कोही पनि नेपालीहरू बिदेशमा पैसाको लागि जानु पर्दैन

सुबास सुब्बा लिम्बुको जन्म तेह्रथुम जिल्लाको सुम्नाममा भएको हो । उहाँ हाल ललितपुरको नखिपोट १४ मा बस्नुहुन्छ । उहाँ नेपालीहरुमा र ईसाइहरु माझमा एक बैज्ञानिक हुनुहुन्छ । उहाँ ललितपुर साम्पाङ्ग चोकस्थित एल्सदाई मण्डलीका पास्टर पनि हुनुहुन्छ । उहाँले गत वर्ष नेपालबाट हर्बल उत्पादनमा छानिएर ७ वटा देशमा भ्रमण गर्ने अवसर पनि पाउनु भएको थियो भने सौर्य जगतको आविस्कार गर्ने व्यक्ति ग्यालिली ग्यालियो जन्मेको पिसा भन्ने शहरमा समेत पुगेर अनुसन्धान गर्नु भएको थियो । उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको यो “डलर आफ्नै देशमा, कमाउनुहोस् निमेषमा” भनेर ग्रीन ओइल्थ इन्ड्रस्टी किन खोल्नुभएको हो ?

डलर आफ्नै देशमा छ र खासै विदेश जानुपर्दैन भनि मैले प्रमाणिकरण गरी अगाडि बढेको छु । नेपालमा जताततै पैसा नै पैसा छ । कोही पनि नेपालीहरू बिदेशमा पैसाको लागि जानु पर्दैन । बिदेशीहरू चाहिँ नेपालमा आएर महिनाको एक लाख भन्दा बढी घर भाडा तिरेर बस्छन् । यसरी भाँडामा बसेर यहाँ पैसा कमाएर आफ्नो देशमा लैजान्छन् । त्यो के डलर नभएर के भयो त ? तर हामी नेपालीहरू चाहिँ बीस तीस हजार कमाउनको लागि विदेशमा जान्छन् तर आफ्नै परिवार र देशमा सँगै मिलेर केही ग¥यो भने यही हाम्रो नेपालमा नै प्रशस्त डलर छ । अब डलर कहाँ कहाँ छ भन्दा खेरी मैले चाहिँ जडिबुटीबाट बनाउँछु । नयाँ नयाँ कामहरू र उपचारको काम गर्दछु ।

तपाईंलाई यो औंषधी बनाउने आईडिया भनौं इच्छा कसरी र कसबाट पाउनु भयो ?

मलाई कसैले पनि बनाउनको लागि कुनै पनि आईडिया दिएको होइन, म सानो उमेरदेखि नै यो कसरी भयो, कहाँबाट आयो होला भनि सोचिरहने व्यक्ति हुँ । म सानो छँदा १÷२ कक्षामा पढ्दा मेरो आमाको छाताको बिडको भित्र एउटा सुन्दर फूल थियो, त्यसलाई देखेपछि मलाई जिज्ञासा लाग्यो, “यो फुल कसरी भित्र पस्यो ? यहाँ न जरा छ, न पात छ ? त्यहाँ आफै त छिरेन ?” त्यसपछि मैले एउटा फुल ल्याए र मैले पनि त्यस फुललाई छिराउने प्रयास गरे तर छिरेन र मैले एउटा ढुङ्गा लिएर हिर्काए । त्यो बिड फुट्यो । आमाले छाता त्यसरी कस्ले फुटायो भनि सोध्दा मैले फुटाएको थाहा पाएपछि उहाँले मलाई कुच्चोले बेसरी पिट्नुभयो । मैले आमालाई भनें, “आमा यो फूल यसरी बिडभित्र कसरी पस्यो म जान्न चाहन्छु र मैले हेर्न खोजेको मात्र हो ।” तर यो कुरा मेरो आमाले बुझ्नु भएन । मलाई एकदमै जिज्ञासा थियो, “यो कसरी भयो ?” यसरी म मेरो सानो उमेरदेखि नै एक प्रकारको जिज्ञासु व्यक्ति थिएँ । बाइबलमा मत्ती ७ः७ मा लेखिएको छ कि माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढक्ढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ । तर धेरैजसो मानिसहरूले चाहिँ विदेशमा जाने, पैसा कमाउने र ठूला ठूला घर बनाउने दामी गाडीहरू मात्र मागे तर मैले परमेश्वरसँग बुद्घि मागें ।
कसैसँग पैसाको पोको थुपारेको हुन्छ, तर बुद्घि छैन । कसैको बुद्घि र स्किप प्रशस्तै छ, तर पैसा छैन । यिनीहरू दुबै मिलेर काम गरेमा सफल नहुने कुरै छैन । एउटा कथा छ, “एक जना मानिसको चम्किलो आँखा छ, राम्ररी देख्न सक्छ, तर खुट्टा छैन । अर्को मानिस चाहिँ एकदमै बलियो छ, तर आँखै देख्दैन । तिनीहरू दुबै एउटा पुल पारी जानु छ । आँखा देख्ने मानिसले अर्काे मानिसलाई भन्यो, ‘साथी तपाईं र म मिल्यौं भने हामी दुबै पुल पारी जान सक्छौं ।’ अर्कोले सोध्यो, ‘कसरी जान सक्छौं र तिम्रो खुट्टै छैन र हिड्न सक्दैनौं, र मेरो आँखा नै छैन, म देख्न सक्तिन ।’ आँखा देख्नेले भन्यो, ‘साथी म तपाईंको ढाडमा चढ्छु र म तपाईंलाई भन्नेछु तपाईं दायाँ टेक्नुहोस्, बाँया टेक्नुहोस् र तपार्इं सिधा जानुहोस् । म तपाईंलाई निर्देशन दिनेछु ।’ यसरी हामी दुबै मिल्यौं भने सजिलै पारी जान सक्छौं ।‘ त्यसपछि दुबै जना मिलेर सजिलै पुल पारी जान सके ।” यसमा के देखियो भने, कसैसँग बुद्घि छ, पैसा छैन, र कसैसँग पैसा छ तर बुद्घि छैन । यी दुबै मिल्यो भने सफल हुन सकिन्छ ।
विदेशमा जाने युवा भाइ बहिनीहरूलाई सजिलो त कहाँ छ र साहुको लात खानु परेको छ, मुक्का, सास्ती भोग्नु परेको छ । नाउँ मात्र विदेश तर नेपालीहरूलाई गाह्रो छ । नेपालीहरू विदेशमा गएर टाई लगाएर हाकिम भएर बस्ने १०० मा १ प्रतिशत पनि छैन । अरु सबै त निम्न वर्गकै कामहरू हो ।
वास्तवमा हाम्रो देशमा नै डलर छ तर हामीले मिहिनत गर्नु पर्छ । अहिले म डाक्टरले बाँच्दैन भनेका मानिसहरूलाई पनि उपचार गरेर बचाएको छु । पहिला म तिनीहरूलाई हेर्छु । त्यसपछि मैले उपचार गर्दा निको भएको छ । उपचारमा क्यान्सरको म उपचार गर्छु । किट्नीको ढुङ्गा झार्छु । नसा च्यापिएको १० दिनमा म निको पार्छु । हड्डी खिएको पनि म निको पार्छु । अहिले मैले डाइबेटिजको उपचार गर्दैछु । गएको वर्ष नेपालमा पेट्रोलको सर्टेज भएको बेला मैले पेट्रोल बनाएर पनि बेचें । त्यसले राम्ररी काम गरेको थियो । तर हामीहरूलाई सरकारबाट केही पनि सपोर्ट छैन । यदि सपोर्ट भएमा अझ पनि केही गरिन्थ्यो, तर पनि म आफ्नै सक्षमतामा बसिरहेको छु । तपाईंसँग यस्तो केही गर्ने उद्देश्य छ भने पनि मसँग आएर सिक्न सक्नु हुनेछ । प्रभुमा भएर म तपाईंलाई सहयोग गर्न सक्नेछु कि हामी त्यतिकै नबसौं । मिहिनेत चाहिँ गर्नु पर्छ । परमेश्वरले मानिसलाई यी हात खुट्टाहरू दिनु भएको छ । मागेर, चोरेर, लुटेर र ठगेर खानुहुँदैन । मिहिनेतको फल मिठो हुन्छ, किनकि परमेश्वरले पनि मिहिनेत गर्नेलाई बढो माया गर्नुहुन्छ ।

एम्बुलेन्स किन्नुभएको रहेछ, किन ?

यो वर्ष हामी मण्डलीकाहरूले एम्बुलेन्स किनेका छौं । यो एम्बुलेन्स किन्नको लागि कसरी उत्साहित र सफल भयौं भने, दुई वर्षअघि नेपालमा भुकम्प गएको थियो । त्यो समयमा मेरै मण्डलीका मानिसहरू सात तल्ले घरमा मरेका थिए । त्यो मरेको शरीरलाई काठमाडौंको ओम अस्पतालमा राखिएको थियो । डाक्टर भोला रिजालकहाँ गएर मैंलें भने कि मेरा मानिसका मरेको बडी मलाई लान दिनुहोस् कि यिनीहरूलाई महिना दिनसम्म नकुहिने गरी राख्ने चिज मसँग छ भनेर भन्दा उहाँ एकदमै खुशी भएर, “तपाईं जस्तो मानिसको खाँचो छ ।” भनि प्रहरीसँग मेरोे भेट गराइदिनु भयो र मैले तिनीहरूको आफन्तहरू नआएसम्म राखें ।
त्यस सन्दर्भमा मैले त्यो मृत शरीरलाई अस्पतालबाट लौजानको लागि एम्बुलेन्स खोजें, पाइन । गाडीहरूलाई भनें, मरेको मानिसलाई बोक्न मान्दैन र त्यो समयमा हामीलाई यो महशुस भयो कि यदि अहिले हामीसँग एउटा एम्बुलेन्स भइदिएको भए कति असल हुने थियो । त्यही समस्यालाई मध्ये नजर राखेर प्रार्थना गर्न थाल्यौं र अहिले हामीले एउटा एम्बुलेन्स किन्न सफल भएका छौं । यो जति पनि मैले गरेको सबै परमेश्वरको उपहार हो । मैले यो जति पनि बनाइरहेको छु, यसको पछाडि परमेश्वरको ठूलो हात छ । यदि मलाई परमेश्वरले साथ नदिने हो भने मैले सफलता पाउन सक्तिन । म त एउटा माध्यम मात्र हुँ र गर्नुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ, ।

 युवाहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

म सबै युवा भाइ बहिनीहरूलाई यो भन्न चाहन्छु कि हाम्रो नेपालमा नै प्रशस्त डलर छ, यता फर्कियो डलर, उता फर्कियो डलर, तर केही समय धैर्य गर्नु पर्छ । मिहिनेत गर्नुपर्छ । इच्छा गर्नुपर्छ र परमेश्वरसँग प्रार्थना गरेर माग्नु पनि पर्दछ । लूका १ः३७ लेखिएको छ, “परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन ।” मसँग तपाईं आउनुहोस् तपाईंलाई म परमेश्वरमा भएर सके जति र जाने जति सहयोग गर्नेछु । हामीहरू परमेश्वरको महिमा हुने कामको लागि अगाडि बढौं ।

Related Articles

One Comment

  1. जयमसीह सुबाश सर
    म बिदेश बाट फरकिय पछी तपाई संग भेट गर्छु सर ।
    यद्यपि नेपाल मा नै तपाईँ हिडेको बाटो मा साँच्चिकै डलर हुन्छ भने म त्यो दुख उठाउने छु । मैले बिदेश मा बेच्ने सरम पसिना नेपाल मा नै लगानी गर्नचाहन्छु । मलाई तपाईँको आवश्यकता छ जुन बाटो तपाईँ हिड्नु भयको छ त्यो मा हिड्न को लागि ।
    त्यो बाटो देखाउन को लागि ।
    जयमसिह ।

    दर्शन मन्दली church बेनी म्यग्दी ।

    हाल
    परदेशी भुमी = DUBAI

Back to top button