जीवन सुन्दर छ, यसलाई फुलिरहन दिनुपर्छ ।

– रेणु वाइबा

जीवन एक सुन्दर फूल जस्तै हो । मानिसले यसलाई विभिन्न शब्दहरूमा परिभाषित गर्ने गर्छन । यसलाई सधैं फुलिरहन दिनुपर्छ । जसरी एउटा फूलको फुल्ने समय र ओइलाउने समय हुन्छ । त्यसरी नै हामी मानिसको पनि जन्मिने एउटा समय र मर्ने एउटा समय हुन्छ, (उपदेशक ३ः२) । यो सबैलाई थाहा भएको कुरा हो, यदि हामी कसैलाई यसको बारेमा सोध्छौं भने उसले यसको उत्तर सजिलै दिन सक्छ । हामीलाई थाहा छ, हामी त्यत्तिकै सृजिएका छैनौं । परमेश्वरले हाम्रो निम्ति सुन्दर योजना बनाउनु भएको छ । उहाँले हामीमार्फत ती योजनाहरू पुरा गर्न चाहनुहुन्छ तर विशेषगरी हामी युवाहरू त्यसको ठिक विपरित छौं । परमेश्वरको योजनाको सट्टा आफ्नै योजना र इच्छामा धेरै पटक जिइराखेका हुन्छौं ।
समय गतिशील छ । कुन बेला, कस्तो ठाउँमा पुगेर कस्तो परिस्थिति र अवस्थाहरू आउँछ र त्यसको सामना गर्नुपर्ने हुन्छ, वास्तवमा त्यो कसैले थाहा छैन र थाहा गर्न सकिंदैन । “मानिसले आफ्नो भविष्यको विषयमा केही पत्ता लगाउन सकिदैन ।” (उपदेशक ७ः१४) । जिन्दगी जिउने दौडमा हामी जस्ता थुप्रै युवा पुस्ताहरू जानअञ्जानमा भविष्यका बारेमा धेरै सोच्छौं, सपनाहरू बुन्छौं । थोरै समयमा पनि धेरै ठूला कुराहरूको अपेक्षा गर्छाैं र त्यसलाई मात्र हामी पाउन चाहन्छौं । हामीलाई कतिपय अवस्थामा यो पनि थाहा हुँदैन कि हामीले लिएका निर्णय, हामी हिँड्ने बाटो र हामीले बुनेका सपनाहरू कत्तिको उचित र सहि छ । त्यसबाट आउने परिणामको वास्तै हुँदैन । हो, हामीले बुनेका कति सपनाहरू असल छन् र पूरा पनि हुन्छन् । तर सबै अवस्थाहरूमा सधैं एकैनास हुँदैन । जब हामीले सोचेको भन्दा भिन्न प्रकारको नतिजा आउँछ, तब हामी ती कुराहरूदेखि भाग्न खोज्छौं, आत्तिन्छौं र सबै कुरा गुमाए झैं गर्छाैं तर हाम्रो जिन्दगी यति मात्र हो र ? हाम्रो जीवनको कुनै उद्देश्य छैन ? पक्कै पनि होइन । सायद जीवनको अन्तिम घडीसम्म यो क्रम जारी नै रहन्छ ।
हामी दिनहुँ समाचार सुन्छौं, हेर्छाैं, पढ्छौं र सामाजिक संजालहरूमा देख्छौं कि दैनिक धेरै व्यक्तिहरूले आफ्नो प्राण गुमाइरहेका छन् । कतिले आफ्नो स्वार्थ पूर्तिका लागि त, कतिले सांसारिक माया प्रेमको बहानामा आफूलाई महान साबित गर्न त, कतिले अरुलाई दोषी देखाउन । आज धेरै युवाहरू सांसारिक प्रेमको झुटो आश्वासनभित्र जिइरहेका छन् । ठिक समयमा ठिक निर्णय लिन नसक्दा धेरैको सम्बन्धमा बाधाहरू सृजना भएका छन् । कतिको सम्बन्ध नै टुक्रिएको दैनिक सुन्न, देख्न पाइन्छ । त्यस्तै सम्बन्धमा स्थिरता नभएकै कारण धेरैले आत्महत्या गरेका छन् । हामी मध्ये धेरै जनाले आफ्नो जीवनलाई खेलौंना जस्तै ठान्दछन् । तपाईंलाई थाहा छ, हाम्रो आवेशको निर्णयले हामी त रहदैनौं तर हामीसँग सम्बन्धित व्यक्तिहरूले कस्तो परिस्थिति झेल्नु पर्ने हुन्छ, सोच्नु भएको छ ? कारण जे जस्तो भए पनि यो हाम्रो उचित निर्णय भने पक्कै होइन । हाम्रा निर्णयहरूले हामीसँग सम्बन्धित व्यक्तिहरूलाई कतिको असर गर्दैछ भन्ने कुरा प्राथमिकताका साथ सोच्नु जरुरी छ । हाम्रो जीवनमा आउने हरेक परिस्थितिलाई एउटा सिकाईको रुपमा लिनु अति आवश्यक छ । एउटा ढोका बन्द भए, परमेश्वरले हाम्रो निम्ति नयाँ ढोकाहरू खोलिदिनु हुन्छ । हाम्रो जीवनमा समस्या छ भने समाधान पनि त छ । समस्यादेखि डराएर भाग्ने होइन लडेर उठ्नुचाहिँ महत्वपूर्ण कुरा हो । हामीले सित्तैमा पाएको यो सुन्दर जीवनलाई किन अरुको हाँसोको पात्र बनाउने, यसलाई त जिउन दिनुपर्छ । हुन त प्रत्येकलाई आफ्नो जीवनको निर्णय लिने अधिकार छ, स्वतन्त्रता छ । आफ्नो इच्छा अनुसार निर्णय लिन सक्छ ।
हामीलाई थाहा छ, सबैलाई जीवन दिन येशू यस संसारमा आउनु भयो । “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।” (यूहन्ना ३ः१६) । तर हामी चाहिँ उहाँप्रति भन्दा पनि सांसारिक कुराहरूप्रति धेरै केन्द्रित छौं । हामी सृष्टिको उत्तम सृष्टि हौं भन्ने कुरा किन भुल्नु हुँदैन ? आफ्नो हुँदै नभएको कुरालाई आफ्नो सम्झेर किन जीवनलाई व्यर्थै खेर फाल्ने ? निर्णय पनि तपाईंकै हो । जीवन पनि तपाईंकै हो । आफ्नो जीवनलाई कुन बाटो भएर लैजाने हो, तपाईंकै हातमा छ । मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन । हो, हाम्रो निम्ति मौका घरिघरि आउँदैन । एकचोटी पाएको जीवनलाई सानोतिनो कुरामा अड्किएर खेर फाल्नु चाहिँ महामुर्खता हो । त्यसैले मौकालाई सहि सदुपयोग गरौं । हामी ख्रिस्टमा रहेर आफ्नो परिवार, समाज, समुदाय र आउने भावी पुस्ताको लागि राम्रो छाप छोडिराख्नु पर्छ । त्यति मात्र नभई ख्रिस्टको पाल तन्काउने काममा सधैं अग्रसर रहनु पर्छ ।

Related Articles

One Comment

Back to top button