माटोमा होइन मानिसमा लगानी गरौं!

७० वसन्त काटेका एकजना दाइसँग हाम्रो लामो समय देखिको चिनजान छ। भारतीय सरकारको माथिल्लो तहको जागिरबाट वर्षौं पहिले राम्रो पेन्सन सहित अवकास हुनुभएको थियो। अकुत सम्पत्ति जोडेको छ वा थियो भनौं। भ्रष्टाचारको रोगले ग्रसित समाजमा उच्च अहोदाको मानिसले सम्पत्ति जोड्नु कुनै अनौठो कुरा थिएन। दुइ छोरा र एक छोरी; बाहिरबाट हेर्दा सारै सुखी परिवार। ख्रीष्टीयन समाजमा जन्मे, हुर्केकालाई बेलाबखत चर्चमा जाँदा आफ्नो शान पनि देखाउन सजिलो हुन्थ्यो। ख्रीष्टमसको समयमा उनको घर यति झिलिमिलि हुन्थ्यो कि सारा छिमेक नै चम्किन्थ्यो। दुःखको कुरा, ख्रीष्टले नत उनको घरमा न उनका परिवारका सदस्यहरूको हृदयमा ठाउँ पाउनुभयो। भित्र भित्रै त्यो परिवारमा विनाशकारी किराले (पाप) सबै जराहरू खाइसकेको रहेछ।

पार्टी र मोजमजाको जीवनमा नशालु पदार्थले दुबै छोरा, श्रीमती, ज्वाई र एउटा बुहारीलाई छोटो समयको अन्तरालमै चिहानमा पुर्‍यायो। दुःख माथि दुःख भनौ, बाँचेको छोरीले पनि ठाउँ छोडेर अन्तै बसाइँ सरिन्। परिवार उजाड भएपछि ती दाइको प्राय समय चिहानघारीमै बित्थ्यो। केही हप्ता अघि अचानक आफन्तहरू छिमेकमा छ्याप्छ्याप्ति उनलाई खोजिरहेका थिए र हाम्रोमा पनि आएर सोधे। चारदिन पछि, अर्कै स्थानमा कसैले दया गरेर उनलाई आफ्नो घरमा राखेको रहेछ, पुलिसलाई रिपोर्ट गरेपछि आफन्तहरूले भेट्टाए। एकलो जीवनको पिडाले नै होला उनको स्मरण शक्ति खतम भएछ र एक दिन चिहानमा गएपछि घर फर्किने बाटै बिर्सनु भएछ। घरतिर हिँडेका मानिस अर्कै गाँउममा पुगेछन्।

प्रिय मित्र, एकलोपना अतिनै पिडादायी हुन्छ। आफूसँग सबैकुरा हुन्जेल र शरीरमा बल हुन्जेल आफन्त साथी-भाइहरूको कमि नहुनसक्छ तर जब यी कुराहरूले हामीलाई छोडेर जान्छन् तब सबैले बाटो काट्छन्। कतिपटक आफूसँग सबै भौतिक कुराहरू भएर पनि मनको कुरा सुनिदिने, समय विताइदिने मित्रहरू मिल्दैनन्। विशेषगरी आजको समाजमा छोराछोरीहरू हुर्केपछि बसाइँ सरेर कता पुग्छन् पुग्छन्। कतिपटक बाध्यताले पनि विदेशीनु पर्छ जसको कारण गाँउसमाजमा बृध्द आमाबाबुले एक्लै जीवन विताउनुपर्छ भने उता छोराछोरीले पनि विदेशी भुमिमा, विरानो संस्कृतिमा एक्लै संघर्ष गरिरहनुपर्ने हुन्छ।

एकलोपना सबैका लागि पिडादायी हुन्छ चाहे जवान होस् वा वृध्द होस्। विशेषगरी विरामीपर्दा वा कुनै आपद आइपर्दा जब हामी असहाय हुनजान्छौं त्यतिबेला हामीलाई साथ दिने वा सहयोग गर्ने यात आफ्नै परिवारका असल सदस्यहरू चाहिन्छन् या अत्यन्त नजिकका मित्रहरू। परिवारका सदस्यहरू सदैब हामीसँग नहुन सक्छन् तर मित्र र छिमेकीहरू हामीसँग सदैब हुनसक्छन्। हामीलाई दुःखमा साथदिने मित्रहरू भएको देख्‍न चाहान्छौं भने हामी सुखमा हुँदा अरूको दुःखमा भाग लिन जान्नु पर्छ; समय दिन सक्नु पर्छ। असल मित्रहरू आफै उत्पन्न हुँदैनन्। त्यसको लागि हामीले लगानी गर्नु पर्छ। समयको लागानी, मनको लगानी, र सहयोगको लगानी। हो, कतिपय यस्ता स्वार्थीहरू पनि हुन्छन् जसले पाउन्जेल अरूबाट लिन्छन् र पछि आफ्नै बाटो लाग्छन् तर कसैले त्यो गर्‍यो भन्दैमा हामीले मानिसको जीवनमा लगानी गर्न छोड्नु हुँदैन। त्यसमा पनि हामी विश्वासीहरू एउटै परिवारका सदस्यहरू हौं। हाम्रा पिता एउटै हुनुभएको कारण हामीले एकार्काको वास्था गर्नै पर्छ। गलाती ६को २ देखी १०मा पावल भन्छन्; “2एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर। 5किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ। 7धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ। 8जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ। 9भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। 10यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌”।

आफ्नो समय र शक्तिले भ्याउन्जेल अरूलाई बनाउने काम गर्छौं भने परमेश्वरले हामीलाई कहिल्यै एक्लो रहनदिनुहुने छैन। शारीरिक शन्तानहरू थोरै भए पनि हामीसँग आत्मिक सन्तानहरू धेरै हुनेछन् जसले हामीलाई एक्लै छोड्ने छैनन्। अरूलाई बनाउने सेवकको उत्तम उदाहरण प्रेरित पावल हुन्। उनको सेवाकालमा उनले धेरै मानिसको जीवनमा लगानी गरेका थिए। उनी रोमको चिसो जेलमा एक्लै हुँदा पनि उनको सेवाको लागि टाढा टाढाबाट भाइहरु जाँदथे। जीवनको अन्तिम घडिमा पनि उनलाई सेवापुर्‍याउन तिमोथी र मर्कूस जाँदै थिए। धेरै इतिहाँसकारहरूका अनुसार तिमोथी र मर्कूस पुग्नु भन्दा पहिल्यै दुष्ट रोमी सरकारले उनलाई मारिसकेको थियो। तापनि हामी देख्छौं कि कसरी पावलको लागि धेरै भाइ बहिनीहरू आफ्नो जीवन दिन तयार थिए। जसले कसैको जीवनमा आत्मिक लगानी गर्छ भने उलसे आत्मिक सेवकहरूको कटनी गर्नेछ। तिमोथी जस्ता आत्मिक चेला जन्माउन सक्नु नै एउटा सेवकको सफलता हो।

आजको संसारमा पास्टर वा सेवकहरू सेवाको लागि मानिस बनाउनुको सट्टा आफ्नै भौतिक घर बनाउन र नाशवान सम्पत्ति जोड्नको लागि मरिमेटिरहेका देखिन्छन्। लाग्छ उनीहरूलाई स्वर्ग जाने मनै छैन जस्तो। दाताहरूलाई ठगेर हुन्छ कि मण्डली र मिसनमा भ्रष्टाचार गरेर हुन्छ, घर घडेरी जोड्न पाए उनीहरूलाई पुग्छ। कति जना सम्पत्ति हात पारेपछि सेवाकाईंको विल्ला नै उतारिदिन्छन् भने कति लाज पचाएर बढी नै आत्मिक भएको स्वाङ् पार्छन्। अरूले दिएको दानमा आफै दानी जस्तो बनेर मानिसको आँखामा छारो हालिरहेका हुन्छन्। यस्ता व्यक्तिहरू नै पछि गएर एकलोपनाका सिकार हुन्छन् कारण स्वर्ग जानको लागि पनि उनीहरूमा खासै उत्तेजना हुँदैन। उत्तेजना पनि कसरी होस्। ठगठाग गरेर कमाएको सम्पत्तिको लागि कहिल्यै पश्चातप गरेकै छैन। अरुको दानमा कमिसन खाँदै आफू दानी बनि कमाएको झूटो ख्यातिको कारण येशूको नजरमा नजर लाउने आँटै हुँदैन।

तर मित्र, अगापे प्रेममा आफूसँग भएको सम्पत्ति, सेवा, र दक्षताबाट अन्य विस्वासीको जीवनमा हामीले लगानी गरेको छौं भने मानिसले मात्रै होइन स्वयम परमेश्वरले हाम्रो रेखदेख गर्नु हुनेछ। हामीलाई त्यस्ता आत्मिक चेला र चेली दिनुहुने छ जसले हामीलाई दुःखका दिनमा विर्सने छैनन् र एकलो हुन दिने छैनन्। कथनकाल हामीसँग कोही भएन भने पनि स्वर्गदूतहरू पठाएर परमेश्वरले हाम्रो वास्था गर्नु हुनेछ। परमेश्वर भन्नुहुन्छ; “तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु” (यशैया ४६४)।

तर जीवनमा परमेश्वरलाई ठाउँ नदिएर संसारको सम्पत्ति र सम्मानकै पछि लाग्यौं भने एकलोपना नै हाम्रो अन्तिम साथी हुनेछ। आज धेरै नेपाली भाषी विश्वासीहरू संसारका हुनेखाने देसमा जीवन यापन गरिरहेका छन्। भर्खरै बसाइँ सरेर गएको कारण सायद नयाँ संसारको नयाँ सपनाले हौसला दिइनै रहेको होला। तर जब त्यो नयाँ संसारको हावापानीमा जीवनचर्या चल्नेछ तब कता कता आफूले छोडेको माटो र पानीको पनि याद आउनेछ। व्यस्त संसार भएको कारण आफन्त र चिनाजानकासँग भेट गर्न महिनौं वा वर्षौं पर्खिनु पर्नेछ। तब एकलोपनाले सजिलै सताउने प्रयास गर्नेछ। यस्तो अवस्थामा पनि मित्रहरू, परमेश्वरको प्रेमलाई धारण गर्दै आफ्ना छिमेकीसँग असल सम्बन्ध निर्माण गर्न सक्नुभएको खण्डमा सजिलै एकलोपनालाई मेटाउन सकिनेछ। तपाईंको छिमेकी नेपाली होस् वा अन्य कुनै जाती, हामी सबै एउटै परमेश्वरका सन्तान भएको तथ्यलाई स्वीकार गर्न सकेको खण्डमा ती मानिसको जीवनमा पनि हामी लगानी गर्न सक्छौं। जुनसुकै जातीका मानिसको माझ हाम्रो बसोबास किन नहोस्, ती मानिसहरूलाई पनि हामी आफ्ना आत्मिक आमाबाबु वा छोराछोरी बनाउन सक्छौं। जतिधेरै आत्मिक आफन्तहरू हामी बनाउन सक्छौं त्यतिनै टाढा एकलोपना हामीबाट भागेर जान्छ।

त्यसकारण संसारमा भौतिक संरचनाहरू निर्माण गर्नुको सट्टा मानिसहरू निर्माण गर्नुहोस्!

  • PASTOR BHOJRAJ BHATTA

source: https://vojraj.blogspot.in/2018/01/blog-post_26.html

Related Articles

Check Also
Close
Back to top button