बाइबल अध्ययनमा कम्तीमा पनि पन्ध्र मिनेट नबिताईकन तपाईंको दिन कहिल्यै नबितोस्

जोनाथन गोफोर्थ परिवारमा जन्मेका एघारौँ सन्तानमध्ये सातौँ थिए । ख्रिस्टाब्द १८५९ मा क्यानडामा जन्मेका जोनाथनको आत्मिक यात्रा तिनले स्कुले जीवन सक्न लाग्दा थालनी भएको थियो । एक जना पास्टरको प्रवचन सुनेपछि जोनाथनले आफ्नो शिर झुकाए र आफ्नो जीवन ख्रीष्टको निम्ति अर्पित गरे ।

आफ्नो आत्मिक यात्रामा अगाडि बढ्दै जाँदा जोनाथनले प्रभुको आवाज सुने, “हाम्रा निम्ति को जाने र हामीले कसलाई पठाउने?” यशैया अगमवक्ताले झैँ तिनले जवाफ दिए, “म हाजिर छु; मलाई पठाउनुहोस् ।” त्यही क्षण नै तिनको मिसनरी जीवनको प्रारम्भ थियो ।

रोजालिन्ड बेल स्मिथसित वैवाहिक सम्बन्धमा बाँधिएपछि यी नयाँ दम्पत्ति हाम्रो छिमेकी मुलुक चीनका लागि मिसनरी भएर आए । तिनीहरू सुसमाचारीय काममा संलग्न हुँदै चीनका विभिन्न भूभागहरूमा गए । जोनाथनको सेवा-कार्यलाई परमेश्वरले वास्तवमै आशिष् दिनुभएको थियो । तिनको प्रवचन सुनेर सैयौँ मानिसले येशूलाई चिन्ने मौका पाए । तर यी दम्पत्तिले ठुलै मूल्य पनि चुकाउनु परेको थियो । तिनीहरूका एघार सन्तानमध्ये पाँच जना बाल्यावस्थामा नै मरे ।

बक्सर विद्रोहको चपेटामा परेकाले जोनाथनको परिवार कैयौँ माइलको यात्रा गरी भाग्नुपरेको थियो । तिनीमाथि आक्रमण भएको थियो र तरवारको चोट पनि लागेको थियो । तथापि, दुवै जना बाँच्न सफल भए ।

केही समय क्यानडामा बिताएपछि जोनाथन पुनः मन्चुरिया हुँदै चीन फर्के । यति बेलासम्म तिनी करिब सत्तरी वर्ष पुगिसकेका थिए । मन्चुरियामा छोटो समयमा नै तिनले हजारौँ मानिसलाई ख्रीष्टमा जिते । चीनमा मात्र नभएर अन्तर्राष्ट्रिय जगत्‌मा पनि तिनको ख्याति फैलन लाग्यो । अब तिनी कुनै एउटा ठाउँको मिसनरी भन्दा पनि सुसमाचार प्रचारक र जागृतिको वक्ताको रूपमा चिनिए । चीनमा मिसनरी भएर जानेहरूमध्ये तिनी निकै परिचित भए । धेरैले तिनको प्रशंसा गर्न थाले ।

१९३५ मा आफ्नो दृष्टि गुमाएपछि पनि जोनाथन आफ्नो सेवामा सक्रिय रहे । ७ अक्टोबर १९३६ मा चालिस माइलको यात्रा गरी तिनी आफ्नो अन्तिम प्रवचन तोड्न गए । भोलिपल्ट बिहान पत्नी उठेर ओछ्यानमा जाँदा तिनी मृत फेला परे ।

यी तिनै जोनाथन हुन् जसले भनेका छन्, “बाइबल अध्ययनमा कम्तीमा पनि पन्ध्र मिनेट नबिताईकन तपाईंको दिन कहिल्यै नबितोस् ।”

Related Articles

Back to top button