वृहत धन्यवाद प्रार्थना कार्यक्रम सम्पन्न

२०७४ मंसिर १६, काठमाडौं
नेपाल सरकारद्वारा मिति २०७४।८।१४ गते ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमस २०७४ का अवसरमा २०७४ पौष १० गते (डिसेम्बर २५) सोमबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा घोषणा गर्ने निर्णय गरेको उपलक्ष्यमा सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिँदै नेपाल सरकार र यसका सम्बन्धित सम्पूर्ण निकायहरु, कुटनीतिक नियोगहरु लगायत यसको लागि पहल गर्नुहुने सम्पूर्ण पक्षधरहरु र स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले वृहत धन्यवाद प्रार्थना सभा सम्पन्न गरेको छ । बेथसालोम चर्च, पुतलीसडकमा आयोजित उक्त सभामा शुरुको प्रार्थना एन.सि.एफ.का अध्यक्ष रेभ सूर्य ब. बल (हनोक)ज्यूले गर्नुभयो भने स्तुती प्रशंसामा अगुवाई प्रार्थना विभाग प्रमुख देऊमाया तामाङ्ग र वहाँको समूहले गरेको थियो । स्वागतको भाग सहअध्यक्ष रेभ. सामुयल सोदेम्बाज्यूले सम्हाल्दै विषय प्रवेश उप महासचिव पा. सागर बैजूज्यूले गर्नुभएको थियो । उत्साहजनक बचन सह अध्यक्ष डा.फिलेमोन क्षेत्रीज्यूले बाँड्दै ख्रीष्टमसका अवसरमा पौष ९ गते महासंघद्वारा आयोजित मोटरसाईकल र्यालीका बारेमा विस्तृत जानकारी सचिव पा. उद्धव चिमोरियाज्यूले दिनुभएको थियो । यसैगरी धन्यवादका विविध विषयहरुमा अगुवाई अध्यक्ष सि.बि गहतराज, सहअध्यक्ष रेभ. काजीरत्न महर्जन सचिव पा. तेज ब. रोक्काज्यूले गर्नुभएको थियो । धन्यवाद ज्ञापन र कार्यक्रम समापनका क्रममा अध्यक्ष सि.बि. गहतराजज्यूले ख्रीष्टमसको सार्वजनिक विदा के कसरी सम्भव भयो भनी विस्तृत जानकारी सभामा गराउँदै सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिँदै, नेपाल सरकार र यसका सम्बन्धित सम्पूर्ण निकायहरु लगायत यसका लागि पहल गर्नुहुने सम्पूर्ण पक्षधर र स्वदेश तथा विदेशमा रही निरन्तर प्रार्थना गर्नुहुने ख्रीष्टियन दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रमको अन्तिम प्रार्थना उपाध्यक्ष रेभ. रिन्जी लामाज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव पा. पदमनाथ पराजुलीज्यूले गर्नुभयो ।

Related Articles

Back to top button