विश्वासको खातिर तिनले आफ्नो जीवनका पछिल्ला बिस वर्ष झ्यालखानामा बिताए

वाचम्यान नी प्रचारकसाथै लेखक थिए । आफ्नो तिस वर्षे सेवा अवधिमा तिनले थुप्रै कृतिहरू प्रकाशित गरे । तिनले चीनका विभिन्न भूभागमा मण्डलीहरू स्थापना गरे; बाइबलका विद्यार्थीहरू र मण्डलीका सेवकहरूलाई तालिम दिन तिनले मनग्गे सम्मेलनहरू आयोजना गरे । साम्यवादी क्रान्तिपश्चात् तिनी सताइए र ख्रीष्टियान विश्वासको खातिर तिनले आफ्नो जीवनका पछिल्ला बिस वर्ष झ्यालखानामा बिताए ।

४ नोभेम्बर १९०३ मा वाचम्यान नीको जन्म चीनमा भएको थियो, ख्रीष्टियान परिवारमा । नीमा खास गरी दुई ओटा मुख्य खुबी थिए: प्रचार गर्ने र लेख्ने ।

ख्रिस्टाब्द १९२२ मा तिनले फुजहु भन्ने ठाउँमा मण्डलीको भेटघाट राखे जसलाई तिनले स्थानीय मण्डलीको थालनीको रूपमा हेरे । नीको रणनीतिमा विश्वासीहरूको सङ्ख्या बढ्दै गइरहेको थियो । तिनकै नेतृत्वमा विभिन्न एल्डरहरूले मण्डलीलाई हाँक्ने गर्थे । मण्डलीमा सेवा गर्ने थुप्रै एल्डरहरू थिए र तिनीहरू नयाँ मण्डलीहरू स्थापना गर्ने उद्देश्यले सुसमाचार नपुगेका ठाउँहरूमा धाउँथे । १९४० को दसकमा आइपुग्दा ४७० ओटा सङ्गतिको स्थापना भइसकेको थियो जसलाई “सानो बगाल” उपनाम दिइएको थियो ।

ख्रिस्टाब्द १९४९ मा कम्युनिस्ट पार्टीले राष्ट्रवादी सरकारलाई सत्ताच्यूत गरेपछि तिनीहरूले गणतान्त्रिक चीनको स्थापना गरे । नयाँ सरकारले ख्रीष्टियान मण्डलीहरूसित सहकार्य गरेर राज्यलाई अगाडि बढाउँथ्यो भन्ने अपेक्षा गरिएको भए तापनि त्यसको २ वर्षपश्चात् परिस्थिति फेरियो । साम्यवादीहरूले चीनका मण्डलीहरूलाई नियन्त्रणमा लिने योजना सार्वजनिक गरियो । सरकारको तिन खम्बे नीतिअनुसार मण्डलीले आफ्नो प्रशासन आफै चलाउनुपर्ने, आफै सहयोग जुटाउनुपर्ने र आफै फैलनुपर्ने भयो । ख्रीष्टियान स्कुल, अस्पतालसाथै अन्य सम्पत्तिहरू जफ्त गरिए ।

यस्तो अवस्थामा “सानो बगाल” साथै अन्य ख्रीष्टियान संस्थाहरूले सरकारको खरो विरोध गरे । परिणामत: हजारौँलाई मारियो या झ्यालखानामा थुनियो । साम्यवादीहरूको रेखदेखमा मात्रै मण्डलीका सङ्गतिहरू चल्न पाउने भए । अगुवाहरूमाथि आरोप लगाइयो । वाचम्यान नी पनि यसमा मुछिए । फलत: १९५२ मा तिनलाई गिरफ्तार गरियो । तिनको विरुद्धमा थुप्रै झुटा अभियोगहरू तेर्साइए । परिणाम स्वरूप तिनले जम्माजम्मी २० वर्षको जेल जीवन बिताउनुपर्योर । ख्रीष्टको प्रचार नगरेको खण्डमा तिनलाई रिहा गर्ने प्रस्ताव गरिएको भए तापनि तिनले मानेनन् । अन्तत: ६८ वर्षको उमेरमा तिनी यस धरतीबाट बिदा भई प्रभुको अनन्त घरमा प्रस्थान गरे ।

आफ्नो सहादतभन्दा केही समयअगि नीले लेखेका थिए, “ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ जो पापीहरूको छुटकाराको लागि मर्नुभयो र तिन दिनपछि पुनरुत्थान हुनुभयो । यो विश्वमा भएको महान्‌तम सत्यता हो । ख्रीष्टमाथि मेरो विश्वासको कारणले गर्दा म मर्छु ।”

  • Kamal Adhikari

Related Articles

Back to top button