प्रशंसा आराधना (भाग ७)

(पाष्टर बिमल छेत्री, शिलिगुढी)

आराधना सञ्चालकमा‌ हुनुपर्ने गुणहरु..

(हरेक ख्रीष्टको आराधकहरुले अवश्य पढ्नुहोस)

प्रशंसा आराधनाको विषयमा हामी जति गहिरो अध्यन गर्छौ त्यति नै नयाँ कुराहरु भेटाउछौं किनभने यो विषय परमेश्वर र उहाँको सर्वोत्तम सृष्टि मानिसको बिचमा भएको प्रेमिलो सम्बन्धको हो जसको अन्त कहिले हुदैन तर हरेक दिन नयाँ हुन्छ।
(विलाप ३:२२-२३)

यसभन्दा अघिको भागहरुमा लेखिएको कुराहरु मेेरो छोटो अध्यन र‌ सानो अनुभव मात्र हो। यदि यस विषयलाई‌ लेख्नु र खोज्नु हो भने यसको कुनै अन्त्याउने ठाउँ छैन यसैले आज यो सातौं भागमा यस विषयलाई‌ विराम दिन गइरहेको छु।

मण्डलीको लक्ष्य परमेश्वरको आराधना हो। प्राय सबै मण्डलीमा‌ आराधना सञ्चालक र आराधना गर्ने झुण्ड हुनु पर्छ। एउटा सामुहिक आराधनाको विकास प्राय: आराधना सञ्चालकमाथि निर्भर गर्छ।

१. आराधकको बोलावट:

आराधना सञ्चालन एक अति विशिष्ट सेवकाई हो। सबैलाई यो सेवकाई दिइएको हुदैन। म युथ् अगुवा (Youth leader) या पाष्टर हुँ अथवा मँ राम्रो गाउनु र बजाउनु सक्छु भन्दैमा मँ मा यो सेवकाईको बोलावट छ भन्न सकिन्दैन।
आराधना अगुवाई पाष्टरको सेवकाई होइन। पाष्टर अगुवाहरुले मण्डलीमा यो वरदान भएका मानिसहरुलाई चिन्नु र विकसित गर्नुपर्छ साथै यस क्षेत्रमा आफू पछि बसेर तिनीहरुलाई अगुवाई गर्नदिनु पर्छ।

२. व्यक्तिगत आराधना:

आराधना सञ्चालक स्वयं पनि आराधक हुनुपर्छ। तब मात्र तिनले समुहलाई आराधनामा अगुवाई गर्न सक्छ। यदि आफैले नै आराधना कसरी गर्ने भनी जानेका छैनन् भने अरुलाई कसरी साहायता गर्न सक्छन् र ? आफ्नो व्यक्तिगत जीवनमा आराधना गर्ने आराधकले नै समुहलाई प्रभावकारी डंगमा आराधनामा डोरयाउनु सक्छ।

३.आत्मिक परिपक्वता:

आराधना सञ्चालक आत्मिक कुराहरुमा अनुभवी र परिपक्व हुनुपर्छ। तिनले आफ्नो मन र आत्मालाई वशमा राख्न सक्नुपर्छ। आफ्नै व्यक्तिगत विचार र भावनाको आधारमा काम गर्ने होइन तर पवित्र आत्माको अगुवाई अनुसार काम गर्ने व्यक्ति हुनुपर्छ। विश्वासमा बलियो, सृजनात्मक र मानिसहरुलाई प्रेरित र उत्साहित गर्ने क्षमता पनि तिनमा हुनुपर्छ।
परिपक्व अगुवाको सेवकाईले मण्डलीमा डुक्कपना ल्याउँछ।

४. आत्मिक सतर्कता:

एक असल आराधना अगुवाको कानहरु पवित्र आत्माको स्वर सुन्न अभ्यस्त हुन्छ। सञ्चालकले पवित्र आत्माको निर्देशन ठीक ठीक बुझ्न सके पवित्र आत्मा स्वयंले सभा सञ्चालन गर्नुहुन्छ। पवित्र आत्मले सभा सञ्चालनगर्ने माध्यम नै‌ आराधना सञचालक (व्यक्ति) हो यो कुरा सञ्चालकले बुझ्नसकेन भने सभामा उहाँ स्वतन्त्र भएर बहनुसक्नु हुन्न। यसकारण अगुवाको अन्तरात्मा पवित्र आत्मा प्रति सचेत हुन अनिवार्य छ। यदि अगुवा स्वयं यस्ता छन् भने मण्डलीले पनि यी कुरा थाह गर्दै जान्छन् अनि पवित्र आत्माको निर्देशन् सुन्न र शान्त प्रकारले त्यस अनुसार बहन सिक्दै जान्छन्।

५.सकली नम्रता:

एक असल‌अगुवा सँधै क्रुसको पछि लुक्न चाहान्छ। मनमा घमण्ड पालेका अगुवाले केवल अाफुलाई प्रदर्शन गर्ने काम मात्र गरिरहेको हुन्छ। यस्ता अगुवाले जहिले पनि आत्मिक वातावरणलाई खलबलाई दिन्छ। यसकारण अगुवाले सँधै मानिसहरुको ध्यान आफुप्रति होइन तर ख्रीष्टमा खिच्नँपर्छ।

६.प्रार्थनामा तयारी:

आराधना सञ्चालक सँधै नै सभा भन्दा अघि एकान्तमा प्रार्थनामा‌ बस्नुपर्छ। सभा कुन विषयमा केन्द्रित हुन पर्ने हो यसरी अघि बाट चाल पाइन‌ सकिन्छ र सभा आराम्भ हुँदा देखी नै परमेश्वरको उदेश्य र निर्देशनमा पस्न सक्छ।
आराधनाको कुनै पनि भाग दस्तुर, मान्छे पर्खिने, वा समय काटने वा कार्यक्रमको खाली ठाँउ भर्ने साधन बन्न हुदैन। आराधना शुरु गरेको क्षणदेखी अन्तसम्मै परमेश्वरको प्रशंसा र महिमाको निम्ति समर्पित हुनुपर्छ। धेरै प्रभुका सेवकहरुले वचन प्रचारलाई चाहिँ मुख्य भाग ठान्छन् र आराधनालाई चाहिँ यसको निम्ति तयारी मात्र सम्झन्छन्। तर वास्तवमा वचन भन्दा अघिको आराधना अझ महत्वपूर्ण हो किनभने वचन प्रचार त मानिसहरुलाई गरिन्छ तर आराधना चाहिँ परमेश्वरलाई गरिन्छ।

७. आराधनामा पर्याप्त समय दिनुपर्छ:

हामीले सामुहिक आराधनालाई बुझ्नै पर्छ र यसलाई‌ समय दिनै पर्छ। धेरैचोटी सभाहरुमा आराधनाको सिध्याउने एउटा समय तोकिएर राखिन्छ जसको दबावमा एक आराधना सञ्चालकले मानिसहरुलाई पुर्याउन पर्ने गन्तव्यमा पुराउन सकिरहेका हुदैन। हतार साथ आराधना दौडाउनु प्रतापी परमेश्वरको अपमान हो। आराधनाको समयलाई कति नै चोटी अगुवाले व्यर्थमा बोलेर समय बर्बाद गरिदिनु अर्को ठूलो गल्ती हो। जति सक्दो चाँडो र मिठासपूर्ण डंगमा मानिसहरुलाई पर्मेशवरको एकतामा ल्याउनु उचित हुन्छ। त्यसरी नै कोही बेला चाहिँ मानिसहरुलाई एउटा भागबाट अर्को भागमा लैजादै गर्दा बीचमा केही बोल्ने अवश्यकता पर्नसक्छ तर त्यस्तो समयमा पनि अगुवाले प्रत्येक शब्द नापेर तौलेर बोल्न पर्छ नत्र अन्यवाशयक बोलीले आराधनाको वातावरणलाई खलबलाई दिन्छ। थोरै शब्दमा धेरै कुरा भन्नुसक्नु एउटा अगुवाको कला पनि हो।

८.पवित्र आत्माको निम्ति खुला ह्रदय:

सञचालक, आराधना शुरु भए पछि शान्त रुपमा पवित्र आत्माको मार्गदर्शन थाह गर्न सचेत रहनुपर्छ। उहाँको निर्देश अनुसार पाइला चाल्न तत्पर रहनुपर्छ। सेवालाई सत्य आराधनामा पुरयाउन एउटा बलियो विश्वास चाहिन्छ। किनकि आराधनालाई पूर्व नियोजित कार्यक्रममा‌ बाँध्न सकिन्न। कति अगुवाहरु बिचार्छन् आराधनाको पूर्व निशिच्त कार्यक्रम हुनुपर्छ। तर आत्मिक आराधनामा‌ कुनै पनि परिवर्तनको निम्ति ठाउँ हुनुपर्छ। प्रत्येक आराधना एकै प्रकारको हुँदैन किनकि हाम्रो परमेश्वर विविधिताको परमेश्वर हुनुहुन्छ। उहाँलाई सँधै एउटै काम गर्नपर्ने वाध्यता छैन। प्रत्येक सभामा नै परमेश्वरको विभिन्न उदेश्यहरु हुन्छन्। एक असल अगुवाले ती उदेश्य पत्तो लगाउन र त्यससित बहन पर्छ। असल अगुवाले कुन गीत, कति पल्ट गाउने, के विषयमा जोडदिने थाह पाउँछ। कोहीबेला सभा हर्षोल्लासमय होला त कोहीबेला पवित्र आत्माको अगुवाईमा निशब्द शान्ति पनि अर्थमय बन्छ। आराधना सञ्चालक वरीपरी हुँदै गरेका घटनाहरु प्रति पनि सचेत रहनु पर्छ। अगुवाले आँखा बन्द गरेर आफै आराधनामा हराउनु हुदैन। गहन आराधनामा रहँदा रहँदै पनि मानिसहरुमा हुँदै गरेका कुराहरु बारे अगुवा सचेत रहन पर्छ। पवित्र आत्मामा सचेत रहँदै भए पनि सभा माथि नियन्त्रण गुमाउनु हुँदैन।

९.अनुचित दिसा परिवर्तन र दबावदेखि मुक्ति:

यो एउटा यस्तो विषय हो जसमा अगुवलाई आत्मिक परिपक्वताको खाँचो पर्छ। एक पटक पवित्र आत्माले सभा आधारित हुनुपर्ने विषय र दिशा देखाईसके पछि त्यसैमा अघि बड्दै गइरहेको बेला अकस्मात कसैले एउटा गीत थाली देला जसले यस आधारभूत विषयलाई परिवर्तन गरिदिन्छ। अौ चालै नपाई सभ अर्कै दिशा तर्फ जानलाग्छ। अगुवा यस्तो अवस्थालाई सामना गर्नको निम्ति आत्मामा सतर्क रहनु पर्छ। नत्र सुन्दर र आत्मिक शव्दहरु नै भएको एउटा मिठासपूर्ण कोरस पनि आत्माको अगुवाईमा छैन भने यसले सभाको विषय नै परिवर्तन गरिदिन्छ अौ परमेश्वरले पुर्याउन चाहानुभएको विषय वा आशिषमा पुग्न मानिसहरु वञ्चित रहन्छन्। यसर्थ अगुवाले सँधै नै होशियारीपूर्वक सभालाई सठीक दिशामा राख्न सक्नपर्छ। यदि यस्तो भएमा सभालाई‌ सठीक दिशामा फर्काइ ल्याउने उपायहरु छन्। तर यसको निम्ति अगुवामा बलियो विश्वास र साहस हुनुपर्छ। साथै यसको निम्ति बुद्धि र अनुग्रह दुवैको खाँचो पर्छ अौ सरलता साथ पवित्र अात्मामा भरपर्नेलाई उहाँले यी कुराहरु दिनुहुन्छ।

१०.परिवर्तनलाई थाहपाउनु:

सभालाई पवित्र आत्माको इच्छा अनुसार कुनैपनि दिशातर्फ लैजान अगुवाले परिवर्तनलाई पनि थाह पाउनुपर्छ। कोहीबेला एक विषयमा आराधना हुँदैगर्दा पवित्र आत्माले त्यसदेखी अर्को दिशातर्फ लैजान चाहानुहुन्छ।यस्ता परिवर्तनको समय धेरै महत्वपूर्ण हुन्छन्।अगुवाले अरु मानिसहरुले भन्दा अघि पवित्र आत्माले के गर्न चाहानु हुँदैछ भन्ने कुरा चाल पाउनुपर्छ। यस्ता परिवर्तनको समयमा तिनले मानिसहरुलाई सबल नितृेत्व दिन सक्नपर्छ। नत्र सभा निरुद्धेश्य अल्मलिन्छ। अगुवाले सँधै स्मरण राख्नुपर्छ परमेश्वरले तिनलाई मानिसहरुको अगुवाई गर्न नियुक्त गर्नुभएको हो अौ यसको निम्ति तिनी उत्तरदायी छन्। किनभने सभाको पहिलो उदेश्य परमेश्वरलाई महिमा दिनु हो र दोस्रो उदेश्य मानिसहरुलाई सुधार गर्नु र आशिषित तुल्याउँनु हो। सभालाई यी उदेश्यहरुबाट वञचित राख्नुहुँदैन।

११.एउटै संगीतमा बज्ने विभिन्न बाजाहरुको तयारी:

अंग्रेजीमा एउटा गीतले यसो भन्छ, “Lord, make me a Symphony” अर्थात “हे प्रभु हामीलाई तपाईको संगीतमा बज्ने बाजा बनाउनुहोस।” अंग्रेजीको यो ‘सिम्फनी’ (Symphony) शब्द ग्रीक भाषाको ‘सिम्फनुयो’ (Symphoneo) शब्दबाट आएको हो जसको अर्थ ‘सहमत हुन’ भन्ने हुन्छ। येशुले भन्नुभयो “यदि तिमीहरु दुईजना सहमत भयौ” यहाँ नेर सहमतिको निम्ति ‘सिम्फनियो’ (Symphoneo) शब्द प्रयोग भएको छ। आराधना पनि संगीतको धुनमा बज्ने विभिन्न बाजाहरु झै बन्नपर्छ। संगीतको धुनले आराधनाको मिठो वातावरणलाई तयारी गर्दछ। गीत गाउनु नै चाहिँ आराधना होइन गीत त साधन मात्र हो तर लक्ष्य त भक्तिको अभिव्यक्ति हो। आराधना सञ्चालकले जहिले पनि गीतको चयन होशियारी साथ गर्नुपर्छ। आराधनाको थिम (them) को आधारमा गीत चयन गर्नु उचित हुन्छ। र एउटै धुनमा बज्ने संगीत तयार पार्नु आराधकको जिम्मावारी हो। साथै सभामा केवल उच्च आवाजमा बाजाहरु (loud music) बजाएर चाहि आराधना होइन तर ह्रदय रोगी, माइग्रेन समस्या भएको मानिसहरु सभाबाट बिमार भएर मात्र घर फर्किने छ। यसकारण sound systemको व्यवाहारको पनि ज्ञान हुनु जरुरी छ।

१२. सबैलाई सहभागी बन्न आग्रह:

धेरै आराधनाहरुमा मानिसहरु सहभागी बन्नको साटो दर्शक बन्छन् यो हाम्रो प्राय नेपाली मण्डलीको एउटा समस्या नै भएको छ। मण्डलीमा‌ यस विषयमा एउटा ठोस र असल शिक्षा हुनुपर्छ। परमेश्वरले हाम्रो प्रशंसाको स्वरहरु सुन्न चाहानुहुन्छ। एक आराधना सञ्चालकले मानिसहरुलाई सहभागी बन्न, परमेश्वरको उपस्थिति भित्र पस्न, उच्च स्वरमा परमेश्वरको प्रशंसा व्यक्त गर्न उत्साहित गर्न तथा मौका दिनपर्छ।

१३. सुव्यवस्था र शिष्टता:

धेरै मण्डलीहरुले मानिसहरुलाई सहभागी बन्न नदिनलाई १कोरिन्थी १४:४० वचनलाई एक असल बहानाको रुपमा प्रयोग गर्छन्। उनीहरु ‘शिष्टता र सुव्यव्स्था’ प्रति यति विध्न चिन्तित हुन्छन् की कसैलाई केही गर्ने मौका नै दिदैनन्। बाइबलले “शिष्टता र सुव्यव्स्था कायाम राख्नलाई कसैलाई केही गर्न नदिइयोस” भनेको छैन तर “शिष्टता र सुव्यव्स्थित ढङ्गमा गरियोस” भन्छ। सभामा हरेकलाई अगमवाणी र प्रकाशहरु व्यक्त गर्ने मौका दिनुपर्छ। तर यी सबै गर्दा यसले कुनै गडबडी नहोस भन्ने कुरो निश्चित गरिनपर्छ।

१४.श्रेष्ठताको लक्ष्य:

परमेश्वरको प्रशंसा आराधना गर्दा म श्रेष्ठतापूर्वक यी सबैकुरा गर्न सक्नेछु भन्ने लक्ष्य राख्नुपर्छ। यी महत्वपूर्ण कुराहरुमा उन्नति गर्ने र हुर्कन्दै जाने लक्ष्य राख्नुपर्छ। यसले हामीलाई बिस्तारै आत्मिकी जीवनको गहिराईमा लान्छ। आराधनाको चरमलक्ष्य परमेश्वरलाई महिमा दिनु तथा उच्च पार्नु हो।जति असल प्रकारले हामी यो गर्दै जान्छौं त्यति नै हाम्रो प्रशंसा आराधना ग्रहण योग्य बन्दैजान्छ।

निष्कर्श-:-
निष्कर्शमा आउदा यो भन्न चाहान्छु, एउटा मण्डलीमा प्राथमिकरुपमा सेवा दिने र लिने पहिले व्यक्ति आराधना अगुवा हो जसले आफ्नो आराधना सेवकाई द्वारा सेवाको गतिलाई ठिक ठाँउमा ल्याउँदछ। पाष्टरले यो थाह गर्नुपर्छ कि पाष्टर स्वयंमले देखेको मण्डली प्रतिको दर्शन अनि दिशालाई आराधना अगुवाले मण्डली अगाडी राख्नु सक्नुपर्छ। जब मण्डलीको पाष्टर र आराधना अगुवाको बिचको यो सम्बन्ध सठीक र व्यवस्थाित छ भने त्यो‌ मण्डली स्वास्थ, आशिषित र फलवन्त मण्डली बन्छ।

आमेन

Related Articles

Back to top button