पुरा भएका भविष्यवाणीहरू बाइबलको अद्वितीय पक्ष मात्र होइन, तर यो परमेश्वकरको वचन हो भन्नेद प्रस्ट सङ्केत पनि हो ।

लगभग २,५०० वर्षअगि यर्मियाले लेखे, “काँड तिखार! ढालहरू लेओ । परमप्रभुले मादीहरूका राजाहरूलाई सुर्याषउनुभएको छ, किनभने बेबिलोनलाई नाश गर्नु नै उहाँको अभिप्राय छ” (५१:११) । बेबिलोनको विनाशबारे गरिएको यो केवल एउटा भविष्यवाणी हो । यशैया १३, १४, यर्मिया ५०, ५१ जस्ता अध्यायहरूले बेबिलोनको आसन्न पतन र अन्त्यमा हुने उजाडको बारेमा अरू धेरै भविष्यवाणी गरेका छन् ।

यूफ्रेटिस नदीले विभाजन गरेको बेबिलोन सहर वर्गाकार थियो । ५६ माइल परिधी भएको यो सहरको क्षेत्रफल १९६ वर्ग माइल थियो । वरिपरि ३० फिट चौडा धापले घेरिएको बेबिलोनलाई बाहिरी र भित्री गरी दुई किसिमका पर्खालले सुरक्षा दिएका थिए । यसको बाहिरी पर्खाल ३११ फिट अग्लो थियो जसको चौडाइ ८७ फिट थियो । यस सहर भित्र पस्नका लागि चाँदीका १०० ओटा द्वार थिए भने बाहिरी पर्खालको थाप्लोमा अझै १०० फिट अग्ला पहरादारी कार्यको निम्ति २५० ओटा धरहरा निर्माण गरिएका थिए । प्राचीन इतिहासकार हेरोदोतसको यस नापलाई अतिशयोक्तिपूर्ण मानिए तापनि मानवीय दृष्टिकोणबाट बेबिलोन सहर अति सुरक्षित थियो भन्ने कुरामा कुनै शङ्का छैन । यस्तो भव्य, वैभवशाली, ऐश्वर्यवान्, दुर्जय, सुरक्षित सहरको विरुद्धमा अगमवक्ताहरूले वचनरुपी तिरहरू हान्दा ती तिरहरूले कुनै असर गर्दैनन् भनी आफ्नै पर्खाल र सेनामा भर पर्ने बेबिलोनीहरूको भरोसालाई अनुगामी इतिहासले निराशामा परिवर्तन गरिदियो ।

बेबिलोन सहर हुँदै उत्तरदेखि दक्षिणतिर बग्ने यूफ्रेटिस नदी बेबिलोनको पतनको एउटा कारक बन्न पुग्यो । बेलसजरले सहरभित्र महाभोज लगाइरहेको रातमा कोरेस महान्‌को सेनालाई नेतृत्व गर्ने गुतिएमका बडाहाकिम उगबरु (सम्भवत: दाराको अर्को नाम) यूफ्रेटिस नदीको माध्यमद्वारा सहरभित्र प्रवेश गरे । विकिपिडियाअनुसार ५ अक्टोबर ५३९ ख्रीष्टपूर्वमा तिनीहरूले बेबिलोनलाई आफ्नो हातमा पारे । त्यस समयमा नाबोनिदस बेबिलोनका राजा थिए जो त्यस घटना हुँदा सहरमा उपस्थित थिएनन् । तिनका सह-प्रतिशासकका रूपमा रहेका तिनका छोरा बेलसजर समातिए अनि मारिए । यसरी बेबिलोनको पतन भयो अनि त्यो सुन्दर र भव्य सहर कोरेसको हातमा पर्योे ।

५३९ ख्रीष्टपूर्वमा बेबिलोन फारसका कोरेसको हातमा परेपछि सहरको पतनको थालनी भयो । जर्सिसले यसलाई लुटे । अलेक्ज्यान्डर महान्‌को समयमा तिनले यसको भव्य मन्दिरलाई पुनर्निर्माण गर्ने सोच बनाए, तर रकम बढी लाग्ने भएकोले त्यस विचारलाई स्थगित गरिदिए । अलेक्ज्यान्डरका उत्तराधिकारीहरूको समयमा यो क्षेत्र तीव्र रूपमा विनाश हुँदै गयो र छिट्टै यो उजाडस्थानमा परिणत भयो । टाइग्रिसमा बेजोड सिलुकिया सहरको निर्माण गर्ने सिलुकस निकाटोरको समयबाट यो सुन्दर बेबिलोन कहिल्यै बिउँतेन ।

यसरी, एउटा रहस्यमय सहर, महिमाले भरिपूर्ण, पूर्वकी रानी, प्राचीन संसारको राजधानी, बेबिलोनी साम्राज्यको शिर, संस्कृति र वाणिज्यको केन्द्रस्थलको रूपमा चिनिएको बेबिलोन वचनको परिणामस्वरूप हाल निर्जन, उजाड, मानवबस्तीरहित, जङ्गली जनावरहरूको अखडा र धाप बनेको छ । बेबिलोनको विरुद्धमा शताब्दीऔँ पहिले भनिएका भविष्यवाणीहरू इतिहासमा एकपछि अर्को गर्दै हुबहु पुरा हुँदै आए । पुरा भएका भविष्यवाणीहरू बाइबलको अद्वितीय पक्ष मात्र होइन, तर यो परमेश्वकरको वचन हो भन्नेद प्रस्ट सङ्केत पनि हो ।

Related Articles

Back to top button