देशको वर्तमान अवस्थामा ख्रिष्टियनहरूको भुमिका

डा. के. वि रोकाया
इस्रायलीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचनमा ध्यान नदिएर उहाँलाई मन नपर्ने कामहरू गरी उहाँको विरुद्ध पाप गरे । परमेश्वरले आफ्ना अगमवक्ताहरूद्वारा बारम्बार इस्रायलीहरूलाई चेतावनी दिएतापनि उनीहरूले उहाँको चेतावनीलाई वास्ता नगरी परमेश्वरको विरुद्धमा अझ बढी घृणित कार्यहरू गर्दै गए । यसैकारण परमेश्वरले बेविलोनका राजा नवकुदनेसरलाई प्रयोग गरी इस्रायलीहरूलाई बेविलोनमा निर्वासनमा पठाउनुभयो । यहुदाका राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहुदा र येरुशलेमका अगुवाहरू, कारीगर र निपूर्ण कलाकारहरू सहित इस्रायलीहरूलाई बेविलोनका राजा नवकुदनेसरले कैदी बनाएर बेविलोनमा लगेका थिए ।

येरुशलेमबाट बेविलोनमा आफूले निर्वासनमा गरी लगेका सबै इस्रायलीहरूलाई परमप्रभु परमेश्वरले यर्मिया अगमवक्ताद्वारा यसो भन्नुभयो, “त्यहाँ तिमीहरू घर बनाएर बस, बारीहरू लगाओ र तिनका उब्जनीहरू खाओ । विवाहवारी गरेर छोराछोरीहरू जन्माओ, छोराहरूका निम्ति बुहारीहरू ल्याओ र छोरीहरूको विवाह गरिदेओ र तिनीहरूले छोराछोरीहरू जन्माऊन् । त्यहाँ आफ्नो संख्या बढाओ, घटेर नजाओ । मैले तिमीहरूलाई निर्वासित गरेको शहरको भलो चिताओ र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर । किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ ।” (यर्मिया २९ः ४—७)
यसरी हामी देख्दछौं कि परमप्रभु परमेश्वरले इस्रायलीहरूलाई आफू निर्वासित भएर आएको देश र शहरको निम्ति प्रार्थना गर र त्यसको भलो चिताओ भन्नुभयो । परमेश्वरले इस्रायलीहरूलाई आफू निर्वासित भएर कैदी जीवन विताईरहेको शहरको लागि प्रार्थना गर्न र भलो चिताउन भन्नुभयो भने हामीले पनि हामी बसेको ठाउँ, टोल, शहर र देशको लागि अझ कति धेरै प्रार्थना गर्नुपर्ने हो र त्यसको भलाई र उन्नति चिताउनु पर्ने हो, के हामी नेपालमा रहेका ख्रिष्टियनहरूले आज हामी बसेको शहर र देशको निम्ति प्रार्थना गरिरहेका छौं र त्यसको भलाई र उन्नति चिताई रहेका छौं ? साथै हामी बसेको शहर र हाम्रो देशको लागि अर्थपूर्ण तरिकाले प्रार्थना गर्नको लागि हामीले यहाँ के भई रहेको छ, हामी बसेको शहरको अवस्था कस्तो छ र देशमा के कस्ता घटनाहरू र गतिविधिहरू भई रहेका छन् भन्ने थाहा हुनु आवश्यक छ ।

१ तिमोथी २ अध्यायको १ देखि ४ पदसम्म यसरी लेखिएको छ, “देशका भएका सबै मानिसहरूका निम्ति, राजाहरू र सबै उच्च ओहदामा रहेकाहरूको निम्ति प्रार्थना गर” भनिएको छ । हामीले निर्धक्क भएर भयरहित तथा शान्तिपूर्ण वातावरणमा मानवीय सम्मानका साथ जीवन विताउनका लागि हामीले हाम्रो शहर, हाम्रो देश, देशवासीहरू, शाषकहरू र उच्च पदमा रहेकाहरूको लागि प्रार्थना गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्दछौं ।

देश, जनता र शाषकहरूको निम्ति परमेश्वरसँग प्रार्थना गर्नको लागि हामीले देशको परिस्थिति र यहाँको राजनीतिक अवस्थाका बारेमा थाहा पाउनु पर्ने हुन्छ । अहिले देशमा अस्थिरता, अन्यौलता, भ्रष्टाचार, अपराध, कालो बजारी, तस्करी, अनैतिकता र हत्याहिंसा तिव्र रुपले बढिरहेको छ । देशको भविष्य नै अन्धकारमय देखिन्छ र राष्ट्रियताको भावना इतिहासमै सबैभन्दा कमजोर अवस्थामा देखिन्छ । देशले देश र जनतालाई माया गर्ने असल शाषक पाउन सकिरहेको छैन । देशमा संसारमै कही पनि नभएको संख्यामा सयौं राजनीतिक दलहरू छन् । राजनीतिक दलहरू स्वयंम्ले पनि योग्य, सक्षम, इमान्दार र अनुभवी नेता पाउन सकिरहेको छैन । हरेक दलभित्र विभिन्न गुट उपगुटहरू देखिन्छन् । यसरी राजनीतिक दलहरू र नेताहरू व्यक्तिगत, पारिवारिक तथा गुटगत स्वार्थमा मात्र सिमित देखिन्छन् ।

वर्तमान अवस्थामा हामीले गर्न सक्ने केही कुरा यस प्रकारका हुन सक्छन् ।
१. देश र समाजको अवस्थाबारे जानकारी र चासो राख्ने ।
२. देशको राजनीतिक विकास र अवस्थाका बारेमा जानकारी राख्ने ।
३. हाम्रा सम्पर्कमा भएका विदेशी मित्रहरू, संघसस्था र अन्तराष्ट्रिय निकायहरूलाई देशको वर्तमान अवस्था र आवश्यकताका बारे यर्थाथ र सहि प्रकारले जानकारी दिने ।
४. हामी ख्रिष्टियन अगुवाहरू र विश्वासीहरू बिच क्षमा, मिलाप, प्रेम र एकताको लागि निरन्तर प्रयासरत रहने ।
५. ब्यक्तिगत , पारिवारिक, मण्डली स्तरमा देशको निम्ति खुरुन्धार प्रार्थना गर्ने ।
६. ख्रिष्टियनहरू एकसाथ भेला भई एकै मनको भएर समाज र राष्ट्रको लागि प्रार्थना गर्ने ।
७. ख्रिष्टियन अगुवाहरू र विश्वासीहरूको बिचमा समाज र देशको वर्तमान अवस्था र भावी बिकल्पका बारेमा छलफल, बहस र अन्तक्रियाहरू गर्ने ।
८. आ–आफ्ना स्तरमा देशमा रहेका नागरिक समाज, संचार क्षेत्र, विभिन्न धर्मका धर्मगुरुहरू, बुद्धिजिवीहरू तथा राजनीतिक दल र नेताहरूसँग मिलेर देशमा के हुनुपर्ने हो र देश कतातिर जानुपर्ने हो भन्नेबारेमा छलफल, बहस, अन्तक्रिया र विचारको आदान प्रदान गर्ने ।

बाइबल धर्मशास्त्रको दोश्रो कोरिन्थी ५ः१७ पदमा यस्तो लेखिएको छ, “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो विति गएको छ, हेर नयाँ आएको छ ।” हाम्रो देशको विकास नहुनु र हामी नेपालीहरू सधै गरिवी, अभाव र अशान्तिका बिचमा बाँचिरहनुका पछाडि नेपाली समाजको परम्परागत साेंच, चिन्तन, प्रवृति, संस्कार, मुल्यमान्यता र जीवन र जगतलाई हेर्ने दृष्टिकोण प्रमुख कारणहरू हुन् । जबसम्म हामी नेपालीहरू परम्परागत सोंच र चिन्तनबाट मुक्त भएर आफैलाई रुपान्तरण गर्न सक्दैनौं तबसम्म हाम्रो विकास, उन्नति र प्रगति हुन सक्दैन ।
(यो लेख कुराकानीका आधारमा तयार पारिएको हो ।)

Related Articles

Back to top button