मलाई तिन दिन चन्द्रमामा हिँड्न सरकारले ४० करोड अमेरिकी डलर खर्च गर्नुपर्‍यो। र त्यो सकियो । तर येशूसित सित्तैँमा हिँड्न पाइन्छ र यो सदासर्वदाको निम्ति हो ।

नासाका अवकाश प्राप्त अन्तरिक्षयात्री चार्ल्स डुकको जन्म ३ अक्टोबर १९३५ मा अमेरिकामा भएको थियो । १९७२ मा अपोल्लो १६ नाउँ गरेको अन्तरिक्ष यानमार्फत तिनले चन्द्रमाको धरातलमा पाइला टेक्दा तिनी ३७ वर्ष मात्र पुगेका थिए । तिनी पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा हिँड्ने दसौँ मानिस बन्नुका अतिरिक्त सबैभन्दा कान्छो व्यक्ति पनि बने । चन्द्रमामा पुग्दासम्म तिनी ख्रीष्टियान बनेका थिएनन्, तर त्यसपछि बने । तिनी समर्पित ख्रीष्टियान बने र झ्यालखानाका बन्दीहरूका निम्ति तिनी सक्रिय रूपमा सेवामा होमिए । आज ८३ वर्षको दीर्घायुमा प्रवेश गरेका यी वृद्ध मानिसको गवाही यस प्रकार छ:

चन्द्रमामा हिँडेपछि मलाई दिक्क लाग्यो । मैले इतिहासका पुस्तकहरूमा ख्याति, भाग्य, स्थान पहिले नै कमाइसकेका थिएँ । … म पति र पिताको भूमिका निर्वाह गर्नबाट दयनीय रूपमा चुकेको थिएँ । मेरो जीवनभर म मण्डलीमा गएको भए तापनि प्रत्येक आइतबार बिहान एक घण्टा मात्र मलाई परमेश्वरको आवश्यकता पर्थ्यो । चन्द्रमा पनि आत्मिक अनुभव बन्न सकेको थिएन । मैले परमेश्वरको खोजी गरिरहेको थिइनँ । जसरी तपाईंहरूले अमेरिकाका राष्ट्रपतिहरूलाई चिन्नुहुन्छ, मैले त्यसरी नै येशूलाई चिनेको थिएँ अर्थात् म उहाँको नाउँलाई मात्र चिन्थेँ । मेरो कामले सफलता पायो र मैले पैसा कमाएँ तर मलाई फेरि दिक्क लाग्यो ।

तर डोरोथी [चार्ल्सकी पत्नी] त्यस्ती थिइनन् । उनी परिवर्तन भएकी थिइन् । उनको निराशा हटेर गएको थियो र उनले नयाँ, भरोसा गर्ने विश्वासलाई प्रदर्शित गर्दै थिइन् । आफ्ना समस्याहरूका लागि उनी परमेश्वरकहाँ फर्किन्थिन्, मकहाँ होइन । एक रात म उनीसँगै बाइबल अध्ययनमा सहभागी भएँ जुन एउटा संवेदनशील प्रश्नमा केन्द्रित थियो, ‘येशू को हुनुहुन्थ्यो ?’ मेरो जीवनभर मैले ‘परमेश्वरका पुत्र’ भनेको थिएँ, तर मैले कहिल्यै उहाँमाथि भरोसा गरेको थिइनँ । त्यस रात मैले उहाँलाई पछयाउने मौकाको आमनेसामने सामना गरेँ । हाम्रो कारको अगाडिको सिटमा मैले डोरोथीसितै प्रार्थना गरेँ अनि मेरो जीवन ख्रीष्टमा सुम्पेँ । मैले स्वर्गदूतहरू देखिनँ । मैले सङ्गीत सुनिनँ । अन्धो तुल्याउने कुनै ज्योति चम्केन । तर मलाई जे थाहा थियो, त्यो मलाई थाहा थियो । यो वास्तविक थियो ।

अर्को दिन बाइबल पढ्ने तीव्र इच्छासहित म ब्युँझेँ । मलाई तिन दिन चन्द्रमामा हिँड्न सरकारले ४० करोड अमेरिकी डलर खर्च गर्नुपर्‍यो। र त्यो सकियो । तर येशूसित सित्तैँमा हिँड्न पाइन्छ र यो सदासर्वदाको निम्ति हो ।

Kamal Adhikari with reasons to believe

Related Articles

Back to top button