इतिहासमा आज : केलर

“सबै धर्म र दर्शनशास्त्रले भन्छन्, ‘बाटो यो हो ।’ केवल येशू यसो भन्नुहुन्छ, ‘बाटो … म नै हुँ’ ।” यो भनाइ टिम केलरको हो जो आज ६८ वर्ष पुग्दै छन् ।

२३ सेप्टेम्बर १९५० मा अमेरिकामा जन्मेका केलर अमेरिकाका ईश्वरशास्त्री, लेखक, पास्टरसाथै रक्षाशास्त्री हुन् । न्युयोर्कस्थित रिडिमर प्रेसबिटेरियन चर्चका संस्थापक पास्टरको रूपमा तिनी निकै परिचित छन् । ५० जनाबाट सुरु भएको यस मण्डलीमा आज हरेक आइतबार ५,००० भन्दा बेसी भक्तजन जम्मा हुन्छन् ।

दुई दर्जन पुस्तकका रचनाकार केलरका केही कृतिहरू द न्युयोर्क टाइम्स बेस्टसेलिङ्गमा परेका छन् ।

विश्वविद्यालयको विद्यार्थी छँदा ख्रीष्टियान बनेका केलरलाई “एक्काइसौँ शताब्दीका सी. एस. लेविस” को रूपमा पनि बयान गरिएको छ, यद्यपि यस तुलनालाई तिनले स्वीकारेका छैनन् ।

के केलरले भनेजस्तै येशूको दाबीलाई समर्थन गर्ने साक्षीहरू हामीसँग छन् तर? अवश्य ।

सारा मानव इतिहासमा येशू मात्रै एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसले मनग्गे भविष्यवाणीहरू पुरा गर्नुभयो । गौतम बुद्ध, मुहम्मद, कन्युएकसियस, कार्लमाक्स वा अन्य धार्मिक, राजनीतिकसाथै दार्शनिक अगुवाहरूको जन्मअगि तिनीहरूको बारेमा कुनै विशुद्ध भविष्यवाणी गरिएको जानकारी हामीसँग छैन । मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसको जीवन, मृत्यु र पुनरुत्थानको विषयमा उहाँको जन्मभन्दा सैयौँ वर्षअगि सैयौँ भविष्यवाणी गरिए र समय आएपछि ती एक-एक गरेर पुरा भए ।

आफ्नो ईश्वरत्वको पुष्टि गर्नको लागि येशूले आफ्नो सेवा अवधिमा विभिन्न आश्चर्यकर्महरू गर्नुभयो । उहाँका आश्चर्यकर्महरूले विभिन्न हातामाथि उहाँको शक्तिलाई प्रदर्शित गर्छन्— प्रकृति, रोग, भूतात्मा, सृष्टिसाथै मृत्यु ।

येशू दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बाँच्नुभए तापनि उहाँले निष्पाप जीवन जिउनुभयो । येशू आफैले यसको दाबी गर्नुभएको छ; उहाँका मित्रहरू मात्र नभई उहाँका शत्रुहरूले पनि यसको साक्षी दिएका छन् ।

चारवटा सुसमाचारलाई सरसरती पढ्ने मान्छेलाई पनि छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट पुनरुत्थान हुनुभयो भन्ने सत्यतालाई येशूका चारै जना जीवनीकारले महत्त्वका साथ अभिलिखित गरेका छन् । आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभएन, तर उहाँको ईश्वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पनि पुनरुत्थानलाई पटक-पटक उल्लेख गरेका छन् ।

सारा मानव इतिहासमा येशू मात्रै एक यस्तो अद्वितीय व्यक्तित्व हुनुहुन्छ जसले सैयौँ वर्षअगिका सैयौँ भविष्यवाणीलाई पुरा गर्नुभयो; आफ्नै शक्तिले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो; पापरहित जीवत जिउनुभयो र मृत्युमाथि विजय हासिल गर्नुभयो । तसर्थ, येशूको दाबी कुनै फोस्रो कथन होइन, तर साक्षीहरूद्वारा समर्थित निर्भीक वाणी हो ।

  • Kamal Adhikari with Reasons to Believe

Related Articles

Check Also
Close
Back to top button