नेपाली चर्चका युवाहरुको एउटै सञ्जाल किन चाहिन्छ ?

“नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे … । त्यस जम्मै पुस्ताका सबै जना आफ्ना पिता–पुर्खाहरूसँग मिले । पछि एउटा अर्को पुस्ता आयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो न त उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो” (न्यायकर्ता २८–१०) ।
बाइबलमा न्यायकर्ताको युगलाई अन्धकारको युग भन्ने गरिन्छ । त्यो समयका दुई वटा समस्याः इस्राएलको निम्ति परमेश्वरले के गर्नुभयो भनेर नयाँ पुस्तालाई थाहा थिएन, इतिहासको जानकारी थिएन । साथै इस्राएलमा आएको नयाँ पुस्ताले परमप्रभुलाई पनि चिनेको थिएन । पुरानो पुस्ताले यी कुरा नयाँ पुस्तालाई सिकाएन, बाटो देखाइदिएन ।
नेपालको मण्डलीको वर्तमान सन्दर्भ पनि धेरै कुरामा त्यो परिवेशसित मिल्दछ । हाम्रा बीचमा धर्म अपनाउने कुरा धेरै बढेको छ तर सही बाइबलीय शिक्षाको अभावमा परमेश्वरसँग जम्काभेट भएर उहाँसँग हिंड्ने मानिसहरुको संख्या निरन्तर घट्दैछ । नेपाली चर्चमा आउँदैगरेको युवापुस्तालाई हाम्रो इतिहास थाहा छैन । येशूलाई विश्वास गर्दा हाम्रा अग्रजहरुले खपेको सतावटको जानकारी र चासो छैन ।
देशको वर्तमान कानुनी प्रावधानले पनि हाम्रो बिचमा एकताको माग गरेको छ । भाइ फुटेपछि हामीले दुःखको दिन देख्ने सम्भावना निकै बलियो बन्दैगरेको छ । परमेश्वरको मण्डली सत्यको खामो र आड हो । मण्डलीको पक्षमा परमेश्वरको महिमाको लागि त्यो सत्य अन्धकारमा प्रकट गर्ने काम युवा वर्गको हो । मण्डलीको लागि चाहिने आगामी नेतृत्वको तयारी गर्न निकै ढिलो हुँदैछ । खँदिलो शिक्षाको अभावमा नै हामीमा अपरिपक्व व्यवहारको राज्य छ ।
नेपालको मण्डलीभित्र यति धेरै प्रतिभाशाली समूह छ, धेरै काम गर्न सक्ने सीप भएको, समाज रुपान्तरणको लागि खट्ने इच्छा भएको र काम गर्ने जाँगर भएको समूह छ, त्यो समूहचाहिँ युवा समूह हो । देशको सामाजिक खाँचोमा त्यसलाई जोडेर देशको उन्नतिमा नेपाली चर्च पनि उत्तिकै महत्वपूर्ण छ भनेर देखाउनु र त्यसमा सहभागी हुनु अर्को विशेष काम हो ।
यी सबै कारणको लागि पनि अब नेपालको चर्चमा युवाहरुको बीचमा एकीकृत संगति हुनु अपरिहार्य भएको छ । चर्चको पर्खालभित्र रहेको ख्रीष्टियन युवाशक्तिलाई देश विकास र सत्यताको पहरेदारको रुपमा बाहिर निकालेर प्रयोग गर्ने समय आएको छ । नयाँ नेपाल नयाँ मान्छेले मात्रै बनाउन सक्छ ।
नेपालको चर्चका युवाहरुको सामुहिक र एकताबद्ध संगति र प्रयास हुनुपर्ने कारणहरु मैले तल प्रस्तुत गर्दै छुः
१) परमेश्वरसित हिंड्ने युवाहरु तयार पार्नः नेपालको मण्डली सतावट र कष्टबाट खारिएर आएको हो । हाम्रा अग्रजहरुले जेलनेल र मृत्यु सहेर आफ्नो विश्वासलाई जोगाइराख्ने साहस गरेका थिए । त्यसको एउटै मात्र कारण उहाँहरुले परमेश्वरसँग हिँड्न सिक्नुभएको थियो । हामीले अहिले उपभोग गरिरहेको यही सीमित स्वतन्त्रता पनि उहाँहरुलाई थिएन । तर नयाँ पुस्ताले त्यो इतिहासलाई मनन गरेर त्यसअनुसार जिउने कोसिस गरिरहेको धेरै देखिँदैन । खँदिलो शिक्षाको अभावमा मण्डलीहरुमा आत्मिक सुकेनास लाग्दैछ । यस्तो समयमा परमेश्वरलाई व्यक्तिगत रुपमा चिनेर उहाँसँग हिँड्ने युवाहरु त्यार पार्न एकीकृत युवा संगतिको आवश्यकता छ । नेपाली चर्चका युवाहरु येशूलाई चिनेर उहाँसँग घनिष्ठ सम्बन्धमा जिउन लालयित छन् । यसरी हुर्काउने काम मण्डलीको हो । चर्चलाई यस कार्यमा मद्दत गर्नुपर्ने ठूलो खाँचो छ । चर्चलाई युवा उमेर सुहाँउदो शिक्षा दिने काममा ठूलो कठिनाइ भएकै कारण हाम्रा बिचमा अनेकन् समस्याहरु संकलित हुँदै छन् । परमेश्वरसँग घनिष्ठ सम्बन्धमा हिंड्नुको अर्थ उनीहरु संसारको लागि नुन र ज्योति बन्ने मात्रै होइन, अहिलेको प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धा, क्षमता र व्यावसायिकतामा पनि अब्बल बन्छन् भन्ने हो ।
नेपालको चर्चका युवाहरुमा वचनको शिक्षाप्रति असाध्यै तृष्णा पनि छ । त्यसलाई उमेर र युग सुहाउँदो वचनको शिक्षाले युवाहरुलाई सुसज्जित गरेर मण्डलीलाई सबलीकरण गर्ने दायित्व हाम्रो पनि हो । त्यसको लागि हाम्रो सामुहिक प्रयास गर्न पनि एकीकृत युवा संगतिको आवश्यकता छ ।
२) मण्डलीको पक्षमा र मण्डलीको लागि काम गर्नः नेपालमा धर्म परिवर्तनसम्बन्धी नयाँ कानुन आएको छ । यो कानुनको पालना, व्याख्या कसरी हुन्छ, हामीले आफ्नै तर्क दिन सकौँला । हाम्रो उपस्थिति आदरणीय र सभ्य किसिमले आवश्यक ठाउँमा देखाउनु पनि पर्छ । हामीमा पनि गर्न सक्ने क्षमता छ मण्डलीका थिंक ट्यांकहरुले स्वस्थ बहस गर्न सक्छन् । यो कारणले गर्दा हामीलाई विभेद हुन सक्छ भनेर बहस गर्न सक्ने युवा जमात हामीसँग छन् । उदाहरणको लागि कोही व्यक्ति पव्रmाउ प¥यो भने उहाँहरूलाई सहायता गर्न युवा समूह पनि आवश्यक छ । अर्थात् मण्डलीको पक्षमा खडा हुने, कुनै सम्प्रदाय होइन तर समग्रमा नेपालको मण्डलीलाई सोचेर गर्न सक्ने भनेको युवाहरूको एउटा समूहको आवश्यकता छ । मण्डलीको भौतिक अवस्था र आत्मिक देह दुवै निर्माण गर्न अतुलनीय योगदान दिन सक्ने जुझारु युवा समूह मण्डलीमा तम्तयार छ । नेपालमा रहेका सयौं गाउँमा गएर मण्डली भवन बनाउन र आवश्यक शिक्षा सिकाउन सक्ने समूह हाम्रा बीचमा छ । मण्डलीमा रहेका बालबालिकाहरुलाई असल ख्रीष्टियन बनाएर उनीहरुलाई देशका सच्चा नागरिक बनाउने जिम्मा युवा वर्गको लागि पनि हो । यसको लागि पनि युवा संगतिको अपरिहार्यता छ ।
३) आगामी नेतृत्वको सही तयारीः अबको पाँच, दश वर्षपछिको कुरा सोचौं । दोस्रो पुस्ता, तेस्रो नेतृत्व तयार गर्नुपर्ने छ, अब कसले तयार गर्छ त ? हामी जसरी हुर्कियौं, त्यो आफ्नो ठाउँमा छ । तर हामीभन्दा पछि आउने पुस्तालाई कम्तीमा पनि ख्रीष्टियान जीवन जिउने भनेको फेसन होइन, पश्चिमी जीवनशैली होइन, धर्म मात्रै होइन, आधुनिक जीवनशैली पनि होइन तर परमेश्वरसँग हिँड्ने जीवन हो भनेर सिकाउनुपर्ने काम हाम्रो होइन र ? हामीले ठीक किसिमले येशूको पदचिन्ह पछ्याउनु भनेको के हो भनेर सिकाएमा परमेश्वरलाई चिनेको र परमप्रभुले नेपालको मण्डलीलाई के गर्नुभएको थियो भन्ने कुरा थाहा भएको पुस्ता नेपालको मण्डलीमा आउन सक्छ । यसरी त्यो नयाँ पुस्तालाई तयार गर्नको लागि पनि यो युवा समूहहरू चाहिएको छ । समयमै ठीक नेतृत्वको असल व्यवस्थापन भएन भने प्रतिभा पलायन मात्रै होइन, गुणस्तर र संख्या दुवैमा ह्रास आउँछ । बाइबलको शिक्षा र अन्य सान्दर्भिक शिक्षाको विकास र संयोजन गर्न पनि यो समूहले पक्कै असल भूमिका निभाउँछ ।
४) युवाहरुलाई अवसरसँग जोड्नः नेपाली चर्चका युवाहरुलाई उपलब्ध अवसरसित जोड्नु पनि अर्को खट्किरहेको काम हो । मण्डलीको चौतर्फी विकासको लागि युवाहरुको आत्मिक साथै अन्य कुरामा पनि प्रगति हुन्छ । हाम्रा बिचमा शिक्षा, रोजगारी, तालिम, सीप विकासका अवसरहरु प्रशस्तै छन् । तर कति पटक दुर्गम वा सुगमका पनि युवाहरु त्यससँग नजोडिँदा अवसर गुमेका छन् । धेरै कुरा गर्न सक्ने वा क्षमतावान् युवाशक्ति पलायन भइरहेको छ । अर्कोतिर सुहाउँदा उपलब्ध अवसरहरु त्यतिकै खेर गइरहेको छ । अवसरमा जोडिन युवाहरुले आफ्नो क्षमता र सीपको विकास पनि गर्नु जरुरी छ । अवसर र युवाको बिचमा पुलको काम गर्न पनि सशक्त युवा संगतिको दरकार छ ।
५) मण्डलीको ऊर्जालाई देशको आवश्यकतासित जोड्नः हाम्रो देशका अनेकन् सामाजिक आवश्यकताहरुलाई सम्बोधन र समाधान गर्न नेपाली मण्डलीभित्र रहेका युवापंक्ति सक्षम छन् र येशूको ज्योति पाएका हामीले गर्न सक्छौं । मण्डलीभित्र रहेको क्षमतावान् ऊर्जालाई नेपालको सामाजिक आवश्यकतासँग हामीले जोड्न सक्यौं भने हामीले नुन र ज्योति बन्ने ठाउँ प्रशस्तै पाउँछौं । पढेका मानिसहरू, सोच्ने मानिसहरू प्रशस्त छन्, नेपालको मण्डलीभित्र । त्यसलाई नेपालको सामाजिक आवश्यकतासँग जोड्ने काम गर्नको लागि पनि युवा सञ्जाल चाहियो । युवालाई युवा किसिमले बुझेर त्यो प्रतिभालाई, सीपलाई, क्षमतालाई, विद्वतालाई पहिचान गरेर त्यसलाई आवश्यकतासँग जोड्ने काम युवाहरूले सक्छन् । अब देशलाई अझै आशिष् दिने समय आएको छ । हामीले देशको र समाजको आवश्यकतामा सेवा गरेर देशलाई आशिष् दिन सक्छौं । त्यसलाई संयोजन गर्नको लागि पनि एउटै युवा संगतिले सहज रुपमा गर्न सक्छ । हाम्रो देशमा रहेको अपार सम्भावनालाई सदुपयोग गर्दै देश र समाजको आत्मिक, नैतिक, सामाजिक, आर्थिक उन्नति गर्ने चुनौति र अवसर हाम्रा लागि पनि हो ।
नेपाली मण्डलीको इतिहास हामी धेरैलाई थाहा छैन । हामी कसरी आयौं ? हामीले प्रजातन्त्रको उपभोग गरिरहेका छौं । तर हामीले प्रजातन्त्रको अनुभव गरिरहँदा नेपाली मण्डली कसरी यहाँसम्म आएको, कुन किसिमको कष्ट भोगेर यहाँसम्म आइपुग्यो भनेर हामीले एउटा पाटोलाई बिर्सियौं ।
परमेश्वरसँग व्यक्तिगत रूपमा हिँड्नुभन्दा पनि धर्मको रूपमा मण्डलीको आकार बढ्दै गइरहेको छ । परमेश्वरसँग सम्बन्ध राखेर उहाँसँग दिनदिनै हिँड्ने कुरा घटेको हो कि भनेर मैले देखेको छु । त्यसकारण अब नयाँजन्मलाई बाइबलअनुसार पुनर्भाषित गर्ने र फेरि ठीकसँग सिकाउने समय नेपालको मण्डलीको निम्ति आएको छ ।
सबैको संघ वा सम्प्रदायको आफ्नै युवा संगतिहरू छन्, ती सबैको आफ्नै महŒव, आवश्यकता छ । साथसाथै सबैलाई एउटै बनाउने खालको एउटा युवा समूह वा युवा संगति अथवा युवा अभियान अब आवश्यकता भएको छ । यसको अर्थ कार्यगत एकता होइन तर उद्देश्यगत एकताको आवश्यकता छ भन्न खोजिएको हो ।
मण्डलीचाहिँ सत्यको खामो वा आड हो । नेपालको मण्डलीलाई सही बाटो देखाउन पनि युवा संगतिको आवश्यकता हुन्छ । हाम्रा अग्रजहरूबाट नेतृत्व खोसेर वा उहाँहरूलाई एकातिर राखेर हामी उहाँहरूको ठाउँमा जाने भन्ने होइन । तर उहाँको आशिर्वादले, उहाँहरूको प्रार्थनाले कसरी नेपालमा येशूको महिमा गर्ने र मण्डलीको भलाइ गर्दै देश र समाजलाई आशिष् दिन सक्छौं, त्यसको लागि काम गर्न युवा संगति चाहिएको छ । हामीले एकले अर्कालाई कसरी उचाल्न सक्छौं त्यसमा ध्यान देऔं । ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले एउटा अभियान सुरु गरौं । कम्तीमा पनि नेपाली मण्डलीमा युवाहरू हामी एउटै स्थानमा छौं । मण्डलीको सन्दर्भमा हामी एउटै हौं ।

  • Bhuvan Devkota

Related Articles

One Comment

  1. “सबैको संघ वा सम्प्रदायको आफ्नै युवा संगतिहरू छन्, ती सबैको आफ्नै महŒव, आवश्यकता छ । साथसाथै सबैलाई एउटै बनाउने खालको एउटा युवा समूह वा युवा संगति अथवा युवा अभियान अब आवश्यकता भएको छ । यसको अर्थ कार्यगत एकता होइन तर उद्देश्यगत एकताको आवश्यकता छ भन्न खोजिएको हो ।
    मण्डलीचाहिँ सत्यको खामो वा आड हो । नेपालको मण्डलीलाई सही बाटो देखाउन पनि युवा संगतिको आवश्यकता हुन्छ । हाम्रा अग्रजहरूबाट नेतृत्व खोसेर वा उहाँहरूलाई एकातिर राखेर हामी उहाँहरूको ठाउँमा जाने भन्ने होइन । तर उहाँको आशिर्वादले, उहाँहरूको प्रार्थनाले कसरी नेपालमा येशूको महिमा गर्ने र मण्डलीको भलाइ गर्दै देश र समाजलाई आशिष् दिन सक्छौं, त्यसको लागि काम गर्न युवा संगति चाहिएको छ । हामीले एकले अर्कालाई कसरी उचाल्न सक्छौं त्यसमा ध्यान देऔं .” Good thoughts…agreed, and want to go further in this direction..

Back to top button