“हे प्रभु, म तपाईंको काममा थकित छु, तर तपाईंको कामबाट भने होइनँ ।

जर्ज ह्वाइटफिल्ड ख्रिष्टाब्द १७१४ मा इङ्गल्यान्डमा जन्मेका थिए । इतिहासका महान्‌तम प्रचारकहरूको सूचीमा पर्छ, तिनको नाउँ । तिनले आफ्नो पुरै जीवन प्रचारको निम्ति अर्पण गरेका थिए । तिनले जीवनमा कम्तीमा पनि १८,००० पटक प्रचार गरे, लगभग एक करोड स्रोतागणलाई । तिनले नियमित रूपमा हरेक हप्ताक लगभग २० ओटा प्रवचन तोड्थे ।

प्रचारको जोसले ओतप्रोत ह्वाइटफिल्ड बारम्बार एटलान्टिक महासागर पार गरी सात पटक अमेरिका पुगे जुन बेला सामुद्रिक यात्रा जोखिमपूर्ण थियो । अमेरिका र इङ्गल्यान्डका अतिरिक्त तिनी पन्ध्र पटक स्कटल्यान्ड गए । प्रचारको लागि अन्य विभिन्न देशमा पुगेका ह्वाइटफिल्ड जोसिला प्रचारक थिए ।

ह्वाइटफिल्ड अठारौँ शताब्दीका अति नै प्रभावशाली इभान्जलिकल अगुवा थिए । तिनी अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध घुमन्ते प्रचारक थिए । स्रोताहरूले मन्धमुग्ध भई तिनका वचनहरू सुन्थे । पुल्पिट नपाए तापनि तिनी खुला ठाउँहरूमा प्रचार गर्थे । भनिन्छ, तिनको प्रवचनलाई एक माइल टाढासम्म सुन्न सकिन्थ्यो ।

२९ सेप्टोम्बर १७७९ मा अर्थात् आजकै दिन ह्वाइफिल्डले आफ्नो अन्तिम प्रवचन बाँडेका थिए । तिनी बिरामी थिए । तिनको अवस्था देखेर तिनका एक जना मित्रले तिनलाई ओछ्यानमा गएर विश्राम गर्न अनुरोध गरेका थिए, तर तिनको जवाफ थियो, “हे प्रभु, म तपाईंको काममा थकित छु, तर तपाईंको कामबाट भने होइनँ । मैले आफ्नो दौड सिद्ध्याएको छैनँ भने तपाईंको निम्ति एक पटक प्रचार गरी म घर फर्केर मर्न चाहन्छु ।”

भिड जम्मा भएको थियो । ह्वाइटफिल्डले २ कोरिन्थी १३:५ लाई उद्धृत गरे, “तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर ।” तिनले कामद्वारा स्वर्ग प्राप्त‍ गर्ने कोसिस गर्नुभन्दा बरु बालुवाको डोरी बनाई चन्द्रमामा उक्लने प्रयास गर्ने थिए भनी बताए । तिनले आफ्ना स्रोतागणलाई दुई घण्टासम्म मन्त्रमुग्ध पारे ।

त्यसको भोलिपल्ट ५५ वर्षको उमेरमा ह्वाइफिल्डको निधन भएको थियो र तिनको इच्छामुताबिक तिनले प्रचार गर्ने मण्डलीको पुल्पिटमुनि तिनको दफन गरिएको थियो ।

Related Articles

Back to top button