तिमीले मागेर नै खानु पर्छ , किनकी न तिम्रो गला छ न कला नै छ

“अपाङ्ग भएकोले नै समाजले मलाई हेपाह दृष्टिकोणले हेर्थे र भन्थे कि, तिमीले मागेर नै खानु पर्छ , किनकी न तिम्रो गला छ न कला नै छ ।”

सबैलाई येशू ख्रीष्टको नाऊमा जयमसिह | परमेश्वरले तपाईहरु सबैलाई आशिष दिनुभएको होस् | मेरो नाम रोमान्स थपलीया | आज म मेरो जीवन गवाहीलाई बाड्न गइ रहेको छु | मैले प्रभुलाई पाए देखि लिएर मेरो विबाह सम्मको गवाही आज तपाईहरु संग बाड्न जादैछु | किनकि म ठान्दछु कि जीवन गवाही अरुको निम्ति बन्न सक्छ आत्मिक दबाई |

मेरो नाम रोमान्स थपलीया हो | हाल म पोखरामा टुरिष्ट बस पार्कमा रहेको न्यु लाईफ एपोस्टोलिक चर्चमा पुरा समय सेवकाई गर्दैछु | मेरो शारीरिक दुर्बलताको कारण पनि म जुन काम गर्दैछु त्यसमा म अति नै खुशी छु र परमेश्वरमा धेरै भन्दा धेरै धन्यबादी नै छु | यो गवाही द्वारा धेरैले उत्साह पाउन् भन्ने म चाहन्छु त्यसैले म बाड्न चाहन्छु | बरु अलि लामो छ त्यसैले सम्भब भए समय मिलाएर अवश्य पढ्नुहोस है त ……….

मेरो जन्म दिल्लीमा भएको हो | मेरो आमा बुवा भन्नु हुन्छ कि म जन्मिदा राम्रो जन्मिएको थिए | ६ महिना सम्म म राम्रो थिए,स्वास्थ्या थिए | ६ महिनाको उमेरमा नै डेढ दुई वर्षको जस्तो थीए रे | आमा बुवाले मलाई भन्नु हुन्थ्यो कि बाबु तिमी ६ महिनाको हुदा नै भित्ता समातेर हिड्न सक्ने भएका थिएउ | त्यति बलियो तिमी थिएउ | तर जब म ७ महिनाको भए तब अचानक मलाई ज्वारो आयो | ज्वारोले गर्दा म तातिएकोले मेरो आमा अत्तालिनुभायो र ऊहाले मलाई मेडिकल लिएर जानुभयो | त्यति बेला मेरो आमा १८ वर्षको हुनुहुन्थ्यो | मेरो आमा बाबा पहाड तेह्रथुम बाट ईन्डिया जानुभएको थियो | मेरो आमालाई हिन्दि त्यति राम्रो संग आउदैन थियो | मलाई मेडिकलमा जचाउन लानुभयो | मेरो अवस्था देखेर डाक्टर पनि अत्तालिएको रे | वास्तविक कारण थाहा छैन त्यो परमेश्वर जान्नु हुन्छ तर मलाई त्यस बखत त्यो डाक्टरले लगाइदिएको सुई गलत परेछ | घरमा कसैलाई थाहा छैन | त्यसपछि आमाले मलाई घर ल्याउनु भयो | आमाले म अब निको हुन्छु भन्ने सोच्नुभएछ | त्यसपछि आमा घरधन्दामा ब्यस्था हुन थाल्नुभयो | एक जना अंकल हुनुन्थ्यो जसले मलाई माया गरिकन खेलाउनुहुन्थ्यो | ऊहाले मेरो हात खुट्टामा कौकुत्ति लगाईदिनुहुन्थ्यो र म कौकुत्ति लागेर आफ्नो हातखुट्टा यताउता चलाउने गर्दथे रे | तर त्यस दिन अंकलले मेरो हातखुट्टामा कौकुत्ति लगाउनुहुदा मेरो हात खुट्टा , वा शरिरको कुनै अंग चलेन | त्यसपछि अंकले आत्तिएर आमालाई भन्नुभयो हेर्नुहोस त भाउजु तपाईको छोराको हातखुट्टा केहि चल्दैन त | मेरो आमाले पनि मलाई चेक गर्नुभयो | चेक गर्दा नभन्दै मेरो हातखुट्टा कुनै पनि चलेन | त्यसपछि मेरो आमा आत्तिनुभायो | मेरो त हातखुट्टा मात्र नभई पुरै शरिर नै चल्न बन्द भएको थियो | त्यसपछि फेरी चेकअपको लागि मलाई लादा मलाई अगिल्लो पटक लगाईको सुई गलत भएको रिपोर्ट आयो | यसरि ७ महिनाको उमेरमा नै मेरो शरिर चल्न बन्द भएको थियो |

मेरो आमा बाबाले पाहाड बाट ल्य्याउनुभएको गरगहनाहरु सबै बेच्नुभयो | मेरो उपचारको निम्ति थुप्रै पैसा सकाउनुभयो | मलाई एउटा मेडिकलमा साढे तिना महिना राखियो | त्याहाको उपचार पछी बल्ल मेरो दुई हातहरु चल्न थाले | बिस्तारै मेरो कम्बर देखि माथिको भागहरु चल्न थाल्यो | तर मेरो खुट्टा चलेन | र आजको दिन सम्म मेरो खुट्टा अचल नै छ | मेरो खुट्टामा ताकत छैन सायद मासु कम भएकोले हुन सक्छ | म अहिले पनि आफ्नो खुट्टामा उब्भिदा खुट्टा एकदम काम्दछ |

म परिवारमा जेठो छोरो हु | म भन्दा मुनि ४ जना बहिनीहरु र एक जना भाइ छ | मेरो बाबाआमाले अनेक गर्नुभो मेरो लागि | धेरै पैसा सकाउनु भयो तै पनि मेरो खुट्टाको कुनै सुधार हुन सकेन | म आफ्नो दूई हातको साहरा लिएर हिड्ने गर्दथे, भनौ भने लाज लाग्छ ४ हातखुट्टा टेकेर म हिड्ने गर्थे | ४ खुट्टे जनवारहरु हिडेको झैँ हिड्न म बाध्य थिए | म ४ हातखुट्टा टेकेर पर पर सम्म डुल्थे | यसरि नै मेरो जीवन वित्दै जाद जब म १५ वर्षको भए तब मलाई यो महसुस हुन थाल्यो कि म अब जवान हुदैछु | म अब यसरि डुल्नु हुदैन | त्यसपछि म घर देखि बाहिर जान बन्द गरे | म घरमा नै सिमित भए | त्यसपछी हेर्दा हेर्दै २०५५ सालमा हामि नेपाल आएउ | म नेपालमा आउदापनी मेरो हिडाई चाहि त्यहि चारखुट्टे नै थियो | मलाई यसरि हिड्न लाज लाग्दथ्यो तर यो मेरो बाध्यता थियो | बिस्तारै बिस्तारै मेरो हिड्ने तरिका परिवार्तन हुदै गयो | किनभने म बसेर हिड्न थाले |

नेपालमा अईसकेपछी हामीलाई धेरै गाह्रो भयो | इन्डियाम हुदा हाम्रो आर्थिक अवस्था ठीकै भएको भएता पनि नेपाल आएपछि त्यहि अवस्था यथावत रहेन | म परिवारको जेठो छोरो | मैले केहि गर्नुपर्छ भन्ने मलाई लाग्थ्यो र आफुले केहि गर्न नसकेकोमा धेरै चिन्ता लागेर आउथ्यो | अब त उमेरले पनि परिपक्कतामा धकेल्दै थियो तै पनि शारीरिक अवस्था राम्रो नभाको कारण चाहेर पनि जेठो छोराको कर्तब्य बहन गर्न नसक्दा मलाइ धेरै चिन्ता लाग्थ्यो | घरमा कमाउने बाबा मात्र हुनुहुन्थ्यो | त्यसैले घरको अवस्था नाजुक थियो | मेरो परिवारको निम्ति मैले पनि केहि न केहि गर्नुपर्छ भन्ने लाग्थ्यो र धेरै चिन्ता लाग्थ्यो | यसरि म २०,२२ वर्षको भए | यतिका वर्ष सम्म घरको जेठो छोरा भएर केहि गर्न नसक्दा लाज पनि लाग्थ्यो | बसी बसी खाएको जो थिए | म आफ्नो भबिष्यको विषयमा जान्न चाहन्थे ज्योतिषीलाई आफ्नो हात देखाए | ज्योतिषीले भन्थ्यो कि बाबु तिम्रोमा साढे ७ को ग्रह छ, ग्रह काट्नुपर्छ | धन प्राप्ति छैन | मैले सोध्थे कि मेरो विबाह हुन्छकी हुदैन | ज्योतिषीले भन्थ्यो कि विवाहको योग छैन | यस्तै यस्तै धेरे नकारात्मक कुराहरु मैले सुन्नमा पाए | छरछिमेकीलेहरुले पनि मलाई गिराएर कुरा गर्थ्यो | एक जना छिमेकीले मलाई भन्नु भएको थियो कि तिमी बेकारमा जन्मिएउ , तिम्रो न गला छ , न कला छ | काठमाण्डौ गेटलाइन चौरमा भोक हटताल गरेर आत्माहत्या गरे राम्रो हुन्छ , तिम्रो परिवारलाई पनि आनन्द हुन्छ | किनभने तिमी घरको ठुलो छोरा ,तिमी केहि गर्न सक्दैनौ भने त्यसै गर | कति जनाले चाहि यस्तो भन्थे कि तिमीले केहि गर्न सकेनौ भने बाटोमा रुमाल राखेर केहि गीत गाएउ भने तिमीलाई दुईचार पैसा आउछ | तिमीले मागेर नै खानुपर्छ भनेर मलाई व्यंग्यात्मक शैलीमा भन्ने गर्थे | मलाई मनमा धेरे खिन्नता आउने र नराम्रो लाग्ने हुन्थ्यो | मैले येशूलाई त्यस समय नचिनेको भएतापनि म एकदम इश्वारबादी थिए | जसको कारण मेरो घरमा धेरै देबी देउताको फोटोहरु हुन्थ्यो | अनि एकदम भगवानको पुजा गर्ने गर्थे र भगवानलाई भन्ने गर्थे कि मलाई किन यस्तो बनाएउ ? धेरै प्रश्नहरु म राख्थे किनकि म धेरै निरासाको सामना गर्दै थिए | चारैतिरबाट नकारात्मक कुराहरु मात्र सुन्ने गर्थे |

मेरो शारीरक अवस्था यस्तो भएको कारण मैले राम्रो संग पढ्न पनि पाईन | किनभने धेरै गाह्रो हुन्थ्यो | खुट्टाको कारण तलमाथि गर्न मलाई गाह्रो हुन्थ्यो | चारखुट्टे वा बसेर हिड्नु मेरो लागि सजिलो थिएन | धेरै गाह्रो हुन्थ्यो , स्वास बढेर आउथ्यो | इन्डिया हुदा ५ कक्षा सम्म पढे | नेपालमा आएर ६,७,८ कक्षा चै घरमै पढेर जाच दिएर पास गरे | जब म जवान अवस्थामा प्रबेश गर्दैथिए औ २२ , २३ वर्षको थिए | कसलाई रहर हुदैन र राम्रो लगाउन , त्यसमाथि जवान अवस्थामा थिए | चाहना हुन्छ राम्रो लगाउने , गोजीमा पकेट खर्च होस् | तर वास्तविक मेरो जीवनमा यो सब केहि थिएन | मैले च्यातिएको लुगालाई पनि मजाले टालेर लगाउथे | मेरो साथीहरु चाहि प्राय धनि धनि नै थिए , उनीहरुले कहिले काही मलाई उनीहरुको घरमा बोलाउदा म जान्थे | साथीहरुको घरमा राम्रो राम्रो जिन्सको लुगाहरु देख्थे | हेर्दा लोभ लाग्थ्यो | तर के गर्नु साथीहरु हुन ,भनौ पनि कसरि ? तिमीलाई गाह्रो भो वा केहि चाहियो भने हामीलाई भन है हामी सक्दो सहयोग गर्छौं भनेर साथीहरुले भन्थे | मनमा त कति कुरा हुन्थ्यो , मनको कुरा आफ्फै बुझेर यसो एकजोर लुगा दिए हुन्थ्यो भन्ने लाग्थ्यो | वास्तबमा ति राम्रो लुगा लगाउन मलाई रहर भन्दा पनि मेरो आवश्यकता थियो , मेरो बाध्यता थियो | किनकि मलाई राम्रो लुगा लगाउन घरको आर्थिक अवस्थ नाजुक भएकोले धेरै गाह्रो पर्थ्यो त्यसैले म च्यात्तिएको लुगाहरु टालेर लगाउने गर्थे | मेरो खाने लगाउने भन्ने जवान अवस्था वा उमेरमा मेरो त्यस्तो अवस्था थियो | घरमा कमाउने बाबा मात्र हुनुहुन्थ्यो | बाबालाई पनि धेरै गाह्रो थियो किनकि बाबा पनि बुढो भै सक्नु भएको थियो | खाजाहरु खाने समयमा म साथीहरु संग बस्दिन थे , कारण म संग खाजा खाना पैसा हुदैन थियो | यस्तो अवस्थाहरु देख्दा मलाई धेरै गाह्रो र अफ्ठ्यारो महसुस हुन्थ्यो | कहिले काही त लाग्थ्यो कि म किन जवान भए ? म त जवान नभएपनि हुन्थ्यो भन्ने लाग्थ्यो | किनभने जवान भएको कारण नै कति प्रश्नहरु मेरो निम्ती घोच्ने तिखा प्रहारहरू बने | मलाई सोधिन्थ्यो कि तिम्रो विबाह भएको छैन ? परिवार भएको छैन ? यस्तै यस्तै धेरै गिराउने अभिप्रायको प्रश्नहरुले मलाई झन् झन् निरासपुर्ण जीवन जीउन बाध्या गराउदै थियो | भविष्यमा केहि गर्छु, सकिन भने आत्मा हत्या गर्छु भन्ने सोच आउथ्यो | एक्लोपनको पकडमा थिए , त्यसपछि म सायरी र कबिताहरु लेख्न थाले | प्राय मैले लेख्ने सबै सायरी वा कविताहरु आत्माहत्या , अन्धकार , निरासा आदि सबै नकारात्मक नै हुन्थ्यो | मेरो जीवन अति कठिन थियो | देबि देवता पुजे , ज्योतिषीकहा धाए , तर मैले कसै बाट पनि जीवनको एउटा सानो आसा समेत पाईन | यसरि समय बित्दै थियो | मैले जीवनामा धेरै कुराहरु गर्न खोजे | मैले सायरी र कविताको साथसाथै कथाहरु पनि लेख्थे | घरको अवस्था ठिक होला कि भनेर म फिल्म छेत्रमा कथा लेख्ने कोसिस गरे | मैले थुप्रै डाइरेक्टरहरुलाई पनि भेटे | म काठमाण्डौ सम्म पनि गए तर सफल भईन | राम्रो गर्थे , मन पाराएको झैँ पनि गरेका थिए तर खै के पुगेन म सफल भईन | धेरै निरासहरु आयो तै पनि केहि न केहि त गर्छु भनेर त्यसपछिं म अपाङ्ग सस्थाहरुमा गए | मेरो घर झापामा हो | अपांग सस्थाको लागि साथीसंग जाद बीचबाटोमा नै कृष्णभिरमा पहिरोले बाटो जाम भएको कारण फर्किनु पर्यो | यसरि मेरो हरेक प्रयासहरु बिफल हुदा म चिन्ताले झन् ग्रस्त थिए | मनमा अशान्ति अशान्तिको कुराहरु मात्र हुन्थ्यो | अब त मेरो विबाह हुदैन होला, परिवार हुदैन होला, म केहि गर्न सक्दिन होला | अब त म आत्माहत्या नै गर्छुहोला भन्ने लाग्थ्यो र म यस्तै सोच्थे | यस्तै नकारात्मक कुराहरु मेरो दिमागमा घुमी रहन्थ्यो |

परमेश्वरको अनुग्रह एकदिन अचानक मैले एउटा काम पाए | गाडी लायनमा कर उठाउने काम मैले पाए | मेरो कमाई राम्रो भयो | मैले आफ्नो लागि लुगा किन्न सके | घरमा पनि मैले केहि समान वा खर्चहरु दिन सके | त्यो जागिर पाएपछि राम्रो भयो | यति राम्रो भयो कि यति राम्रो भयो कि सबै कुरा ठिक चलिरहेको थियो | यो सबमा परमेश्वारको महान योजना थियो | एक दिन एकजना ब्यक्तिबाट प्रभु येशूको बारेमा मैले सुने | त्यसपछि अरु एक दुईजना ब्याक्तिहरु पनि मलाई भेट्न आउनुभयो र येशूको बारेमा मलाई सुनाउनु भयो | मैले येशूको बारेमा दिल्लीमा पनि सुनेको थिए अर्थात दया सागर भन्ने येशूकों फिल्म हेरेको थिए | खास्सै नकारात्मक चै केहि लाग्दैन थ्यो | तर देबि देउताहरू, सईबाब जस्तै होलान भन्ने लाग्थ्यो | तर के थाह येशू मुक्तिदाता हुनुहुन्छ भनेर | येशू पापबाट छुटकरा दिनुहुने परमेश्वर हुनुहुन्छ भनेर थाहै थिएन | अनि त्यसपछि ऊहाहरुले मलाई येशूको बारेमा सुनाई सक्नुभएपछी बाईबल पनि दिनुभयो | त्यसपछि मलाई अति आनन्द लाग्यो | अति आनन्दको महसुस भयो | ति दिनहरुमा मलाई शिर देखि खुट्टासम्म एलर्जी भएको थियो | जे गर्दा पनि निको भएको थिएन | लगभग ३ वर्ष भै सकेको थियो | डाक्टरले कालो दाला नखानु , आलु नखानु धेरै कुराहरु नखानु भनेको थियो तर जे गर्दा पनि मेरो शरीरमा आएको एलर्जी निको भएको थिएन | मलाई येशूको बारेमा बताउने व्यक्तिहरुले मेरो निम्ती प्रार्थना गर्नुभयो र त्यसको केहि समय पछी मेरो शरीरमा आएको एलर्जी पुरै निको भयो | त्यसपछि मैले कालो दाला खाना मिल्यो र आलु खाना मिल्यो जसले गर्दा मलाई एकदम सजिलो भयो | ऊहाहरुले मलाई निरन्तर डोर्याउनुभायो | त्यसपछि मैले एउटा संकल्प गरे कि म त्यसै चर्च जादिन, पहिला म बाईबल पढ्छु | ऊहाहरुले मलाई नयाँ करारको बाईबल दिनुभयो | मैले सुरु देखि पढ्न थाले | जति जति पढ्दै गए त्यति त्यति नै आनन्द लाग्न थाल्यो | मैले बिस्तारै बुझ्न थाले कि मेरो लागि पनि भबिष्यमा केहि योजना छ | त्यसपछि म चर्च जान थाले | म निरन्तर शनिबार चर्च जान थाले | त्यो बेला शनिबार चै गाडी ज्यादा आउथ्यो त्यसैले कमाई एक दम धेरै हुने गर्थ्यो | तै पनि म काम छोडी छोडी चर्च जान्थे | एक दिन मलाई काम लगाउने ठेकेदार म शनिबार चर्च गएको बेला म काम गर्ने ठाउँमा आएछ तर म चै थिईन | अनि एक दिन उसले मलाई भन्यो ,” तिम्रो हातमा बाईबल पनि छ के तिमीले ख्रीष्टियन धर्म लिएउ ? बल्ल बल्ल काम पाएका छौ , काम छोडी छोडी तिमी चर्च जान्छौ | यसरि त भएननि | कि तिमीले येशूलाई छोड कि काम छोड |” उसले मलाई एकदम गालि पनि गर्यो | त्यसपछि म अन्योलमा परे | मेरो निम्ती यो दुविधाको विषय थियो | भर्खर भर्खर येशू पाएको छु | प्रभुलाई छोडौ कि कामलाई ? कामलाई छोडौ भने कति दुख गरेर बल्ल बल्ल यो काम पाएको छु , यहि काम द्वारा आफ्नो निम्ती लुगा किन्न सकेको छु | घरमा पनि धेरै थोरे साहयता गर्न सकेको छु | कसरि काम छोड्ने त ? काम छोडे भने म संग भेटि हाल्ने पैसा समेत हुदैन | त्यसपछि मलाई निर्णय लिन एकदम गाह्रो भयो | म प्रार्थना गर्न थाले | त्यसपछि मैले काम छोडे | अनि काम छोडेर म संगति जान थाले | तर भेटि हाल्न त पैसा चाहियो , पैसा नभएकोले मलाई एकदम गाह्रो भयो | त्यसपछी मंडलीको पाष्टर र बिश्वासिहरुसंग परमेश्वर बोल्नुभएछ र ऊहाहरु मिलेर मंडलीको भेटीबाट मलाई साहयता गर्नुभयो | साथै ऊहाहरुले मेरो निम्ती एउटा दोकान पनि खोलिदिनुभयो | अनि मैले दोकान गरे | दोकान चै फाटफुट दोकान थियों | प्रभुलाई धन्यबाद होस जस्तो सुक्कै भएतापनि मैले गनगन गरिन | प्रभुले मलाई जे दिनुभयो असल नै दिनुभयो | त्यो दोकान मैले गर्दै जादा बिक्री एकदम रार्मो हुदै गयो | गाह्रो त गाह्रो थियो कहिले धुलो कहिले पानि | तर के गर्नु घरको अवस्था यस्तै थियो मैले त्यो गर्नुपर्थ्यो | मैले दोकानमा काम गरेर आफ्नो निम्ती आवश्यक कुराहरु जुटाउन सक्थे, मेरो निम्ती नै हुन्थ्यो , मैले भेटि हाल्न सक्थे | यसरि दोकानमा काम गर्दै संगति पनि जाने गर्थे | शनिबार चै दोकान बन्द गरि संगति जान्थे | यस्तै क्रममा म १० दिन सम्म दोकानमा उपवास बसे | म दोकानमा बसेर सु-समाचार प्रचार गर्थे | यस्तै क्रममा एक दिन आत्माबाट यस्तो महसुस भएर आयो कि ” तैले प्रभुको काम गर्नुपर्छ ” | भित्र हृदयमा पबित्र आत्मा मलाई ” परमेश्वरको राज्यको निम्ती तैले काम गर्ने पर्छ ” भन्ने आवज बारम्बार म सुन्न सक्थे | त्यसपछि म फेरी उपवास बस्न थाले | उपवास बसी सकेपछि मेरो निम्ती एउटा अवसर मैले प्राप्त गर्न सके | मंडलीको पाष्टरले मलाई १ वर्षको बाइबल स्कुल पढ्न जाने अवसर दिनुभयो | हामी लगभग २५,३० जना थिएउ तर परमेश्वरले मलाई चुन्नुभयो र मैले बाईबल स्कुल पढ्ने मौका पाए |

म बाईबल स्कुल पढे अनि ग्रजुएट हुने बेला पनि आयो | मैले घरमा बाबा आमालाई भनि सकेको थिए कि म बाईबल स्कुल पढ्दैछु अब म प्रभुको काम , सेवकाई गर्छु | तर मनमा एक प्रकारको चिन्ता थियो कि म यहाँ बाट फर्किएर फेरी त्यहि दोकान नै गर्नु पर्ने पो हो कि ? बाईबल स्कुल हुदा मैले धेरै अध्यान गर्थे | मन लगाएर धेरै अध्यान गर्थे | मैले ति दिनहरुमा धेरै बाईबल पढ्ने र प्रार्थना गर्ने गर्थे | किनकि म जान्दथे कि बिगत दिनहरु मेरा कस्ता थिए | तर प्रभुले मलाई यो अवस्था सम्म यसरि ल्याउनुभएको छ | पछी गएर प्रभुको काम गर्नुपर्छ भन्ने लाग्थ्यो त्यसैले मैले धेरै समय बाईबल अध्यान र प्रार्थनामा बिताए | ग्रेजुएट भई सकेपछी सेवाकईको निम्ती धेरैलाई मैले हात पनि जोडे ” मलाई सेवकाई गर्ने मौका दिनुहोस् | ” यो सत्य हो मैले यसरि नै सेवाकईको निम्ती बिन्ति गरे | कतिले मलाई भने बरु तिमी आफ्नै मंडलीमा फर्क, त्यहि नै केहि काम गर, हामी तिमीलाई भत्ता वा सहयोग स्वरुप ५०० महिना महिनामा उपलब्ध गरईदिन्छौ | यो कुरा मेरो हृदयले मान्दै मानेन | म महिनाको ५ सय रुपैया भत्ता खाएर बस्न चाहन्न, म प्रभुको काम गर्न चाहन्छु | अनि कतिले चै मेरो शारीरिक अवस्थालाई केन्द्रित गर्दै भाई प्रभुको काम गर्नु गाह्रो छ, येशूको क्रूश उठाई हिड्न गाह्रो छ | यसरि मलाई मेरो दुर्बल शरीरको कारण प्रभुको काम गर्न नसक्ने ठानियो | तर म बिचार गर्थे कि प्रभुको काम गर्न शरिर होइन हृदय चाहिन्छ जुन ममा थियो | भनौ भने के भनौ तर धरै प्रभुका जनहरुले मेरो शारीरिक अवस्था हेरेर बिचार गर्थे र धेरै निरासा पूर्ण कुराहरु गर्थे | उनीहरु पत्याउन सक्दैन थिए कि म पनि प्रभुको काम गर्न सक्छु भनेर |

सेवाकईको दौरान मैले सुरुमा झापा दामगमा सु-समाचार सुनाए | भन्दा अपत्यारिलो लाग्न सक्ला तर साचो यहि हो कि म यस्तो खुट्टा लिएर बिन हीलचियर ५ किलोमिटर सम्म हिडेर सु-समाचार सुनाए | झोलामा सु-समाचार पत्र पत्रीकाहरु हुन्थ्यो, एति आनन्द लाग्यो, मैले धेरै ठाउमा सु-समाचार सुनाउने मौका पाए |

बाईबल स्कुल पढ्दा बीचतिर सरहरुले भन्नु भयो अब हामी काठमाडौं जानुपर्छ | काठमाडौं पाटन चर्चमा ३ दिनको सेमिनार छ जानुपर्छ भन्नुभयो | मैले भने सर म जादिन, अरु विधार्थीहरु लिएर जानुहोस | सरले भन्नुभयो, तिमी जानुपर्छ, सबै जना जादै छन् यहाँ तिमी एक्लै हुन्छौ बरु हिड | मैले फेरी भने होइन सर म जादिन | बरु म यहाँ बाईबल अध्यान गर्दै बस्छु | मैले यो सब किन भने भन्दा, मेरो शरीरको कारण मलाई झापा देखि काठमाडौं आउन जान धेरै कठिनाई हुन्थ्यो | चर्पी जान नुहाउन जान समस्या हुन्थ्यो | इत्यादि धेरै समस्याहरु हुन्थ्यो त्यसैले म चाहन्न थे कि मेरो कारण अरुलाई समस्या होस् | म प्राय पानि पिउदिन किनभने मलाई धेरै चर्पी आउन जानमा समस्या हुन्थ्यो | मैले जान्न भनेर भने | तर एक जना सरले भन्नुभयो ” होइन जानु पर्छ जानुहोस, प्रभुको बिशेष योजना छ, जानुपर्छ | ” सरले त्यति भनि सकेपछी मलाई पनि यस्मा परमेश्वरको बिशेष योजना छ भन्ने लाग्यो | सायद कुनै योजना छ मेरो लागि नत्र किन सरले यति कर लगाउनुहुथ्यो र मलाई भन्ने लाग्यो | अनि त्यसपछि म काठमाडौं गए | हामी काठमाडौं गएर पनि लगभग एक डेढ महिना बस्येउ | मेरा साथीहरु २० जना जति थिए | हामि ललितपुरमा बस्येउ | तर त्यहाँ बाट हामीलाई पाटन चर्च आउन जान धेरै गाह्रो भयो | त्यहिको सरहरुले सल्लाह गर्नुभयो र ” रोमान्सलाई चै आउन जान गाह्रो हुन्छ उसलाई यतै बस्ने व्यवस्ता मिलाउनु पर्छ | ” भनेपछि मलाई पाटनमा बस्ने कोठा मिलाईयो | मेरा अरु साथिहरु चाहि आउने जाने गर्थे | पाटन चर्च त्यतिखेर ३ तलाको थियो | मलाईं सबै भन्दा माथिल्लो तलामा राखियो | सेमिनारको बिचमा खाजापानिहरु हुन्थ्यो | खाजा खानको निम्ती तलमाथि गर्नु पर्थ्यो | मेरो शरिर यस्तो भएको कारण मलाई यसरि तल माथि गर्न सजिलो कुरा थिएन | त्यहा थुप्रै विधार्थीहरु थिए | डाक्टर थोमस ह्वाङ्ग द्वारा अध्यापन भै रहेको थियो | मलाई चै चिन्ता चै यति ३ तलाबाट तल आउने खाजा खाने र फेरी माथि जाने | यो चै मेरो निम्ती चिन्ताको विषय थियो | किनकि मलाई एकदम गाह्रो हुन्थ्यो | अरु बाट सहयोग लिउ भने पनि कसरि लिउ , मलाई एकदम गाह्रो हुन्थ्यो | तर मलाई थाह थिएनकि यसमा पनि प्रभुको योजना छ भनेर | त्यसपछि मैले एक जना प्रभुको छोरीलाई भेटे, हाम्रो परिचय भयो | उनि ललितपुर लुभुको क्वाइनोनिया लुभु चर्चबाट आएकी थिइ | यो कुरा बि.स. २०६३ साल तिरको हो | उनले मलाई साहयता गरिन, मलाई बिहान बेलुका खाना ल्याईदिने, खाजा ल्याईदिने, मलाई धेरै साहयता गरिन | मेरो बाईबल चर्च सम्म ल्याईदिने अन्या धेरै कुरामा मलाई त्यस प्रभुको छोरीले साहयता पुर्याईन | अरुहरु यो देखेर छक्क पर्थे | हामीलाई हेर्थे, यिनीहरु दुई बिचमा कस्तो सम्बन्ध होला ? एउटा प्रभुको छोरीले अर्को प्रभुको छोरालाई यसरि साहयता गरिरहेका छन् | किनभने त्यहा थुप्रो मानिसहरु थिए तै पनि मलाई साहयता गर्ने उनि मात्र थिए | हाम्रो बिचमा खालि परमेश्वारको विषयमा कुराकानी हुन्थ्यो | सेमिनारमा हामीले सिक्दै गएउ | सेमिनार सकेपछि मैले उनलाई जयमसिह भनेर बिदा लिए, जाने बेला फोन नम्बर लिए | त्यति बेला व्यक्तिगत फोन अहिलेको जस्तो हुदैंन थियो त्यसैले, उनको घरको फोन नम्बर लिएर गए | तर मलाई के थाह पछी गएर उनि नै मेरो जीवन साथि हुन्छिन भनेर | मैले यो सब सोचेको थिइन तर उनि नै मेरो जीवन साथि हुन पुगिन | उनको नाम चै माया हो | त्यो सेमिनर सकेपछी म कोरियनहरु संग सेवकाई गर्न थाले | कोरियनहरुले मलाई नेपालगञ्ज पठाए | म नेपालगञ्ज गएर अगी साहयता गर्ने प्रभुको छोरी मायालाई फोन गरे जस्ले मलाई धेरै साहयता गरेकी थिइन | त्यति बेला उनको घरमा फोन थिएन, छिमेकीकोमा फोन गरे | फोन त उठायो तर उनलाई बोलाईदिएनन् | मैले त्यति खेर नै पहिलो पटक फोन गरेको थिए | तर हाम्रो त्यसबेला कुराकानी हुन सकेन |
म नेपालगञ्जमा प्रचारका भएर गएको थिए | मैले एउटा कोठा लिएको थिए | एकदमै गर्मि ठाउ थियो | म त्यहा एक्लै बस्थे | मलाई खाना पकाउन सारै दुख हुन्थ्यो | त्यसैले मैले बिहान र बेलुकाको खाना एक्कै चोटीमा पकाउथे | अनि सधै सु-समाचार प्रचार गर्ने गर्थे | म पर पर सम्म पुगेर प्रचार गर्थे, हिलचियर नभएको कारण हिड्न धेरै गाह्रो हुन्थ्यो तै पनि म प्रचार गर्न सधै जान्थे | मन्दिर मस्दिजहरुमा पुग्थे जहा मानिसहरुको भिड हुन्थ्यो | गर्मि ठाउ हो नेपालगञ्ज, म दिनभरी प्रचार गर्थे, फर्कने बेला पसिना पसिना हुन्थे | कोठामा फर्कन्थे अनि मलाई फेरी खाना पकाउनु र लुगा धुनु मेरो निम्ती गाह्रो पर्थ्यो | त्यसैले मैले सहायताको निम्ती एकदिन परमेश्वर संग यसरि प्रार्थना गरे ” हे प्रभु म तपाईको काम त गर्न चाहन्छु, तर मलाई धेरै गार्हो भयो, हिलचियर पनि छेन | खाना आफ्फै पकाउ, लुगा आफ्फै धोउ, यो सब मेरो लागि एकदम गाह्रो भै रहेको छ प्रभू मलाई साहयता गर्नुहोस |” प्रभुले मेरो प्रार्थना सुन्नुभयो | मलाई फेरी कोरियनहरुले पोखरामा ल्याए | पोखरामा ल्याएर मलाई एउटा सटर दिईयो | पोखरामा आएर मैले त्यहाको घरहरु हेरे, बैंग,एयरपोर्ट,अन्या त्यहाका बातावरणहरु नियाले | यो सब देखेपछी मलाई के लाग्यो भने म याहा सेवकाई गर्न सक्दिन | यस्तो ठाउमा कसैले प्रभुलाई बिश्वास गर्दैन, म याहा एक महिना भन्दा बेसी टिक्न सक्दिन भन्ने लाग्यो | ३ दिन सम्म मैले आफु बस्ने सटर खोलिन | भित्रको भित्रै बसे, केहि गर्न मन लागेन | छिमेकीहरुले भन्थे कि सायद यो भाई बिरामी भयो होला | तर प्रभुलाई धन्यबाद होस्, मैले हिलचियर पाए र त्यसको १४ दिन पछि लेक साईट तिर सु-समचार प्रचार गरे | यसरि प्रचार गर्दा अपत्यारिलो प्रकारले प्रभुको काम भयो | मैले प्राचार गरेको एक हप्ता भित्र मंडली खडा भयो | मेरो सेवा संगतिको सुरुवात भनेको बालबच्चा बाट भएको थियो | यसरि सेवकाई गर्दै समयहरु बित्दै थियो | एक्लै भएकोले म खाना पकाउने,लुगा धुने जस्ता सम्पूर्ण कामहरु आफ्फैले गर्नु पर्थ्यो | छिमेकीहरुले यो देखेर मलाई भन्थे कि भाई तपाईले विबाह गर्नु, तपाई एक्लै हुदा तपाईलाई गाह्रो हुन्छ | मेरो सहयोगी भन्ने बित्तिकै मलाई त्यहि पाटनमा साहयता गर्ने प्रभुको छोरीको सम्झना आयो | उसले मलाई गरेको सहयोग र साहयता सच्चाई स्मरण योग्यको थियो | त्यसपछि मैले सम्पर्क गर्ने कोसिस गरे | अचम्म तरिकाले फोनमा कुराकानी हुन् सक्यो | हामी दूई बिच कुराकानि नभएको डेढ वर्ष जति भएको थियो | त्यसपछि हामी दूई बिच लामो समय सम्म कुराकानी हुदै जादा एक दिन मैले नै उसलाई भने कि ” हृदयबाट यो कुरा आयो कि के तिमी म संग बिवाह गर्छौ ?” उसले नाई भनिन | उनले भनिन कि मेरो परिवार संग सल्लाह माग्छु, अनुमति लिन्छु | यसरि मैले विवाहको प्रास्ताब राखे, कारण मलाई साहयताको जरुरि थियो | त्यसपछि म सेवाकईमा व्यस्था हुन थाले | तै पनि हामी दूई बिचको कुराकानि पनि चल्दै थियो | यसरि समय बितिरहेको थियो |

२०६५ सालको पुस महिना थियो ,एक दिन जब म अन्या भाषामा प्रार्थना गर्दै थिए, आत्मा बाट मलाई एउटा अगमवाणी आयो | त्यो अगमवाणी चै ” छोरा तिम्रो विबाह फागुनमा हुन्छ |” जबकि उता केटीको बाबा आमा कसैलाई थाहा छैन | केटा को हो ? कस्तो छ, के गर्छ केहि थाहा छैन | मैले पाएको यस अगमवाणीको कुरा मैले फोन गरेर उसलाई बताए | मैले भने कि हाम्रो विबाह फागुनमा हुन्छ भन्ने अगमवाणी पाएको छु, के तिमी यसमा बिश्वारस गर्छौ ? उसले भनिन् बिश्वास गर्छु | उनले पनि यस विषयमा प्रार्थना गर्न थालिन र मैले पनि प्रार्थना गर्न थाले |

यता म सेवाकई गर्दै आनन्दित थिए औ व्यस्त व्यस्त पनि | घरमा बाबा आमा संग फोन सम्पर्क भइरहेको थियो | मेरो जीवनमा अचम्मको परिवर्तन भयो | मैले मेरो हुनेवाला श्रीमतीलाई फोन गरेर भने ” म तिमीलाई माग्न आउछु |” अनि मैले मेरो पूर्वको पाष्टर बुबाहरुलाई पनि भने | हामी यसरि उनलाई माग्न गएउ | अचम्मको कुरो यहा के थियो भने म केटि माग्न जादै थिए तर कुनै तयारि मेरो थिएन | म कोरियनहरु संग काम गर्थे, त्यस बखत मलाई पैसाको सारै अभाब भएको थियो | काठमाण्डौ आउने जाने भाडा मेरो मंडलीका बिश्वासिहरुले दिएको थियो | अहिले बिचार गर्छु अचम्म लाग्छ | मलाई त्यस बखत यति पनि बुद्दी आएनाकी केटि माग्न जाद यति कुरा आफ्फैले जुटाउनु पर्छ औ चलन चल्ति अनुसारको सामाग्रीहरु केटि माग्न जाद मैले यता बाट लैजानु पर्छ | चर्चमा मैले यति मात्र भने कि म विबाह गर्न जादै छु | आउदा पाष्टरनि आमालाई लिएर आउछु | तर मेरो कुनै तयारि भने थिएँन | हामी काठमाडौं गएर होटलमा बस्येउ | त्यहा पुगेर मैले मेरो हुनेवाला श्रीमतीलाई फोन गरे भने कि ” म तिमीलाई माग्न आउदैछु | अनि आट गरेर श्रीमतीको बाबु-आमालाई फोन गरेर माग्न आउदैछु भनेर भने | एउटा अचम्म लाग्दो कुरा के छ भने म यस्तो अपांग छु भन्ने कुरा हुनेवाला सासु-ससुरालाई थाई थिएन | तर पछी मैले सफा संग उहाहरुलाई बताईदिएकि म शारीरिक रुपममा यस्तो छु भनेर | तर म प्रभुलाई धन्यबाद दिन्छु कि उहाहरुले मेरो कुरा सुनेर त्यस्तो केहि अफ्ठ्यारो मान्नुभएन | र मलाई आउनुहोस भन्नुभयो | त्यसपछि हामी गएम | चर्चमा हाम्रो कुराकानी भयो | लगभग एक हप्ता जस्तै लाग्यो निष्कर्ष निस्कन | किनकि यो सजिलो कुरा थिएन | बिशेस त मेरो श्रीमतीको निम्ती ठुलो चुनौती थियो | समाजले भन्थे कि यस्तो केटा संग गएर कसरि जिबिका चल्छ ? कसरि जिन्दगि चल्छ ? केटाको न पढाई छ , शरीरमा यस्तो छ , न जागिर छ ? कसरि पाल्छ ? हुन पनि समाजको कुरा ठिकै हुन् | मेरो श्रीमती राम्रो परिवारबाट थिई | घर थियो, गरि खाने जग्गा जमिन थियो | मुख्या कुरा स्वस्था र सुन्दर शरीर थियो | उसले राम्रो केटा पाउन सक्थ्यो | खोट म मा थियो उसमा थिएन | यसरि छलफल र अनुगमन लामो भएतापनि राम्रो भयो | मेरो जेठान, सासु-ससुरा अत्यान्तै असल हुनुहुन्थ्यो | अन्तमा विवाहको लागि मन्जुरी मिल्यो | त्यसपछि श्रीमतीको पाष्टर मेरो तर्फका पाष्टरहरु, आत्मिक दाज्युहरु सबै मिलेर मेरो विवाहको तयारी भयो | म बिना तयारिमा आएको थिए | मेरो यति पनि बुद्दी आएन कि विबाह गर्ने भएपछी पैसा,लत्ताकपडा सबै आफ्फैले जोड्नु पर्छ भनेर तर प्रभुलाई धन्यबाद भएको होस् कि मेरो विवाहको लागि मेरो पाष्टर, काठमाडौंका आत्मिक दाज्युहरुले सबै मिलाउनु भयो | लुगा, कपडा, यता, उता सब थोकको बन्दोबस्त मिलाउनुभयो | म कस्तो मान्छे | यो सब मैले मिलाउनु पर्थ्यो | तर जे होस् सबै कुरा राम्रो भयो | हाम्रो विबाह साधारण भयो तर धेरै आशिषमय भयो | यसरि अचम्म रितिले पाटन चर्चको झुण्ड लोगो चर्चमा समाज, पाष्टर र मंडलीका बिश्वासिहरुको अघि हाम्रो पवित्र विबाह भयो |

विबाह भै सकेपछी मलाई अचम्म लाग्थ्यो कि मेरो पनि विबाह भयो | मेरो विबाह हुनु भन्दा एक दिन अघि मैले बाबा-आमालाई फोन गरेर मेरो भोलि विबाह हुदैछ भनेर भन्दा उहाहरुले पत्ताउनु भएन | किनभने म शरीरमा यस्तो थिए | यो कुरा मेरो बहिनि, साथि भाई कसैले पत्ताएन | अचम्मको कुरा के छ भने जस्तो मैले अगमबाणी पाएको थिए सोहि बमोजिम मेरो विबाह फाल्गुनमा नै भयो | हो मेरो विबाह फाल्गुन १६ गते भयो | विबाह पछी मैले श्रीमतीलाई मेरो घर झापामा लिएर गए | जो जो ले मेरो बारेमा नकारात्मक कुराहरु गर्थे सबैको कुरो उल्टो भयो | ज्योतिषीले भनेको थियो कि तिम्रोमा साढे सात ग्रह छ | तर अहिले साढे सात ग्रह थिएन बरु परमेश्वरको अनुग्रह चै म मा छ | विवाहको योग छैन भनेको थियो त्यो कुरा पनि उल्टो भयो | मागेर खानुपर्छ पनि भनेको थियो तर मैले आजको दिन सम्म मागेर खानु परेको छैन | प्रभुले मेरो छाक टार्नुभएको छ | मैले श्रेमति लिएर गाउमा जाद सब छक परे | मेरो बिरुद्द कुरा गर्नेहरु सबैको मुखमा ताला लागेको थियो | मेरो बाबा-आमाले बल्ल पत्ताउनु भयो | सुन्दर बुहारी देखेर घरकाहरु छक्क परे | तर कुरा काट्नेले जसै गरेपनि कुरा काट्छन भनेझै गाउकाहरुले फेरी भन्न थाले ” धेरैमा एक वर्ष सम्म बस्छे त्यसपछि पोईला जान्छे |” भनेर धेरै नकारात्मक कुराहरु गर्न थाले | म कोरियनहरु संग काम गर्थे उनीहरुले मलाई विबाह नगर्नु भनेर भनेका थिए | तर मेरो विबाह भएको कुरा थाह पाएपछि कोरियन मिसनले हामी संग काम नगर भनेर भन्यो | उनीहरु संग काम गर्दा मैले जति सामन जोडेको थिए ति सबै सामानहरु कोरियानाहरुले फिर्ता माग्यो | तिनीहरु कस्तोखाले कोरियनहरु थिए मलाई थाहा भएन तर सबै कुरा उनीहरुले फिर्ता माग्यो | अरु त सबै ठिक छ कि उनीहरुले म बस्ने हुईल चियर समेत फिर्ता लगे | म कोरियान मिसनको सपोर्टमा चलिरहेको थिए | एक्कैचोटी कोरियनले आफ्नोसपोर्ट छोड्दा मलाई गाह्रो भयो | जुन घर मैले लिएको थिए त्यसलाई छोडेर मैले एउटा कुखुराको खोरमा सेवकाई सुरु गर्नु पर्यो | काठमाडौंका आत्मिक दाज्युले मलाई ति दिनहरुमा साहयता गर्नुभयो | भर्खर हाम्रो विबाह भएको १६ दिन मात्र भएको थियो | भर्खरै विबाह भएको जोडीको दिनचार्य एउटा कुखुराको खोरमा बित्नु भनेको सानो दु:खको कुरा चै होइन | मेरो श्रीमतीको मनमा के गुज्रियो होला ? | कति ईच्छ्या र चाहनाहरु थिए होलान तर वास्तविकताले कुखुराको खोरमा ल्याईपुर्यईदियो | यो कुखुराको खोरमा मैले एक वर्ष सम्म समय बिताए | म संग रुपियाँ पैसा, खानेकुरा र भाडाकुडा केहि पनि थिएन | कुखुराको खोरमा जादा शनिबार सेवा परेको थियो | बिश्वासिहरु आउदा घरबाट बोराहारू लिएर आए किनकि कुखुराको खोरमा ओछ्याउन हामी संग लुगा समेत थिएन | यसरि बोराहरु ओछ्याएर हामी त्यो दिन संगति बसेउ | एक दम अदभुत र आशिषमय सेवा भयो त्यो दिन | बिरामीहरु निको भए , भुत आत्माहरु निस्केर गए | एकदम अचम्मको काम हुन थाल्यो | पछी कोरियनहरुले मलाई आउनुहोस हाम्रोमा सेवकाई गर्नुहोस भनेर भने तर म गईन | हामी संग लुगाहरु , खानेकुराहरु हुदैन थियो तर मेरो आफ्नो मंडलीका भेडाहरुले मिलेर हामीलाई साहयता गर्नुहुन्थ्यो | हाम्रो अवस्था यस्तो सम्म भयो कि हामीले पालो पालो गरि बिश्वासिहरुको घरमा खाना खने गर्थेउ | हामी यस्तो अवस्था देखि पनि गुज्रीएउ कि एक पटक बनाएको खानालाई तिन दिन सम्म बचाई बचाई राखेर खाने गर्थेउ | बासि हुन्थ्यो तै पनि त्यसलाई प्याज आदि संग मोलेर खान्थेम | धेरै नाजुक अवस्था र अभाबको कारण मैले विवाहमा लगाएको सुनको औठी पनि बेच्नु पर्यो | श्रीमतीको कानमा लगाएको बेच्नुपर्यो | धेरै गाह्रो अवस्थाहरु आयो | यसरि संघर्ष गर्दा गर्दा परमेश्वरले मलाई बिस्तारै उठाउन थाल्नुभयो | अनि कुखुराको खोरबाट एउटा राम्रो ठाउँमा लानुभयो | यसरि सेवकाई गर्दै जादा काठमाडौं बाट मेरो आत्मिकी दाज्युहरुले मलाई साहयता गर्न थाल्नुभयो | साथमा मेरो आफ्नो मंडलीको भेडाहरुले पनि धेरै साहयता गर्न थाल्नुभयो | प्रभुलाई म धन्यबाद दिन्छु कि अहिले म कोरियन मिसन संग नभएतापनि बलियो तरिकाले म सेवाकाइ गरिरहेको छु | यसरि प्रभुले मलाई मेरो दु:खको घडी देखि बाहिरा ल्याउनु भयो | मेरो श्रीमतीले मलाई हील्चियारमा राखेर डोर्याउने गर्थीन र म चै सु-समाचार सुनाउथे | देख्नेहरु छक्क पर्थे | कस्तो अदभुत जोडी | मेरो छोरा जन्मनु भन्दा दूइ हप्ता अघि सम्म मेरो श्रीमतीले मलाई हुईल चियरमा ठेलेर सु-समाचार सुनाउन साहयता गर्थिन | मलाई हरेक सेवा संगतिमा साहयता गर्थिन | सबै छक्क पर्थे | पछी मेरो श्रीमतीबाट हाम्रो सन्तान छोरा भयो | जन्मदा ४ केजीको हिस्ट पुष्ट स्वास्थ्य जन्मिएको थियो | छोरालाई काखमा लिदा गर्ब लागेको थियो | भोलिपल्ट मेरो छोराको आखा अचानक पहेलो भयो | अनि छरछिमेकीले नकारात्मक कुरा गर्न थाले | यसलाई जन्टिस भएको छ | त्यसपछि हामीले छारछिमेको कुरा सुन्न छोडेर प्रार्थना गर्र्न थाल्येउ | येशूको नाममा जन्टिस हुन् पाउने छैन भनेर हामीले प्रार्थना गरेउ | त्यसपछि मेरो छोरालाई त्यस्तो केहि भएन | त्यसको केहि समय पछी हामी गाउ गएउ | अनि गाउ जादा साथमा छोरा पनि देखेर सबै छक्क परे | हिजो १ वर्षमा तेरो बुढी पोइला जान्छ भन्नेहरु सबैको मुखमा ताला लागेको थियो | अहिले मेरो छोरा ६ वर्षको भै सक्यो | अहिले 1 मा पढ्दै छ | मैले उ बेला पढ्न सकिन तर म छोरालाई पढाउँन चाहन्छु त्यसैले राम्रो स्कुलमा हालेको छु | अहिले हामी कुनै मिसन वा सस्था संग छैनौ | हामी अहिले पनि बुढा बुढी संगै हुईल चियर बाट सु-समाचार सुनाउन टाढा टाढा सम्म पुग्छौ | मेरो श्रीमतीले मलाई सु-समाचार सुनाउन हुईल चियरमा ठेलेर एक ठाउबाट अर्को ठाउमा पुर्याउन साहयता गर्छिन् | यसरि हामी सेवकाई गर्दैछौ | हामीलाई प्रार्थनामा सम्झीनुहोस | हामी अहिले पोखरामा सेवकाई गर्दैछौ | मेरो पहिलो सपोर्ट येशू हुनुहुन्छ, दोस्रो सपोर्ट मेरो श्रीमती र तेस्रो सपोर्ट मेरो मंडलीका भेडाहरु | मेरो गुजरा चै यसरि चलिरहेको छ | मेरो मंडलीका भेडाहरुले मिलेर मलाई साहयता गर्नुहुन्छ | कहिलेकाही बाहिरा बिभिन्न ठाउहरुबाट मलाई बचन प्रचारको निम्ती बोलाउनु हुन्छ | अनि केहि गिफ्ट, सहयोग गर्नुहुन्छ | कसैले केहि उपहारहरु पनि दिनुहुन्छ | यसरि नै मेरो गुजारा चल्लिरहेको हुन्छ | भनौ भने बिश्वासको आधरमा मेरो गुजारा चलिरहेको छ अझै पनि |

बिगतमा म धेरै ठाउँमा सु-समाचार प्राचारमा गए | हुईल चियर बिना नै म सु-समाचार प्रचार गर्थे | कति गाह्रो हुन्थ्यो | म ४ हात खुट्टा टेकेर हिड्दा कुकुरहरु पछी लाग्थ्यो ‘ मलाई टोक्न आउथे | तर मैले हार मानिन | मैले गनगन गरिन | म निरन्तर प्रभुको काममा लागिरहे | र मैले निश्चित दर्शन पाए , त्यो मेरो बोलावाट थियो | प्रभुले मलाई पाष्टरिया सेवा गर्न बोलाउनु भयो | यसमा म दोधार छुईन यो मैले प्राप्त गरेको निश्चित दर्शन थियो | अहिले म पोखरामा पाष्टरिया सेवाकाई गर्दैछु | मेरो विबाह भएको ९ वर्ष भयो मेरो श्रीमतीको पुरा साथ छ | मैले सोचेको थिईन मेरो बिबाह हुन्छ भनेर तर मेरो विबाह भयो | मैले सोचेको थिईन कि म जीवनमा केहि गर्न सक्छु कि भनेर तर अहिले म प्रभुको काम गरिरहेको छु | मेरो जीवनमा परमेश्वरले अदभुत तरिकाले काम गर्नुभयो | मेरो बाबा-आमालाई मैले सु-समाचार प्रचार गर्नु परेन कारण मेरो जिन्दगी आफ्फैमा एउटा सु-समाचार थियो त्यसैले मेरो बाबा-आमाले येशूलाई बिश्वास गर्नुभयो | परमेश्वरले मेरो कम्जोर अवस्थामा मलाई उठाउनुभयो | अहिले मेरो शारीरिक अवस्थामा पनि धेरै सुधार आएको छ | मैले अहिले चप्पल लगाउन जानेको छु | बाईकमा चढ्न जानेको छु | प्लेनमा चढ्न जानेको छु | म पहिला त्यति राम्रो संग बोल्न जान्दिन थे | अहिले प्रभुले मलाई बोल्नमा सिपालु बनाउनु भएको छ | बिगतमा जति पनि प्रभुका जनहरुले मेरो शरिरलाई नियालेर तिमीले सेवकाई गर्न सक्दैनौ भनेर भनेका थिए तिनीहरु सबैको कुराहरु उल्टो भए, कारण प्रभुले मलाई उहाको काम गर्ने अवासार दिनुभयो | मान्छेले शरीर,दक्षता,योग्यता सबैकुरा हेरेर अवासर दिन्छन, तर परमेश्वरले म मा ति कुनै पनि थोक खोज्नुभएन | म हृदय देखि उहाको काम गर्न तयार मात्र थिए, यति नै काफी भयो | अहिले हामी श्रीमान् श्रीमती मिलेर दिलो ज्यानले प्रभुको काम गरिरहेका छौ | प्रभुलाई धन्यबाद छ कि बिगतका ति दु:खका दिनहरुमा पनि परमेश्वरले मलाई एक्लो कहिले छोड्नु भएन | मेरो श्रीमतीले पनि ति दु: खको दिनहरुमा कहिले गनगन गरिनन् | मेरो मंडलीका भाईहरुले पनि कहिले गनगन गरेनन् | प्रभुलाई धेरै धन्यबाद दिन चाहन्छु कि उहाले म जस्तो कम्जोर व्यक्तिलाई उहाको काम गर्नको निम्ती चुन्नुभयो | यदि मैले परमेश्वरलाई नपाएको भए, मेरो समाजले भनेको झैँ म जीवन निर्वाहको निम्ती कुनै एउटा कुनामा बसेर मागिरहेको हुन्थे होला | कि म आत्मा हत्या गरिसकेको हुन्थे होला | तर परमेश्वरबाट मैले अचम्मको प्रेम र कृपा पाए | उहाले मलाई धुलोबाट उठाउनुभयो | र बेकामको भएतापनि काम लाग्ने तुल्याउनुभयो | कारण म एक अपांग थिए तर प्रभुको नजरमा त होईन | ” म अपांग भएकोले नै समाजले मलाई हेपाह दृष्टिकोणले हेर्थे र भन्थे कि ‘ तिमीले मागेर नै खानुपर्छ , किनकि न तिम्रो गला छ न कला नै छ | तर मेरो जीवनमा परमेश्वरको योजना अलग थियो | ” म निर्बललाई छान्नुको पछी परमेश्वरको बिशेस योजना थियो | जस्तो लेखिएको छ [ बूदिमान र शक्तिशालीहरुलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको मुर्ख र निर्बल कुराहरुलाई छान्नुभयो ] (१ कोरिन्थी १ : २७) मेरो कारण कोहि शर्ममा परोस भन्ने अभिप्राय म राख्दिन तर ज-जसले मेरो विषयमा मलाईं खसाल्ने हिसाबले मेरो विबाह हुदैन, धन प्राप्ति छैन, केहि गर्न सक्दैनस, आत्मा हत्या गरे बेस हुन्छ, रुमाल बाटोमा फिजाएर बसे जसले पनि पैसा दिन्छ ईत्यादी हेपाह र गिराउने अभिप्राय राख्ने सल्लाह दिने सबैलाई मैले भेटे | उनिहरुले मेरो छोरा र मेरो श्रीमतीलाई म संग देख्दा छक परे | मुखमा ताला लाग्यो, शर्मले बोल्ने कुनै ठाउ रहेन | किनकि मेरो जीवनमा भएको एका एक परिवर्तनको कारण मेरो भविष्य प्रति उनीहरुले गरेको अनुमान र अडकल अनुसारको कुनै पनि कुरा मेल खाएन | जब कसैलाई परमेश्वरले उठाउन चाहनुभयो भने, त्यो व्यक्तिलाई खसाल्न संसारै उल्टेर आएतापनि परमेश्वरले त्यसलाई उचित र ठिक समयमा उठाउनुहुनेछ | मेरो जीवनमा यस्तै भयो | म आज यस जीवन गवाही द्वारा तपाईलाई हौसला दिन चाहन्छु | मलाई जस्तै तपाईलाई पनि परमेश्वरले कुनै न कुनै ठाउमा चलाउन चाहनुहुन्छ | परमेश्वरमा भरोसा राख्नुहोस उहाले तपाईलाई कहिले पनि शर्ममा पर्न दिनुहुनेछैन | ठिक समयमा परमेश्वरले उठाउनुहुन्छ | कहिले निराश नहुनुहोस, येशू नपाउदा मलाई सिकाउने कोहि थिएन त्यसकारण मैले धेरै समय निराशमा बिताए | तर हामी संग आज येशू ख्रीष्ट आसा बनेर हाम्रो माझमा खडा हुनुहुन्छ | बिगत दिनहरुमा मैले धेरै दु:ख र कष्टमा दिनहरु बिताए, मैले अहिले आएर उहालाई चिन्ने मौका पाए तर उहाले त मलाई आमाको गर्ब देखि नै पो चुन्नुभएको रहेछ | यी कुराहरु बुझेर ल्यादा सारै आनन्द लागेर आउछ | हामी बोलाईएकाहरु होईनौ तर चुनिएकाहरु हौ | परमेश्वरले हामीलाई पबित्र-आतामाको छापा लगार संसार देखि अलग गराउनुभएको छ, त्यसैले हामी धन्यका हौ जो चुनाबमा परेका छौ | त्यसैले हामी हर्ष मनाओ र उत्साहित हौ | हामीलाई आसा दिईएको छ | त्यसैले हामी कुनै आसा नभएकाहरु जस्तो निराश भएर नबसौ [यर्मिया २९:११] अनुसार हाम्रो लागि परमेश्वरले बिशेष योजना बनाउनुभएको छ | त्यसैले उत्साहित हुनुहोस भनेर यो गवाही द्वारा तपाईहरु सबैलाई म उत्साह दीन चाहन्छु |

येशूमा परिवर्तन छ , त्यो भन्दा महत्वपूर्ण अनन्त जीवन छ | म अहिले गाउ जादा कसैले पनि मलाई किन येशूलाई बिश्वास गरेको भनेर भन्न सक्दैनन | किनकि उनीहरु सबैले मेरो जीवन देखेर यो जानेको छ कि येशूले रोमान्सको जीवनमा यो अदभुत काम गर्नुभएको छ | सबै मेरो जीवनको परिवर्तन देखेर छक खान्छन | मैले कहिले धर्म परिवर्तन गरिन मात्र मलाई परिवर्तन गर्नुनुहुनेको खातिर जीउने तरिका परिवर्तन गरे | मेरो जीवनमा धेरै कुराहरु परिवर्तन भएतानी कुनै कुराहरु अझ त्यस्तै छन् | तर म खुशी छु र प्रभुमा ज्यादै धन्यबादी छु | हो म तपाई जस्तै सरल प्रकारले हिड्न सक्दिन तर मलाई यस्तो लाग्छ कि म अपांग छुईन म हिड्न सक्छु | हो म शरीरमा अशक्त र कम्जोर छु तर मलाई यस्तो लाग्छ कि प्रभुमा बलियो छु र जे पनि गर्न सक्छु | हो म आर्थिक रुपमा धनि छुईन तर मलाई यस्तो लाग्छ कि प्रभुमा म अत्यान्तै धनि छु | प्रभुले मलाई जुटाईरख्नु भएकै छ | मान्छेले मलाई सुईकार नगरेको भएतापनि परमेश्वरले मलाई सुईकार गर्नुभयो | यसमा मेरो कुनै योग्यता थिएँन थियो त केवल परमेश्वरको अनुग्रह र कृपा | परमेश्वरलाई पाउन अघि म कुनै मोलको थिइन , कसैले मलाई गन्दैन थिए तर अहिले मलाई सबैले आदर गर्छन र मेरो सम्मान गर्छन | के म यो सम्मानको योग्याको भएर हो त ? अवश्य होईन ! यसमा पनि परमेश्वरको अनुग्रह छ | बिगत दिनहरुमा मलाई देख्नेहरु र मलाई भेट्नेहरुले म द्वारा केवल निरासा पाउथ्यो | कारण मेरो जीवन नै त्यस्तै थियो | कतिले साथीहरुले भन्थे कि रोमान्सलाई नभेटु यार सारै दु:खमा छ | तर अहिले येशूलाई पाएपछि मेरो जीवनमा शान्ति छ र म यो शान्ति अरुलाई पनि बाडीहाल्छु | अहिले म सबैलाई मेरो जीवन बाट उत्साह दिन्छु | अहिले मलाई भेट्नेहरु उत्साहित हुन्छन किनकि म संग उत्साह छ र त्यसलाई म बाडचुट गरिहाल्छु | अहिले म पोखरामा सेवकाई गरिरहेको छु | १२ वर्ष भै सकेकको छ | प्रभुको काम गर्दैछु | मलाई प्रभूको काम गर्न अत्यान्दै आनन्द लाग्छ | हामी श्रीमान श्रीमती दुबै जना पुरा समय सेवकाईको निम्ती दिइरहेका छौ | मैले सोच्दै नसोचेको कुराहरु मैले मेरो जीवनमा प्राप्त गरे | यो प्रभुको अनुग्रह थियो | परमेश्वरलाई धेरै धेरै धन्यबाद भन्दछु |

अन्ततः म यहि भन्न चाहन्छु कि दु:ख सबैको जीवनमा आउछ तर ती दु:खहरु हामीलाई खार्नको निम्ती हो | जब हामी दु:खको घडीमा स्थिर रहन्छौ तब हामी खारिदै जान्छौ र झन असल भाडो बन्न तयार हुन्छौ | हामी एकले अर्कोलाई उत्साह दिदै जाउ कारण हाम्रो एक उत्साहले समेत कसिको जीवन बदल्ने सामर्थ राख्दछ | किनकि हामी संग भएको उत्साह हाम्रो आफ्नो होइन तर केवाल हाम्रो परमेश्वर बाटको हो | मेरो यस गवाही द्वारा धेरैले सु-समाचार, उत्साह र आशिष पाउन सकेको होस् भन्ने हेतुले बाड्ने जमर्को गरे | अझ म संग बातचित वा कुराकानी गर्न चाहनुहुन्छ वा अझ मेरो विषयमा जान्न चाहनुहुन्छ | भने मलाई फेसबुकमा भेट्न सक्नुहुन्छ : रोमान्स थपलिया | Viber Number : 9806541862 | तपाई निरन्तर म संग बातचित गर्न सक्नुहुन्छ | यो मेरो जीवन गवाही धेरको निम्ती आत्मीक दबाई र हौसला र उत्साह भएको छ भन्ने बिश्वास गर्दछु | यस लेखलाई अध्यान गर्नुभएको निम्ती तपाईहरु सबैलाई धेरै धन्याबाद टक्राउन चाहन्छु | साथमा अझ धेरैको निम्ती यो गवाहिले उत्साह पुगोस भन्ने म चाहन्छु त्यसैले यस जीवन गवाहीलाई सक्दो shar गरि अझ धेरैको माझमा पुर्याउन सहायोग गरिदिनहुन अनुरोध गर्दछु | तपाईलाई परमेश्वरले धेरै धेरै आशिष दिनुभएको होस् | आमेन | जयमसिह !!!
Wriitten By : Prashanna Tamang

Related Articles

Back to top button