धार्मिक क्षेत्रमा लुथर जिनिअस थिए

निस्सन्देह, मार्टिन लुथर मण्डली इतिहास र युरोपको इतिहासमा एक महत्त्वपूर्ण पात्र हुन् । नयाँ मण्डलीको थालनी गर्ने तिनको चाहना थिएन तथापि त्यस्तै हुन गयो । तिनले आफू जन्मेको, हुर्केको, बप्तिस्मा लिएको र पास्टरीय सेवा पुर्या एको रोमन क्याथोलिक मण्डलीलाई सुधार गर्न चाहेका थिए । तर तिनको जीवनी र रचनाहरूले एउटा अभियानकै प्रारम्भ गरायो जसले पश्चिमा ख्रीष्टियमतलाई दुई चिरामा विभाजन गरिदियो: प्रोटेस्टेन्ट र रोमन क्याथोलिक ।

मार्टिन लुथर ईश्वरशास्त्री, प्राध्यापकसाथै लेखक थिए । प्रोटस्टेन्ट अभियानमा तिनी प्रारम्भिक सुधारवादी थिए । मध्यकालीन क्याथोलिक मण्डलीका थुप्रै शिक्षा र अभ्यासहरूलाई लुथरले इन्कार गरे । मुक्ति कामबाट पाउन सकिँदैन तर येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा स्वीकार गरेर केवल परमेश्वरको अनुग्रहबाट पाइन्छ भनी तिनले सिकाए जुन शिक्षा त्यस बेला क्रान्तिकारी अवधारणा नै थियो ।

मार्टिन लुथरको जन्म तत्कालीन पवित्र रोमी साम्राज्यको इजलबेन (आधुनिक जर्मनीको एउटा सहर) भन्ने ठाउँमा भएको थियो । लुथरलाई जन्मेको भोलिपल्टै अर्थात् ११ नोभेम्बर १४८३ मा बप्तिस्मा दिइएको थियो जुन प्रचलन तत्कालीन क्याथोलिक अभ्यासमा अनौठो थिएन । मार्टिन लुथर परिवारमा जेठा छोरा थिए । महत्त्वाकांक्षी पिता हान्सले जेठो छोरोलाई वकिल बनाउने जमर्को गरेका थिए ।

ख्रिस्टाब्द १५०१ मा १५ वर्षको उमेरमा मार्टिन लुथर इर्फटको विश्वविद्यालयमा भर्ना भए र १५०५ मा तिनले स्नातकोत्तर हासिल गरे ।

त्यसपछि पिताले लुथरलाई कानुन पढ्न जोड गरे । तर जीवनमा आफूले अनुभव गरेका केही सङ्कष्टहरूको कारणले तिनले ६ हप्तापश्चात् कानुन विषयलाई त्यागेर तिनी इर्फटस्थित अगस्टिनको मठाश्रममा प्रवेश गरे । तिनी एक मेहनती विद्यार्थीका अतिरिक्त उत्साही पनि थिए । तथापि तिनको मुख्य प्रश्न रहेको थियो: परमेश्वरले तिनलाई मुक्ति दिनुभएको थियो भन्ने कुरामा तिनी कसरी निश्चित हुन सक्थे ? मठाश्रमका हरेक अनुशासनलाई तिनले पालन गर्ने चेष्टा गरे । तर जति अनुशासित भएर नियमहरू पालन गर्दा पनि तिनलाई शङ्काले पिरोल्थे: के मैले पर्याप्त मात्रामा गरेको छु ? अझै धेरै गर्नुपर्ने हो कि ?

परमेश्वरलाई खुसी पार्न तिनले हर सम्भाव्य प्रयास गरे । उपवास बस्ने, लामो समयसम्म प्रार्थनामा बिताउने, तीर्थयात्रा धाउने आदि क्रियाकलापहरू तिनका आदत बने । तर तिनले खोजेको शान्ति भने फेला पारेनन् । मठाश्रमका प्रमुखले लुथरमा प्रचार र अध्यापनको खुबी देखी थप शिक्षा हासिल गर्न तिनलाई प्रेरणा दिए । १५०७ मा तिनी पादरीको रूपमा अभिषेक गरिए र १५०८ बाट तिनले विटेनवर्गको विश्वविद्यालयमा ईश्वरशास्त्र पढाउन थाले । १५१२ मा तिनलाई उक्त विश्वविद्यालयले ईश्वरशास्त्रमा डाक्टरको पदवी प्रदान गर्यो१ ।

अन्तत: मार्टिन लुथर मानिसले कामबाट मुक्ति पाउन सक्दैन र मुक्ति केवल परमेश्वरको अनुग्रहबाट येशू ख्रीष्टमाथिको विश्वासमार्फत पाउन सकिन्छ भन्ने निष्कर्षमा पुगे । मानिस केवल विश्वासद्वारा धर्मी ठहरिन्छ भन्ने सत्यतालाई तिनले धर्मशास्त्रको अध्ययनबाट आविष्कार गरे । सैयौँ वर्षसम्म लुप्त यथार्थतालाई लुथरले पुन: आविष्कार गरे । कामद्वारा मुक्ति पाइन्छ भनी रोमन क्याथोलिक मण्डलीले सिकाउँदै आएको थियो । तर मुक्ति परमेश्वरको वरदान हो र कुनै धार्मिक कामद्वारा यसलाई आर्जन गर्न सकिँदैन भन्ने शिक्षा नै बाइबलीय शिक्षा हो भन्ने निष्कर्षमा पुगे लुथर ।

रोमन क्याथोलिक मण्डलीले अभ्यास गर्दै आएको पापमोचन-पत्रको विरोध गर्दै १५१७ मा लुथरले विटेनवर्गस्थित मण्डलीको भित्ताम ९५ ओटा थिसिस (बुँदा) टाँसिदिए । यस कार्यले रोमन क्याथोलिक शिक्षामा भुइँचालो ल्यायो । यसै वर्षलाई सुधारवादको औपचारिक आरम्भको रूपमा लिइन्छ । लुथरको नयाँ शिक्षाले पोप प्रणालीका जराहरू हल्लाउन थाल्यो । क्याथोलिक पादरीहरू काम्न थाले । तिनका शिक्षाहरूलाई त्याग्न क्याथोलिक मण्डलीले लुथरलाई अनुरोध गर्यो। तर तिनले मानेनन् । १५२१ मा तिनी पोपद्वारा औपचारिक रूपमा बहिष्कार गरिए र अन्त्यमा तिनी वर्मस्‌को राज्य-सभामा डाकिए । तिनका शिक्षाहरू त्याग्न तिनलाई अनुरोध गरियो । तर लुथरले अस्वीकार गरे ।

लुथरको प्रभाव ईश्वरशास्त्र र मण्डलीका गतिविधिभन्दा परसम्म पुगेको थियो । सङ्गीत मन पराउने लुथरले भजनहरू रचे । तिनले जर्मन भाषामा बाइबल अनुवाद गरे; साहित्य र शिक्षालाई प्रोत्साहन दिए । धार्मिक क्षेत्रमा लुथर जिनिअस थिए ।

तिनले सुसमाचारको बारेमा भनेका छन्, “सुसमाचार येशूको बारेमा भएको कथा हो । यो कथा यही हो कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ जो हाम्रा लागि मानिस बन्नुभयो; मर्नुभयो; पुनरुत्थान हुनुभयो अनि उहाँ सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ ।”

  • Kamal Adhikari

Related Articles

Back to top button