इतिहासमा आज : सर वाल्टर स्कट

साठीभन्दा बढी लोकप्रिय पुस्तकहरूका प्रसिद्ध लेखक सर वाल्टर स्कट आफ्नो मृत्युको घडीतिर लम्कँदै थिए । आफ्नो मृत्यु शैय्यामा पल्टिरहँदा स्कटले आफ्नो बृहत् पुस्तकालयबाट आफ्ना ज्वाइँ लोकहार्टलाई “त्यो पुस्तक” ल्याउन अनुरोध गरे । लोकहार्टले स्वाभाविक रूपमा सोधे, “कुनचाहिँ पुस्तक सर वाल्टर ?” पवित्र बाइबललाई देखाउँदै स्कटले जवाफ दिए, “त्यहाँ एउटै मात्र ‘त्यो पुस्तक’ छ ।” आफ्नो पुस्तकालयमा भएका आफैले लेखेकासहित हजारौँ उत्कृष्ट पुस्तकहरूको बिचमा आफ्नो मृत्यु शैय्यामा बाइबललाई छानी प्रतिभाशाली लेखक सर वाल्टरले सही मूल्याङ्कन गरे । तिनको पुस्तकालयमा मात्रै नभई संसारभरि नै बाइबल श्रेष्ठतम पुस्तक हो । बाइबल एउटा अद्वितीय पुस्तक हो ।

अद्वितीय शब्दको अर्थ हुन्छ “तुलनाको लागि अर्को नभएको ।” उचाइको दृष्टिले सगरमाथा सबैभन्दा अग्लो छ भन्दा यो जत्तिकै अग्लो शिखर कुनै छैन भन्ने अर्थ लाग्छ । विभिन्न क्षेत्रमा बाइबलले आफूलाई सगरमाथा प्रमाणित गरेको छ ।

संसारमा सबैभन्दा बेसी बिक्री-वितरण हुन सफल पुस्तक हो, बाइबल । पुरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू हालसम्म ७ अरबभन्दा बेसी बिक्री-वितरण भएको छ भनी अनुमान गरिएको छ ।

अनुवादको दुनियाँमा पनि बाइबलले बाजी मारेको छ । सुरुमा बाइबललाई हिब्रू, आरमेइक र ग्रिक भाषामा लेखिएको थियो । यी भाषाबाट बाइबललाई अन्य विभिन्न भाषाहरूमा अनुवाद गरिएको छ । २०१६ सम्म आइपुग्दा बाइबलको कुनै न कुनै अंश ३, २२३ ओटा भाषामा अनुवाद भइसकेको थियो । वास्तवमा संसारका ९८% जनसङ्ख्याले बाइबलको वचनलाई आफ्नै भाषामा पढ्न पाएका छन् ।

अविनाशितामा पनि बाइबलले इतिहास रचेको छ । संसारमा सबैभन्दा बेसी सतावट भोगे तापनि संसारको चारैतिर आफ्ना आशिष्‌हरू लगेर यसले संसारका मानिसहरूलाई अनमोल गुण लगाएको छ ।

शिक्षामा पनि बाइबल अद्वितीय छ, खास गरी भविष्यवाणीको क्षेत्रमा । एक जना लेखककाअनुसार बाइबलमा जम्माजम्मी १८१७ ओटा भविष्यवाणी पाइन्छन् । बाइबल लेखिँदा यसको २७% भाग भविष्यवाणीसित सम्बन्धित थियो । यसका सैयौँ भविष्यवाणी इतिहासमा पुरा भइसकेका छन् जसले यो सामान्य पुस्तक होइन भनी सोच्न बाध्य पार्नुपर्छ एउटा तर्कसङ्गत व्यक्तिलाई पनि ।

बाइबलको प्रभाव विश्वव्यापी छ । साहित्य, भाषण, नीजामति कानुन, राजनीति, कला आदिमा बाइबलको अद्भूत प्रभाव देख्न पाइन्छ । पाश्चात्य सभ्यता प्रत्यक्ष रूपमा बाइबल र यसका शिक्षाहरूमा स्थापित छ । लाखौँ मानिसलाई अन्धकारमय जीवनबाट परिवर्तन गरी उज्यालोमा ल्याउने काम बाइबलले नै गरेको छ । आज व्यक्ति, परिवार, समाज, प्रान्त र राष्ट्रलाई गलत मार्गबाट फर्काई असल मार्गमा डोर्यातउने काम गरेको छ, यही बाइबलले ।

२१ सेप्टेम्बर १८३२ मा यस धरतीबाट बिदा भएका प्रतिभाशाली लेखक वाल्टरले आफ्नो मृत्यु शैय्यामा बाइबललाई छानी सही मूल्याङ्कन गरेका थिए ।

  • Kamal Adhikari with Reasons to Believe

Related Articles

Back to top button