परमेश्वरको प्रतिज्ञाको समाप्तिको सुस्पष्ट प्रमाण पनि हो ।

इस्राएलले मसीहलाई इन्कार गरेपछि ख्रिस्टाब्द ७० मा पुनर्निर्मित यरूशलेमको मन्दिर नष्ट गरियो अनि इस्राएलीहरू चारैतिर तितरबितर भए । पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बिचमा भएको इस्राएलको तितरबितरले झण्डै १,९०० वर्षसम्म निरन्तरता पायो ।

अब्राहामका सन्तानहरू विभिन्न जातिका बिचमा छरपष्ट भएको भए तापनि परमेश्वरको वचन आश्चर्यमय ढङ्गमा पुरा भएको छ किनकि इस्राएल जाति सुरक्षित छ । सूर्य र चन्द्रमा रहुन्जेल इस्राएल जाति रहनेछ भनी यर्मियाले भविष्यवाणी गरेका थिए (यर्मिया ३१:३५-३६) । इस्राएल यसरी बचाइएको छ कि त्यसको सट्टामा अर्को जाति भइदिएको भए त्यो उहिले नै इतिहासमा बिलाउने थियो ।

मध्य पूर्वमा इस्राएलको नयाँ राज्यको अवधारणालाई १८९७ मा थियोडोर हर्जले अगाडि ल्याए । २ नोभेम्बर १९१७ को बालफोर घोषणापत्रले यस अभियानलाई उत्साह दियो । इस्राएलीहरूलाई तिनीहरूको पैतृक भूमि दिन ब्रिटिस सरकार पनि सकारात्मक थियो भनी यस घोषणापत्रले अङ्कित गर्छ । १९३९ मा दोस्रो विश्वयुद्धको आरम्भ हुँदा यस पवित्र भूमिमा इस्राएलीहरूको सङ्ख्या लगभग ४,००,००० पुगिसकेको थियो र फेरि यहूदी राज्य हुनुपर्छ भन्ने विचारलाई बिउँताइयो । मनग्गे धोका र वैपरित्यका बाबजुत पनि १९४८ मा इस्राएलीहरूले नयाँ राज्य पाएरै छाडे ।

बाइबलीय भविष्यवाणीको दृष्टिकोणबाट नयाँ इस्राएल राज्यको गठन अत्यधिक महत्त्वपूर्ण छ । इस्राएलीहरू संसारको चारै कुनामा छरपष्ट भए तापनि परमेश्वरले तिनीहरूलाई पुन: आफ्नो मातृभूमिमा फर्काएर ल्याउनुहुने थियो भनी बारम्बार भविष्यवणी गरियो । इजकिएलले लेखे, “तब तिनीहरूले जान्नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्वर हुँ, किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासित गरे तापनि तिनीहरूमध्ये कोही पनि नछुट्नेगरी म नै तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा भेला गराउनेछु” (इजकिएल ३९:२८) ।

इस्राएलको पुन: प्रतिष्ठापन बाइबलमा भएका अनगिन्ती भविष्यवाणीहरूमध्ये वर्तमान समयमा पुरा भएको एउटा आश्चर्यमय भविष्यवाणी हो । केही शताब्दीको लागि अस्तित्वविहीन भई पुन: संसारको इतिहासमा राजनीतिक अस्तित्वको रूपमा आफैलाई स्थापित गराउने एउटै मात्र प्राचीन राष्ट्रको रूपमा इस्राएलले आफैलाई चिनाएको छ । वर्तमान समयमा भएको इस्राएलको पुनस्थापना इतिहासमा परमेश्वरको हात छ भन्ने प्रस्ट सङ्केत मात्र नभई इस्राएलीहरूलाई उहाँले गर्नुभएका अनगिन्ती प्रतिज्ञाबमोजिम कुनै पनि हालतमा उहाँले तिनीहरूलाई त्याग्नुहुनेछैन भन्ने परमेश्वरको प्रतिज्ञाको समाप्तिको सुस्पष्ट प्रमाण पनि हो ।

Related Articles

Back to top button