मेरो मुख, नाकबाट रगत आयो र म बेहोश भएँ

म डि.आर. थुलुङ्ग हुँ । मेरो जन्मस्थान सोलुखुम्बुको सल्यान गाविस भएको हो । मेरो बाजेको नाम आइमान सिंह थुलुङ्ग हो भने बुबाको नाम लक्ष्मण राई थुलुङ्ग हो । बाजेको ६ जना छोरा र ६ जना छोरीहरू थिए । त्यो समय सोलुखुम्बुमा हैजाको महामारी फैलिएको थियो । हैजाको महामारीले गर्दा बाजेको ३ छोरा र ३ छोरीको मृत्यु हुन गयो साथै बाजेको पनि हैजाको कारणले मृत्यु भयो । ४ वर्षसम्म लगातार हैजाको महामारी खेप्नु परेकोले हाम्रो परिवारमा गरिबीको आमन्त्रण भयो  । त्यही गरिबीको कारण बुबा धन कमाउन जानुभएको थियो तर फर्केर आउनु भएन । म १७ महिनाको हँुदा बुबा जानु भएको थियो । २० वर्षको हुँदासम्म उहाँ फर्केर आउनु भएन ।
दयनीय अवस्थाको कारण आमा र श्रीमतीलाई छोडेर म पनि धन कमाउनको लागि मलाय(ठाउँको नाउँ) मा गएँ र आर्मीमा भर्ती भएँ । हाम्रो आर्थिक अवस्थामा सुधार आयो । लडाइँमा छदा अरुले मान्छे मार्थे भने मैले चाहिँ मारिन अरु नदेखेको जस्तो गर्थे । पछि नक्साहरू बनाउने काममा    राखिदिए ।
मलायमा नै हुँदा परमेश्वरले मलाई नेपालको लागि दर्शन देखाउनु भयो । स्वर्गमा हल्लाखल्ला भएको देखें र परमेश्वरलाई पनि देखें । परमेश्वरले मलाई स्वर्ग र नरक देखाउनुभयो । स्वर्ग रमाइलो थियो तर नरक डरलाग्दो थियो अनि परमेश्वरले मेरो पितापुर्खा त्यही नरकको आगोमा जलेर रोइरहेका देखाउनु भयो साथै पृथ्वीका राजा, जर्नेल, कर्णेल सबै नरकमा थिए । मैले जानीनजानी मलायमा लडाइँ भएको बखत देवीदेवतालाई पुकारेको थिए त्यही पुकार्ने क्रममा हे ईश्वर !, हे परमेश्वर ! भनेको थिए । परमेश्वरले हाम्रो पुकार सुन्नुहुदो रहेछ । दर्शनमा प्रभुले मलाई त फैजीमा नबस् म तँलाई तिनीहरू भन्दा ठूलो बनाउछु भनेर भन्नुभयो । प्रभुले मलाई नेपालको पूर्वदेखि पश्चिमको नक्सा देखाउनुभयो र नेपालमा तिमीले काम गर्नुपर्छ भन्नुभयो । दर्शन देखेपछि म दुई तीन घण्टासम्म केही बोल्न सकिन । साथीहरूले के भयो भनेर सोध्दा पनि बोल्न सकिन वाक्य नै फुटेन । वाक्य फुट्दा परमेश्वर हुनुहुँदोरहेछ, परमेश्वरलाई मैले देखें र परमेश्वरले मलाई घर जा भन्नुभएको छ भने दर्शन देखेकोले न डियुटी गर्न मन लाग्छ न भोक लाग्छ खाली परमेश्वर हुनुहुँदोरैछ ।
मैले परमेश्वर देखे र परमेश्वरले मलाई नेपालमा जा भन्नुभएको छ र म नेपाल जान्छु भन्दा मेरो साथीहरूले मलाई परमेश्वर भनेर जिस्काउन थाले । मेरो नाम नै परमेश्वर    राखे । बोलाउँदा पनि अ परमेश्वर यता आइजा भनेर हाकिमले बोलाउने गर्दथे । मैले स्वर्गको दर्शन देखेपछि केही गर्न मन लाग्न छोड्यो त्यहाँका अफिसरहरूले मलाई कि डियुटी गर, यदि बिरामी भए, अस्पताल जा भने । उनीहरूले गाली गर्दा पनि मलाई नराम्रो लागेन । पछि मलाई अस्पताल लगे तर मेरो सबै कुरा ठीक छ भनेर डाक्टरले भने मैले डाक्टरलाई भने परमेश्वर हुनुहँुदोरैछ र मैले परमेश्वरलाई देखे र परमेश्वरले मलाई घर जा भन्नुभएको छ । स्वास्थ्य स्थिति ठीक भएकोले मानसिक अस्पतालमा पनि मलाई लगे । केही समयसम्म त्यही अस्पतालमा बसे र डाक्टरलाई भने, “मलाई डिस्टचार्ज गरिदिनु । म घर जान्छु ।” तर त्यहाँका अफिसरले मलायको लडाइँ नसकि जान पाइदैन भने म फेरी अर्को अफिसरकोमा गएँ । त्यो अफिसरले १० वर्ष नभएसम्म जान पाउदैन भने त्यो बेला जम्मा ४ वर्ष मात्र भएको     थियो । अस्पतालबाट मलाई अर्को ठाँउमा पठाइदियो । त्यो ठाँउमा खानपानको व्यवस्था राम्रो थियो र म लडाइँमा जानु परेन ।
परमेश्वरको योजना पनि मेरो जीवन रहेको थाहा गरें । त्यस ठाँउमा मैले पढ्ने अवसर पाएँ । त्यस ठाँउमा ६ वर्ष बिताए । त्यहाँ परमेश्वरको कामको निम्ति मलाई तयार गरिरहनु भएको थियो । ६ वर्ष वितेको मलाई थाहा भएन । १० वर्षको अवधि पूरा भयो अनि मैले त्यहाँका अफिसरसँग अब म नेपाल जान्छु भने उनीहरूले जानको लागि स्वीकृति दिए । जब म नेपाल आएँ ।
नेपाल आएर आफ्नै गाँउमा पुगे । नेपालमा शिक्षाको अवसरबाट बञ्चित नेपाली जनताहरू अन्धकारमा थिए । अन्धकारबाट उज्यालोतर्फ ल्याउनको पहिलो प्राथमिक कुरा शिक्षा नै हो भनेर स्कूल खोल्नको लागि चन्दा उठाउने लगाएँ र स्कुल स्थापना पनि भयो तर स्कुलमा पढाउन लागि शिक्षकको अभाव भयो । आफैंले पढाउनु पर्ने अवस्थाको आयो ।
यो कुरा २०१६ सालको हो । विश्वश्वर प्रसाद कोइराला प्रधानमन्त्री थिए । स्कुल खोलेको कारणले मलाई जेलमा हालें र तीन दिनपछि उर्जी आयो कि यसले जे काम सिकेर आएको छ, त्यही गर्न लगानु । फेरी  २०१६ साल माघ १ गते मलाई दोस्रो पल्ट जेलमा लगे र त्यस समयका मन्त्रीमण्डललाई नै जेल चलानी गरेका थिए । त्यो समयमा पञ्चायत व्यवस्था लागू भएको थियो । म राजनीतिकमा नलागेको कारण मलाई केही दिनमा छोडिदिए । त्यसपछि मैले विभिन्न ठाँउमा काम गरें तर प्रभुले मलाई नगर  भन्नुभयो । त्यो समयमा चुनाव हुन लागेको थियो र चुनावमा भोट हाल्न गएको उल्टै मलाई फूलमाला र अबिरले रंगाए । राती घर ढिलो गएँ र श्रीमतीसँग झगडा पऱ्यो यस्तो श्रीमतीसँग के बस्नु भने म धरानतिर झरें ।
धरानमा ब्रिटिस क्याम्पमा नक्साको काम गर्न थाले तर प्रभु त्यो काम पनि नगर भन्नुभयो र मैले छोडें । ब्रिटिस क्याम्प आउने मानिसहरूलाई सुसमाचार प्रचार गरे प्रचार गरेको कारणले धरानका मानिसहरूले ब्रिटिसहरू विरुद्ध नारा लगाए । ब्रिटिस चोर देश छोड र त्यो कारणले केही ब्रिटिसहरू धरान छोडेर पोखरा गएँ । मैले प्रचार गरेको कारणले उनीहरू जानु पऱ्यो ।
२०२४ सालमा फेरी मलाई दिक्तेल जिल्लाको असिरखर्क भन्ने ठाँउमा ७ दिनसम्म कढी लगाएर पाता फर्काएर राखें । ७ दिनपछि शेर बहादुर राईले भने, “यसले भनेको नमाने मृत्युदण्ड दिनु र देशनिकाल गरी दिनु ।” उनीहरूले मलाई उधो मुण्टो लगाएर बाँधे र हरियो बाँसको लठीले हिर्काए र मेरो मुख, नाकबाट रगत आयो र म बेहोश भएँ । बेहोसी अवस्थामा म स्वर्गमा पुगेछु  । येशू ख्रीष्टको काखमा थपक्क बसे र प्रभुले मलाई सुससुमाउनुभयो र संसार यस्तै हो भनेर भन्नुभयो । काखमा बस्न अझ खोज्दै थिए । प्रभुले एकछिन भनेर हराउनु भयो र मेरो होश आएँ । १२ घण्टापछि होश आएको रैछ । होशमा आएँ पछि म धेरै    रोएँ । प्रभुको माया सम्झेर म रोएको थिएँ तर त्यहाँका सिपाहीहरूले दुखाईको कारणले रोएको भनेर सम्झे । तीन महिनासम्म मेरो डामहरू निको भएन ।
एक हप्ता भएपछि म सोलुखुम्बु जान्छु भनेर भने र उनीहरुले ६ जना पुलिस र एक जना हलदार टंकबहादुर राईको साथमा लगे । उकाली ओराली गर्ने क्रममा म यिनीहरूलाई सुसमचार सुनाउछु भन्ने मनमा लाग्यो र मैले भने यो संसार यस्तै हो, पापी संसारमा यस्तै हुन्छ भन्ने कुरा सुनाएँ । परमेश्वरको बारेमा पनि बताएँ ।
फेरी टंक बहादुरले रिपोट दियो ओखलढुगामा शेरबहादुरले पक्रेको मान्छे के कस्तो हो भनेर उर्जी गऱ्यो र त्यहाँको अफिसरले साल, नाले बाँधेर जेलमा हाल्यो । ३२ दिनसम्म त्यही राखें । सि. डि.ओ. अफिसमा लगे र न्यायधीश पनि थिए । तिनीहरू मेरै साथीहरू थिए । मेरो बाइबल र खैजडी त त्यो न्यायधिशसँग थियो । न्यायधीशले मलाई सोध्यो, “यो बाइबल पढिसक्यो” मैले भने पढिसकें र पढ्दै पनि छु भने । न्यायधीशले भन्यो विश्वको ४ वेद मध्ये यो पनि एक हो बाइबलको अध्ययन गऱ्यो भने ज्ञान पाइन्छ । यसलाई गएर प्रचार गर भनेर न्यायधीशले भर्‍यो ।
दिक्तेलको लामिडाँडा जान्छु र सिपाहीहरूलाई त्यहाँसम्म छोड्नको लागि खटाइदिए । हामीहरू गयौं र एक दिनको यात्रापछि सिपाहीहरुलाई जाआंै भने र उनीहरु    फर्के । ति तिनै प्रहरी हुन पहिला कुटे र अहिले पुर्‍याउन आएका थिए । पहिला मलाई कुटेको ठाँउका म गएँ । त्यहाँको प्रहरी चौकीमा गएर भने तपाईंहरूले मलाई कुट्नभयो तर म    बाँचे । त्यसपछि शेर बहादुरको घरमा गए, शेर बहादुर मलाई देखेर घरबाट भाग्यो र उसको जहानलाई भने तिम्रो श्रीमानले मलाई धेरै नराम्री कुटेको थियो तर म बाँचे । शेर बहादुरको श्रीमती र छोराले प्रभुलाई पाइसकेकारैछन् ।
त्यपछि म उदयपुरको वषा भन्ने ठाँउमा गएर प्रचार गर्न लागेको थिए ३०० देखि ४०० जना मान्छेले मलाई    कुटें । त्यही वेहोस भएछु । राती विश्वासीहरूले आएर मलाई लगेछन् । मैले इसाई धर्म प्रचार गरे भनेर उनीहरुले मलाई कुटें । त्यस ठाँउमा अहिले ६० देखि ७० मण्डली रहेको छ । इसाईहरूलाई सताउनेहरू नाश भएर जान्छ भन्ने सत्य रहेछ मलाई कुटुनेहरू सबै जना मरिसकेका छन् । यशैया ४१: १० देखि १३ ले भने अनुसार भयो । त्यस समयमा धेरैले प्रभुलाई ग्रहण गरे र वप्तिस्मा पनि लिए ।
पहिलेको र अहिलेको ख्रीष्टियनहरूमा घेरै नै अन्तर पाएको  छु । पहिलेको ख्रीष्टियनहरूमा एकता थियो र एकअर्कामा माया, प्रेम सद्भाव थियो तर अहिलेको ख्रीष्टियनहरूमा ती सबै कुराहरू भेटिदैन । आत्मिक क्षेत्रमा पनि अहिलेका ख्रीष्टियनहरू कमजोर भएका छन् । पहिले इसाईहरू भेटघाट हँुदा पनि रातभरी प्रार्थना गरेर समय बिताउथे भने अहिले त्यस्तो इसाईहरूमा   पाइदैंन । पहिले हाम्रो पालामा जम्मा तीन वटा बाइबल     थियो । एउटा मसँग, पास्टर रोर्बट कार्थकसँग र पोखराको पास्टरसँग थियो तर अहिले बाइबल सजिलै प्राप्त हुन्छ । मैलै २०२२, २०२३ सालमा दर्शन पाँए । २०२४ सालमा मैले प्रचारको काम सुरू गरें र २०२५ सालमा धरान पवित्र मण्डली स्थापना गरें ।
अन्त्यमा
म कुनै मण्डलीमा छैन, म स्वतन्त्र हो । विदेशीहरूले मलाई तलब दिन खोज्थे तर मैले लिइन । मेरो उद्देश्य भनेका ७५ जिल्लामा गएर प्रचार गर्ने रहेको छ । पूर्वतिर प्राय: ठाँउमा प्रचार गरिसके तर पश्चिममा जान बाँकी छ त्यस क्षेत्रको लागि प्रार्थना गदैछु । ख्रीष्टियनहरूमा एकता हुनुपर्छ ।

Related Articles

Back to top button