तिनीहरू म जस्तै युवा थिए तरपनि उनीहरू म भन्दा फरक थिए

म सागर बैजु  वि.सं. २०३० सालमा सिन्धुली जिल्लाको झाँगाझुली, रातमाटा भन्ने ठाउँमा जन्मेको हुँ । मेरो घरको आर्थिक अबस्था एकदम कमजोर थियो । म जन्मेको २७ दिनमा मेरो बुबाआमालाई एकछाक खान पनि गाह्रो भएको कारण हामी तराईको सर्लाहीतिर झर्यौँ ।

बाल्यकाल 
मेरो परिवार परियार(दमाई) भएको कारणले मेरो बाल्यकाल अरुको भन्दा निकै कमजोर थियो । लुगा सिलाउने काम भएपनि राम्रो लगाउन हामीले पाउँदैनथ्यौं किनकि आमा बुबाले अरुको लागि लुगा सिलाउँदा सिलाउँदै हाम्रो नयाँ लगाउने दिन नै कहिल्यै आउन पाउँदैनथ्यो । शिक्षाको हिसाबले पनि धेरै पढाउनुपर्छ भन्ने मानसिकता थिएन त्यति बेला । मेरो विवाह हिन्दु परम्परागत स्वरुपमा पुन्य कमाउन सकिन्छ भनेर म तेह्र वर्षकै उमेरमा भएको थियो । म बिहेको दिन रुँदै डोली चढेर गएको याद आउँछ ।
बिहेको केही दिनपछि घरबाट भागेर म काठमाडौं आएँ । मैले काठमाडौँमा सडकको जीवन बिताएको छु । माघ महिनाको जाडोमा गौशाला वरिपरि म करिव २०/२१ दिन सडकमा रात काटेको छु । केही दिन गौशालाको प्रहरी कार्यालयमा जुठो भाँडाकुँडा माझ्दै पनि समय बिताएको छु । त्यहीताक तराईको हाम्रो घरमा चोरी भयो । त्यो चोरीले गर्दा मेरो बुबा पनि विरक्त हुनुभयो । त्यसपछि मेरो परिवार सबै नै काठमाडौंमा आएर बसोबास गर्न थाल्यौँ । काठमाडौंको हाम्रो जीवन कठिनपूर्ण थियो ।

युवावस्थाः
काठमाडौं आएपछि राजनीतिमा सक्रिय हुने वातावरण बन्यो । केहि समय राजनीतिका कारण जेलको जीवन पनि विताएको छु । यो कुरा २०४६ सालको अन्तिमतिरको हो, म पन्ध्र वर्षको मात्रै थिएँ । देशमा राजनीतिक परिवर्तनको माहौलमा सेन्ट्रल जेलमा तीन महिना राजनीतिक जेल जीवन विताएको छु । राजनीतिकरुपमा जेलमा परे पनि जेलमा रहँदा गलत साथीहरूको संगततिर फस्न पुगेँ । मेरो गलत संगतका कारण बुबा आमा चिन्तित हुनुभयो । आमा बुबाले कसैको पिटाई खाएर र प्रहरीको कस्टडीमा पिटाई खाएर मर्नुभन्दा भारत जान भन्नु हुन्थ्यो । यही क्रममा एकदिन मलंगवाको सितामडी बोर्डरसम्म पु¥याएर गोजीमा केहि पैसा राखिदिएर तँ बाँचे पनि उतै बाँच्नु र मरे पनि उतै मर्नु तर फर्केर नआउनु भनि बुवाले छाडिदिनु भयो ।
त्यसपछि बिहार हुँदै कलकत्ता पुगें । क्रमशः त्यहाँबाट नागपुर, महाराष्ट्र पुगें । होटेलमै काम गर्ने सिलसिलामा एकजना व्यक्तिले चर्चमा लगे, त्यहाँ त नेपालीहरूसँग भेट भयो । चर्चमा राम्रो भाषा र मिठो बोली थियो । अनि त्यो बोलीमा कता कता अर्कै मायाको अनुभूति हुनथाल्यो । अनि हरेक दिनजसो ती जवान युवाहरूको मायाले दिनहुँ जसो चर्चमा पु¥यायो ।
चर्चमा जान थाले पछि त्यहाँको पास्टरले पढ्नु पर्छ भनि मलाई प्रेरणा दिनुभयो र एकदिन म चर्च गइन भने ती युवाहरू मलाई भेट्न आउनुहुन्थ्यो । तिनीहरूले गरेको प्रेम र तिनीहरूको जीवनलाई देखेर मैले येसुमा विश्वास गरें । तिनीहरू म जस्तै युवा थिए तरपनि उनीहरू म भन्दा फरक थिए । यो १९९५ को कुरा हो, जतिबेला म १८/१९ वर्षको केटा थिएँ ।
मेरो पास्टरले मलाई विटिएच गर्ने प्रेरणा दिनुभयो । विटिएच गरिसकेपछि म इन्डियामा अनुग्रह आराधना चर्चमा नै हिन्दी भाषामा पास्टरीय सेवा गर्न थालेँ । त्यस चर्चको कानुनी रुपमा म संस्थापक सदस्य र पास्टर पनि हुँ ।
दिल्लीमा हुनुहुने पास्टर सतिश क्षेत्रीले नेपालीहरूकै बीचमा सेवा गर्नुपर्छ भनि हौसला दिइरहनुहुन्थ्यो । त्यहाँ नै नेपाली भाषीबीच सेवा पनि सुरुवात ग¥यौं । बिहान हिन्दी भाषामा सेवा हुन्थ्यो भने बेलुकी नेपाली सेवाको शुरुवात भयो । अहिले पनि नागपुरमा दुईवटा नेपाली सेवाको चर्च छ । एउटा चर्च मैले नै बप्तिस्मा दिएको भाईले त्यहाँ चलाउँदै हुनुहुन्छ भने अर्को मेरो पास्टरले नै हेर्नुहुन्छ ।

नेपाल फर्कने मन : 
चर्चमा पास्टरीय सेवाबीच मलाई लाग्यो अब म नेपाल फर्कनुपर्छ किनकि भारतीयहरू आध्यात्मिक शिक्षाको दृष्टिकोणले सक्षम छन् । यही बीचमा नेपालका पास्टर रोर्वट कार्थक र बर्नबास श्रेष्ठसँग सिलगुडीमा भेट भएपछि उहाँहरूले तपाई जस्तो मान्छे सेवकाइ गर्न नेपालकै डाँडाकाँडामा फर्केर जानुपर्छ भनि प्रेरणा दिनुभएको थियो । त्यो कुराले मलाई नेपाल फर्कन झनै हौसला पुर्यायो । म सन् १९९९ को डिसेम्बर अन्तिमतिर नेपालमा फर्कें ।

नेपाल आएपछि :
म नेपाल आएपछि आफ्नो घरमा एक्लो विश्वासी थिएँ तर मेरो परिवर्तित जीवन देखेर परिवार सबैले विश्वास विस्तारै विश्वास गर्नुभयो । ८२ वर्षको हजुरआमाले पनि विश्वास गर्नुभयो । मेरो सानी आमाको छोरा जो मेरा भाइ हुन्, अहिले उनी पास्टरीय सेवा गर्छन् । उनलाई सुसमाचार सुनाउने क्रममा एकदिन उनीसहित राजन, एकराजलगायतका भाइहरूले धर्मका बारेमा दिएको दयालु साबुन र मायालु साबुनको उदाहरण आज पनि प्राशंगिक लाग्छ । यसरी हिन्दु धर्मकै वकालत गर्ने भाई आज अनुग्रह विजय चर्च मुलपानीमा पास्टरीय सेवा गर्दै छन् । मैले भन्दा अझ प्रभावकारी ढंगले काम गर्दै हुनुहुन्छ । अहिले मुलपानी र कपनमा गरी दुई ठाउँमा चर्च छ, काभ्रेमा पनि संगति सुरु गरिएको छ भने बालगृह पनि सञ्चालन हुँदैछ ।

नेपालमा शुरुवाति तिता मिठा पक्षः
नेपाल आएपछि नेपाल इसाई मण्डलीमा केहि समय संगति गएँ । त्यस्तैमा मेरो छिमेकमा बस्ने एक जना सानो भाइले एकदिन म कहाँ आएर भन्नुभयो, गुरुबा, हाम्रो सानो चर्च छ, त्यहाँ तपाईं आइदिनुप¥यो र वचन बाँडिदिनुप¥यो । सानोभाईले भनेको आधारमा नै वचन कसरी प्रचार गर्ने तर म संगतिमा चाहिँ आउँछु भनें । नेइम जोरपाटीमा संगति सकेर त्यो भाईले बोलाएको ठाउँमा गएँ । त्यहाँ मुस्किलले १०÷ १२ जना उपस्थित हुनुहुन्थ्यो । त्यहाँ वचन प्रचार गर्ने कोहि पनि थिएनन् । मैले त्यहाँ पहिलो वचन प्रचार गरेँ । फेरि अर्को हप्ता पनि त्यो भाइ आयो र भन्यो म तपाईं जाने ठाउँमा पनि जान्छु र तपाईं पनि हाम्रोमा आउनु प¥यो । यसरी मलाई ती मानिसहरूको बिचमा सेवा गर्ने प्रेरणा मिल्यो । पछि मेरो परिवारले पनि विश्वास गर्नुभएपछि हामी सबै त्यहाँ नै संगति गर्न थाल्यौं ।
त्यस्तैमा २०५९ सालमा जतिबेला देशमा संकटकाल थियो । एकदिन राति हामी बस्ने ठाउँमा तीन ट्रक आर्मी आयो र मलाइसहित भाई ध्रुव, राजनलगायतलाई लिएर गयो । थाहा भयो हाम्रो संगतिमा एकजना माओवादी छापामार रहेछन् । उनलाई सेनाले पक्रिएपछि उनको डायरीमा फलानो व्यक्तिले सिकाएअनुसार हामीले काम ग¥यौं भने हामीले राज्यलाई कब्जा गर्न सक्छौं भन्दै आफ्नो धारणा लेखिएको पाइएपछि हामीहरूलाई शंकाको आधारमा पक्राउ गरिएको थियो । समातिसकेपछि हामीलाई मानसिक यातना दिइयो । मैले सेनालाई भनें, मेरो नाम माओबादीसँग जोड्नुहुन्छ र न्यूज आउँछ भने मलाई मारिदिनुस् । म फलानो मानिस हो, राजनीतिक आस्थाले म माओबादी होइन । राजनीतिक आस्थाले म जुन पार्टीसँग छु, तपाईं त्यहाँ गएर बुझ्नुुस् । म बालबालिकाको बिचमा काम गर्छु र मेरो काम चर्च, समाजभित्र हो ।
हामीलाई पचास घण्टा कालो पट्टीमा राखियो । हाम्रो चर्चमा आउने छापामार जसको कारणले हामी शंकामा परेका थियौँ, उसलाई ल्याएर सोधियो । उसले मलाइ मेरो गुरु हो भन्दै उहाँले सिकाएको ठाउँमा बस्दा उहाँको कुरा सारै राम्रो लाग्यो । माथिका कुरा सबै उहाँले भनेको हो तर पछिल्लो राज्य कब्जा गर्ने कुरा मैले आफ्नो विवेकले लेखेको हो भनेर भनेपछि सेनाले हामीलाई छाडिदियो । त्यो कालखण्डमा धेरै दुःख भोगेको छु । प्रभुको अनुग्रह र मेरो परिश्रमले ती गाह्रा कठिनाईबाट पार पाएको छु ।

मेरो परिवार :
अहिले मेरो परिवारमा १३ वर्षको उमेर हुँदा विवाह भएकी श्रीमती छिन् । दुई जना छोराहरू छन्, जेठो स्नातकतह पढ्दै काम गर्छ, भने कान्छो आठ कक्षामा पढ्दैछ । संकटकालबाटै मेरो बुवा हराउनु भएको हो अझै पत्तो छैन । राजनीतिक कारणले नै हराउनुभएको हो उहाँ । मेरो आमा हुनुहुन्छ । दुई भाई र एउटी बहिनी छिन् ।

राजनीतिमा सक्रियता :
म नेपाली कांग्रेसका काठमाडौं जिल्ला सदस्य हुँ । त्यसैगरी काठमाडौँ क्षेत्र नं. चारको युवा तथा खेलकुद विभागको प्रमुख भएर काम गरिरहेको छु । नेपाली काँग्रेस अन्य भातृसंगठनको केन्द्रिय सदस्य पनि छु । विभिन्न सरकारी निकायको विभिन्न तप्कामा बसेर काम गरिरहेको छु । जसले राजनीति हाम्रो सरोकारको विषय होइन भन्छ, मलाई लाग्छ त्यो परिवर्तन र विकासको विरोधी हो । परमेश्वरले यो नगर् नभन्नुभएसम्म म राजनीति गरिरहनेछु ।

पास्टर भएर राजनीतिमाः
राजनीति मेरो पृष्ठभूमि हो । मैले राजनीति गर्दिन भनेर बसेंभने पनि मैले राजनीति गर्नैपर्छ किनकि मेरा टोल छिमेक लगायतकाहरूका विभिन्न समस्या र गुनासा मसँग ठोक्किन आइपुग्छन् । ती समस्या समाधान गर्नका लागि चाहिँ म राजनीतिमा कुनै न कुनै रुपले जोडिएको नै हुन आवश्यक छ ।

राष्ट्रिय ख्रिस्टियन महासंघमाः
म राष्ट्रिय ख्रिस्टियन महासंघको दोश्रो महाधिवेशनपछि उपमहासचिव तथा प्रवक्ता भएर काम गरिरहेको छु । महासंघले राष्ट्रियरुपमा आध्यात्मिक, राजनीतिक र कानुनी रुपमा ख्रिस्टियनहरूको आवाजको प्रतिनिधित्व गर्दछ । यसकारण सम्पूर्ण इसाई समुदाय, चर्च, संघसंस्था मिलेर महासंघलाई दह्रो बनाउनुपर्छ भनेर म यसमा लागेको हुँ । महासंघ दह्रो भयो भने नेपाली ख्रिस्ट्रियन समुदायको हक र अधिकार सुनिश्चित हुन्छ । सरकारले हामी ख्रिस्टियनहरूलाई तिमीहरूको राय के छ, देऊ भन्यो भने मान्यता पाएको र कानुनी रुपमा रहेको निकाय पनि महासंघ नै हुनसक्छ ।
महासंघसँग अहिले इसाई हक र अधिकारका लागि सरकारसँग लविङ्ग गर्न सक्ने नेतृत्व प्राप्त भएको छ । सि.वि गहतराज तथा उहाँको टिमले दीर्घकालिनरुपमा महत्व राख्ने काममा अग्रसरता लिनु भएको छ । अहिले महासंघ कार्यदल बनाउन लागि परेका छ । कार्यदल बनिसकेपछि देशभरीका चर्चको सुचिकृत गरिनेछ । कार्यदल बनिसके पछि धार्मिक गुठीको व्यवस्थापन पछि अन्तिम चरणमा हामी पुग्नेछ । त्यसैगरी त्यसले ख्रिस्टमसको सार्वजनिक विदा, समाधिस्थल, धार्मिक ऐनका कुरालाई टुंग्याउँनेछ ।

म सेवाका साथै अन्य बिभिन्न कार्यमा पनि सक्रिय छु । मुलतः बालबालिका, चर्च, सुसमाचार प्रचारका पर्चा, अडियो लगायतका सामाग्रीहरू निशुल्कमा वितरण नै प्रमुख काम हो । म नेपाली कृषिको आधुनिकिरण अभियानमा कार्यरत छु । नेपाली चर्चको आयश्रोत विकासका लागि कृषि नै दीर्घकालिन उपाय हुने भएकोले म केही वर्षदेखि सक्रिय बनेको हुँ । किनभने परमेश्वरले मानव सृष्टिसँगै कृषिलाई पनि अगाडि बढाउनु भएको छ ।

वर्तमान समयमा चर्च र युवाः
मलाई लाग्छ चर्चको एउटा महत्वपूर्ण जिम्मेवारी युवाहरूलाई क्षमतावान बनाउनु हो । नेपालमा रहेका चर्चमा आबद्ध मानिसहरू ७० प्रतिशत जति कृषि पेशामा संलग्न छन् । कृषिसँग आवद्ध भएका विश्वासीहरूलाई कृषिको भरपर्दाे कार्यक्रमसहित अन्य संभावना भएको क्षेत्रमा व्यवसायिक बनाउन हामी सक्रिय हुन आवश्यक छ । हामी युवा भाइ बहिनीलाई बेरोजगार भएपछि मात्र बाइबल कलेज पठाउने चलन बढेको छ । यसलाई परम्परा बन्न दिन हुन्न र चर्च रोजगारमूलक बनाउने अभियानमा सक्रिय हुन आवश्क छ ।
नेपालमा पढाई तथा व्यवसायमा कमजोर मानिसहरूले चर्च धानेर बसेका छन् । यसकारण यहाँका विश्वासीहरूलाई नेपालमै केहि गर्न सकिन्छ भन्ने प्याकेज चर्चले ल्याउन सक्नुपर्छ । अब हामीले देशमै श्रोत खोजेर चर्चलाई सक्षम बनाएर चलाउनुपर्छ । त्यसका लागि युवाहरू केन्द्रित व्यवसायिक पक्षलाई महत्व दिन आवश्यक छ ।

  • This interview in Youth Vision Magazine.
  • Photo by Saroj Baiju

Related Articles

Back to top button