नेपाली ख्रीष्टियान इतिहासमा आज ऐतिहासिक दिन साबित भएको छ ।

अठारौँ शताब्दीको आरम्भतिर नेपाली भूमिमा पहिलो ख्रीष्टियान मिसन स्थापित भएपछि मैले थाहा पाएसम्म उपराष्ट्रपतिको कार्यालयमा ख्रीष्टियान कार्यक्रम भएको यो पहिलो हो । आज राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा आयोजित विशेष शुभ-कामना आदानप्रदान कार्यक्रम सम्माननीय उपराष्ट्रपतिको कार्यालयमा हर्षोल्लासका साथ सम्पन्न भयो । सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा सञ्चाालित कार्यक्रम अद्वितीय थियो ।

नेपाल ख्रीष्टियान इतिहासमा यस्तो समय पनि थियो जुन बेला बाइबल बोक्न मनाही थियो र सुसमाचार प्रचार गरेकाले जेल हालिन्थ्यो । तर आज इतिहास उल्टिएको छ । बाइबलले कुनै ख्रीष्टियानको घरमा मात्र नभई सम्माननीय उपराष्ट्रपतिको कार्यालयमा समेत हार्दिक निमन्त्रणा पाएको छ । येशू अब मण्डलीमा मात्र होइन, तर राजनीतिक कोठाहरूमा प्रचारिनुभएको छ ।

बाइबलमा परमेश्वरका जनहरू विभिन्न माध्यमद्वारा दरबार पुगेका उदाहरणहरू मनग्गे छन् । कैदी जीवन बिताइरहेका योसेफ मिश्रको साम्राज्यमा दोस्रो शक्तिशाली व्यक्तिमा पदोन्नति भए । आफ्नो मातृभूमिबाट निर्वासित गरिएर लगिएका दानिएल बेबिलोनका प्रधानमन्त्री बने । सामान्य यहूदी स्त्री एस्तर फारसकी महारानी बनिन् ।

Related Articles

Back to top button