इसाईहरुको समाधिस्थल स्थल कहाँ त ?

काठमाडौंबाट करिव २० किलोमिटर पूर्वमा पर्ने ललितपुर जिल्लाको लेले गाविसमा आजभन्दा करिव १ दशक अगाडि इसाईहरूले समाधिस्थल बनाउनको लागि जग्गा किनेका थिए । इसाई अगुवाहरूले जग्गा के उद्देश्यको लागि किनेका थिए सो कुरा उनीहरूलाई नै थाहा होला । जग्गा किन्नु आफैमा ठूलो कुरा होइन तर त्यसलाई व्यवस्थित किसिमले प्रयोगमा ल्याउनु भने महत्वपूर्ण कुरा हो । हेर्दा एकदमै रमणीयस्थल जस्तो लाग्ने लेले गाउँको पाखामा रहेको सो जग्गामा लास दफन नगरेको भने होइन तर दफन गर्नको लागि मात्र गरेको कारण त्यसको उचित संरक्षण हुन सकेन । धेरै जसो चिहानहरू खनिएका अवस्थामा छन् । सिमेन्टको चिहान बनाए पनि प्रायः जसो सबै चिहानहरू खनिएका छन् । चिहान खन्नको कारण के हो स्वयं खन्नेलाई नै थाहा होला । तर हामी यसो अनुमान लगाउन सक्छौं कि यस्तो हुनुको एउटा कारण सम्पत्तिको लोभ नै हुनसक्छ र अर्को कारण चाहिँ लासको हाडखोर विभिन्न गलत उद्देश्यका लागि प्रयोग गर्न हुन सक्दछ । हामीले यो समाचार संकलन गर्न त्यहाँ गएर स्थलगत निरक्षण गर्दा दफन गरिएका कुनै पनि चिहान नखनिएका अवस्थामा भने थिएनन् । गाउँको नजिकै त्यही पनि तार, पर्खाल घेरा नबनाइकनै बनाएको दफन स्थल त्यसमा पनि पालेपहरा नराखिएको अवस्था । यसो हेर्दा त्यस ठाउँलाई खासै वास्ता नगरिएको जस्तो लाग्यो । उपत्यकामा भएका मण्डलीहरूले आफूसँग भए नभएको रकम लगाएर किनेको भए पनि त्यसलाई सही किसिमले प्रयोगमा ल्याउन खासै कसैको पनि ध्यान गएको    देखिएन । स्वभावले नै मान्छेलाई चिहान हो भन्ने वित्तिकै सबैको आङ सिरिङ्ग हुन्छ । परबाटै हेर्दा प्रस्ट गरी सिमेन्टले बनाएको चिहान      टल्कन्छ । त्यसरी टल्कने गरी बनाएको चिहान हेर्दा गाउँका स्थानीयबासीहरू नडराउन पनि कसरी ? चिहान बनाउनु नै छ भने वरिपरि ठूलो पर्खाल बनाएर, त्यसभित्र वृक्षारोपण गरी हरियाली बनाएर दफनस्थल बनाएको भए, अवश्य पनि कसैले बिरोध जनाउने थिएनन् होला ! फेरी अर्को कुरा समान उद्देश्यका लागि किनिएको जग्गा भएकाले सबैले मिलेर एउटै ठाउँमा जग्गा किनेको भए, रेखदेख गर्न पनि सम्भव हुनेथियो होला । अधिकांश महिलाको दफन गरिएको चिहान खनिएका छन् । त्यसो हुनुको कारण पक्कै पनि महिलाले लगाएको गरगहना पाइन्छ भन्ने नै हो । बास्तवमा स्थानीयबासीन्दाहरूले दफन गर्न नदिएका भने होइनन् रहेछ । भित्रि कुरा के रहेछ, भने इसाईहरूले त्यस ठाउँमा लास गाडेपछि गर्नुपर्ने रेखदेखको कमी नै रहेछ ।  स्थानीयवासी पूर्णदास भन्छन्, “इसाईहरूले राताराता ल्याएर लास गाड्थे र त्यसलाई राम्रोसँग नगाडेको कारण सडेको लासका अंगहरूलाई स्याल तथा कुकुरहरूले निकाली गाउँतिर ल्याएर गाउँ नै दुर्गन्ध  भयो । मरेको मानिसको हड्डी देखेपछि जो पनि डराउछन्, त्यसपछि हामीले उनीहरूलाई लास गाड्न        नदिएका हौं ।”यसो हेर्दा त्यस ठाउँमा दफन गर्न नपाउनुको मुख्य कारण उनीहरू(इसाईहरू)कै लापरवाही रहेछ । यदि त्यहाँ राम्रोसँग लासलाई गाडेको भए । आज धेरै इसाईहरूले आफ्नो इच्छा विपरीत मृत शरीर जलाउन वाध्य हुन पर्दैन थियो होला । कहिले चिहानको जग्गा प्राप्तीका लागि रिले अनसन त कहिले राजनीतिक दलका नेतासामु डेलिगेसन जानुपर्ने बाध्यता ! यी सबै कुरा गर्नुभन्दा पहिले आफ्नो सम्पत्ति लगाएर किनेको जग्गालाई उचित संरक्षण गरेको भए । आजको समस्या समाधानको उत्तम बिकल्प हुन सक्ने थियो होला ।  आज फरक सम्प्रदायका इसाई लिडरहरू र फरक विचार भएका इसाई लिडरहरू चिहानको जग्गा प्राप्तीका लागि लविङ्ग गर्दै हिडेको अवस्थामा सजिलै चिहानका लागि जग्गा प्राप्त हुन गाह्रो छ । यस्तो भएमा हामीले कहिलै पनि चिहानकै लागि भनेर जग्गा पाउन असम्भव छ । हामी इसाईहरू एकअर्कालाई प्रेम गछौं त भन्छौं, तर त्यो जिउँदो हुँदा लागि मात्रै सम्भव रहेछ । मरेको लासलाई तपाईंको दफन गर्ने जग्गामा हाम्रो मान्छेलाई पनि दफन गरौन भन्दा त्यो सम्भव      रहेनछ । हामीले यस अंकमा तितो सत्य प्रकट गर्ने प्रयास गरेका छौं । अवश्य पनि यो कुराले तपाईंको चेतना खुल्नेछ र समस्या समधानका लागि सार्थक प्रयास गर्नु हुनेछ ।

महासंघको लडाइँ चिहानको लागि

राष्ट्रिय ख्रीष्टियन महासंघ हुन अगावै नयाँ संविधानमा ख्रीष्टियन सुझाव समिति थियो । यो गठन हुन अगावै हामीले सरकारसँग १३ सुत्रीय माग प्रस्तुत ग¥यौं । त्यसमा हाम्रो प्रमुख माग समाधीस्थल नै थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग लिखित रूपमा ज्ञापनपत्र दिएर कुराकानी अगाडि बढाउँदा सम्बन्धित निकायमा आवश्यक पहल पनि सुरू भयो, तर उहाँको सरकार बीचमा नै ढल्यो, त्यसपछि फेरी माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्यो । माधव कुमार नेपालको सरकारले पनि भूमी सुधार मन्त्रालय र सम्बन्धित निकायमा आवश्यक पहल गर्नुभयो, तर पनि त्यो सरकारले हाम्रो समस्याको समाधान गर्न सकेनन् । त्यसपछि फेरी झलनाथ खनालको नेतृत्वको सरकारसँग पनि ज्ञापन पत्र दिएर कुरा राख्यौं । जति माधव कुमार नेपाल, र पुष्पकमल दाहाल नेतृत्वको सरकारले चासोपूर्ण तरिकाले लिएको थियो, तर खनाल नेतृत्वको सरकारले चासोपूर्ण तरिकाले हाम्रो कुरा सुनेन् । हाम्रो मागलाई चासोपूर्ण तरिकाले नलिएपछि हामीले झलनाथको नेतृत्वको तत्कालिन संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाल हुनुहुन्थ्यो । २०६८ फाल्गुन १४ गते पशुपतिमा ख्रीष्टियन लगायतका अन्य धार्मिक समुदायलाई समाधि गर्न नदिने भन्ने निर्णय आयो । उक्त निर्णय आईसकेपछि त्यहाँ काम चलाउनको निम्ति पशुपतिमा दाहसंस्कार गर्न दिईदैं थियो । त्यो काम चलाउ पनि रोकिएपछि हामीले मानव अधिकारवादीहरूसँग छलफल ग¥यौं । राजनीतिक दलका व्यक्तिहरूसँग छलफल गरिसकेपछि नेपालको एउटा चलन नै यस्तो बसि सकेको छ कि आन्दोलन बेगर सरकारको ध्यान नै जाँदैन भन्ने कुरा थाहा पाइसकेपछि हामीले रत्नपार्कको शान्ति बाटिकामा २०६७ चैत्र ७ गतेबाट अनसन शुरू गरिसकेपछि ४० औं दिनका दिन त्यस बेलाका तत्कालीन संस्कृति मन्त्री गंगालाल तुलाधार हुनुहुन्थ्यो, र उहाँसँग हाम्रो तीन बुद्धे सहमती भयो । त्यो तीन बुद्धे सहमति एउटा उच्च स्तरिय समाधीस्थल राष्ट्रिय समस्या समाधान समिति गठन गर्ने  सहमति भएकोे थियो र अर्को ३ दिनभित्र राज्यले अस्थायी दफन गर्नका लागि यथासीघ्र व्यवस्था गर्ने सहमति भएको थियो । ख्रीष्टियन समुदायको तर्फबाट त्यो समाधीस्थलको सम्झैताअनुसार यो अनसनलाई चाहिँ समाप्त गर्ने भन्ने निर्णय अनुसार हामी ख्रीष्टियन समुदायबाट समाधीस्थलको जुन सहमति भएपछि यो अनसनको अन्त्य गयांै, तर सरकारको तर्फबाटचाहिँ यो आजसम्म पूरा भएको छैन । हामीले ४० दिनको दिन जुन सहमति भइसकेपछि त्यो कार्यान्वयन गर्ने कुरामा संस्कृति मन्त्री गंगालाल तुलाधरपछि खगेन्द्र प्रसाई    आउनुभयो । उहाँले आफू एकमात्र हिन्दुहरूको मन्त्री हँु भन्ने खालको हामीमाथि व्यवहार गर्नुभयो । ६ महिनासम्म हाम्रो समय      लिनुभयो । आज भोली गर्दागदैं हाम्रो ६ महिनासम्म समय वर्वाद भयो । हामीले के ग¥यौं भन्दा खेरी हामीले सम्बन्धित मन्त्रालयहरूमा डेलिगेसन जाने, ज्ञापनपत्र बुझाउने काम, तिनै दललाई ज्ञापनपत्र दिने काम हाम्रो राष्ट्रिय ख्रीष्टियन महासंघको तर्फबाट डा. सुन्दर थापाको नेतृत्वमा हामीले प्रायः जसो सबै सम्बन्धित निकाय, प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, राष्ट्रपतीसम्मलाई हामीले ज्ञापन पत्र दियौं । सम्बन्धित पक्षको ध्यानकषर्ण गर्ने काम हामीले एकदम गरी राखेको थियौं । ख्रीष्टियन समुदायलाई पनि कस्तो अप्ठारो अवस्था भइदिएको छ । हाम्रो महासंघको मिटिङ्ग गरेर हामीले यो गरी राखेका छौं भनि जानकारी दिइराखेका छौं । त्यसपछि बाबुराम भट्टराईको नेतृत्वमा अर्को सरकार बन्यो र त्यो सरकारमा गोपाल किराँतीले संस्कृती मन्त्रिको जिम्मेवारी पाउनुभयो । गोपाल किराँतीचाहिँ यो समाधीस्थलका लागि ठूला वादकका रूपमा, पर्खालको रूपमा देखिनुभयो कि यो समाधीस्थलको समस्या यो संस्कृती मन्त्रालय अथवा नेपाल देश गोपाल किराँतीको निजी सम्पत्ति हो र मेरो पेवा हो भन्ने हिसाबले उहाँ प्रस्तुत हुनुभयो । यो देशमा भएका २५ लाख ख्रीष्टियनहरूको चाहिँ कुनै अधिकार हुन भन्ने खालको व्यवहार उहाँँले हामीप्रति गर्नुभयो । हामीले डा. बाबुराम भट्टराईसँग भेट्यौ । त्यसपछि उहाँको दलको प्रमुख प्रचण्डसँग गएर भेट्यौं र भन्यौं कि यो समाधीस्थलको समस्या भनेको एउटा राष्ट्रको समस्या हो र राज्यले यो समस्या यथासिघ्र समाधान गराउनुपर्छ भनेर हामीले उहाँलाई पटक पटक ध्यान आर्कषण गराउने काम ग¥यौं । गोपाल किराँतीले के गर्नुभयो भने पछि हाम्रो सहमती विपरित काम गरि दिनुभयो । हाम्रो सहमतिमा केही राजनीतिक दलका प्रतिनिधिहरू, ख्रीष्टियन समुदायका ३ जना प्रतिनिधि, भूमी सुधार, वन, संस्कृति, प्रधानमन्त्री, कार्यालय लगायतका सदस्य सचिवहरूचाहिँ यसका सदस्य रहने गरी एउटा उच्च स्तरिय समस्या समाधान समिति बन्ने भन्ने हाम्रो सहमति भएको थियो ।  तर उहाँले सहमती विपरित एउटा सचिवको नेतृत्वमा एउटा समिति गठन गरे ।

जसमा ख्रीष्टियनको तर्फबाट के. वी. रोकाया, मुस्लिमको तर्फबाट अमलेस हुसेन र किराँती समुदायबाट कुमार फुदुङ्ग राखिएको थियो महासंघका महासचिव सिवि गहतराजको भनाई छ, “तिनैजना माओवादीको कार्यकर्ता हुन् । यस्तो समितिले कसरी ख्रीष्टियनहरूको प्रतिनिधि नेतृत्व गर्न सक्दछन् ? यो अवैध समिति हामीलाई मान्य छैन ।” भनेर त्यसको भोलिपल्ट पत्रकार सम्मेलन ग¥यौं र प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्ञापनपत्र दियौं साथै अरू सम्बन्धित निकायमा पनि हामीले ज्ञापन पत्र दियौं । भर्खरै मात्र काठमाडौं पोष्ट (दैनिक पत्रिका)मा जुन ढंगले यो समाधिस्थलको विषयलाई विदेशीसँग पैसा माग्नको लागि उठाइएको हो भन्ने खालको गलत खबर आयो । यसमा महासंघको तर्फबाट, म दुःख ब्यक्त गर्दछु, कि जुन नाउँबाट बक्तव्य आएको छ । यही काठमाडौं पोष्टमा हामीले अनसन बसेकै बेलामा समाधिस्थल चाहिँ राज्य व्यवस्था गर्नुपर्ने होइन, मैले जिम्मेबारी पाएँमा विदेशीसँग करोडौ रुपैयाँ उठाएर समाधिस्थलको व्यवस्था गर्छु भन्ने कुरा आयो र त्यसभन्दा पछाडि यो चाहिँ ख्रीष्टियन समुदाय आफैले गर्नुपर्दछ, यो सरकारको काम होइन भनेर आयो र अहिले आएर उल्टै हामीमाथि आरोपचाहिँ यो बिदेशीसँग पैसा लिनको लागि यो गरेको भन्ने खालको जुन आरोप आयो । यो यसरी पटकपटक चाहिँ ख्रीष्टियन समुदायको एउटा सम्बेदनशील बिषयमाथि खेलबाड गर्ने तरिकाले यस्तो किसिमका अभिव्यक्ति दिने पागलपन भएको को व्यक्ति हो, सो पत्ता लगाउने काम महासंघले गरिराखेको छ । अब नेपाली ख्रीष्टियन समुदायको हित विपरीत अभिव्यक्ति दिने गलत क्रियाकृलाप गर्नेलाई अब ख्रीष्टियन समुदायले त्यसलाई छोड्दैन र त्यसलाई ठीक ठाउँमा ल्याउने काम गर्दछ र त्यसको नेतृत्वले राष्ट्रिय ख्रीष्टियन महासंघले गर्दछ । मलाई लाग्छ, ठीक दिमाख भएको मान्छेले यसरी गर्दैन । मलाई लाग्छ, मानसिक समस्या त्यो व्यक्तिमा छ । ख्रीष्टियन समुदायलाई यस्तो एउटा दिमाख बिग्रेको मान्छेको निम्ति पनि हाम्रो प्रार्थना गर्ने दायित्व पनि उत्तिकै छ र सबै ख्रीष्टियन समुदायलाई पनि आग्रह गर्दछु ।  अर्को कुरा नयाँ बाटो खुलेको छ, कि गोपाल किराँतीले राजिनामा दिएका छन् । अब ख्रीष्टियन समुदायको माग पूरा हुन्छ भन्ने कुरामा ख्रीष्टियन महासंघ विस्वस्त छ । सम्बन्धित निकायमा ३, ४ वटा मिटिङ्ग बसि सकेकोछौं । अब चाँडै नै उच्च स्तरिय समस्या समाधान समिति बन्नेछ । समाधि स्थल जस्तो संवेदनशील विषयमा सबै चर्चहरू, संघसंस्थाले सहयोग र प्रार्थनाको आवश्यकता छ । समाधिस्थलको विषयमा महासंघले गरेको प्रगति यस्तो छः–

 गोटीखेलमा समाधिस्थल पाउँने सम्भावना !

संस्कृति मन्त्रालयले गृहलाई एउटा चिठी लेख्यो । गृहले ललितपुरलाई लेख्यो । ललितपुरलका प्रशासकीय अधिकृत कमलराज भण्डारीको नेतृत्वमा र महासंघको तर्फबाट कृष्ण भण्डारी, पदमनाथ पराजुली र राजनीतिक दलका प्रतिनिधि सम्मिलित समस्या समाधान समिति बन्यो । एउटा समाधिस्थलको समाधान समिति बन्यो । त्यो समितिले के गयो भने सर्वदलीय मिटिङ्ग बसी र जग्गा खोज्ने काम भयो । ललितपुरको गोटीखेलमा सरकारी जग्गा २ हजार रोपनी थाहा   भयो । त्यसपछि त्यहाँको स्थानिय बासीहरू, समितिका संयोजक कमलराज भण्डारी, सभासद विनोद पाहाडी, सभासद गोविन्द चेपाङ्ग लगायतको उपस्थितिमा त्यहाँका स्थानियवासीहरू ख्रीष्टियनहरू जग्गा दिनलाई लिखित सहमति गरेका थिए । त्यो सहमती जिल्ला विकास ललितपुरमा आएर बसेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको वन कार्यालयलाई चिठी लेखि के कस्तो भन्दा वन कार्यालयले पनि उपर्युत छ भनि सकेको अवस्था छ । सिडियो कार्यालयले रोक्यो किनभने यो चिठी पुग्नुपर्ने संस्कृति मन्त्रालयमा थियो । तत्कालीन संस्कृति मन्त्री गोपाल किराँती थिए । किराँतीे नै सिडियो कार्यालयमा फाईल रोकिदिएका थिए । तर आज किराँतीको राजिनामा भइसकेको छ । प्रार्थना गरौं अब धर्मनिरपेक्ष चाहने व्यक्ति संस्कृती मन्त्री होस् भनेर । अब संस्कृति मन्त्रालयबाट क्याविमेटमा फाईल पुग्नेछ र क्याविनेटबाट पास हुन्छ र हामीले समाधिस्थलको निम्ति जग्गा पाउनेछौं ।

लेलेको जग्गाको सम्बन्धमा महासंघको धारणा

लेलेमा भएको जग्गा नितान्त व्यक्तिगत जग्गा हो । हाम्रो प्रष्ट दृिष्टकोण यो छ कि समाधिस्थलका लागि लेलेमा भएको अथवा कुनै पनि स्थानमा भएको ख्रीष्टियनहरूले आफ्नो एउटा पसिना, मुठ्ठीदान, आफ्नो स्रोत र साधनबाट किनेको जग्गामा संसारमा यस्तो कुनै नियम छैन । मृत्युजस्तो एउटा संवेदनशील कुराचाहिँ राज्यले जिम्मा लिनु पर्दछ । त्यो राज्यले व्यवस्था गर्नुपर्दछ । महासंघको दृष्टिकोण के हो भने लेलेमा भएको जग्गालाई समाधिस्थलको रूपमा प्रयोग गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छैन । राज्यले ढिलोछिटो समाधिस्थल उपलव्ध गराउनु पर्दछ र यो हामी प्राप्त गरी छाड्छौं । यो गरी सकेपछि महासंघले व्यक्तिगत एउटा निजी नाउँमा रहेका जग्गाहरूको खानतलासी गरी कुन ठाउँमा कति छ ?, कसको नाउँमा छ ?, कुन स्रोतबाट किनिएको हो ? छानविन गरी त्यसलाई ख्रीष्टियन समुदायकै हितमा वृद्धा आश्रम, वालगृह, बाइबल कलेज आदि बनाइ सर्वपक्षिय हितका लागि प्रयोग गर्न हामी पहल गर्दछौं । नेपालमा रहेका २५ लाख ख्रीष्टियन नागरिकमध्ये होला, १÷२ वटा चर्चहरूले आफ्नो दफनस्थानको लागि जग्गा किन्न सक्लान तर २५ लाखै ख्रीष्टियनहरूले आफ्नो दफनस्थानको लागि जग्गा किन्न सक्दैनन् । अर्को कुरा के छ, भन्दा खेरी ठूला ठूला प्रेमका कुराहरू गर्ने र  यो लास गाड्ने जग्गा पनि यो हाम्रो निजी हो भन्ने ख्रीष्टियन समुदायको यस्ता थुप्रै प्रवृतिहरू छन् । त्यसले गर्दा लेलेको जग्गाले नै यो समस्या समधान हुनुपर्दछ भन्ने कुरामा महासंघ छैन र यो समस्या समाधान हुँदा पनि हुँदैन । एकदुइ व्यक्तिहरू चुप लागेर बस्नु भन्दा केही गरौं र ख्रीष्टियन समुदायलाई पहिलेदेखि मञ्चन गर्दै आएको नाटक मञ्चन गरी लेलेको जग्गा प्रयोगका कुराहरू गरेका होलान । महासंघलाई यो विषयमा जानकारी पनि छैन र महासंघ यसरी व्यक्तिगत जग्गामा समाधीस्थल बनाउनु पर्दछ भन्ने पक्षमा छैन ।

  • Bishwas Thapa and Mahendra Darnal

Related Articles

One Comment

  1. पाष्टर डेभिड आचार्य नेपाल शान्ति बप्तिस मण्डली says:

    वचन पत्रीकाले आवश्यक विषयमा कुरा उठाएकोमा धन्यवाद दिन चाहन्छु । यो विषयमा स्थानिय गाउँलेहको राय अझै बुझ्नको लागि पनि निवेदन गर्दछु । मलाइ पनि लागेको कुरा के हो भने स्थानिय बासिन्दाको समस्या भन्दा पनि हाम्रै समस्या हो । यसलाई मिडियाका साथीहरुको पहलमा अगाडी बढाउन सके यो अवस्य हामीले उपभोग गर्नु सकिनेछ । यसमा कुनै शंका छैन प्रार्थना गरौ र अघि बढौ । धन्यवाद

Back to top button