कानुनको लक्ष्य स्वतन्त्रतालाई निर्मूलन गर्नु वा नियन्त्रण गर्नु होइन, तर यसको संरक्षण गर्नु र बिस्तार गर्नु हो

सत्रौँ र अठारौँ शताब्दीमा युरोपेली इतिहासमा देखा परेको दर्शनशास्त्रसम्बन्धी अभियानलाई प्रबोधन काल भनेर चिनिन्छ जुन कालका एक सर्वाधिक प्रभावशाली विचारक थिए, जोन लक । तिनी “उदारवादका पिता” को रूपमा पनि व्यापक परिचित छन् । उदारवाद स्वतन्त्रता र समानताको अवधारणामा स्थापित एउटा राजनीतिक दर्शनशास्त्र हो जसले वाक्स्वतन्त्रता, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, खुला बजार, नागरिक हक, लोकतान्त्रिक समाज, धर्म निरपेक्ष सरकार, लैङ्‌गिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको अवधारणाको समर्थन गर्छ ।

१६३२ मा इङ्गल्यान्डमा जन्मेका जोनका रचनाहरूले ज्ञानशास्त्र र राजनीतिक दर्शनशास्त्रको विकासमा उल्लेखनीय प्रभाव पारे । तिनको धार्मिक विश्वासबाट तिनको राजनीतिक अवधारणाको उद्‌भव भएको थियो भनी विचार गर्ने विद्वान्‌हरू पनि प्रशस्त छन् । तिनले बाइबलको परमेश्वरीय प्रेरणामाथि विश्वास गर्थे । आश्चर्यकर्महरू बाइबलीय सन्देशका ईश्वरीय स्वभावका प्रमाणहरू थिए । बाइबलको सम्पूर्ण विषयवस्तुसित मानवीय तर्क मेल खान्छ भनी तिनी विश्वस्त थिए । तिनी धार्मिक सहिष्णुताको पक्षपोषक भए तापनि नास्तिकवादप्रति असहिष्णु थिए किनकि परमेश्वरको अस्तित्वको इन्कारले सामाजिक अमन चैनलाई खलबल्याउँछ भन्ने तिनको तर्क रहेको थियो ।

जोनको राजनीतिक विचारधारा प्रोटेस्टेन्ट ख्रीष्टियान पूर्वानुमानमा आधारित थियो । मानिसबारे तिनको धारणा सष्टिमाथिको विश्वासद्वारा आरम्भ भएको थियो । हामी उहाँका हातका सिप हौँ । तिनको राजनीतिक सिद्धान्तबारे आधारभूत अवधारणा सृष्टि (उत्पत्ति १-२), दसाज्ञा (प्रस्थान २०), स्वर्णीम नियम (मत्ती ७:१२), येशूका शिक्षाहरूसाथै पावलीय पत्रहरूजस्ता बाइबलीय पाठ्यांशहरूबाट नै प्रादुर्भाव भएको थियो । तिनकै अवधारणालाई पछ्याउँदै अमेरिकाको स्वतन्त्रताको घोषणापत्रले मानव अधिकारवादलाई स्थापित गरेको थियो । हामी सबै समान रूपमा सृजित छौँ, सृष्टिकर्ताले सबै मानिसलाई जीवन, स्वतन्त्रता र खुसीको खोजीजस्ता अधिकारहरू दिनुभएको छ ।

७२ वर्षको उमेरमा २८ अक्टोबर १७०४ मा निधन भएका यी ब्रिटिस दार्शनिक लकले कानुनले स्वतन्त्रताप्रति कस्तो दृष्टिकोण बनाउनुपर्छ भनी सठिक ढङ्गमा व्यक्त गरेका छन्, “कानुनको लक्ष्य स्वतन्त्रतालाई निर्मूलन गर्नु वा नियन्त्रण गर्नु होइन, तर यसको संरक्षण गर्नु र बिस्तार गर्नु हो ।”

Kamal Adhikari

Related Articles

Back to top button