डा. के.बि. रोकायाको भनाइको खण्डन ……

रेभ डा बाल कृष्ण शर्मा

आज मैले मेरा मित्र नारायण खड्काले पठाउनुभएको लिङ्कमा एउटा अचम्मको अन्तरवार्ता पढेँ । यस वियमा केही समय पहिलेदेखिनै चर्चा भइरहेको मैले सुनेको थिएँ । यस अन्तरवार्तमा पास्टर डा के बी रोकाया ज्यूले आफ्ना जीवनको अनुभव र ती अनुभवले उब्जाएका तीक्ततालाई व्यक्त गर्नुभएको रहेछ । डा रोकायालाई म बि स २०३८ वा सन् १९८१ देखि नै चिन्छु र उहाँ मेरा आदरणीय ख्रीष्टियान दाइ र साथी हुनुहुन्छ । बेलाबेलमा मैले उहाँको सोचलाई परिवर्तन गर्ने कोशिश गरेको थिएँ ।

उहाँले भनेअनुसार उहाँले मावोवादीको द्वन्द्व कालमा शान्ति स्थापना गर्नका लागि जुन परिश्रम गर्नुभयो त्यसप्रति म कृतज्ञ छु । उहाँले देशमा भएको भ्रष्टाचार र अनियमितताका विरूद्धमा आवाज उठाउनुभयो यसले उहाँको निष्ठालाई सम्बोधन गर्छ । देश निर्माण हुनका लागि इमानदारिता चाहिन्छ भन्ने उहाँको आवाज प्रवल बन्दै जाओस् र यसमा मेरो समर्थन र प्रतिबद्धता छ । उहाँ चेतनशील नगरिक हुनुहुन्छ र हामीलाई उहाँजस्ता व्यक्तित्वको आवश्यकता छ ।
यी सकारात्मक गुणहरु हुँदाहुँदै पनि उहाँका कमजोरीहरु पनि यस अन्तरवार्तमा प्रकट भएका मैले देखेँ र यसलाई सम्बोधन गर्न मलाई करै लाग्यो । म यसलाई व्यक्तिगत रूपमा उहाँकहाँ गएर सम्बोधन गर्ने पक्षमा थिएँ तर अहिले बसेको दूरी अलि टाढा भएको र यो विषय नेपालको लागि र विशेष गरी ख्रीष्टियान समुदायको लागि जटिल भएको हुनाले मैले केही लेख्ने जमर्को गरेको हुँ । इन्टरनेटमा नै उहाँसँगको अन्तरवार्ता छापिएको हुनाले त्यही मिडियालाई मैले प्रयोग गरेको छु र यस विषमा उहाँ लगायत अन्य व्यक्तिहरुसँग म भेटेर कुराकानी गर्न पनि चाहन्छु ।
डा रोकायाको अन्तरवार्तालाई विश्लेषण गर्दा उहाँले एउटा दुईटा विषयको आधारमा त्यसलाई समान्यकरण गर्ने प्रयास गर्नुभएको छ । उहाँको अमिलो अनुभवले उहाँको सोच र निर्णयमा असर पारेको देखिन्छ । एउटा भनाइ छ (your particular good and bad experience should not lead to generalization of an issue)। त्यस किसिमको समान्यकरणको निष्कर्ष गल्ती हुन्छ ।
अब म धेरै विषयहरुलाई सम्बोधन नगरेर उहाँले व्यक्त गर्नुभएको राजसंस्था र हिन्दूधर्म नेपलको पहिचान हो र नेपाल धर्म निरपेक्ष राज्य हुन सक्दैन भन्ने कुरालाई सम्बोधन गर्न चाहन्छु । उहाँलाई यस अन्तरवार्तमा ख्रीष्टियान पास्टर भनी सम्बोधन गरिएको हुनाले ख्रीष्टियानहरूको अडान उहाँको जस्तो हो कि भन्ने बारेमा धेरै जनालाई खुल्दुली लागेको छ र यो सोच उहाँको निजि हो र नेपालका ख्रीष्टयानहरुले यसलाई स्वीकार गर्दैनन् ।

लामो समयसम्म डा रोकायाले नेपालमा उहाँ बाहेक अर्को कुनै ख्रीष्टियान अगुवालाई देख्नुभएको थिएन । उहाँले जहिले पनि ख्रीष्टियान अगुवाहरूको विरोध र टिका टिप्पणी गर्नुहुन्थ्यो । एक दिन मैले उहाँलाई भने रोकाया दाज्यू के तपाईं आफूबाहेक कसैलाई पनि ख्रीष्टियान अगुवा देख्नुहुन्न । नेपालमा परमेश्वरले धेरै आत्मिक अगुवाहरूलाई राख्नुभएको छ र नेपालका ख्रीष्टियानहरूले केही पनि गरेका छैनन् भन्ने भ्रम नपाल्नुहोस् । नेपाल देशमा भएको ख्रीष्टियानहरूको उपस्थिति र उनीहरूको प्रार्थना यो देशको लागि आशिष हो । बाइबलीय शिक्षा यही हो । मेरो नाउँ दिएको प्रजाले आफूलाई नम्र तुल्याएर प्रार्थना गर्छ भने म तिनीहरूको देशलाई निको पार्नेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ र आज हामीले प्रार्थनाद्वारा देशलाई निको पार्ने काम गरिरहेका छौँ । त्यति मात्र होइन नेपालको चर्चले विभिन्न क्षेत्रमा मानिसहरूका लागि प्रार्थना र सहयोग गरिरहेको छ । उहाँको निम्ति मेरो निरन्तर प्रार्थना थियो ।
केही समय पहिले उहाँले नेपालका ख्रीष्टियान अगुवाहरूको अस्तित्वलाई स्वीकार गर्नुभयो र उहाँ विभिन्न अगुवाहरुकहाँ पुगेर सम्बन्ध स्थापित गर्नुभयो । यो उहाँको निम्ति ठूलो विजय थियो र छ ।
मैले माथि नै भनेको छु उहाँ कहिलेकहीँ आफ्नो तीतो अनुभवबाट नयाँ निर्णय गर्नुहुन्छ र त्यो निर्णय दीर्घायु हुँदैन । अहिले उहाँलाई त्यस्तै भएजस्तो लाग्यो ।
पहिलो कुरा त धर्मनिरपेक्षको परिभाषामा पनि उहाँ अलमलमा पर्नुभयो । उहाँले पश्चिमी मानिसहरूले अभ्यास गरेका गलत जीवन शैलीको आधारमा धर्म निरपेक्षलाई परिभाषित गर्नुभयो सो यस विषयमा गरिएको अपरिपक्व निष्कर्ष हो । आज धर्म सापेक्ष बेलायत र धर्म निरपेक्ष अमेरिकामा उही खालका नैतिक पतनहरु छन् । अमेरिकाभन्दा पनि बेलायत नैतिक स्तरमा धेरै तल खस्केको छ । त्यस किसिमको सतही विश्लेषणबाट एक व्यक्ति विचलित भएर धर्म निरपेेक्ष काम लग्दैन भन्नु अपरिपक्वता हो । भारत लगायत विश्वका धेरै देशहरु धर्म निरपेक्ष छन् र पनि धार्मिक अभ्यास गर्ने कुरालाई हटाइएको छैन । मानिसहरुको नैतिक स्तरलाई धर्म सापेक्ष र निरपेक्षका आधारमा मूल्याङ्क गरिनुहुँदैन ।

धर्म निरपेक्ष भनेको कुनै पनि बहुधार्मिक समुदाय वा देशमा राज्यले कुनै एउटा धर्मलाई काखा र अर्कोलाई पाखा गर्न पाइँदैन भन्ने हो । राज्यका सामु सबै धर्महरू बराबर हुन्छन् । विभिन्न धर्महरु मान्ने संख्यकाका आधारमा पक्षपात गर्न पाइँदैन भन्ने हो । धर्म नै मान्न पाइँदैन भन्ने होइन । राज्य कोशबाट कुनै धर्मलाई आर्थिक सहयोग गर्नुहुँदै र गर्नै पर्यो भने सबैलाई गर्नुपर्छ भन्ने हो । यसले सबैलाई पहिचान र सम्मान प्रदान गर्छ । सबैलाई आफ्नो धर्मिक आस्थालाई सुरक्षा गर्ने अवसर प्रदान गर्छ ।
अब हिन्दू धर्मको वकालत गर्नुभनेको हाम्रो समाजलाई अझै विभेदमा राख भन्नु हो । मनुष्मृतिको जातप्रथालाई कायम राख भनेको हो । दलितहरुलाई धार्मिक रूपले दलित नै बनाइराख भनेको हो । किनकि हिन्दू समाजले दिएका विभेदहरु केवल सामाजिक विभेद मात्र होइनन् तर यस विभेदको पाछाडि धर्म जोडिएको छ । म आफै पनि धर्म दर्शन र परमेश्वरशास्त्रको विद्यार्थी भएको हुनाले यी सबै पक्षलाई विश्लेण गरेको छु । त्यही भएर र भारतका धर्मनिरपेक्ष संविधानकार अम्बेदकरले हिन्दू धर्मलाई त्यागी बौद्धमार्गी बने । धर्मनिरपेक्षताले त्यो अधिकार प्रदान गर्छ ।
यसैले नेपालका जनताहरु धर्म निरपेक्षका पक्षमा छन् र सबैलाई धार्मिक स्वतन्त्रतासहितको धर्म निरपेक्षता चाहिन्छ र सबैलाई सम्मानका साथ बाँच्ने अधिकार हुनुपर्छ ।
डा रोकाया भावनामा नडुबी नेपाल राष्ट्रलाई अगाडि बढाउने सकारात्मक सोचमा लाग्नुभएको होस् भन्ने मेरो प्रार्थना छ । धर्मनिरपेक्षका सकारात्मक पक्षमा खोज र अनुषन्धान गरी यसको उपयोग गर्नका लागि उहाँले आफ्नो योग्यता र क्षमतालाई प्रयोग गर्नुभएको होस् । केही खराब मानिसहरुसँगको तीतो अनुभवले सबै मानिसहरू खराब छन् भन्ने निष्कर्ष जहिले पनि अपरिपक्क र गल्ती हुन्छ । धन्यवाद ।

Related Articles

2 Comments

  1. ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्नति गराउँछ भनेझैं ख्रीष्टियन जमातका धेरै विद्वानहरुले बाइबलीय ज्ञान भन्दा पनि सेकुलर ज्ञानको आड लिएर आफैलाई उचाल्ने मनोवृत्ति देखिन्छ ! यो प्रवृत्तिले ख्रीष्टिनिटीलाई कति क्षति पूर्याइरहेको छ भन्ने हेक्कासम्म हुन्न उहाँहरुलाई । त्यही मनोरोगको शिकार हुनुभएको हो केबि रोकायाज्यू पनि ।

Back to top button