कि म मेरो ह्दय परमेश्वरलाई दिनेछु कि म यहाँबाट कहिल्यै फर्केर जान्नँ

१८१८ मा चार्ल्स जी. फिन्ने नाम गरेका २६ वर्षको युवाले अमेरिकाको न्युयोर्क सहरमा अधिवक्ताको कार्यालयमा कानुनको विषयमा प्रशिक्षणकालको थालनी गरे । तिनले सीमित औपचारिक शिक्षा हासिल गरेको भए तापनि तिन वर्षकै छोटो अवधिमा तिनी लफर्ममा सहयोगी बने ।

फिन्नेले कानुनको विषयको पढाइलाई जारी राख्दा तिनले पाए कि तिनले पढेका लेखकहरूले बाइबलबाट उद्धृत गरेका रहेछन् । धर्मशास्त्राबारे आफ्नो अज्ञानतालाई महसुस गरी तिनी आफैले यसको अध्ययनको लागि कम्मर कसे ।

स्थानीय मण्डलीमा नयाँ पास्टरको आगमन भएपछि फिन्ने मण्डलीमा उपस्थित हुन थाले । तिनले प्रवचनहरूबाट सिक्नुको साटो तिनी सन्देहवादी बन्न पुगे । परमेश्वरको अस्तित्व, प्रार्थनाको जवाफजस्ता विषयहरूमा तिनमा आशङ्का थियो । तथापि तिनलाई सङ्गीत मन पर्थ्यो र तिनी गायन-झुण्डको निर्देशक बन्न तम्से । यति हुँदाहुँदै पनि तिनले नयाँ जन्मको महसुस गरिसकेका थिएनन् ।

१० अक्टोबर १८२१ को कुरो हो । फिन्ने आफ्नो आत्माबारे बेचैन भए । तिनी नजिकैको जङ्गलतर्फ लागे । तिनी परमेश्वरको खोजीमा थिए । तिनले घुँडा टेकी प्रार्थना गरे, “कि म मेरो ह्दय परमेश्वरलाई दिनेछु कि म यहाँबाट कहिल्यै फर्केर जान्नँ ।” परमेश्वरले तिनको दृढताको कदर गर्नुभयो । त्यहाँ तिनले नाटकीय परिवर्तनको महसुस गरे ।

भोलिपल्ट फिन्नेले आफ्नो वकिलको काम छाडे, सुसमाचार प्रचारको लागि । अब तिनी ख्रीष्टको पक्षमा वकालत गर्ने वकिल बने । तिनी जागृतिको लागि यति प्रभावशाली बने कि तिनलाई “आधुनिक जागृतिका पिता” भनिएको छ । ख्रिस्टाब्द १७९२ मा अमेरिकामा जन्मेका फिन्ने पास्टर, सुसमाचार प्रचारक, जागृतिका वक्तासाथै लेखक बने ।

फिन्ने सम्झनलायक वक्ता थिए, खास गरी जागृतिको लागि । तिनको जीवन कालमा तिनका प्रवचनहरूबाट प्रभावित भई पाँच लाख मानिसले प्रभु येशूलाई अङ्गाले भनी अनुमान गरिएको छ । तिनले पुल्पिटमा प्रचारकले भन्दा पनि वकिलले झैँ प्रचार गर्थे जुन पक्कै अनौठो शैली थियो । डी. एल. मुडी, बिल्ली सन्डेसाथै बिल्ली ग्राहमजस्ता पछिल्ला सुसमाचार प्रचारकहरूका लागि फिन्नेले मार्ग प्रशस्त गरेका थिए ।

Related Articles

Back to top button