म कुपोषणको शिकार भएको थिएँ

रेभ.  सुन्दर थापा
नेपाली इसाई इतिहास बन्नु भएका श्रद्धेय रेभ. सुन्दर थापासँग गरिएको भलाकुसारी तपाईंसँग राखेका छौं ।

तपाईंको परिचय बताइ दिनुहुन्छ कि ?
मेरो जन्म सन् १९६० मा कास्की जिल्लाको सराङ्गकोट गाविसमा भएको हो । मेरो जन्म कट्टर हिन्दू परिवारमा जन्म भएको हो । हाम्रो परिवार धर्मकर्ममा साह्रै चासो राख्ने र सहभागिता हुने परिवार थियो । बुबाचाहिँ राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । परिवारचाहिँ लथालिङ्ग थियो ।  ६ जना सन्तानमा म काइँलो छोरा हुँ । काइँलो छोरा भएको कारणले गर्दा घर परिवारले राम्रोसँग स्याहारसुसार गर्न सकेनन् र म कुपोषणको शिकार भएको थिएँ । पेट ठूलो र हातखुट्टा सानो सानो थियो । गाउँघरका मानिसहरुले अब यो बाँच्दैन भनेर मुख खुम्चाएका थिए र बाउ टोकुवा भनेर पनि उपनाउँ दिएका थिए । यस्तो भन्दा मनमा नमिठो अनुभव हुन्थ्यो ।
एक दिन म मर्ने अवस्था पुगेको थिएँ । सबैले आशा मारिसकेका थिए । मेरा दाजु केवि भक्त थापा पहिला नै ख्रीष्टियन हुनुहुन्थ्यो । उहाँ ख्रीष्टियन भएको कारणले गाउँबाट निकालिएको थियो । त्यस्तै उहाँले काम गर्ने स्कुलबाट पनि निकालिएको थियो । तर पनि उहाँले बडो दुःख साथ शिक्षित बनाउँदै हुनुहुन्थ्यो । आफ्नो विश्वास बचाइ राख्नु भएको थियो । त्यस बेलामा आफूलाई ख्रीष्टियन भन्ने अवस्था थिएन । यदि सरकारले थाहा पायो भने जेलनेलको अवस्था थियो । त्यही पनि उहाँले आफूलाई प्रभुमा बचाइ राख्नु भएको थियो र सुसमाचारको कामलाई पनि निरन्तरता दिइरहनु भएको थियो । उहाँले मेरो बारेमा सुन्नु भयो र काँधमा हालेर ल्याउनु भयो । बाटोमा आउँदै गर्दा मलाई भुईंमा राखेर, घुँडा टेकेर उहाँले भन्नुभयो, “प्रभु यस भाइलाई बचाइदिनु होस् ! मेरो विश्वासलाई कदर गर्नुहोस् ! यदि यो भाइलाई बचाइ दिनुभयो भने यस भाइलाई तपाईंको सेवाको निम्ति अर्पण गर्दछु ।”
त्यसपछि साइन मिसन अस्पताल थियो । त्यस अस्पतालमा पनि बडो माया प्रेम पाएँ । मिसनरीहरुले पनि प्रार्थना गरिदिए । अचम्म १५ दिनपछि म खेल्न थालें, मुसुक्क हाँस्न थाले, विस्तारै उभिने हुन थालें । दाइले आशा देख्नु भयो र सोच्नुभयो अब यो भाइको जीवन बन्छ । अर्को अप्ठ्यारो दाइलाई, किनभने दाइलाई नै पेट पाल्न र पढ्नको लागि दाउरा बेच्नु पर्दछ । अब के गर्ने ? भाइलाई कसरी पाल्ने र पढाउने उहाँलाई गाह्रो भएको अवस्थामा । काठमाडौंबाट प्रेम प्रधान पोखरा जानु भएको थियो । धनराज तामाङ्ग, शुभजित सुब्बा, पा. हरि थापा, बाघबजारका(पोखरा) एल्डर, डिकनहरू  लगायत केशवबहादुर थापाहरूले सल्लाह गरि सन् १९६६ मा प्रेम प्रधानको साथमा काठमाडौं पठाइदिनु भयो ।
प्रेम प्रधानले छोरा जस्तै गरि माया प्रेम गरि राख्नु भयो । स्कुल भर्ना गरिदिनु भयो । ६ वर्षको बालक हुँदा पनि किचेनमा काम गर्न पनि सिकाउनु भयो । करिव १५० बालबच्चा थियो । सबैजना मिलेर नै खाजा, खाना सबै आफैले गर्नुपथ्र्याे । त्यहाँ वचन, भजन, संगति सिक्ने पाएँ । हामी सानै छँदा नै उहाँ धादिङ्ग, नवलपरासी, स्याङ्गजा, पाल्पातिर वचन प्रचार गर्न पठाउनु हुन्थ्यो । यसरी उहाँले ख्रीष्टियनभित्रको धार्मिक कुराहरू सिकाउनमा उहाँले धेरै नै सहायता गर्नुभएको थियो । तर पनि व्यक्तिगत रुपमा मैले प्रभुलाई चाहिँ चिनेको थिएन । म गएको २ वर्षमा नै स्कुल बन्द भयो । आर्मी, पुलिसले स्कुलमा शिक्षकहरूले कुटपिट भयो । प्रेम प्रधानलाई जेलमा हाल्यो । हामीलाई नौविसेमा लगेर छोडियो । ९ दिनको दिन म पोखरा पुगें ।
म पुग्दा बुबा बिति सक्नु भएको थियो । फूपूले मलाई बाउ टोकुवा फेरी आइस् भनेर भन्दा म निराश भएको थिएँ । फेरि दाइहरूले भारतको गोरखपुरको सिसुवा भन्ने गाउँ डगर्स मिमोरियन चिल्ड्रेन होममा राखे । त्यहाँ कसैले धर्मपुत्रको लागि बस्ने भन्दा म मानिन । ७ कक्षासम्म पढेर त्यहाँबाट म नेपाल फर्कें । एसएलसीसम्म १०, १२ वटा स्कुल पढीसकेको थिए ।
फेरि काठमाडौंमा आएँ, अर्काको घरमा काम गरेर, भाँडा माझेर ८ कक्षामा भर्ना भई एस.एल.सी दिएँ । त्यही बेलामा मैले क्याम्पस क्रुसेडसँग सम्पर्क राखें । क्याम्पस क्रुसेडका दाजुहरु सबै ज्ञानेश्वर चर्चमा नै सेवकाइ गर्थे । त्यस बेलासम्म पाटन चर्च शुरु भइसकेको थिएन । त्यहाँ बसेर प्रचार गर्ने, संगति गर्ने, येशूको फिल्म देखाउने काममा सक्रिय भएँ । केही आर्थिक सहायता पनि पाएँ । एडोन रोंगोंङलाई भेटी आफ्नो लक्ष्य मण्डली स्थापना गर्नु हो भनेपछि उहाँले प्रार्थनासाथ मलाई त्यहाँबाट बिदाइ दिनुुभयो ।
हाम्रो सानो चर्च थियो । अरु साथीलाई जिम्मा लगाई म चाहिँ बेँग्लोर बाइबल कलेज पढ्नको लागि गएँ । फर्केर आउँदा चर्च वल्र्ड काउन्सल चर्च भइसकेको रहेछ । बल्ल ६ महिना पछि पूरा रुपमा चर्चको सेवकाइ गर्न मिल्यो । त्यो बेला यस्तो पनि भयो कि म पढ्दा सामाकोशीतिर धेरै विश्वासहरु बनाइ सकेको थिएँ । ज्ञानेश्वर चर्च र पाटन चर्च सहमतिमा छुटे र म पाटन चर्चको भएँ, तर मसँग प्रशस्त रुपैयाँपैसा थिएन र हाम्रो झुण्डसँग पनि थिएन । पाटन जानको लागि त्यो बेलामा साझा बस चढेर जानु पर्यो । ठूलो झुण्डलाई लिएर जान पनि गाह्रो थियो ।
सन् १९७९ मा आशिष चर्च शुरु भयो । यो अहिलेको आशिष चर्च २१ ठाउँमा सर्यो । त्यो बेलामा हामीले धेरै नै दुःख पायौं । विशेष पुलिसहरूबाट दुःख दिने, गाली गर्ने, लखट्ने आदि काम भयो । बालुवाटारमा हुँदा जिजस फिल्म देखाउँदा पुलिसले समातेर ३ दिन सोह्रखुट्टे चोकीमा राख्यो । चौकीको हाकिमले भने, “तिमी काठमाडौं छोडेर जान्छौ भने तिमीलाई छोड्दिन्छौं ।” कागज पत्रमा हस्ताक्षर गरि म पूर्व नेपालतिर लागें । विराटनगर, जनकपुर, उदयपुर, गाईघाट, लेटाङ्ग आदि ठाउँमा सुसमाचार सुनाउने काम गरें । ती वितेको दिनहरु सम्झंदा उहाँले मादल बजाउनु हुन्थ्यो, मचाहिँ नाच्ने गर्थे । दुःख भएता पनि धेरै नै हृदयमा आनन्द आउथ्यो । त्यस ठाउँहरु डि.आर थुलुङ्ग सिकाउने तथा तालिम दिने काम मेरो जीवनमा गर्नु भएको छ । कसरी सुसमाचार सुनाउने ?, कसरी आत्मा जित्ने ? मानिसहरुलाई कसरी आकर्षित गर्ने ? सिकाउने भयो । वास्तवमा त्यहाँबाट नै सेवकाइ गर्ने दर्शन÷बोझ मेरो हृदयमा आयो । अर्को कुरा उहाँले सिकाउनु भएको हामी थोरै ख्रीष्टियन छौं तर महत्व धेरै नै छ भन्ने कुरा सिकाउनु भयो ।
विराटनगरको घटना पनि अझै पनि ताजा छ । त्यो बेला हामीलाई उखुबारी हुँदै पुलिसले लखट्थ्यो । हामी जोगमनी पुगेर मात्र छोड्थ्यो । तर अचम्म आज ती पुलिसहरु पनि ख्रीष्टियन भएको छन् । विराटनगरमा पनि मलाई १५ दिनसम्म पुलिस चौकीमा राख्यो । एक प्रहरीले भने, “तुरुन्त यस ठाउँ छोडेर जाऊ । तिमी यहाँ बस्न पाउँदैनौं ।” त्यसपछि म त्यहाँबाट गाइघाटतिर सेवकाइको लागि लागें । एक जना नागाल्याण्डको भाइ र म सुसमाचार प्रचार गर्दै थियौं । त्यहाँ पनि ठूलो सतावट आयो । त्यपछि  म सर्लाही आएँ । ६ महिनासम्म पढाउँदै थिएँ । पुलिस आएर किन येशूको प्रचार गरेको भन्दै दुःख दिन थाले । त्यसपछि म काठमाडौं फिर्ता भएँ । त्यही सानो चर्चलाई निरन्तरता दिदै बसें । प्रभुले यहाँसम्म आशिष दिइरहनु भएको छ ।
अब म सीमित रहिन, साझा भएको छु । सबै चर्चहरु अगापे, ए.जी, व्याप्टिस र स्वतन्त्र चर्चहरुसँग मिलेर सहकार्य गर्ने, सबैको हितको निम्ति काम गर्ने, एउटै आवाज निकाल्ने म साझा भएको छु ।
नेपाली ख्रीष्टियन इतिहासमा सरकार र चर्चहरुको बीचमा खाडल छ । यी दुईमा कहिले पनि एकअर्कामा समन्वय हुन सकेन । अविश्वासको दृष्टिकोणले गर्ने, शंकाको दृष्टिकोणले हेर्ने मात्र भयो । नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिबाट यो अविश्वास र शंकालाई केही हदसम्म हटाउने काम भयो । हामी ख्रीष्टियन समुदाय पनि राष्ट्रका निम्ति केही गर्नु पर्दछ भन्ने बोध उत्पन्न गरायो । यो समितिमा प्रायः सबै चर्चहरुको सहभागिता रहेको थियो । यो कुनै राजनीति दल पनि थिएन, न त कुनै संस्था नै । यसले नेपाली ख्रीष्टियनहरूको हकहितको निम्ति, पहिचानको निम्ति, स्वतन्त्रताको निम्ति र समाधिस्थलको निम्ति आफ्नो आवाज बुलन्द गर्ने काम त्यस बेलामा गरेको थियो । तर समितिले चर्चहरुको समस्याका बारे सबै राजनीति दलहरूलाई अवगत गराएको थियो । सरकारलाई १३ बुंदे माग पनि पेश गरेको थियो ।
अब त्यो खाडल पुर्ने समय आएको छ । हामी नेपाली ख्रीष्टियन पनि यही देशका नागरिक हुन् । यही देशमा रगत, पसिना बगाएका छन् । देश विरोधी, राजनीतिक दल विराधी होइन विदेशीको इशारामा चल्ने होइन । तिनीहरु चोखो नेपाली हुन् । यस देशलाई माया गर्दछन् । देश विकाशको निम्ति नेपाली ख्रीष्टियन लाग्छन् भन्ने सन्देश बोकेर म हिंड्ने विचारमा छु ।  सानो बत्ती र नून जस्तै बन्न र यस देशमा प्रभाव पार्न खोज्दै छु । नकारात्मक विचारलाई हटाउन खोज्दैछु ।

मेरो सेवकाइको अर्को पाटो व्यवसाय हो ।  पैसालाई गुणात्मक रुपमा उत्पादन गर्दछु । एकलाई दुई बनाउँछु । २ लाई ४ बनाउँछु । कसरी भने म जग्गाको कारोबार गर्दछु । जग्गाको कारोबार गर्नुको मुख्य उद्देश्य नाफा कमाउनु भन्दा पनि चर्चको निम्ति सानो टुक्रा जग्गा दिनु हो । अहिलेसम्म काठमाडौं उत्पयकामा २० वटा ठाउँमा चर्चको निम्ति जग्गा छुट्टयाएको छु । नाफाबाट सामाजिक पनि कार्य गर्दछु । व्यवसायबाट पनि सेवकाई गर्न सकिंदो रहेछ ।
अन्तमा वचन पत्रिकालाई धन्यवाद दिनु चाहन्छु ।

Related Articles

Back to top button