बलियो विश्वासी हुनु भनेको मूर्तिलाई चढाइएको मासु खानसक्ने हुनु होइन

Writer: Ganesh Tamang

हाम्रा यस्ता आफन्त र साथीहरू पनि छन् जसले येशूलाई विश्वास नगरे पनि ख्रीष्टियानहरूलाई आदर गर्छन्। चाड–बाडको कुरा गर्दा खालि पूजा–पाठ भन्ने मात्र सम्झनु हुँदैन। यो पारिवारिक भेटघाटको लागि राम्रो मौका पनि हो जुनचाहिँ समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा अति नै आवश्यक कुरो हो। कुरो यति हो कि यसको बढी महत्त्व धार्मिक समुदायविशेषलाई मात्र हुन्छ, अर्थात् आस्थाको हिसाबले ख्रीष्टियानलाई दशैंको समय छुट्टीको समयको उपयोग नै प्रमुख विषय हो। समयको उपयोगलाई ध्यान दिइए पनि हिन्दूहरूको प्रमुख चाड दसैं–तिहारमा ख्रीष्टियानहरूलाई बढी बाधा भएको मेरो अनुभवलाई दुइटा मुद्दा बनाएर पेस गर्दछु।

 

मुद्दा नं १

मेरो आफ्नै कलिलो विश्वास र पञ्चायतकालको कहरले साह्रै बाधा दिएको अनुभव छ। विशेष गरी दसैंको बेला जसरी भए पनि मासु खुवाएरै छाड्ने धम्कीले एक समय हामी अति डराएका थियौं। जसोतसो दसैं त टर्यो तर तिहारमा हामीलाई ठीक पार्ने धम्की दिइयो। यो वि सं २०४३ नुवाकोटको गोगने गाउँमा घटेको घटना बारे भन्दैछु।

मुद्दा नं २

एक दिन साथीले दसैंको बेला तीन जना विश्वासीहरूलाई खाना खान बोलायो। ख्रीष्टियानहरूले पूजा गरेको मासु खाँदैनन् भन्ने कुरो थाहा थियो त्यसकारण उसले पसलबाट अर्कै मासु किन्यो। मीठो मासुभात पकाएर साथीहरूलाई सत्कार गरियो। खाना खाइसकेपछि बैठक कोठामा गएर गफ गर्न थाले। अन्तिममा फलफूल खुवाउने इच्छा भयो। ती झिक्नको लागि फ्रिज खोल्दा त पसलबाट किनेर राखेको काँचो मासु फ्रिजभित्रै भेटियो। काम गर्नेले पूजा गरेको र पसलबाट किनेर ल्याएको मासु छुट्याउन नसकेर चढाइएकोचाहिँ पकाएछ। आफ्नो तर्फबाट साथीहरूलाई धोका भएको सम्झेर ऊ साह्रै अतालियो। ख्रीष्टियानहरूको ईश्वरले खुवाउनेलाई नै सिध्याइदिन्छ कि भन्ने डरले ऊ काम्न लाग्यो र पछुतो मान्दै चढाएको झुक्किएर चढाइएको मासु खुवाएको कुरालाई इमानदारसँग बतायो, “यो जानीजानी गरेको होइनँ, यस्तो अवस्थामा तिमीहरूको ईश्वरले पक्कै पनि क्षमा गर्नुपर्ने हो!” उसको डर मासु खाने ख्रीष्टियान साथीप्रति मात्र नभएर खुवाउने आफूमाथि पनि दण्ड पर्छ कि भन्ने थियो। यस्तो कुरो सुन्नेबित्तिकै खाना खाएर आरामसँग बिसाउँदै गरेको ख्रीष्टियान साथीहरूमध्ये एउटाको चाहिँ तुरुन्तै पेट उमठिएर पखाला नै लाग्लाजस्तो भयो। दोस्रोलाई चाहिँ वान्ता होलाजस्तो भयो। तेस्रोलाई केही भएन। खाना खुवाउनेचाहिँ पछुतोमा जलेको देखियो।

चढाइएको मासु खाएर केही पनि नभएको ख्रीष्टियानले चाहिँ दुई जनालाई हप्काउन थाल्यो। आफ्नो विश्वास बलियो भएको घमण्ड गरेर उसले कमजोर भाइहरूलाई भन्यो, “देख्यौ? विश्वास भनेको मेरोजस्तो पो हुनुपर्छ त! दह्रो विश्वासीलाई चढाएको मासुले केही हानि गर्दैन!”

 

विश्लेषण 

दशैं–तिहारको पूजा–पाठमा अभ्यस्त भएकाहरूले येशूलाई विश्वास गरेपछि अरूले चाडहरू मानेको देख्दा कतिलाई गाह्रो भएको पाइयो। अगिल्लो वर्ष मात्र दसैं–तिहार मनाएको कुरो यति गहिरोसँग गडेको हुन्छ कि ख्रीष्टियान विश्वासमा पाइला चालेपछि पहिलो पटक सो चाड नमान्दा र सोही समयमा अरू अनविश्वासीहरू लागेको देख्दा कतिलाई छटपटी लाग्ने रहेछ। साँचो विश्वासीलाई यस्तो नहुनुपर्ने हो भन्ने सोच धेरैलाई आउनसक्छ तर त्यो विश्वास सजिलै नआउन सक्छ। यसमा पनि दसैंमा पूजा गरेको मासु खुवाएर वा टीका लगाइदिएर ख्रीष्टियानहरूको धर्मलाई बिटुलो पार्न सकिन्छ भन्ने सोच राख्नेहरू पनि भेटियो। म यो लेखबाट यही भन्न खोजिरहेको छु कि कसैले जबर्जस्ती गरेर खुवाउँदा वा पियाउँदा हामी अशुद्ध वा धर्मभ्रष्ट हुँदैनौं। लाएको वा खाएको आधारमा धर्मभ्रष्ट हुने अवधारणा केवल हिन्दू समाजमा मात्र पाइन्छ।

दोस्रो मुद्दालाई केलाउनुपर्दा, पूजा गरेको मासु खाएको थाहा लाग्नेबित्तिकै ती दुई जना त्रसित भए। दह्रो विश्वास भएको दावी गर्ने दाइप्रति तिनीहरूको हृदयमा घृणा जाग्यो किनकि ती दुवै जना यस्ता दाज्यू–भाइ थिए जो मूर्तिपूजामा एक समय औधी नै डुबेका थिए। विश्वास गरेपछि मूर्तिले हानि गर्ला कि भन्ने डरबाट छुटकारा पाउने क्रममा थिए। उनीहरूको विश्वासलाई आफूभन्दा बलियो सम्झने विश्वासी दाइले उनीहरूलाई बाधा दिएको छ।

बलियो विश्वासीको विश्वास मूर्तिलाई चढाएको खाना खानको लागि होइन तर उसले आफू बलियो भएको घमण्ड देखाएको कारण ती दुई जनालाई साह्रै गाह्रो भयो। अर्कै मण्डली खोज्ने विचारसमेत ल्याइदियो। बलियो विश्वासीले कमजोर भाइहरूलाई होच्याउनुको साटो खाइसकेको खानाको विषयमा चिन्ता नगर्न उत्साह दिनुपर्दथ्यो। आवश्यक परेको खण्डमा प्रार्थना गर्न र शङ्का नगर्न सल्लाह दिनुपर्दथ्यो। अनि झुक्किएर खाना खुवाउनेलाई पनि येशू प्रभुले यस्तो कुरोमा दण्ड दिनुहुन्न भन्ने कुरोलाई बताएर उहाँको दया बारे प्रचार गर्नुपर्दथ्यो।   दसैं–तिहार कमजोर विश्वासीहरूलाई निकै गाह्रो पार्ने मौसम हो। विगतमा जानीकन गरिएको पूजा–पाठलाई सम्झनामा ल्याएर परमेश्वरको विपरीत शक्तिले सताउने सम्भावना बढी छ। यस्तो बेला एउटा बलियो विश्वासीको जिम्मेवारी ठूलो छ। चढाइएका थोकहरू खाँदा बलियो विश्वासीलाई हानि नहोला तर यस्तो खवाइबाट कमजोर विश्वासीलाई बाधा हुन्छ भन्ने कुरो हेक्का राख्नुपर्दछ। आफ्नो विश्वासलाई प्रमाणित गर्नको लागि घमण्ड देखाउनु ठीक होइन। अनि आफू बलियो छ भन्दैमा पूजा गरेको मासु कमजोर विश्वासीको सामू नखाओस् वा मूर्तिलाई चढाइएको थोक ‘केही पनि होइन’ भनेर हल्का रूपमा नलेऊन् किनकि बलिया भनेर चिनिनेहरूबाट धेरै पटक कमजोर विश्वासीहरूलाई बाधा भएको छ।

विश्वासमा बलियो हुनुको अर्थ कमजोरलाई मदत गर्नु हो जसकारण १कोरिन्थी १०:३२–३३मा पावल यसो भन्दछ, “कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्वरको मण्डलीलाई होस्….म आफ्नै होइन, तर धेरैको हित खोज्दछु, ताकि तिनीहरूको उद्धार होस्।” यस वचनको सेरोफेरोलाई अझै पढ्ने हो भने पावलले कोरिन्थका विश्वासीहरूलाई सकेसम्म मूर्तिलाई चढाएका थोकहरू नखाने आज्ञा दिएका छन्। हाम्रो खवाइ, लवाइ, जवाइ, गराइ र अन्य क्रियाकलापलाई हामी जाँचौं।

Related Articles

Back to top button