परमेश्वरबाट महान् कुराहरूको अपेक्षा गर्नुस् परमेश्वरको निम्ति महान् कुराहरू गर्ने कोसिस गर्नुस्

मण्डलीका सेवकहरू जम्मा भएका थिए । अठारौँ शताब्दीमा महान् आज्ञा केवल प्रेरितहरूका लागि थियो भन्ने सामान्य बुझाइ रहेको थियो । तर तिनीहरूको बुझाइको विपरीत एक जना सेवकले छलफलको लागि एउटा प्रस्तावलाई अगाडि सारे, “सबै जातिलाई सुसमाचार प्रचार गर्नुपर्ने महान् आज्ञा आज हाम्रो लागि लागु छ कि छैन होला ?”

एक जना पाका सेवकले तिनलाई यसो भन्दै हप्काए, “ए ठिटो बस् । परमेश्वरले अन्यजातिहरूलाई येशूमा डोर्याोउन चाहनुहुन्छ भने तेरो र मेरो सहयोगविना नै उहाँले यसो गर्नुहुनेछ ।”

तर तिनी चुप रहेनन् । मानिसहरूलाई मिसनमा अभिप्रेरित गर्नका लागि तिनले ८७ पृष्ठको एउटा पुस्तिका निकाले । पछि तिनी आफै नै मिसनरी भई भारतमा आए । मिसनको निम्ति तिनले जे गरे त्यसैको सम्मानस्वरूप आज ख्रीष्टियान जगत्ले तिनलाई “आधुनिक मिसनका पिता” भनेर श्रद्धा गर्छ । तिनको नाउँ हो— विलियम केरी ।

बाहिर मिसनरीहरू पठाउन प्रोटेस्टेन्टहरू तुलनात्मक रूपमा ढिला भएका थिए । केरीका प्रवचनहरू, बातचितहरू र पुस्तिकाले तिनका सहकर्मीहरूलाई मिसनमा लाग्ना उत्प्रेरित गरेका थिए ।

२ अक्टोबर १७९२ मा एक दर्जन ख्रीष्टियान अगुवाहरू एउटा कोठामा भेला भएका थिए जहाँ केरी पनि थिए । केरीले मोराभिएनहरूको प्राप्ति र मिसनरी आदेशबारे बाइबलीय शिक्षालाई प्रस्तुत गरे । परिणामस्वरूप सुसमाचार नसुनेका मानिसहरूका बिचमा सुसमाचार लैजान एउटा समाज खोल्ने सङ्कल्प गरियो । उक्ति समाजलाई हाल ब्याप्टिस्ट मिसनरी सोसाइटी वर्ल्ड मिसन नाउँले चिनिन्छ । हाल यस समाजले ४० ओटा मुलुकमा ३५० जना सेवकलाई सहयोग गर्छ ।

१७९२ मा यस समाजको स्थापना हुनेबित्तिकै अठारौँ र उन्नाइसौँ शताब्दीमा अन्य मिसनरी सङ्घ-संस्थाहरू पनि खोलिए र सारा विश्वमा सुसमाचारको बिस्तारमा उन्नाइसौँ शताब्दी महान् शताब्दी नै साबित भयो ।

यी तिनै केरी थिए जसको यो भनाइ निकै प्रसिद्ध छ, “परमेश्वरबाट महान् कुराहरूको अपेक्षा गर्नुस् परमेश्वरको निम्ति महान् कुराहरू गर्ने कोसिस गर्नुस् ।”

  • Kamal Adhikari with Reasons to Believe

Related Articles

Back to top button