तीन दिने पत्रकारिता तालिम

ताप्लेजुङ÷जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गराई फुङिलन–२ एनइविसी चर्च ताप्लेजुङ्गमा असोज २२ देखि २४ गतेसम्म सूचना प्रविधि, उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।
नेपाल ख्रिष्टियन पत्रकार संघ ताप्लेजुङ्ग शाखाले आयोजना गरेको उक्त तालिममा जिल्लाका विभिन्न क्षेत्रका १५ जना सहभागिहरु रहेको तालिमका संयोजक दिलप्रकाश राईले जानकारी दिएका छन् । तीन दिनसम्म सञ्चालन भएको उक्त तालिमको समापन नेपाल पत्रकार महासंघ ताप्लेजुङ्ग शाखाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष प्रयास लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै लिम्बूले राज्यले पत्रकारिता क्षेत्रलाई चौथो अंगका रुपमा परिभाषा गरेपनि पत्रकारहरुलाई राज्यबाट कुनै पनि सेवा सुविधा नदिएका कारण जनताले पहिलो अंगका रुपमा स्वीकार गरेको बताए । समाजको विभाजित मानसिकतालाई जोड्न र सत्यतथ्य विषयवस्तुलाई बाहिर ल्याउन पत्रकारहरु संगठित बन्नु आजको आवश्यकता भएको बताउँदै उनले प्रशिक्षार्थी पत्रकारहरु नै भोलीका असल पत्रकार बन्नेमा विश्वस्त रहेको बताए ।
तालिमको समापनका अवसरमा फक्तालुङ एफएमका स्टेशन मेनेजर आलोक माबोहाङले पत्रकारिता गर्दा तालिम लिएर गर्नु राम्रो भएको भन्दै अबका पत्रकारहरुले जनताका खबरलाई प्राथमिकता दिनुपर्ने बताए । उनले शासक वर्गले राज्यका सम्पूर्ण अंग परिचालन गरि जनतालाई दमन गर्न थालेकोले पत्रकारहरुले सूचना प्रवाहसँगै दिशा निर्देशन गरी गरिखाने वर्गको पक्षमा आवाज उठाउन जोड दिनुपर्ने बताए । त्यसैगरी तालिममा ताप्लेजुङ्ग जिल्ला इसाई समाजका अध्यक्ष धनविक्रम इवारम लिम्बूले पत्रकारहरु समाजको ऐन भएकाले तालिम लिएर सो क्षेत्रमा प्रवेश गर्नु समाज विकासका लागि सहायक बन्ने बताए । उनले सञ्चार माध्यममा भेदभावपूर्ण समाचार नभई सन्तुलित समाचारमा जोड दिए ।
तीन दिन सम्म सञ्चालन भएको उक्त तालिममा महाप्रतिवाद राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक पत्रकार तारा लामगादेले सहजीकरण गरेका थिए । तालिममा सूचना प्रविधिको महत्व र प्रयोग, उद्घोषण कला, व्यक्तित्व तथा नेतृत्व विकास, समाचार लेखन तथा पत्रकारिता सम्बन्धि विभिन्न विषयमा सहजीकरण गरिएको लामगादेले जानकारी दिएका छन् । तालिममा विद्यार्थी, किसान, मजदुर, निर्माण व्यवसायी, शिक्षक, समाजिक अगुवा तथा सर्वसाधारणसमेतको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
तालिममा सहभागी कल्पना विष्टले तालिम लिएपश्चात् सञ्चार माध्यमका विषयमा आफ्नो आकर्षण बृद्धि हुनुका साथै अब आफुले फेला पारेका समाचार आमसञ्चार माध्यममा प्रश्तुत गर्न सक्ने बताइन् । त्यसैगरी अर्का सहभागि चिरिन्जीवि मोतेले पनि आफु लामो समयदेखि शिक्षण तथा फोटोग्राफी व्यवसायमा सम्लग्न भएपनि सूचना तथा सञ्चार सम्बन्धी अनविज्ञ रहेको महशुस भएको बताए । उनले अब के कस्ता घटनालाई समाचार बनाउने र समाचारमा के कस्ता विषयबस्तु, भाषा शैली र आवश्यक तत्वहरुको प्रयोग गर्ने भन्ने थाह भएकोले अव नागरिक स्तरबाट समेत पत्रकारिता गर्न सकिने बताए ।

Related Articles

Back to top button