इतिहासमा आज : रामाबाई

अनन्त शास्त्री ब्राम्हण पुजारी थिए । विधुर भएपछि ४४ वर्षको उमेरमा तिनले ९ वर्षकी लक्ष्मीबाई नाउँ गरेकी केटीसित बिहे गरे । लक्ष्मीबाईले अनन्तको निम्ति छोरी जन्माई जसको नाउँ रामाबाई राखियो ।

रामाबाई भारतमा त्यस्तो समयमा बाँचेकी थिइन् जुन समयमा स्त्रीहरूलाई पढ्ने वा काम गर्ने अनुमति थिएन; तिनीहरू पुरुषहरूभन्दा नीच ठानिन्थे । पतिबाट बच्चाबच्ची जन्माउनुबाहेक समाजमा तिनीहरूको अन्य महत्त्वपूर्ण भूमिका हुँदैनथ्यो । बाल विवाह व्यापक थियो । कैयौँ स्त्रीहरू सानै उमेरमा विधवा बन्थे अनि परिवार र समाज दुवैबाट तिनीहरू हेलाका पात्र बन्थे । तिनीहरूलाई सरापको रूपमा हेरिन्थ्यो र तिनीहरू दर्दनाक जीवन जिउन बाध्य हुन्थे ।

तरै पनि पिता अनन्त शास्त्रीले छोरी रामाबाईलाई शिक्षित पार्ने साहस गरी उनलाई जङ्गलमा लगे; घर बनाए र आफूले जानेका कुराहरू सिकाए । १२ वर्षमा आइपुग्दा नै रामाबाईले संस्कृत भाषामा १८,००० ओटा श्लोक कण्ठस्थ पारिसकेकी थिइन् र उनी केही भाषाहरूमा पारङ्गतसमेत भइसकेकी थिइन् ।

तर यो सानो परिवार ऋणको उकालो मात्र चढ्दै थिएन, तर भोकमरीसित पनि जुध्दै थियो । फलतः पिता अनन्त शास्त्री भोकमरीको कारणले गर्दा मरे र उनकी पत्नीले पनि उही नमुनालाई पछ्याइन् ।

शान्तिको खोजीमा भौतारिएका रामाबाई कलकत्ता पुगिन् र त्यहाँका ब्राम्हणहरू उनको ज्ञानदेखि यति प्रभावित भए कि तिनीहरूले उनलाई “पण्डिता” को उपाधि दिए । कलकत्तामा नै उनले येशू ख्रीष्टको बारेमा जान्ने मौका पनि पाएकी थिइन् । पछि उनी इङ्गल्यान्ड र अमेरिका पुगिन् जहाँ उनले ख्रीष्टियमतका संस्थापक ख्रीष्टको बारेमा अझै गहन सत्यताहरू सिकिन् । उनले आफ्नो जीवन उहाँको पाउमा सुम्पिन् र बप्तिस्मा लिइन् ।

नयाँ जन्म पाएपछि रामाबाईले आफ्नो खुबी ख्रीष्टूको राज्य बिस्तारको निम्ति लगानी गर्न थालिन् । उनले मुक्ति मिसन नामक संस्था खोलिन् जुन मिसन खाँचोमा परेका विधवा, टुहुराटुहरी र दृष्टिविहीनहरूको निम्ति आजको दिनसम्म सक्रिय छ । उनको कामद्वारा सैयौँ मानिसले येशूलाई चिन्ने मौका मात्र पाएको छैन, तर हजारौँ भोकमरीबाट बचेका पनि छन् । आफ्ना चेलीबेटीहरूलाई शिक्षित पार्न उनले स्कुलहरू खोलिन् । त्यसपछि एउटा मण्डली स्थापित गरियो जसको जगमा यी हरफहरू लेखिएका थिएः प्रभुको स्तुति होस् । न त बलले न शक्तिले तर मेरो आत्माले सर्वशक्‍तिमान् परमप्रभु भन्नुसहुन्छ । त्यो चट्टान ख्रीष्ट हुनुहुन्थ्यो । २० सेप्टेम्बर १८९९ ।

१८५८ मा भारतमा जन्मेकी पण्डिता रामाबाई सामाजिक सुधारक, कवि, विद्वान्, स्त्रीहरूको स्वतन्त्रताको लागि हिमायतीसाथै शिक्षाका अगुवा हुन् । द हाई कास्ट हिन्दु वुमन नामक अङ्ग्रेजी भाषामा प्रकाशित उनको कृतिले व्यापक प्रचार-प्रसार पाएको थियो ।

उनी ख्रीष्टियान भएकीले उनको ख्यातिलाई दबाइएको भए तापनि भारतका नारीवादी स्त्रीहरूले बिसौँ शताब्दीको उत्तरार्द्धमा उनको काम र सामाजिक योगदानलाई चर्चामा ल्याएका थिए । ख्रिस्टाब्द १९८९ मा रामाबाईको सम्मानमा भारत सरकारले हुलाक टिकटसमेत निकालेको थियो ।

  • Kamal Adhikari with Reasons to Believe

Related Articles

Back to top button