कुख्यात हत्यारा कसरी रुपान्तरण भए ?

१९५६ मा एउटा डरलाग्दो आक्रमण हुन पुगेको थियो जसमा ५ जना मिसनरीले ज्यान गुमाए । हुरानी नामक जङ्गली आदिवासीको बिचमा येशू ख्रीष्टको सुसमाचार लैजाने प्रयासमा हुरानी लडाकाहरूले मिसनरीहरूमाथि आक्रमण गरी तिनीहरूलाई मारेका थिए ।

को थिए हुरानीहरू ? दक्षिण अमेरिकी मुलुक इक्वेडरको घना जङ्गलमा बस्ने एउटा आदिवासीको नाउँ हो— हुरानी । उका पनि भनेर चिनिने यो आदिवासी अत्यन्तै हिंसक थियो । तिनीहरू जङ्गलमै जन्मन्थे; त्यहीँ हुर्कन्थे र त्यहीँ मर्थे । तिनीहरूको क्षेत्रमा आएका बाहिरका मानिसहरूलाई तिनीहरूले मारिदिन्थे । एउटा खतरनाक असभ्य जाति जसको बिचमा येशूको सुसमाचार लैजानु फलामको चिउरा चपाउनुसरह थियो । तरै पनि पाँच जना मिसनरी येशूको सन्देश लिएर तिनीहरूकहाँ जान चाहन्थे । सुसमाचार लैजाने तिनीहरूको इमानदार प्रयासमा ती पाँचै जना सहिद भएका थिए । मिसनरीहरूको हत्या गर्ने हुरानीहरूमध्ये एक जना थिए, मिन्की । पाँच जनामध्ये दुई जना नेट सेन्ट र एड म्याकुलीलाई तिनले भालाले रोपेका थिए भनी विश्वापस गरिन्छ ।

१९५८ मा अन्य मिसनरीहरू हुरानी जातिसित शान्तिपूर्ण सम्पर्क गर्न सफल भए । मिसनरीहरू तिनीहरूकै बिचमा गएर बसे; तिनीहरूका भाषा सिके र तिनीहरूलाई बाइबलको वचन सिकाए । मिन्कीको ह्दयमा बद्लाउ आयो र तिनी ख्रीष्टका अनुयायी बने । अन्त्यमा, तिनी हुरानीहरूको बिचमा स्थापित एउटा मण्डलीका प्रचारकसाथै एल्डर बने । ख्रीष्टियान बनेपछि उक्त जातिको बिचमा देखा परेको परिवर्तनलाई तिनी यसरी बताउँछन्, “तिनीहरूले हामीकहाँ बाइबल नल्याएसम्म हामीले नराम्ररी व्यवहार गर्यौँल । त्यसपछि उहाँको वचनलाई देखेपछि र उहाँको असल मार्गलाई पछयाएपछि अहिले हामी खुसी र शान्तिमा बस्छौँ ।”

सहादत प्राप्त गरेका एक जना मिसनरी नेट सेन्टका छोरा स्टिभसित मिन्कीको घनिष्ठ सम्बन्ध थियो । स्टिभ धेरै वर्षसम्म तिनीहरूसँगै बसे । मिन्कीले स्टिभका पितालाई मारेकाले स्टिभलाई हुर्काउनु आफ्नो विशेष जिम्मेवारी हो भनी तिनले बुझेका थिए । १९९५ मा सेन्टको परिवार स्थायी रूपमा हुरानीहरूको बिचमा बस्न आएपछि मिन्कीले सहिद नेट सेन्टका सन्तानलाई आफ्नै नाति नातिनाको रूपमा लिए ।

लगभग ख्रिस्टाब्द १९३५ मा मिन्कीको जन्म भएको थियो । १९९७ मा मिन्की पहिलो पटक अमेरिका गए । स्टिभ सेन्टसँगै तिनी धेरै पटक अमेरिका पुगिसकेका छन् । विख्यात सुसमाचार प्रचारक बिल्ली ग्राहमको संस्थाले ख्रिस्टाब्द २००० मा नेदरल्यान्डको राजधानी सहरमा आयोजना गरेको अन्तर्राष्ट्रिय सुसमाचारीय सम्मेलनमा मिन्की स्टिभसँगै उपस्थित भएका थिए । सुसमाचार सुनाउने क्रममा मिसनरीहरूले प्राप्त गरेको सहादतमा आधारित रहेर निर्माण गरिएको फिल्म (Beyond the Gates of Splendor) मा मिन्कीको भूमिकालाई देख्न पाइन्छ जुन फिल्मलाई २७ सेप्टेम्बर २००२ मा प्रकाशन गरिएको थियो ।

_ Kamal Adhikari with Reasons to Believe

Related Articles

Back to top button