येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ भन्ने मेरो विश्वास

जर्मनीबाट अमेरिका बसाइँ सरेको एउटा परिवारमा ११ अक्टोबर १८४४ मा एक जना बालकको जन्म भयो । हेन्‍री हेन्जको नाउँले चिनिने तिनले परिवारको आर्थिक सहायताको लागि किशोर अवस्थादेखि नै काम गर्न थाले । बगैँचामा तरकारीहरू उमारी तिनलाई बेचेर तिनले परिवारको निम्ति आम्दानी गर्थे । कलेजबाट दीक्षित भएपछि र बिहे गरेपछि तिनले एक जातको मुला बिक्री व्यवसाय गर्न थाले । तर देशको वित्तीय कम्पनी धराशायी भएपछि तिनको भर्खरै खोलिएको व्यवसाय टाट पल्टिन पुग्यो । कम्पनीको ऋण तिर्न कानुनी रूपमा तिनी जवाफदेही नभए तापनि तिनको नैतिक नियमले गर्दा तिनले सबै ऋण चुक्दा गरिदिए ।

१८६९ मा हेन्जले एच. जे. हेन्ज नामक कम्पनी स्थापना गरे जसले विभिन्न किसिमका खाद्य सामग्रीहरू उत्पादन गर्थ्यो । यही कम्पनीले तिनलाई अमेरिकाकै एक प्रमुख उद्यमीको रूपमा खडा गराइदियो । हाल ६ ओटै महादेशमा फैलिएको यस कम्पनीले हजारौँ किसिमका खाद्य पदार्थहरू उत्पादन गर्छ । २०० भन्दा बेसी मुलुक र क्षेत्रमा सक्रिय यस कम्पनीमा संसारभर ३२,००० भन्दा बेसी कामदार छन् । यस कम्पनीको कुल सम्पत्ति १२ खरबभन्दा बेसी नेपाली रुपियाँ रहेको छ ।

हेन्ज एक भक्त ख्रीष्टियान थिए । आफ्ना कर्मचारीहरूलाई तिनले भद्रतापूर्वक व्यवहार गर्थे । आफ्नो इच्छापत्रको आरम्भमा तिनले लेखेका छन्, “यस इच्छापत्रको आरम्भमा नै म सबैभन्दा महत्त्वपूर्ण कुरोको उल्लेख गर्न चाहन्छु र त्यो हो— येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ भन्ने मेरो विश्वास ।”

Related Articles

Back to top button