मेरो जीवन लगानी गर्न चाहन्छु -गायक अड्रिन देवान

नेपाली ख्रिस्टियन गीत संगीतको क्षेत्रमा गायनको क्षेत्रमा पछिल्लो समय युवापुस्ताबिच लोकप्रिय गायक अड्रिन देवान भारतको दार्जिलिङ्गको फेदोङ्ग भन्ने ठाउँमा सन् १९८८ मार्चमा जन्मिएर उतै हुर्किएता पनि हाल आफ्नो कार्यक्षेत्र नेपालको काठमाडौं उपत्यकालाई बनाउनुभएको छ । ललितपुरको एकान्तकुनास्थित क्रस वे कम्युनिटी चर्चका वर्सिप लिडरका साथै युथ अगुवाको रुपमा पनि सेवामा सक्रिय रुपले लाग्नुभएको छ । केहि महिना पहिलेमात्र विवाह बन्धनमा बाँधिनुभएका बहुप्रतिभाशाली गायक, गीतकार तथा संगीतकार अड्रिन देवानसँग गरिएको  अन्तर्वाता यहाँ प्रस्तुत गरिएको छ ।

 

नेपालमा कहिले र किन आउनुभयो ?नेपालमा कहिले र किन आउनुभयो ?

नेपालमा आउनु परमेश्वरको ठूलो हात छ । मेरो इच्छा त बुम्बई जाने र हिन्दी गीत रेकर्डिङ्ग गर्ने एल्बम निकाल्ने थियो । २००७÷८ तिर अहिले भएको आन्दोलन जस्तै त्यतिबेला पनि ठूलो आन्दोलन भएको थियो । त्यतिबेला मण्डलीमा एकदमै प्रार्थनामा समय विताउँथ्यौं, प्रार्थना चाहिँ एउटा अन्तविन्ति टाइफको हुनथाल्यो । त्यो क्रममा प्रभुले मलाई नेपाली गीतहरू दिन थाल्नुभयो । नेपाली गीत लेख्न र गाउन थालें । पहिलो एल्वम सिजन भन्ने निकालें । त्यहि शिलसिलामा करियरको पनि प्रेसर थियो, त्यही क्रममा परमेश्वरको वचनहरू इन्टरनेटबाट डाउनलोड गरेर सुन्न थालें । त्यसमा मैले चाहिँ गोस्पल के हो भनेर एकदमै गहिराईमा गएर बुझ्न पाएँ । त्यसपछि म बाइबल कलेज जान्छु भन्ने थियो । त्यति बेला नेपालमा चिनेको मेरै ठाउँको एकजना दाई हुनुहुन्थ्यो, उहाँको मार्फत नेपालमा म सन् २०१२ मा आउन पाएँ । क्रस वे चर्चको पास्टरले मेरो गीत सुन्नुभएको कारणले उहाँले पनि बोलाउनुभएको थियो ।

अहिले नेपालमा रहेर के के गरिरहनुभएको छ ?

अहिले म एकान्तकुनास्थित क्रस वे कम्युनिटी चर्चमा आवद्ध छु । वर्सिप लिडरको रुपमा काम गरिरहेको छु । युवाहरूलाई पनि अगुवाई गरिरहेको छु । साथै म यसपालीदेखि लिभिङ स्टोन एकाडेमी भन्ने स्कुलमा च्यापलिङ र कम्प्युटर टिचरको रुपमा कार्यरत छु । ती बाहेक गायनको क्षेत्रका समय दिइरहेको छु ।

गायनको क्षेत्रमा कसरी आउनुभयो ?

अनि यो अवस्थासम्म आइपुग्न के कति स्ट्रगल गर्नुभयो ? म सानैदेखि नै सण्डेस्कुल हुँदादेखि नै गीत गाउँथें । अलि ठूलो भएपछि चर्चमा वर्सिप लिड गर्न थालें । त्यो समयमा सेकुलर फिल्डमा विभिन्न कार्यक्रममा पनि गाउँथें । पछि प्रभुकै निम्ति गाउनुपर्छ भन्ने कन्भिसन भएपछि मैले एकदिन प्रार्थना गरें, प्रभु अब म तपाईंकै लागि मात्र गाउँछु । वास्तवमा मैले गायनको लागि खासै स्ट्रगल खासै गरिन । शुरुको दिनहरूमा पहिलो एल्बम निकाल्दा खासै राम्रो गाउँदिन जस्तो लाग्थ्यो र स्वरलाई तालिम चाहिँ दिएको थिएँ । तर यो स्थानमा आउनको लागि खासै स्ट्रगल गर्नुपरेन । परमेश्वरले मलाई जुन वरदान दिनुभएको छ, त्यसलाई नै प्रयोग गर्दै ल्याएँ ।

अहिलेसम्म कतिवटा एल्वम निकाल्नुभएको छ ? 

अहिलेसम्म मेरो आफ्नो सोलो तीनवटा छ, सिजन सङ्ग, सिजन — २ अनन्ततिर र हालै सिजन — ३ घनिष्ट भन्ने हो । ती बाहेक क्रस वे चर्चसँग मिलेर दुईवटा र व्याण्डसँग एउटा गरी ६ वटा निस्केको छ । अहिलेसम्म ३०÷३१ को हाराहारीमा मेरो भोकलमा गीतहरू रिकडिङ भएका छन् ।

पछिल्लो समयमा तपाईंका गीत मन पराइरहेका छन्, तपाईंलाई कस्तो लाग्छ ?

मलाई एकदमै खुशी लाग्छ । परमेश्वरलाई धन्यवाद दिन्छु, उहाँले अनुग्रह गरेर मलाई यो वरदान दिनुभयो । कतिजनाले भेट्दा भन्नुहुन्छ कि तपाईंको गीत सुनेर म प्रभुको एकदमै नजिक भएँ, वचनप्रति मेरो तृष्णा जाग्यो, त्यो चाहिँ मेरोलागि एकदमै चित्त बुझ्ने कुरा हो ।

सेकुलर गीत चाहिँ किन नगाउनुभएको नि ?

मलाई यस्तो लाग्यो कि यो संसारमा बोल्नुपर्ने र लेख्नुपर्ने कुरा प्रभु येसुले कलभरीको क्रूसमा के गर्नुभयो भन्ने त्यो थिमभन्दा अरु थिम मलाई एकदमै हलुका लाग्छ अनि संसारका कुराहरू क्षणिक लाग्छन् । सबै ट्यालेन्ट परमेश्वरले नै दिनुभएको हो तर चर्चबाहिर बढी चल्ने भनेको सेक्स, रोम्यान्टिक गीतलाई उनीहरू स्कोर बनाउँछन् र त्यसलाई पुजेको हामी पाउँछौं । हिंसाका कुरा, जातिय विभेद गर्ने कुरा जस्ता थिमले संसार ओगटेको लाग्छ । त्यसैले यी थिमतिर परमेश्वरले मलाई दिनुभएको वरदानलाई वोइस्ट गर्न चाहन्न ।

प्रसंङ्ग बदलौं, युवा भनेको को हो जस्तो लाग्छ ?

युवा भनेको जीवनको त्यो अवस्था हो, जतिबेला हामीमा जोस हुन्छ, जाँगर हुन्छ । हामीले जे आँट्यौ, त्यो गर्न सक्ने हिम्मत हुन्छ । जीवनकै प्रभावकारी समय हो युवावस्था भनेको ।

अहिलेका युवाहरूले भोगिरहेका समस्याहरू के होलान् ?

अभिलाषामा फसिरहने एउटा कुरा हो र हामी ख्रिस्टियनहरू चाहिँ आराधनामा समय विताउने व्यक्ति बन्नुपर्छ तर कतिपय युवाहरूले आफूले कुन कुरालाई समय दिने त्यसमा अलमलिएको जस्तो लाग्छ । अहिलेका युवाहरूमा मैले देखेको कुरा परमेश्वरलाई आराधना नगरी फेसबुक, टेक्नोलोजीलाई बढी महत्व दिनु नै हो जस्तो लाग्छ ।

समाधान पनि त होलान् नि ?

यर्मिया ९ः२३ मा भनिएको छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, बलवान मानिसले आफ््नो बलमा घमण्ड नगरोस्, धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस् तर जसले घमण्ड गर्छ, उसले एउटै कुरामा घमण्ड गरोस् कि मलाई चिन्न सकोस् । युहन्ना १७ः ३, होसे  ६ अध्यायको निचोडलाई हेर्ने हो भने परपरमेश्वरलाई चिन्नु नै सबै समस्याको समाधान हो । परमेश्वरलाई चिन्नु शब्द बाइबलमा एकदमै घनिष्ट रैछ । वचनद्वारा परमेश्वरलाई चिन्नु नै आजका युवाहरूको समस्याको समाधान हो ।

जेनेरेसन ग्याप अहिलेको मण्डली, परिवार र व्यक्तिमा भएकै कारण समस्या आयो भनिन्छ नि ? के यो साँचो हो ?

जेनरेसन ग्यापको समस्या चाहिँ कहाँ छ भने प्रिन्सिपलमा होइन प्याकेजमा हो किनकि सत्यता कहिले पनि परिवर्तन हुँदैन किनकि हाम्रो परमेश्वर सत्य हुनुहुन्छ । परमेश्वर हरेक पुस्ताको परमेश्वर हुनुहुन्छ । बाइबलको सत्यता हरेक पुस्तामा लागू हुन्छ तर त्यसलाई पस्किएर दिन सहि किसिमले नसकिएको मात्र हो । बाइबलमा हे¥यौं भने आफ्ना अगुवाहरूलाई आदर गर्नुपर्ने कुरा देख्छौं । जेनेरेसन ग्याप छुट्याएर ठूलो खाडल बनाउनु राम्रो होइन । त्यसैले प्रिन्सिपल होइन तर प्याकेज चाहिँ चेञ्ज गर्नुपर्दछ ।

अहिलेका युवालाई के कुराको खाँचो छ ? 

अहिलेका युवालाई परमेश्वरको ज्ञानको एकदमै खाँचो छ । परमेश्वर को हुनुहुन्छ भन्ने ज्ञानको खडेरी परेको जवानहरूलाई किनभने मण्डलीमा परमेश्वरको आधा भागमात्र प्रचार हुन्छ ।

फेरि प्रसङ्ग बदलौं, केहि समय अघि तपाईं विवाह बन्धनमा बाँधिनुभएको छ, तपाईंको कस्तो विवाह हो ? 

एक्चुअल्ली भन्नुपर्दा हाम्रो विवाह लभ म्यारिज हो ।

जीवनसंगिनी कसरी भेट्नु भयो ?

क्रस वे चर्चमा हामी वर्सिप टिममा हामीसँगै थियौं । उहाँ किबोड पियानिष्ट, भायोलिनबादक पनि हुनुहुन्छ । एउटै टिममा भएकाले हाम्रो बारम्बार भेट भइरहन्थ्यो । लिभिङ्ग स्टोन स्कुलमा पनि उहाँ म्युजिक टिचर हुनुहुन्छ । यसरी  आपसमा भईरहने भेटघाटमा एकअर्काबिच मन पराउने कुरा भयो र पछि त विवाह नै ग¥यौं ।
तपाईंको बैवाहिक जीवन कस्तो चल्दैछ ?  म एकदमै आशिषित छु । मानिसहरूले सेटल हुनुभयो भन्ने शब्द चलाउँछन्, बास्तवमा विवाह गरेपछि सेटल नै हुँदो रहेछ । विवाह अघि मेरा चाहिँदो नचाहिँदो बाह्र तेह्र वटा प्रायोरिटी थिए तर विवाह गरेपछि चाहिने कुरामात्र फिल्टर हुँदो रहेछ । कुन कुरा इम्पोट्याण्ट हो, त्यो छुटियो ।

अहिले आफ्ना जीवन साथी खोजिरहनुभएका युवा भाई बहिनीहरूलाई के भन्न चाहनुहुन्छ ?

जीवन साथी नखोज्नुहोस् तर तपाई चाहिँ कस्तो जीवनसाथी बन्ने हो, त्यो चाहिँ खोज्नुहोस् । जीवनसाथी खोज्ने कुरालाई परमेश्वरको हातमा छोडिदिनुहोस् । जीवनसाथी खोज्ने भन्ने कुरा एकदमै रङ कुरा क्रियट गरिदिएको छ जवानहरूलाई । म यस कुरामा तपाईंलाई डिस्करेज गर्न चाहन्छु । यदि तपाई ख्रिस्टियन केटा हुनुहुन्छ तर नन्ख्रिस्टियन केटी मन पराउँदै हुनुहुन्छ भने त्यस्तो कुरा छोडिदिनुस् र ख्रिस्टियन केटी हुनुहुन्छ भने नन्ख्रिस्टियन केटा छ भने पनि छोडिदिनुस् । यो कुराबाट परमेश्वरलाई महिमा हुँदैन । तर विवाह गर्ने तहसम्म पुगेको छ भने प्रभुलाई उसले ग्रहण गरेपछि मात्र अगाडि बढ्नुहोस् ।

गायन तपाईंको रुची हो कि पेशा नै हो ?

यो मेरो बोलावट हो र परमेश्वरले माथिबाट दिनुभएको वरदान हो । यो वरदान चलाउँदा म एकदम सन्तुष्ट हुन्छु ।

भविष्यको योजना कस्तो छ ? 

म परमप्रभुकै सेवामा रहन चाहन्छु । मण्डलीमा नै वर्सिप अगुवाई गर्छु । धेरै वर्सिप लिडरहरूलाई डिसाइपल गर्न चाहन्छु र चर्चभित्र हुने आराधनाका शिक्षा दिने कुरामा फोकस हुन चाहन्छु । चर्चमा हुने आराधना कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर नै म मेरो जीवन लगानी गर्न चाहन्छु ।

युवाहरूमा नभई नहुने तीन गुण के के होलान् ?

धैर्यतालाई अभ्यास गर्ने कुरा, अर्को किन भन्ने प्रश्न, किन भन्ने प्रश्नले परमेश्वरको नजिक लैजान्छ र तेश्रो अध्ययनशील चाहिँ हुनुपर्दछ ।

अन्त्यमा  के सल्लाह दिन चाहनुहुन्छ ?

तपाईंहरू धेरै सुन्ने र देख्ने मिडियाको कुरातिर आफैलाई बहकिन नदिनुहोस् तर परमेश्वरको वचनमा डुब्नुहोस् । वचनको हरेक पन्नामा आफूलाई प्रकट गर्नुभएको छ । पढ्नुहोस्, बुझ्नुहोस् । वचनमा डुबेपछि मात्र तपाईले सत्यलाई चिन्नुहुन्छ । वचनबाट मात्र मिडियाले ल्याएको बहकाउने कुराबाट बच्न सकिन्छ ।

 

(युवादर्शनका छापीएको  थियो )

 

Related Articles

Back to top button