क्यारोलसम्बन्धी…मलाई केही भन्नु छ

प्रभु येशूले ‘यस संसारको ढाँचामा नचल भन्नुभयो । के साँच्चै नै आज हामीले प्रभुका यो आज्ञालाइ शिरोपर गरेका छौं त ?
कुरा क्रिसमसमा खेलिने क्यारोल कार्यक्रमको हो । धेरैजसो विश्वासहीरू पहिले हिन्दू हुँदा तिहारको देउसी–भैलोमा नाचेर रगाएर रमाइलो गर्थे तर विश्वासमा आएपछि तिहार मनाउने क्रम छाडियो तर नाच्न र गाउन पाइएन भनेर हो कि के हो, देउसी–भैलोजस्तै क्रिसमस क्यारोल खेल्न थालियो । आफूलाई बाइबलसम्मत अनुयायी भन्ने हामी प्रोटेस्टटेन्ट ख्रीष्टियान पनि यसरी लापर्वाही भएका छौं । यो चलन संसारिक ढाँचामा छ भन्ने थाहा हुँदाहुँदै पनि अनेक बहानामा यसलाई हरेक प्रोटेस्टटेन्ट मण्डलीले अपनाएको छ तर यो प्रवृत्ती गलत हो भन्दा अतियोक्ति नहोला ।
भन्छन्, घर–घर खेलिने क्यारोलले सुसमाचार फैल्याउने काम गर्छ । क्यारोलका गीत–संगति एउटा अविश्वासीलाइ पक्कै मनपर्ला पनि तर ऊ त्यही गीतको माध्यमले मात्र ख्रीष्टकहाँ आउन सक्दैन, यो त काँडाघारीमा छरेको बीऊजस्तो हो जो न उम्रन्छ, न फैलन्छ । क्यारोलबाट आत्मा बाँच्ने भए हामीलाई प्रभुले सारा संसारमा गएर ख्रीष्टको बलिदान र पुनरुत्थानको सुसमाचार सुनाउन नभनी सारा संसारमा गएर क्यारोल खेल भन्नुहुन्थ्यो नि ।
आज क्यारोल खेल्ने नेपाली चलन किन गलत भएको छ भने यसले हामीबीच धनी–गरिबको पर्खाल खडा गरेको छ । प्रभुको जन्मदिनको सुसमाचार गीत–नाच जतासुकै गाइने वा नाच्नुपर्नेमा धनीको घरमा मात्र गाइने–नाचिने भएको छ । जसको आर्थिक अवस्था कमजोर छ अनि जसले खुवाउन र पियाउन सक्दैन, त्यसको घरमा कहिल्यै क्यारोल खेलिन्न, यो त सरासर धनीको घरमा मात्र भैलिनी गएझैं हो । हामी गरिब भएपनि हामीलाई पनि प्रभुका गीतमा नाच्न र गाउन मन लाग्छ तर क्यारोल हामी गरिबका लागि महँगो भयो । अझ देउसी–भैलोभन्दा पनि क्यारोल झन् महँगो भयो भन्दा हुन्छ किनकि क्यारोल खेल्ने जति सबैलाई ऐच्छिक भेटीको साथै खुवाउनु र पियाउनु
पर्ने हुन्छ अनि थप फजुल खर्च बेहोर्नुपर्ने हुन्छ, यस्तै चलनले गर्दा कतिजना त खानकै लागि मात्र क्यारोल खेल्न हिंडेका हुन्छन् तब के प्रभुको राज्य खाना र पिउनको लागि हो ?
प्रभुको जन्मोत्सवमा खेलिने क्यारोल सडकको चोक–चोकमा खेलिनुपर्छ बल्ल सबैले गीतको माध्यमबाट सुसमाचार सुन्नेछन् वा धनी–गरिब सबै विश्वासीको घरमा खेलिनुपर्छ र भेटि उठाउने, खुवाउने–पियाउने प्रथा अन्त हुनुपर्छ वा मण्डली भवनभित्रै क्यारोल खेलिनुपर्छ अनि बल्ल क्यारोल सबैको साझा र प्रिय हुन सक्छ । प्रभु स्वयम् सबका साझा र प्रिय हुनुहुन्छ भने उहाँको जन्मोत्सवको अवसरमा खेलिने क्यारोललाई पनि सबको साझा र प्रिय किन नबनाउने ? सबका साझा र प्रिय भए मात्र यो चलन संसारकै चलनजस्तै भएपनि प्रभुकै पनि प्रिय हुन सक्छ, कि कसो ?

Related Articles

2 Comments

  1. प्रभु येशुले कहिले भन्नु भएको छ मेरो जन्म मनाउनु भनेर कुन पदमा आज्ञा गरेको छ मेरो जन्म मनाउनु भनेर। बरु मेरो मृत्युको सम्झना गर्ने गर्नु भनेर भन्नु भएको छ जसलाई हामीले प्रत्येक हप्ता उपासना चडाउनु पर्छ, ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो र पापबाट छुटाउनु भएको छ यसलाई अक्सर सम्झानामा खाने गर्नु भनेको छ र प्राय हामीले हप्तै पिछे यो सेवन गर्नु पर्छ। ख्रीष्टमस जुन चाँही उहाले आज्ञा नै गर्नु भएको छैन त्यो मनाएर हामीले उहालाई आदरको सट्टा अनादर गरेको छौ। हामी को हौ र उहाको मनको कुरा बुज्ने कि ख्रीष्ट मस मनाउदा उहा खुसी हुनुहुन्छ भनेर?

    1. “क्यारोल” एउटा ख्रीष्ट येशूको जन्मको सुसमाचार प्रचार गर्नुपर्ने महत्वपूर्ण अवशर (मौका) हो। यसलाई नोभेम्बर महिनादेखि जनवरी सिजनभरी गाऊँ-गाऊँको दलान, चौक र हाटबजारहरुमा क्यारोलको सुअवशरमा सुसमाचारिय गीतहरु र अनुभवी प्रवक्ताहरुको वचन-प्रचार गर्नुपर्छ। पूराना-पूराना ख्रीष्टियनहरुको घर-घरमा पसी किसिमको खानपिन-परिकार खाँदै नाँच्ने, तोकी-तोकी भेटी उठाउने, उठाएको पैसाले भोज गर्ने कुरालाई क्यारोल भन्नु मिल्दैन । यो तरिकाले गरीब, असहाय परिवारहरुको उपहास् गराइने मात्र हो।
      क्यारोल होस् तर अर्थपूर्ण ।

Back to top button