मेरा ईश्वरका प्रश्नहरु तिमीलाई…

प्रिय नास्तिक
ईश्वरको अस्तित्वमाथि प्रश्न गर्ने ए मेरो बन्धु,
तिमीलाई मेरा ईश्वरका प्रश्नहरु ;

यो को हो
जसले मूर्ख कुराहरू गरेर मेरो सल्‍लाहलाई धमिल्‍याउन खोज्‍छ?
तेरो कम्‍मर कसेर मर्दझैँ खड़ा हो, म तँलाई सवाल गर्छु,
र तैंले मलाई जवाफ दे।

पृथ्‍वीको जग मैले बसाल्‍दा तँ कहाँ थिइस्‌?
तैंले बुझ्‍छस्‌ भने मलाई बता
त्‍यसको नाप कसले ठहरायो? तैंले ता जान्‍नुपर्ने!
कसले त्‍यसमा नापको डोरी टाँग्‍यो?
त्‍यसलाई थाम्‍ने खम्‍बाहरू कहाँ अड़्याइएका छन्‌?
त्‍यसको जगको ढुङ्गा कसले बसाल्‍यो?
जब त्‍यस दिनको मिरमिरे उज्‍यालोमा ताराहरूले एकसाथ गाए,
र स्‍वर्गदूतहरू रमाहटले कराए।

समुद्र पृथ्‍वीको गर्भबाट फुटेर निस्‍कँदा त्‍यसलाई रोक्‍न कसले ढोकाहरू बन्‍द गर्‍यो?
जब मैले त्‍यसलाई बादलको कम्‍बलले ढाकें,
र बाक्‍लो कुइरोले त्‍यसलाई लपेटें
त्‍यसका ढोकाहरू र आग्‍लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्‍यसका सिमाना ठहराएँ,
र मैले भने, ‘यतिसम्‍म मात्र तँ आउन सक्‍छस्, अरू यता आउन सक्दैनस्, तेरा शक्तिशाली छालहरू यही नै रोकिनुपर्छ’।

तेरो जीवनकालमा
के तैंले कहिल्‍यै बिहानीलाई आज्ञा गरेको छस्‌?
अथवा प्रभातलाई त्‍यसको ठाउँ देखाएको छस्‌?
र यसले पृथ्‍वीको छेउ समातेर दुष्‍टहरूलाई त्‍यहाँबाट हटाउन त्‍यसलाई हल्‍लाओस्‌?
माटोले टाँचाको मुन्‍तिर आकार लिएजस्‍तै पृथ्‍वीले आकार धारण गर्छ, त्‍यहाँका आकृति लुगाको जस्‍तै प्रष्‍ट देखिन्‍छन्‌।
दुष्‍टहरूलाई प्रकाश दिइँदैन
र तिनीहरूका उठाइएका हात भाँचिन्‍छन्‌।

के तँ समुद्रको मूलहरूसम्‍म झरेको छस्‌?
अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्‌?
के मृत्‍युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्‌?
के तैंले अँध्‍यारो ठाउँका ढोकाहरूलाई कहिल्‍यै देखेको छस्‌?
के तैंले पृथ्‍वीको विस्‍तृत फैलावटलाई बुझेको छस्‌?
यी सबै तैंले जानेको भए मलाई बता।

ज्‍योतिको मुहान कता छ?
र अन्‍धकार कहाँ वास बस्‍छ?
के तैंले तिनीहरू हरेकलाई
तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌?
र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
नि:सन्‍देह तैंले यी सबै कुरा जान्‍दछस्‌ होला, किनकि तँ जन्‍मिसकेको थिइस्‌! तँ कति धेरै वर्ष बाँचिसकिस्‌!

के तँ हिउँको भण्‍डारमा पुगेको छस्‌?
अथवा असिना थुपारेको स्‍थान तैंले देखेको छस्‌?
जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्‍ति
जोगाएर राखेको छु
कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्‍छ,
अथवा पूर्वीय बतास पृथ्‍वीमा चारैतिर उड़ाइन्‍छ?
महावृष्‍टिको लागि कसले नहर खनेको छ?
र तूफानको निम्‍ति बाटो कसले तयार गरेको छ?

निर्जन ठाउँमा उजाड़-स्‍थानलाई भिजाउनका निम्‍ति
उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई
र सुक्‍खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्‍यो?
के वृष्‍टिको कुनै बुबा छ?
शीतको थोपालाई जन्‍माउने बुबा को हो?
कसको गर्भले हिउँलाई जन्‍मायो?
आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
कहिले पानी ढुङ्गाजस्‍तै कड़ा बन्‍दछ,
कहिले गहिरो महासागरको सतह जम्‍छ?

के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌?
अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?
के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्‍न सक्‍छस्‌?
अथवा सप्‍तर्षि-तारा र तिनका दललाई डोर्‍याउन सक्‍छस्‌?
आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्‌? पृथ्‍वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्‍छस्‌?
र आफूलाई पानीको भलले ढाक्‍न सक्‍छस्‌?

के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्‌?
के तिनीहरूले ‘हामी यहाँ छौं’ भनी तँलाई भन्‍छन्‌ र?
कसले हृदयलाई बुद्धि दियो?
अथवा मनलाई समझदारी दियो?
को यस्‍तो बुद्धिमानी छ जसले मेघलाई गन्‍न सक्‍छ?
र आकाशमा भएको पानीको भण्‍डारलाई रित्त्याउँछ?
कहिले धूलो माटो कड़ा हुन्‍छ,
र माटोको डल्‍ला एकसाथ टाँसेर बस्‍छ?

के सिंहनीको निम्‍ति तैंले शिकार खोजिदिन्‍छस्‌?
र सिंहको भोकलाई तैंले तृप्‍त पार्न सक्‍छस्‌?
जब तिनीहरू आफ्‍नो ओड़ारमा ढुकिबस्‍छन्,
अथवा आफू लुकेको ठाउँमा पर्खिरहेका हुन्‍छन्‌?
कागका बचेराहरूले
खानेकुराको अभावमा परमेश्‍वरको पुकारा गर्दा,
कसले कागलाई त्‍यसको आहार जुटाइदिन्छ?

घोरल कहिले बियाउँछ, के तैंले जान्‍दछस्‌?
हरिणीको प्रसववेदनामा के तैंले हेरचाह गरेको छस्‌?
तिनीहरूले पेटमा पाठा बोक्‍दा के तैंले तिनीहरूका महिना गन्‍दछस्‌ र?
अथवा तिनीहरूको बियाउँने बेला तैंले जान्‍दछस्‌?
जब तिनीहरू बियाउँनलाई निहुरिन्‍छन्,
र तिनीहरूले आफ्‍ना पाठा बियाउँछन्, तिनीहरूको प्रसववेदना सकिन्‍छ
तिनीहरूको पाठो बढ्‌छ र खुला जङ्गलमा हुर्किन्‍छ,
बाहिर निस्‍कन्‍छ र कहिल्‍यै फेरि आउँदैन।

कसले वन-गधालाई छोड़िदियो?
कसले उसको डोरी फुकाइदियो?
जसको वासस्‍थान मैले निर्जन स्‍थानमा बनाइदिएको छु,
खारको जग्‍गामा त्‍यसको वासस्‍थान बनाइदिएको छु
सहरको होहल्‍लामाथि त्‍यो हाँस्‍छ,
र हप्‍काउनेको आवाजको वास्‍ता गर्दैन
त्‍यसले डाँड़ाहरूमा आफ्‍नो चरन बनाउँछ,
र सबै हरिया घाँसहरू खोज्‍दछ।

के जङ्गली साँढ़ेले तेरो सेवा गर्न मान्‍छ?
के त्‍यसले तेरो गोठमा रात बिताउँछ र?
के तैंले त्‍यसलाई जुवामा नारेर खेतमा जोत्‍न सक्‍छस्‌?
के त्‍यसले तेरा पछिल्‍तिरका उपत्‍यकालाई जोत्‍छ?
के त्‍यसको महान्‌ बलमाथि तैंले भरोसा गर्न सक्‍छस्‌?
के तेरा ठूला कामहरू त्‍यसको भरमा छोड्‌न सक्‍छस्‌?
खलाबाट तेरो अन्‍न ढुकुटीमा ल्‍याउनलाई त्‍यो फर्किआउँछ भनी के तैंले त्‍यसमाथि भरोसा गर्न सक्‍छस्‌?

शुतुरमुर्गका पखेटा हर्षोल्‍लासाथ चल्‍छ,
तर सारसको प्‍वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन
त्‍यसले आफ्‍ना फूलहरू बालुवाले तातो पारिदेओस्‌ भनी
भूइँमा नै छोड़िराख्‍छ
खुट्टाले ती कुल्‍चिदिन्‍छ,
अथवा वन-पशुले कुल्‍चन्‍छ भनी, त्‍यसले केही वास्‍तै गर्दैन
आफ्‍नो परिश्रम खेर गएको वास्‍ता नगरी बच्‍चाहरूलाई
आफ्‍नो होइनजस्‍तै गरी त्‍यसले निर्दयी व्‍यवहार गर्छ
किनभने त्‍यसलाई बुद्धिहीन तुल्‍याईएको छ,
र त्‍यसलाई अज्ञान अवस्‍थामा नै छोड़िएको छ,
तर पनि जब त्‍यो कुद्‌नका लागि पखेटा फिँजाउँछ
तब त्‍यसले घोड़ा र त्‍यसको सवारलाई हाँसोमा उड़ाइदिन्‍छ।

के तैंले घोड़ालाई त्‍यसको बल दिन्‍छस्‌?
अथवा त्‍यसको घिच्रोलाई जगरले पहिर्‍याउँछस्‌?
के तैंले त्‍यसलाई सलहझैँ उफ्रन लाउँछस्,
जब त्‍यसको चर्को हिनहिनाइले डर फैलाउँछ?
त्‍यसले आफ्‍नो टाप बजाउँदै र नाच्‍दै आफ्‍नो जोश देखाउँछ,
त्‍यो आफ्‍नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्‍छ।
त्‍यसले डरलाई तुच्‍छ ठान्‍छ, र भय के हो जान्‍दैन,
र तरवारको सामु त्‍यो झुक्‍दैन।

काँड़को ठोकर त्‍यसको छेउमा धर्ररर बज्‍छ र त्‍यहाँ भाला र तरवार चम्‍कन्‍छन्‌
उन्‍मत जोशसित त्‍यो कुदेर अगि बढ्‌छ, तुरही फुकेको आवाज बज्‍दा त्‍यो स्‍थिर बस्‍नसक्‍दैन
तुरही बजेको सुनेर त्‍यसले भन्‍छ, ‘आहा!’
र टाढ़ैबाट त्‍यसले सेनापतिको आवाज
र लड़ाइँको ध्‍वनि थाहा पाउँछ ।

के बाजलाई त्‍यसको पखेटा चलाउन
र दक्षिण दिशातिर त्‍यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?
के गिद्धलाई माथि-माथि उड्‌न
र आफ्‍नो गुँड़ अल्‍गो ठाउँमा बनाउन तैंले सिकाउँछस्‌?

त्‍यो पहरामा वास गर्छ, र राती त्‍यही नै रहन्‍छ
त्‍यसको किल्‍ला भिरालो पहरा हो
टाढ़ा-टाढ़ा राम्ररी नियाली त्‍यहीँबाट त्‍यसले आफ्‍ना आहार खोज्‍दछ
त्‍यसका बचेराहरू रगत पिउँछन्, जहाँ लाश हुन्‍छ त्‍यहाँ त्‍यो अवश्‍य हुन्‍छ।”

सर्वशक्तिमानसँग वाद-विवाद गर्नेले
उहाँलाई सच्याउन सक्छ र?
परमेश्वरलाई दोष दिनेले उहाँलाई उत्तर दिओस्

कम्मर कस्, र मर्दझैँ खड़ा हो,
म तँलाई प्रश्नहरू सोध्नेछु,
र तैंले तिनको जवाफ दे …

(कबि : ईश्वर आफै)

_  Nirpati Rai

Related Articles

Back to top button