हे प्रभु, मलाई पनि एक दिन यत्तिकै ठुलो भिडलाई प्रचार गर्न सहायता गर्नुहोस्

तिनको जन्ममा तिनी मरे होलान् भनी ठानियो । त्यसैले धाईहरूको ध्यान आमापट्टि गयो जो बेसरी बिरामी परेकी थिइन् । तर ४० मिनेटपश्चात् शिशुको धड्कन फेला परेपछि तिनलाई जीवन दिने कोसिस गरियो । तिनी बाँच्न सफल भए ।

ती बच्चा अद्भूत देखा परे । तिन वर्षको उमेरमा तिनले बाइबलको एउटा पद कण्ठ पारे, “किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो” (लूका १९:१०) । आठ वर्षको उमेरमा तिनले बाइबललाई एक पटक पढेर सिद्धयाए र नौ वर्षको उमेरमा दुई पटक । चौध वर्षको उमेरसम्म आइपुग्दा तिनले जम्माजम्मी चौध पटक बाइबल धर्मशास्त्रलाई पढेर सिद्धयाइसकेका थिए ।

एक पटक परिचित प्रचारक डी. एल. मुडीले एउटा ठुलो भिडलाई प्रचार गरिरहँदा ती विलिक्षण केटोको मनमा यस्तो विचार आयो, “हे प्रभु, मलाई पनि एक दिन यत्तिकै ठुलो भिडलाई प्रचार गर्न सहायता गर्नुहोस् ।”

तर डोनाल्ड मुन्रोप नाउँ गरेका प्रचारकसँगको भेटघाटपछि ती प्रतिभावान् ठिटोलाई लाग्यो कि तिनले त नयाँ जन्म नै पाएका रहेनछन् । आगामी ६ महिनासम्म आफ्नो आत्मिक समस्यासित जुधेपछि १३ वर्षको उमेरमा तिनले येशूलाई प्रभु र मुक्तिदाताको रूपमा अङ्गाले । तिनको नाउँ हो— एच. ए. आइरनसाइड ।

१४ अक्टोबर १८७६ मा क्यानडामा जन्मेका आइरनसाइड परिचित बाइबल शिक्षक, प्रचारक, ईश्वरशास्त्री, पास्टरसाथै लेखक बने । तिनी बिसौँ शताब्दीका औधी लेख्ने लेखकमा गनिए । तिनले सयवटा भन्दा बेसी पुस्तक, पुस्तिकासाथै पर्चाहरू प्रकाशित गरे । तिनका कतिपय पुस्तकहरू अहिले पनि छापिन्छन् ।

Related Articles

Back to top button