उनले आफ्ना चित्रहरूमार्फत ख्रीष्टको प्रेम पनि बाँड्न थालिन्

आफ्नो शारीरिक अवस्था जस्तोसुकै कमजोर भए तापनि इच्छाशक्ति भएमा अद्भूत सफलता हात पार्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो, जोनी एरिक्सन टाडा ।

जोनीलाई अन्य खेलहरूका अतिरिक्त पौडी पनि मन पर्थ्यो । पौडी पोखरी गहिरो होला भन्ठानेर डुबुल्की मार्दा उनले कहिल्यै कल्पना नगरेको दुर्घटनाको शिकार बन्नुपर्योन जोनी । १७ वर्षको उमेरमा भएको उक्त दुर्घटनाले गर्दा उनको गर्धन भाँचियो । उनी पक्षाघाती भइन् । उनको शरीरको कुमदेखिको तलको भाग नचल्ने भयो । अनुगामी वर्षहरूमा जोनीले रिस र निराशालाई मात्रै आश्रय दिइनन्, तर आत्महत्या गर्ने सम्मको सोच बनाइन् ।

परमेश्वरले जोनीको जीवनमा त्यस्तो दुःख किन ल्याउनुभयो भनी उनले सोच्नै सकिनन् । तथापि जोनीको जीवनमा परमेश्वरले असाधारण योजना बुन्दै हुनुहुन्थ्यो । जोनीले आफ्नो दर्दनाक अवस्थाको लागि परमेश्वरलाई गनगन गर्नुको साटो उनले परमेश्वरसितको सम्बन्धलाई गहिरो बनाउँदै लगिन् । त्यस्तो असक्त अवस्थाबाट नै परमेश्वरले उनको जीवनमा काम गर्न चाहनुभएको थियो भनी जब उनले महसुस गर्न लागिन्, तब उनको सफलताको यात्राको थालनी भयो ।

उनले ब्रुस दाँतमा राखेर चित्र कोर्न थालिन् र आफूले बनाएका चित्रहरू बेच्न सुरु गरिन् । उनका चित्रहरूको माग बढ्न थाल्यो । उनले आफ्ना चित्रहरूमार्फत ख्रीष्टको प्रेम पनि बाँड्न थालिन् ।

जोनी चित्रकार मात्र रहिनन् । उनी वक्ता, अभिनेत्री र लेखिका पनि बनिन् । जोनीले ४८ ओटाभन्दा बेसी पुस्तक लेखेकी छन् र ती पुस्तकहरू अशक्तता र ख्रीष्टियमतको बारेमा छन् । विश्वका विभिन्न परिचित कलेजहरूबाट मानार्थी विद्यावारिधि प्राप्त गरेकी उनले असक्त मानिसहरूका लागि एउटा संस्था पनि खोलेकी छन् जुन संस्थाले असक्तहरूका आवश्यकतालाई पुरा गर्नुपर्छ भन्ने येशूको आज्ञालाई शिरोपर गर्ने प्रयत्न गर्दछ ।

विभिन्न पुरस्कारहरू जितेकी जोनी आज विश्वमा असक्तता भएका मानिसहरूका लागि मात्र नभएर सक्षमहरूका लागि पनि प्रेरणाकी स्रोत बनेकी छन् ।

१५ अक्टोबर १९४९ मा अमेरिकामा जन्मेकी जोनी आज ६९ औँ वर्षमा प्रवेश गर्दै छिन् ।

  • Kamal Adhikari

Related Articles

Back to top button