन्थी ११: १८–३४)
– दान (१कोरिन्थी १६:१–२)
– कहिले काही अगमवाणी र अन्य भाषा (१कोरिन्थी १४:१–१९)

Related Articles

Back to top button