१० जनाको सङ्ख्यामा आएका हुरानी लडाकाले मिसनरीहरूमाथि एक्कासि आक्रमण गरी तिनीहरूको हत्या गरे

अक्टोबर १९२७ मा जिम इलिअटको जन्म अमेरिकामा भएको थियो । तिनका आमा-बुबा कट्टर ख्रीष्टियानहरू थिए जसले आफ्ना सन्तानहरूलाई तिनीहरूकै विश्वासमा हुर्काए । आज्ञा पालन र इमानदरीलाई जोड दिइने घरमा हुर्कने मौका पाएका जिमले ६ वर्षको उमेरमा येशू ख्रीष्टमाथि विश्वास गरेका थिए । जिमका आमा-बुबाले आफ्ना सन्तानलाई ख्रीष्टको निम्ति जिउन उत्साह दिन्थे ।

दक्षिण अमेरिकी मुलुक इक्वेडरको घना जङ्गलमा बस्ने एउटा जाति थियो— उका । हुरानी पनि भनेर चिनिने यो आदिवासी निकै हिंसक थियो । बाहिरी संसारसित तिनीहरूको कुनै सम्पर्क थिएन । तिनीहरू जङ्गलमै जन्मन्थे; त्यहीँ हुर्कन्थे र त्यहीँ मर्थे । तिनीहरूको क्षेत्रमा आएका बाहिरी मान्छेहरूलाई तिनीहरूले मारिदिन्थे । एउटा खतरनाक असभ्य जाति जसको बिचमा येशूको सुसमाचार लैजानु फलामको चिउरा चपाउनुसरह थियो । तरै पनि जिम तिनीहरूलाई सुसमाचार सुनाउन चाहन्थे किनकि सुसमाचार नै हत्या हिंसाको अन्त्य हो भनी जिमलाई राम्ररी थाहा थियो ।

जिमसँग अन्य चार जना साथीहरू पनि थिए जसको उद्देश्य जिमसित मेल खान्थ्यो— त्यो निर्दयी आदिवासीलाई येशूको सुसमाचार सुनाउने । हुरानीहरूसँग मैत्रीपूर्ण सम्पर्क गर्न मिसनरीहरूले विमानबाट तिनीहरूलाई आवश्यक पर्ने हँसिया, डालोजस्ता सामानहरू उपहारको रूपमा खसालिदिन्थे । केही महिना बितेपछि तिनीहरूको गाउँबाट केही किलो मिटर पर कुरारी नदीको तटमा मिसनरीहरूले आधार शिविर खडा गरे । केही हुरानीहरू मिसनरीहरूलाई भेट्न पनि आए जसमध्ये एक जनालाई तिनीहरूले आफ्नो विमानमा चढाएर यात्रा गराए । मिसनरीहरूले उसलाई जर्ज नाउँ दिएका थिए यद्यपि उसको वास्तविक नाउँ नयनकिवी थियो । हुरानीहरूको मैत्रीपूर्ण व्यवहारबाट उत्साहित भएर मिसनरीहरूले तिनीहरूलाई भेट्ने निधो गरे । तर दु:खको कुरो नयनकिवीले मिसनरीहरूको अभिप्रयाको सम्बन्धमा आफ्ना मान्छेहरूलाई झुटो बोलिदिएको थियो जसबारे मिसनरीहरू अनभिज्ञ थिए । १९५६ को कुनै एक दिन मिसनरीहरूले तिनीहरूको प्रतीक्षा गरिरहँदा करिब १० जनाको सङ्ख्यामा आएका हुरानी लडाकाले मिसनरीहरूमाथि एक्कासि आक्रमण गरी तिनीहरूको हत्या गरे ।

संसारलाई निराश पार्ने खबर वनको डडेलोझैँ फैलियो । लाइफ पत्रिकाले इलिअट र तिनका मित्रहरूको मिसनसाथै मृत्युको विषयमा १० पृष्ठ लामो लेख प्रकाशित गर्यो । आफ्नो श्रीमान्‌को मृत्युपश्चात एलिजाबेथ र अन्य मिसनरीहरूले हुरानीहरूको बिचमा सुसमाचरीय कामलाई अगाडि बढाए । यस दर्दनाक घटनाको ९ वर्षपछि हुरानीहरूको भाषामा मर्कूसको सुसमाचार छापियो । अझै छक्क पार्ने खबर त यो हो कि ती हुरानीहरू बिस्तारै ख्रीष्टतर्फ फर्के । ती पाँच जना मिसनरीको हत्यारामध्ये ६ जनाले येशूलाई ग्रहण गरे । मिन्की नाउँका एक जना हत्यारा तिनीहरूको जातिको पास्टर बने जसले मारिएका एक जना मिसनरीका दुई सन्तानलाई त्यही घटनास्थल अर्थात् कुरारी नदीमा बप्तिस्मा दिएका थिए । आज तिनीहरूको बिचमा स्कुलहरू स्थापना गरिएका छन्; स्थानीय मण्डलीहरू खडा गरिएका छन् । तिनीहरू सभ्यताको खुड्किलो चढ्दै छन् ।

Related Articles

Back to top button