इतिहासमा आज : एन्टोनिट ब्राउन

एन्टोनिट ब्राउन ख्रिस्टाब्द १८२५ मा अमेरिकामा जन्मेकी थिइन् । ६ वर्षकै कलिलो उमेरमा उनी चार्ल्स फेन्नीको सेवा-कार्यबाट प्रभावित भएकी थिइन् । उनी स्कुलमा श्रेष्ठ भएर निस्किन् ।

१८४७ मा ओबर्लिन कलेजबाट दीक्षित भएपछि ब्राउन ईश्वरशास्त्र अध्ययनको लागि उही कलेजमा फर्कंदा कलेजका कर्मचारीहरू छक्क परेका थिए किनकि त्यति बेलासम्म कुनै पनि स्त्रीले त्यहाँ ईश्वरशास्त्र अध्ययन गरेकी थिइन । उनले त्यहाँ पढाइ त पुरा गरिन्, तर उनलाई दीक्षान्त दिइएन र भूतपूर्व विद्यार्थीहरूको सूचीमा उनको नाउँ रहेन ।

तर ब्राउन प्रखर वक्ता थिइन् । १५ सेप्टेम्बर १८५३ मा उनी अमेरिकाकै प्रथम अभिषिक्त स्त्री पास्टर बनिन् । उनको अभिषेक कार्यक्रममा रेभ. लुथर लिले गलाती ३:२८ बाट प्रचार गरेका थिए, “ख्रीष्टमा गरिने विश्वासले तपाईंहरू हरेकलाई एक अर्कामा बराबर तुल्याउँछ, चाहे तपाईं यहूदी हुनुभएको होस् वा ग्रिक, कमारा हुनुभएको होस् वा फुक्का, पुरुष हुनुभएको होस् वा स्त्री ।”

ब्राउनले आफ्नो पछिल्लो जीवन नारी अधिकारमा केन्द्रित गरिन् । धर्ममा स्त्रीहरूको सक्रिय सहभागिताले समाजमा तिनीहरूको प्रतिष्ठालाई पदोन्नती गर्थ्यो भन्ने कुरामा उनी दृढ थिइन् । उनले नारी अधिकार र दास प्रथाको विरुद्धमा खुलेर बोल्न थालिन् । उनले मौका पाएअनुसार मण्डलीमा पनि यस्ता विषयहरूबारे सचेत गराइन् । उनले ईश्वरशास्त्र, विज्ञान र दर्शनशास्त्रबारे केही कृतिहरू लेखिन् ।

स्त्रीहरूसित सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले १८७३ मा ब्राउनले एउटा सङ्घको स्थापना गरिन् । जुन कलेजले उनलाई भूतपूर्व विद्यार्थीको सूचीमा राख्न इन्कार गरेको थियो त्यही कलेजले उनलाई १८७८ र १९०८ मा क्रमशः मानार्थी स्तानकोत्तर र विद्यावारिधि प्रदान गर्‍यो ।

विशिष्ट व्यक्तिहरूको एउटा सभामा ब्राउनले यसरी भाषण गरेकी थिइन्, “जसरी स्त्रीहरू पुल्पिटमा अत्यावश्यक छन्, त्यसरी नै उही कारणको लागि तिनीहरू संसारमा पनि अत्यावश्यक छन् । किनकि तिनीहरू स्त्रीहरू हुन् ।”

ब्राउन निर्भीक थिइन् । आफ्ना समकालीन स्त्री अगुवाहरूभन्दा उनी फरक गर्न चाहन्थिन् जसमा उनी सफल पनि भइन् । अमेरिकामा मुलधार प्रोटेस्टेन्टमा प्रथम स्‍त्री पास्टरको रूपमा उनले इतिहास रचिन् । नारी अधिकारको वकालत गर्न उनले आफ्नो धार्मिक विश्वासलाई भरमग्दुर प्रयोग गरिन् । प्रखर वक्ता ब्राउन ९५ वर्षको दीर्घायुमा आफ्नो स्थायी घरमा प्रस्थान गरेकी थिइन् ।

  • Kamal Adhikari * with Reasons to Believe

Related Articles

Back to top button