यूहन्ना कसरी तिनी त्यहाँ पुगे?

“म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु । परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ” (प्रकाश १:१०) । यो प्रकाशको पुस्तकका लेखक यूहन्नाको वचन हो जसलाई पत्मोस टापुमा निर्वासित गरिएको थियो । कसरी तिनी त्यहाँ पुगे?

साविक सम्राट् तीतसको मृत्युपश्चात् रोमी साम्राज्यको एघारौँ सम्राट्को रूपमा डोमिसनले ख्रिस्टाब्द ८१-९६ सम्म शासन चलाएका थिए । तिनी निरङ्कुश र क्रुर थिए । तिनले आफैलाई “परमप्रभु परमेश्वर” घोषणा गर्दै मानिसहरूबाट उपासनाको अपेक्षा गरे । तिनको ईश्वरत्वलाई इन्कार गर्नेहरू सतावटको निसाना बने ।

सम्राट् डोमिसनको शासनकालका सरकारी कर्मचारी प्लिनी द योङ्गरले लेखेका छन्, कि सम्राट्ले रोमी नागरिकहरू तथा गैरनागरिकहरू, स्त्री तथा पुरुषहरू, फुक्का तथा कमाराहरू सबै किसिमका ख्रीष्टियानहरूलाई सताएका थिए । यही सतावटमा परी एफिससमा प्रभावकारी ढङ्गमा सेवा गरिरहेका यूहन्ना सम्राट्द्वारा पत्मोसमा पठाइएका थिए ।

दस माइल लामो र छ माइल चौडा पत्मोस टापु एसिया माइनर र ग्रिसको बिचमा पर्छ । रोमी साम्राज्यमा कैदीहरूलाई साधारणतया यही टापुमा पठाइन्थ्यो । एक जना टिप्पणीकारकाअनुसार यूहन्नाले यो सानो टापुमा भएका खानीहरूमा कैदी बनेर काम गरेका थिए । मानवीय दृष्टिाकोणबाट यूहन्नालाई दण्ड दिइएको भए तापनि त्यही दण्डलाई परमेश्वरले आशिष्‌मा रूपान्तरण गर्नुभयो किनकि यही टापुमा परमेश्वरले तिनलाई भविष्यबारे उदेकका दर्शनहरू दिनुभएको थियो । लगभग ९५ तिर लेखिएको प्रकाशको पुस्तक परमेश्वरको प्रेरणा पाएर लेखिएको अन्तिम पुस्तक हो जसलाई उचित तवरले बाइबलीय क्याननको अन्त्यमा राखिएको छ ।

१८ सेप्टेम्बर ९६ मा सम्राट् डोमिसनको हत्या गरिएपछि तिनका उत्तराधिकारी नर्भाले यूहन्नालाई एफिससमा फर्कन अनुमति दिए ।

Related Articles

Back to top button